दशैंको दिन थियो दिनभरि मानिसहरु आफ्ना घरघरमै परिवार र आफन्तहरुलाई टिका तथा आशीर्वाद ग्रहणमै समय खर्च गर्थे ।जब साँझ पथ्र्यो। त्यसपछि शुरु हुन्थ्यो घर घरमा नाँचगान र टीका थाप्नेहरुको लर्को ।तर त्यो दशै दशा नै बनिदियो उसको परिवारको लागी वेलुकी साझमै झिल्कोसहित केही पड्किएको आवाज आयो घर नजिकै रहेको फन्टे खोलाको किनारमा,
बन्दुक पडकेको केही छिनमै उ “मरे नी आमा ,मलाइ गोली हान्यो,मलाइ वचाउनुस ।” भन्दै रगताम्य जिउ सहित घरको आँगनमा पछारीयो पानी पानी भन्दै। अनायसै देखीएको यस्तो दृष्य सँगै वेहोस भए घरका परीवार। सासले पानी पानी भन्दै थियो ,कसैले मुखमा पानी हाल्दियो। थाहा भएन उसलाइ पानी खुवाउन हुन्थ्यो वा हुदैन थ्यो। तर खुवाइ दियो, हेर्न सकेन छटपटिएको।
तराइको दुर्गम वस्ती यातायातको सुविधा थिएन।एम्वुलेन्स देख्न त विरगंज नै पुग्नु पर्थ्यो। जिउ छोडी सकेको थियो उसले जसो तसो मोटर साइकलमा बिचमा राखेर त्यहाँबाट लगियो हस्पिटल। लग्नै पर्यो थाहा थियो गोली लागेको मान्छे बाच्दैन तर पनी झिनो आशा बाच्छ की भन्ने।
भोली पल्टका अखवारका पानहरु भरीय कुनैमा“अज्ञात समुहको गोली प्रहारबाट शिक्षकको हत्या”,कुनैमा लेखियो “तराइको शसस्त्र भुमिगत समुह ज्वालासिहंले पाहाडिया मुलको शिक्षक मार्यो । आँँदी आदी
खै किन हो मलाई केहि दिन अगाडी देखि नरमाइलो महसुस भइरहेको थियो । नराम्रा सपनामात्र देख्न थालेको थिए । केहि दिन अघि देखि गाउमा दिनभरि सरकारी सेना प्रहरी अनि रातमा बिद्रोही मदेसी भुमिगत समुहको अघोषित गस्तीको क्रम बढिरहेको थियो । यो अवस्य पनि गाउमा राम्रो घटना घट्ने सङ्केत त थिएन । यसरी नै त्रासै त्रासमा जिन्दगी बितिरहेको थियो ।
मधेसमा जयकृष्ण गोइतले‘तेस्रो बन्दुक’ को उदय भएको घोषणा गरेपछि मधेशमा सशस्त्र राजनीति सुरु भयो। गोइतले केही कार्यकर्ता लिएर विहारको मधुवनी जिल्लामा पर्ने विक्रमशेर गाविसमा पुगेर‘स्वतन्त्र तराई’को मागगर्दै सशस्त्र आन्दोलनको घोषणा गरे ।मधेशमा गोइतले छरेको बीउ यति सप्रियोकि मुलुक शान्ति प्रक्रियाकै चरणमा रहँदा थुप्रै सशस्त्र समूह जन्मिए । अनि, केही समयपछि थन्किए पनि ।
सशस्त्र समुहका नाममा चन्दा आतंक, हत्या र अपहरणको कुनै सीमा रहेन । व्यापारीसँग चन्दा माग्ने, नदिँदा अपहरण गर्ने तथा दिनदहाडै गोली हान्नेसम्मको काम भूमिगत समूहबाट हुन्थ्यो । त्यो वेला जनताका लागि चुनौतीपूर्ण र दुःखद थियो
