हेटौंडा, हेटौंडा १६ स्थित जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुले आफ्नो जन्मदिनमा जनप्रियका १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ३९ वर्ष पार गरी ४० वर्षमा प्रवेश गरेका पनेरुले कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।जनप्रिय माध्यमिक विद्यालय आफू पढेको विद्यालय पनि भएको र आफु व्यवस्थापन समितिको सदस्य पदमा रहेको छु ।’ पनेरुले भने –‘शिक्षाबाट कोही पनि वञ्चित नहोस् र विद्यार्थीको मनोबल उच्च बनाउने उद्देश्यले आफ्नो व्यक्तिगत तवरबाट ५५ हजार ३ सय ७० रुपैयाँको छात्रवृत्ति प्रदान गरेको हुँ।’
यस वर्ष ७ जना टुहुरा विद्यार्थी (आफ्ना आमा बुबा नभएको), जेहेन्दार ४ जना र गरिब ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । उनले गत वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।
अन्यत्र क्षेत्रमा हुने खर्चलाई कटौती गर्दै विद्यार्थीको भविष्यको लागि आफूले विगत वर्षदेखिबाट छात्रवृत्ति प्रदान गर्दै आइरहेको उनको भनाइ रहेको थियो । पनेरुले छात्रवृत्तिको रकम विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँलाई चेक हस्तान्तरण गरेका थिए ।