ज्योतिनगर । राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर–२६ ले शनिबार ज्योतिनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९ जना महिलासहित ५१ जनाले रक्तदान गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर–२६ ले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य सविना विक प्रमुखअतिथि रहेकी थिइन् । सो क्रममा सम्बोधन गर्दै उनले सामाजिक काम गरेकोमा आयोजनाको प्रशंसा गरिन् । उनले वडा कमिटीले गरेको मानवीय सेवाको कार्यलाई सबै वडाले अनुसरण गर्नुपर्ने बताइन् । रास्वपा भरतपुर–२६ का वडा सभापति नारायणप्रसाद ढकालले सबै सहयोगी संस्था र रक्तदातालाई धन्यवाद दिए ।
कार्यक्रममा रास्वपा चितवनका सभापति कृष्णप्रसाद भूषाल, जिल्ला सदस्य भूपेन्द्र बस्नेत, भरतपुर महानगरको संगठन विभाग प्रमुखमा दिवाकरराज श्रेष्ठ, भरतपुर महानगर समिति अध्यक्ष सीता ज्ञवाली, वडा नं–२६ का उपसभापति राजेन्द्रराज सुवेदी, नेपाली कांग्रेसका वडा कमिटीका सभापति पुरूषोत्तम कमल ढकाल, एमाले भरतपुर–२६ की अध्यक्ष नवलक्ष्मी श्रेष्ठ, माओवादी केन्द्रका भरतपुर–२६ का अध्यक्ष गोपीलाल सेञ्चुरी, नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाका सभापति जीवाखर ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए भने पार्टीका विभिन्न कमिटीका पदाधिकारी, पार्टीका शुभेच्छुक एवं सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रम सञ्चालक ईश्वरीराज निर्दोषीले जानकारी दिए ।