रातमा वा दिउँसै अब दुइ चार राउण्ड गोली चल्नु कुनै अचम्म थिएन । प्राय जसो रातमा एक दुइ राउण्ड गोली र केहि थान बम पड्केका आवाज सबैका लागि सामान्य झै हुदैथिए । बिहान बाहिर निस्केको मान्छे बेलुका घर नफर्केसम्म उ र उसका परिवार पूर्ण असुरक्षित महसुस गर्थे । हो यस्तै एक रात त्रासदीपूर्ण रातमा उ मर्यो ।
मर्यो, अझ भनौ उ मारियो । उसको निर्जिब लाश घरको अगनमा पल्टेको छ । हुनत कुरा बुझ्नलाई यति नै काफि नै थियो । आजकल मान्छे मर्नु वा मारिनु कुनै ठुलो कुरा पनि थिएन ।
कहिले बिद्रोही पक्षले सरकारी सेना, प्रहरी अनि अरु कैयौ निहत्था लाई सुराकीको नाममा मार्ने अथवा बेपत्ता पार्ने गर्थे त कहिले राष्ट्र अनि जनताको सुरक्षा गर्ने कसम खाएको सरकारी सेना प्रहरीले बिद्रोहीलाई दमन गर्ने क्रममा कैयौ निहत्था सर्वसाधारणलाई मार्ने अनि बेपत्ता पार्ने गरिरहेकै थिए । मदेशमा धन लुटनकै लागी पनी र सामान्य विवादकै क्रममा पनी हत्या हुने गर्दथ्यो।
तर उसको मृत्युले यहा गम्भीर अर्थ बोकेको आज मलाई किन हो किन अनुभुति भयो । उ न त कुनै बिद्रोही पक्षसंग सम्बन्धित अझ भनौ कसैको झण्डा बोकेको थियो न कुनै सरकारी सुराकी वा जासुस नै थियो । जसले मारेपनि उ एक निहत्था र निर्दोष थियो ।
उ मर्यो, उ आकाशतिर एकतमाशले हेर्दै सदाको झै निश्चल र निर्दोष हासो लिएर मुस्कुराई रहेछ । मेरो मन एकतमासको निस्तब्ध भयो । एकाएक आखाहरु भिज्न थाले यस्तो लाग्दैथियो, मेरो सदियौ पुरानो आफन्त सदाका लागि छुटेर जादैछ ।
हुनत मैले मृत्युको खबर पाएको यो पहिलो पटक अबश्य नि होइन । आजसम्म कैयो मृत्यु देखेकै हो । कैयौको चितामा आगो झोसेकै हो । हो सानोमा म मृत्युदेखि धेरै डराउथे, अझ भनौ मृत्युभन्दा नि मृत्युको खबर र मृतकको लाश देखेर डराउथे । मृत्युसंग त म आजपनि डराउछु ।
यदि मृत्यु मलाई भेट्न आफै आएँन भने म सकेसम्म मृत्युसंग सितिमिति भेट्ने पक्षमा पनि छैन । हो मैले यो भन्दा अगिपनि कैयो मृत्यु देखेकै हो । ति मर्नेहरुमा कैयौ आफन्त पनि थिए, कैयौ साथीसंगी पनि थिए, कैयौ मैले थानेका आदर्श थिए, कैयो मैले सजाएका सपना पनि थिए, अनि कोहि म जस्तै गुमनामहरु पनि थिए । हो मान्छे मर्दा पिर लाग्छ अनि एकछिन मान्छे संयम गुमाउछ । आसु मैले पनि अबश्य बहाए हुला । तर आज उसको मृत्युको खबरले जति मलाई कहिल्यै बिचलित अनि दुःखी अरु कसैको मृत्युले पारेको थिएन ।
उ मेरो भाइ मात्र थिएन, मेरो साथी पनी थियो । हो उ म भन्दा उमेरमा सानो थियो होला तर सिद्दान्त अनि आदर्शमा मभन्दा कैयौ गुणा ठुलो थियो । उ मेरो आफन्तभन्दा माथि थियो । उ मेरो आदर्श थियो । हिजसम्म ऊ मेरा लागिमात्र होइन, धेरैका लागि समाजको अभिन्न अङ्ग थियो । एउटा आँधी आयो अनि उ यस समाजका निम्ति बिखण्डनकारी, अराष्ट्रिय तत्व भयो । त्यही समाजमा, जसले हिजो उस्लाई वाह वाह गर्थ्यो, तर आज उ मर्यो– अझ भनौ ऊ मारियो ।
