चितवन,चैत २१ : कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परे । त्यसले थोरै भए पनि शान्ति त मिल्यो, तर न्याय पाउनेमा भने पीडित परिवारले अझै आशंका गरेको छ । ‘अपराधी पक्राउ परेको सुन्दा थोरै भए पनि घाउमा मल्हम लागेको छ’, रामहरिपत्नी रमिला मानन्धरले भनिन्,‘ तर पावरमा उनीहरू नै छन् । रातारात छुटाउन सक्छन् । मिडियाबाट खबरदारी गरिदिनुहोला ।’
२८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम कुटपिटबाट श्रेष्ठको हत्या भएको थियो । संयोग कस्तो भने श्रेष्ठको हत्या हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानसभा निर्वाचन जितेर सत्तारोहणको तयारीमा थिए । शान्ति प्रक्रियामा आएको माओवादीले नियन्त्रणमा लिएर लडाकुको अस्थायी शिविर शक्तिखोरमा लगेर हत्या गरेकोभन्दै आन्दोलन चर्किएको थियो ।
प्रचण्डले खामलगायत घटनामा संलग्न माओवादी कमान्डरहरूलाई कारबाहीमा सघाउने भन्दै आन्दोलनकारी र श्रेष्ठपत्नी रमिलासँग सातबुँदे सहमति गर्नुपरेको थियो । तर, बितेका १५ वर्ष प्रचण्ड र माओवादी नेतृत्वले खामलाई राजनीतिक संरक्षण गरेर जोगाएको थियो । प्रहरीले फरार अभियुक्तको सूचीमा राखे पनि उनी काठमाडौंमै थिए । बारम्बार सिंहदरबार जाने, माओवादी नेताहरू भेट्ने र पूर्वकमान्डरहरूको भेलामा सहभागी भइरहन्थे ।
नेकपा विभाजनपछि उनीसहित थुप्रै माओवादी कमान्डरहरू तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीनजिक पुगेका थिए । एउटा सार्वजनिक कार्यक्रममै ओलीले भनेका थिए, ‘कहाँ छन् कालीबहादुर खाम ? हिजो तिनै कमान्डरहरूलाई प्रयोग गरे । अहिले प्रचण्डलाई वास्ता छैन ।’
माओवादी विद्रोहका सुप्रिमो प्रचण्ड प्रधानमन्त्री रहेकैबेला पूर्वकमान्डर खाम पक्राउ परेका हुन् । रामहरिपत्नी रमिलालाई गृह मन्त्रालयमा अर्कै पार्टीका नेता भएकाले मात्र अभियुक्त पक्राउ परेको लागेको छ । ‘माओवादीको मात्र सरकार हुन्थ्यो भने अहिले पनि पक्राउ गर्दैनथ्यो । गृहमन्त्रीमा अर्कै पार्टीको नेता भएकाले यतिसम्म भए पनि भयो,’ उनले भनिन्, ‘मैले मेरो मान्छेलाई त्यतिबेला जीवितै फर्काउन पाइनँ । अपराधीहरूले मारे । कम्तीमा १५ वर्षपछि दुखेको घाउमा मल्हम लागेको छ ।’
कसरी भएको थियो हत्या ?
कालीबहादुर खाम माओवादी लडाकुको तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमान्डर थिए । २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि खामको टोलीले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा डेरा लिएको थियो । घरबेटीलाई परिचय खुलाइएको थिएन । खामले प्रचण्ड, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’लाई खाना खुवाउन बोलाएपछि मात्र रेस्टुरेन्ट व्यवसायी श्रेष्ठले उनी माओवादी कमान्डर भएको थाहा पाएका थिए ।
खामले आफ्नो डेरालाई जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएका थिए । चितवनबाट काठमाडौं आएका बेला खामलगायत कमान्डरहरू त्यहीँ बस्थे । १४ चैत २०६४ को राति सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भएको भन्दै माओवादीले हल्लीखल्ली मच्चाए । लगत्तै, पैसा र हतियार भेटियो भनियो । तर, चोरीको छानबिनको नाममा घरबेटी श्रेष्ठलाई अनेक सास्ती दिन थाले । १५ वैशाख राति २ बजे उनलाई अपहरण गरेर शक्तिखोरस्थित अस्थायी शिविर लगियो ।
सोधपुछका क्रममा निर्मम यातना दिएकै कारण उनको त्यहीँ मृत्यु भयो । टाउको, छाती र खुट्टामा गम्भीर चोट लागी बेहोस भएपछि लडाकु शिविरकै गाडीमा राखेर उपचारका निम्ति काठमाडौं लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको अर्का कमान्डर गोविन्द बटालाले अदालतमा बयान दिएका थिए । हत्याको मतियारका रूपमा तीन वर्ष जेल सजाय भुक्तान गरेर उनी रिहा भइसकेका छन् ।
बाटोमै मृत्यु भएका श्रेष्ठको शवलाई बटालासहितका लडाकुले तन्नामा बेरेर त्यसमा ढुंगा हालेर झोलुंगे पुलबाट नारायणी नदीमा फालिदिएका थिए । सो घटना खामकै योजनामा भएको र त्यसमा उनका अंगरक्षक एटम भनिने गंगाराम थापा र रघु भनिने केशव अधिकारी संलग्न रहेको खुलेको थियो ।
पूर्वकमान्डर खामको अपराधलाई माओवादीले १५ वर्षदेखि राजनीतिक संरक्षण दिँदै आएको थियो । २०६५ मा माओवादी पहिलोपल्ट सरकारमा जाँदा तत्कालीन रक्षामन्त्री बादलले केही महिना खामलाई आफैँसँग राखेका थिए । एउटा सार्वजनिक कार्यक्रममा उनी देखिएपछि सडकदेखि सदनसम्म विरोध भयो । त्यसपछि उनी नेताहरूसँग गोप्य रूपमा मात्र भेट्न थाले । ९ असोज २०६६ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त प्रमुख रिचर्ड बेनेटले समेत खामलाई अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गराउन माओवादी अध्यक्ष प्रचण्डलाई पत्र नै लेखेका थिए । तर, प्रचण्डले मानेनन् ।
२०६७ चैतमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले खामको सुरक्षामा असईको नेतृत्वमा सशस्त्र प्रहरीका तीन जना खटाएका थिए । ‘त्यसरी संरक्षण गर्दै कारबाहीबाट जोगाएका अभियुक्तलाई अहिले पक्राउ गर्नुका पछाडि पनि केही षड्यन्त्र हुन सक्छ । अभियुक्तलाई कारबाही गराएर हामीलाई न्यायको अनुभूति गराउन न्यायप्रेमी सबैको साथ सहयोगको अपेक्षा राखेका छौँ,’ रमिलाले भनिन् ।