उसको शारिरिक बनोट हेर्दा राम्रो खाइलाग्दो थियो । त्यो सदाझै मुस्कुराई रहने,हासी रहने बोली रहने सान ठुला सवै सँग मिल्ने थियो। हरेक भेट सम्झन लाएक हुन्थे उ सँगका । उ कुनै स्कुलमा पढाउथ्यो। तर सायद कुनै अभियानमा निस्केको जस्तो भान हुन्थ्यो उ मिललसार थियो सामाजिक कामको लागी सधै अग्रपङ्तीमा हुन्थ्यो। हात भरी पत्रिका बोकेर हिन्थ्यो। पत्रिका दिदै भन्थ्यो “यसमा मैले लेखेको लेख पनी छ पढनु होला है दाजुर्”े
अव त सदाको लागी मुस्कुराई रहेको देख्छु म । भनियो कुनै अज्ञात समुहले गोली हान्यो झनअब त उसको मृत्युसंगै उसको त्यो राज पनि उसंगै गयो । त्यै फन्टे खोला उसको मृत्युको अन्तिम साँची थियो। खोला वोल्दैन,बग्छ मात्र कहिले शान्त बन्दै त कहिलै उर्लदै।
पाहाडबाट झर्दा सायद उ चार वर्षको थियो। फन्टे खोलाको डिलमा झुप्रो घर र खोला बगेको केही खेत नै उसको परिवारको श्री सम्पती थियो। त्यही खोलामा नाङ्गै नुहाउने, त्यै नदीको वालुवामा लुटपुटीदै खेल्थ्यो, अनी साझ विहान त्यही किनारमा भैसी चराउने गरेर उसको दैनिकी वित्थ्यो।
उ गाउको पुछारमा एउटा सानो झुपडीमा वुढा बाबा आमा सँग बस्थ्यो ।अविवाहित थियो।दाजुहरू परिवार लिएर चितवन तिर सरेका थिए र विदेश थिए। उसको क्रियाकर्म सकिना साथ पोकोपन्तरा कसेर र रूदै रूदै लागे बा आमाहरु आफन्तहरुो साथ लागेर चितवन तिर, रोयको पनी कसैले देख्छ की भनी राती राती हिडेका थिए रे त्यो फन्टे खोलाको डिल छाडेर टाढा धेरै टाढा।
उ हरेक साझ र बिहान प्राय टोलाएर बसेकै देखिन्थ्यो । उसका बारेमा गाउँमा अनेक हल्ला अफबाह नचलेका होइनन तर उ त्यसमा कहिल्यै कुनै प्रतिक्रिया जनाउदैनथ्यो । लाग्थ्यो उ मनमा ठुलो चोट लिएर बाचेको छ। उ मनका कुरा सितिमिति कसै सँग गर्न चाहदैन थियो । म मा उसका कुराको गहिरो छाप बस्दै थियो, जो आज नमेटिने गरेर मेरो मष्तिस्कमा अझै ताझा छ । त्यहि क्रममा एउटा आँधी नमजासंग आयो ।अनि उसलाई सदाका लागि उडाएर लग्यो । केबल उसले छाडेको छापमात्र मेरो मष्तिस्कमा झनपछि झन ताजा बनेर बाकी छ ।
उ सधै मानब सेवा नै ठुलो धर्म हो भन्थ्यो । आफ्नो ठाउको बिकास गर्न अरुको मुख नताकी आफै गर्नुपर्छ भन्थ्यो ।उ अनेक सुधारका कुरा गथ्र्यो । पढाई र घोकाई होइन शिक्षा र ज्ञानको कुरा गथ्र्यो । उ अरु झै केबल न माक्र्स,लेलिन,माओ को मात्र नाम जप्थ्यो न उ केबल बि.पीको नाम मात्र जप्थ्यो न कुनै सामन्तलाई जि हजुरी नै गर्थ्यो । न त उ कुनै कथित बर्गीय क्रान्ति गर्छौ भन्ने नाम मात्रका पार्टीको झण्डा बोकेको वा ओडेको नै थियो ।
उ एक आम नागरिक थियो तर उसको ज्ञान र अध्ययन नेपालका कैयौ कथित नेताभन्दा धेरै गुणा माथी थियो।उ ब्यक्ति पुजाभन्दा धेरै माथि पुगेर समाजको अध्ययन गथ्र्यो, ज्ञान बटुल्थ्यो । उसको ज्ञानको दायरा न शास्त्रिय दर्शनमा थियो न उत्तर आधुनिक साहित्यसम्म नै थियो ।तर उसको ज्ञान यहि समाजलाई देखेर, भोगेर, सुनेर बिकसित भएको थियो । उ सधै बिकास, संघर्ष अनि परिवर्तनको कुरा गथ्र्यो ।उ मन्दिरलाई ठगको डेरा भन्थ्यो । उ धेरैले भगवान भनेर पुज्ने ढुङ्गालाई ठग्ने साधन भन्थ्यो ।
उ ठुला बडासंग चित्त नबुझेको सानोकुरामा पनी प्रतिबाद गर्दथ्यो । हेपिएर बस्न चाहादैनथ्यो ।तर उ निमुखा, उत्पिडित, शोषित बर्गमा चेतनाको दियो बाल्ने प्रयासमा थियो । उ हरेकलाई बालबच्चा पढाउन प्ररित गरिरहन्थ्यो । बिस्तारै उ गाउका केहि सदियौ देखि शोषण गर्दै आइरहेका बर्गको आखामा तारो बन्दैथियो । यस कुराको बारेमा उसलाई पनि थाहा थियो । तर पनि उ निस्फिक्री आफ्नो कर्ममा लागिरहेकै थियो । उ गाउका असहाय तथा शोषित मान्छेहरुको ज्ञानको दियो बन्दै थियो ।
उ असहायको सहारा बन्दै थियो। अन्धकारमा उनिहरुको आशाको ज्योती बन्दै थियो । अब बिस्तारै बिस्तारै उ पनि समाजको अभिन्न अङ्ग बन्दै थियो । एकदिन उ देखिएन भने धेरैलाई नियास्रो लाग्ने भईसकेको थियो ।उ धनिभन्दा गरिब, सुखिभन्दा दुःखी अनि बुढाभन्दा बालकको दिन प्रतिदिन प्रिय बन्दैथियो । उ कुनै नेता पनि थिएन न समाजले पुझ्ने कुनै कथित बिद्घान ज्ञानी सन्त नै थियो । उ मात्र एउटा विद्रोही थियो।
अझ भनौ मेरो एक निर्दोष भाइ मारियो। बन्दुकका नालमुनि सुरक्षित महसुस गरेर सुत्दा कस्लाई पो मिठो निन्द्रा लाग्दो हो र । म त्यहि परिबेशमा थिए । त्यस दिन म अलिक अबेला उठें । अनि आफ्नो नित्यकर्म तिर लागे । त्यसैक्रममा एउटा नमिठो खबर कानमा ठोकिन आयो । अनि म लागे गाउको पुछारतिर । उसको क्षत बिक्षत लाश फन्टे खोलाको किनारमा पल्टेको थियो ।
आकाशतिर एकतमाशले हेर्दै सदाको झै निश्चल र निर्दोष हासो लिएर मुस्कुराई रहेको झै मलाई भान पर्दै थियो । उसको लास वरपर बिस्तारै भिड जम्मा हुदैथियो । उसको लास जलाउने तर्खर गरीदै थियो। सायद हजारै थिए होला उसको अन्तिम विदाइमा जम्मा भएका। स्कुलका विध्यार्थीहरूको आँशुले भिजेको थियो फन्टे खोलाको डिल। एल.एन. सर सरको विदाइको लागी मानव सागर उर्लेको थियो मदेसको एउटा कुनामापनी हजारौ मान्छे । उ चितामा जल्दै थियो। जल्यो, खरानी भयो र त्यै फन्टे खोलामा मिसियो।
उ मरेर गइ त हाल्यो, स्कुलमै हुने गरेको सानो तिनो विवाद नै उग्र रूपलियो उसको हत्या गरीयो। उ लोकप्रिय मान्छे थियो त्यो जस लिन र समाजमा त्रास देखाउन कुनै भुमिगत समुहले जिम्मा लियो।गाउघरको लोभीहरू जम्मा गरीयो र पैसा छरेर हत्यारा चोख्याइयो र उसका बुढा बा आमालाइ हातमा केही पैसा थमायर लखेटीयो। सामान्ती डाकाले पैसा छरेर,पावर लगायर र धम्क्याएर यस्तो अवस्था वनायो की त्याहा बस्न सक्ने अवस्था रहेन।
न हत्यारालाइ जाहेरी दिन पाए, न रुन पाए,सरकार त मदेशका भुमिगत समुह सँग यती सम्म लत्रेको थियो की इनलाइ विच्काउन हुदैन जे गरे नी सहेर वस्नु पर्छ भन्ने थियो।
मलाई थाहा छ मधेस आन्दोलनमा छ । अधिकार र पहिचानको आन्दोलनमा । मधेसले नेपाल राज्यमा आफ्नो समावेशिता खोजेको छ। मलाई लाग्छ, राज्यमा भन्दा पहिले मधेस नेपाली समाजमा समावेशिता चाहन्छ ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल(एउटा गैरसरकारी संस्था)ले उपेन्द्र यादवको नेतृत्वमा माघ २ मा राजधानीस्थित माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रति जलायो । त्यसपछि संविधान जलाउने कार्यमा संलग्नमाथि प्रहरीले धरपकड ग¥यो । उनीहरूमाथि सरकारले सार्वजनिक अपराध मुद्दा दायर गर्ने तयारी ग¥यो ।
आफ्ना नेताहरूमाथि प्रहरीले दमन गरेको भन्दै फोरमका कार्यकर्ताले माघ ३ मा तराई–मधेस बन्दको घोषणा गरे । बन्द जारी रहेकै बेला माघ ५ मा सिरहाको लहानमा गोली लागेर स्थानीय विद्यार्थी रमेश महतोको मृत्यु भएपछि तराई–मधेसका विभिन्न जिल्लामा आन्दोलन चर्किएको थियो । माघ २४ गतेसम्म चलेको आन्दोलनमा ३८ जनाले सहादत प्राप्त गरेका थिए । ५८ जना गम्भीर घाइते भएका थिए ।
हुस्सु र कुहिरोसँगै चिसो हावाले सबैजना काँपिरहेका थिए । त्यहीबेला केही युवाले फूर्तिका साथ पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरे । सप्तरीको कञ्चनपुर बेरियर (हाल कञ्चनरुप नगरपालिका ५) मा लगभग तीन घण्टा चक्काजाम भयो ।
त्यसको भोलिपल्टै सिरहाको लहान तनावग्रस्त बन्यो । लहानमा चक्काजाम गरी बसेका युवामाथि प्रहरीले अत्यधिक बल प्रयोग ग¥यो । यसको जवाफमा चक्काजामका कारण रोकिएका दर्जनौं सवारी साधन खरानी बने । यही तनावका बीच गोली चल्यो र गोलीको शिकार बने सिरहा मझौराका रमेश महतो । उनी तत्कालै ढले ।
महतो ढलेलगत्तै उनको लास लुकाउने प्रयास भयो । तत्कालीन नेकपा माओवादीका नेता मातृका यादव यसमा मुछिए ।यो घटनाले उग्र रुप लियो र तराई÷मधेसका सबै जिल्लामा आन्दोलन फैलियो । राजमार्गको दुबै छेउमा रहेका मोटामोटा रुखहरु ढालेर सडक अवरुद्व गरियो ।पहिलो पटक ०६३ साल माघ ४ गते सप्तरीको कञ्चनपुरबाट शुरु भएको चक्काजाम माघ ५ गते लहानमा पुग्दा जताततै तनावको रुप लिएको थियो ।
मलाई यो पनि थाहा छ मधेस पाहाडिया विरुद्ध छैन । शासकविरुद्ध छ । एकलकाटे, एकअर्थी, एकमुखे शासनका विरुद्धमा छ।मधेस आफूलाई नेपाली हुँ भनेर दाबी गरिरहेको । कस्तो विडम्बना?आफ्नै देशका नागरिकले नागरिकताको दाबी गर्नुपर्ने ?किन राज्य यति कठोर हुन्छ ? किन राज्य बेइमान हुन्छ ? बेलाबेला म यो कुनाबाट बाहिर निस्कन्छु । सहरतिर टहलिन्छु ।चियापसल, चोक, अड्डा छेउछाउ पुग्छु । जताततै तिम्रो आन्दोलनको चर्चा छ ।
त्यहाँ म सुन्छु कतिपय मानिसहरू भन्छन् नेपालको आन्दोलन होइन । मधेसको आन्दोलन हो । कति भन्छन् नेपालीको आन्दोलन होइन, मधेसीहरूको आन्दोलन हो । यिनले छुट्टै राज्य खोजेका हुन। कोही भन्छन देस टुक्यायर भारततिर मिसाउन खोजेका हुन। उनीहरू भन्छन् भारतले उचालेका मान्छे हुन् ती ।अझ कतिपय भन्छन् भारतीयहरूको आन्दोलन हो त्यो ।मधेसी भनेका भारतीय हुन् । उनीहरू देश टुक्राउन चाहन्छन् ।उनीहरूको राष्ट्रियता छैन । मैले यस्तै सुन्नुपरेको छ ।
यो पहिलो मधेस आन्दोलन माघ २४ गतेसम्म चलेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दोस्रो पटक २४ माघमा सम्वोधन गरे पश्चात आन्दोलन टुंगिएको थियो ।यो आन्दोलन चलिरहँदा ५४ जनाले ज्यान गुमाए । धेरै अंगभंग भए । यसवीचमा तीनवटा मधेस आन्दोलन भइसकेका छन् । तेस्रो आन्दोलन एकदमै लामो रह्यो । सप्तरीको भारदहबाट प्रारम्भ भएको तेस्रो मधेस आन्दोलन ०७२ ले राजीब राउतसहित ६० जनाभन्दा बढीको ज्यान लियो । ३० असारदेखि २० माघ ०७२ सम्म चलेको यो आन्दोलनका क्रममा धेरै अंगभंग भए ।
नौ बर्षभित्र तीनवटा आन्दोलन भइसकेको मधेस आन्दोलनपछि धेरै परिवर्तन आयो मधेसको पहिचान राजनीतिक र संविधानमा पनि स्थापित भइसकेको छ । अन्तर्राष्ट्रियस्तरमा पनि मधेसीलाई चिनाउने काम आन्दोलनले गरेको छ ।सामाजिक क्षेत्रमा मधेसीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ, मधेसी भनेर हेप्ने, गिज्याउने प्रवृत्तिमा कमी आएको छ र मधेसीको प्रतिष्ठा बढेको छ ।राजनीतिक रुपमा पनि मधेस र मधेसी शब्दलाई राज्यले स्वीकार गर्नु आन्दोलनकै उपलब्धी हो जस्तो लाग्छ मलाइ ।
२०६२÷६३ सालको जनआन्दोलन र त्यसपछि पटक–पटक भएको मधेश आन्दोलन पछि पहिचान र अधिकारका नाममा विभिन्न जातीय र क्षेत्रीय आन्दोलनहरू भए । मधेशका नाममा हुने गरेको राजनीति र पहिचानको नाराभित्र मधेशी र पहाडी समुदायबीचमा द्वन्द्व निम्त्याउन खाजेको भन्नेहरू प्रशस्तै छन्।यसो भन्नेहरूले सत्यको अर्को पाटोलाई भने बिर्सिएझै लाग्छ। किनकि मधेश र पहाडबीचमा राजनीति भन्दा बलियो सामाजिक सम्बन्धहरू पनि रहेका छन्। यही माटोमा हुर्केको मान्छे हु म ,धेरै मधेसीहरू पाहाडी भन्दापनी देशभक्त देखेको छु ।
जन्मनेहरू हिमाल, पहाड या तराई–मधेस रोजेर जन्मदैनन् र कोही हिमालमा जन्मेका कारण महान् या अग्लो र तल तराईमा जन्मिएकैले कोही निच या होचो भएका पनि छैनन्।नेपालमा सवा सय जातीय समुदायको बसोबास छ, तर यीमध्ये नेपालमै उत्पत्ति भएको वंशजका सन्तान कोही पनि होइनन्। आर्य, मङ्गोल र द्रबिड समुदायका मानिस नेपाल भित्रिएपछि र कतिपयचाहिँ नेपाल प्रवेशअघिदेखि नै विभिन्न नाम, जात र समुदायका रूपमा चिनिएका हुन् ।
नेपालको हिमाली भूभागमा उत्तरतर्फबाट बसाइँ सरी आएका मङ्गोलियन नश्लका मानिसको सघन बसोबास रहेको छ, जसले आफूहरूलाई अचेल जनजाति भनेर चिनाउन पाउँदा रमाइलो मान्छन्।त्यस्तै दक्षिणतर्फको मैदानी भूभागमा आर्य र द्रबिड नश्लका मानिसको मूल बसोबास छ । तर, बीचको पहाड, बेँसी र उपत्यकामा भने सबै प्रकारको नश्ल (आर्य, मङ्गोल र द्रबिड)का मानिसहरू रहने गर्दछन् । पहाडमा बसोबास गर्ने ‘जनजाति’ समुदायका मानिसको भाषा, सभ्यता, धर्म, भेष, संस्कार र परम्परा तिब्बत र चाइनासँग मेल खाने प्रकारका छन् भने पहाडमै बस्ने आर्यहरूको भाषा, भेष, धर्म, संस्कृति र परम्परा भारतसँग निकटको छ ।
मधेस या तराई भूक्षेत्र विशेषको नाम हो र पहाडमा बसोबास गर्नेहरूलाई पहाडिया भनेर बुझिएजस्तै मेधसमा बस्नेहरूलाई मधेसी भनिनु अस्वाभाविक होइन । क्षेत्र या ठाउँ आफैँमा कुनै दर्शन या विचार होइन ।जुन विषय विचार–दर्शनको परिधिमा पर्दैन त्यस्ता विषयलाई ‘वाद’ भनिँदैन। तर, यहाँ केही राजनीतिकर्मीले मधेसवाद र मधेस वादी भन्ने शब्द प्रचलनमा ल्याएका छन् ।
मधेसबास र मधेसबासी हुनसक्छ, पहाडबास र पहाडबासी हुन सक्छन्, उपत्यकाबास र उपत्यकावासी पनि हुन सक्छन्, तर मधेसवादी, पहाडवादी, हिमालवादी, उपत्यका वादी, नदीनालावादी, मोटरकारवादी, हवाईजहाजवादी भन्न कसैलाई पनि मिल्दैन, किनकि यस्तो विचार–दर्शन संसारमा उत्पत्ति भएको छैन र त्यस्ता दर्शन–विचारको सृष्टि हुन पनि सम्भव मानिदैन ।
जात या क्षेत्रविशेषको सङ्कुचित दायरामा रम्न चाहनेहरूका लागि भाषा–विज्ञानले धेरै पहिले नै शब्द सृष्टि गरिसकेको छ– साम्प्रदायिक । सम्प्रदायविशेषमा अल्झिनेहरूलाई साम्प्रदायिक भनेर बुझ्नु सर्वाधिक उत्तम हुनेछ । यहाँ अर्को रोचक पक्ष के छ भने मधेसमा शताब्दीयौँदेखि बसिरहेका म जस्ता कैयनलाई मधेसी मानिएको छैन ।
त्यसैगरी राष्ट्र टुक्राउन खोज्ने, देश र जनताको हितविपरीत काम गर्ने व्यक्ति र गिरोहका क्रियाकलाप सरकारले टुलुटुलु हेरी बस्छ भने त्यो सरकार अझ बढी राष्ट्रघाती हो। त्यसैले मधेस आन्दोलनमा सरकारले कहाँ राष्ट्रवाद कमजोर पा¥यो? को यस्तो अभियानमा लागेको छ? तिनको पहिचान गरी किन जनतासामु नङ्गाउन सक्तैन? जुन सरकारले आफ्ना यी कर्तव्य पालना गर्न र गराउन सक्तैन र निरर्थक बकबकमात्र गरिरहन्छ, त्यसलाई कुर्सीमा बसिरहने न नैतिक अधिकार रहन्छ न त संवैधानिक नै।
कहिले कुनै पार्टीको सदस्यता नलिएको मेरो भाइ मृत्युपश्चात कुनै बिद्रोहीको अमुक शहिद भएको थियो । अनि उसको गुनगान गाइयो । अन्त्यमा बिभत्स रुपमा मारेको टुङ्गो लगाई सभा सकियो। साचो हत्यारा को हो भनेर कसैलाई थाहा भएन । यो राज पनि उ संगै मर्यो ।
निःसन्देह जनआन्दोलन २०४६, २०६२÷६३, मधेस आन्दोलन र माओवादी ‘जनयुद्ध’ का क्रममा धेरै ठूलो सहादत भएको छ । त्यो सहादतका निम्ति सम्बन्धित परिवारलाई राज्यले सहयोग गर्नुलाई अस्वाभाविक मान्न सकिँदैन । त्यस्तो सम्मान सहिद परिवारका सन्तानको पठनपाठन, स्वास्थ्य सेवा र अन्य हिसाबले हुन सक्छ । तर, जोसुकैलाई सहिदको कोटामा राखेर राज्यकोषबाट भुक्तानी दिने परिपाटीलाई किमार्थ पनि उचित मान्न सकिँदैन ।
राज्यका सबै क्षेत्रमा विकृति देखिएको छ। त्यो विकृति सहिदका सन्दर्भमा पनि उत्तिकै देखिँदै आएको छ। सहिदसम्बन्धी उचित नीति बनाएर मुलुकले बलिदानको उचित कदर गर्न सक्छ। राज्यले सहयोग नै गर्नु छ भने सहिद घोषणा नगरी अन्य माध्यमले पनि सहयोग गर्न सकिन्छ । सहिद घोषणा गर्दै ढुकुटीबाट धमाधम खर्च गर्नु भनेको विकृति हो । सहिदको सम्झनालाई झारा टार्ने सरकारी बिदाका रूपमा मात्र होइन, यथार्थमै तिनले मुलुकलाई लगाएको गुन सम्झेर सम्मान गर्ने परिपाटी बस्नुपर्छ। सहिदप्रतिको हार्दिकतापूर्ण भावना विचलित नहोस् भन्नेमा सरकारको ध्यान विशेष रूपमा जानु आवश्यक छ।
म चुपचाप उसलाई फेरी मनमनै सम्झिदै घर फर्के । हुनत जिबन जस्तै मृत्यू पनि मानबले भोग्नैपर्ने एउटा प्रहर हो । मृत्यु मानबचोलाबाट अर्को चोलामा जाने प्रक्रिया हो । मर्ने देह हो आत्मा कहिल्यै मर्दैन ।
-रामशरण गैरे

