कविता ः विश्व मानचित्रबाट नै हराउछकी मेरो देश?
–रामशरण गैरे
मेरो देश !
शान्तिको देश
गौतम बुद्ध जन्माउने देश
शान्तिको दिपक जलाउने देश !
मेरो देश
वीरहरुको देश
.
वीर सपूतहरु जन्माउने देश
अमरसिंह भक्ती थापा र
बलभद्र हुर्काउने देश !
कसै सामु घुँडा टेकीएन
नालापानीको युद्ध होस्
या अंग्रेज सामु आफ्नो
शिर कहिले झुकाइएन
फेरिएको छ मेरो देशको
परिभाषा आजभोलि
इमान र जमानहरु हराएका
जमातहरुले भरिएको छ।
.
जसले सक्छ उसैले लुट्छ
कोही सत्तामा बसेर लुट्छन
कोही सत्ता बाहिर बसेर लुट्छन्
लुट्नका सक्नेहरुका लागि
हो यो देश
.
अनि हिमालको उच्चतासँगै
गाँसिएको हाम्रो गौरव
र हाम्रो सार्वभौमिकता,
तर
हाम्रो सच्चा आर्यभावना
हार्दिकतापूर्वक व्यवहार
र सहिष्णु सम्बन्धमा
सधैँ धावा बोल्दै आइरहेको छ भारत
कहिले ठुल्दाइ त
कहिले नभई नहुने छिमेकी बनेर त
कहिले रोटीबेटीको सम्बन्ध व्युँताएर त
कहिले पहाडमा नटिक्ने जवानी
र पानीको कथा सुनाएर,
.
आज नेपालको
लिम्पियाधुरा, लिपुलेक र कालापानी
दुखेको छ,
विस्तारै विस्तारै
हाम्रा भूभागहहरूमा
कब्जा र हस्तक्षेप
बढ्दै गइरहेका छन्,
साच्चै जङ्गे पिल्लरहरु
हराएका छन्,
नक्साहरु खुम्चिएका छन्,
हाम्लाई अत्तोपत्तो छैन
तर पनि
देशको माटो लुछिँदा
धेरैको मुटु रोएको छ ।
.
सदिऔँदेखि
नेपालको सीमावर्ती क्षेत्रमा
भारतको यस्तै हेपाहा प्रवृत्तिले
बर्से्निन हजारौँ जनसङ्ख्याले
सास्ती भोग्दै आइराखेका छन् !
भारत
अन्तर्रा्षिष्ट्रय सन्धि सम्झौताको धज्जी उडाउँदै
नेपालको सीमा क्षेत्रमा एकतर्फी
बाँध, नहर, तटबन्ध र सडक बनाउँछ
तर हाम्रा नेता मन्त्रीहरु
जनताको मतमा सिंहदरबार पुग्छन्
रङ्ग भेद बदल्छन्
नेपालीको पसिना पचाउँछन्
दिल्लीको रेड कार्पेटमा शरण पर्छन्
नेपालीको समस्यालाई चुट्किला बनाउँछन्
अनि रात्रिभोजमा खुस्बु उडाउँछन् !
.
नेपालको जमिन माथि
भारतको दादागिरी र थिचोमिचो
आखिर कहिलेसम्म ?
कहाँ छन् खै ती
अन्तर्रा्षिष्ट्रय कानुनको पालना ?
सीमा क्षेत्रमा
दुवै पक्षको सहमतिबिना
जमिन मिच्ने
अर्को राष्ट्रका जनतालाई सास्ती
दिने कार्य निन्दनीय छैन र ?
कति चाहिँ हामी
भारतको
जिउँदो प्रशंसक बनेर
भलादमी बनिराख्ने ?
दुःख भोगिराख्ने ?
आजकल खै के भएको
मेरो मधेश मेरो भएन
मेरो पहाड मेरो रहेन
हिमालको के कुरा !
मेरो काठमाडौँ मेरो भएन
आजकल साँच्चै के भएको हो ?
कोही किराँत भन्छन्
कोही मधेश त कोही नेवा !
कसैलाइ अखण्ड सुप चाहियो रे !
कोही मिथिला नभै नमान्ने रे !
तमु मगर–गण्डक नमान्ने रे !
नेपाललाई आफ्नो नठान्ने रे !
सुन्दा यस्तो लाग्छ
अब नेपाल कतै छैन
यहाँ नेपाली कोही छैन
.
आखिर
कूटनीतिक माध्यमबाट
तमाम यी समस्याको
स्थायी समाधान खोज्ने कसले ?
प्रदेश सरकार अनि
सङ्घीय दुईतिहाइ सरकार कता छन् ?
त्यही भूमिमा राजनीति गर्ने
दल कता छन् ?
मोदीको घातक उपहारलाई
एकजुट भई
राष्ट्रवादले सामना गर्ने हो ?
तर यो देश
ढिला सुस्ती र भष्ट्राचारले
लिप्त छन शासकहरू
भष्ट्राचार गर्न नपाएर वा भनौँ..
३३ किलो सुँन पचाउन
वाइडबडी पचाउन
७० करोड पचाउन
बालुवाटारको जग्गा कुम्ल्याउन
र देश लुटन
व्यस्त छन शासकहरू,
देशमा एउटा सरकार त छ
जनताका दुखमा बोल्दैन
सरकार बोल्दै बोल्दैन
छिमेकीले सिमाना किन मिच्यो भन्दा
सरकार बोल्दै बोल्दैन
छिमेकीले जे गरेपनि सहन्छ
सरकार बोल्दै बोल्दैन ।
सरकार
न सर्वोच्चको आदेश मान्छ ।
न देश विकासमा कुनै पहल गर्छ ।
कमिसनको चक्करमा फसेको यसले
चुनावको बेला मात्र यसो नजिक सर्छ ।।
विधिविधानको उपहास गर्छ
संविधानको हुर्मत लिन्छ
मिच्छ नैतिकताका सीमाहरू
तर पनी दिन्छ
लोकतन्त्रको नारा ।
.
देखाउँछ शक्तिको तुजुक
मोलमोलाइमा,
ठाउँ कुठाउँ कारबाहीमा
बर्खास्ती÷नियुक्तिमा
राजिनामा र पुनर्नियुक्ति
अनिशपथहरूमा ।
मेरो देश !
.
हामी सबै हारेको देश ।
दिशाहीन गन्तव्यका लागि
रुमलिएको जमात छ जहाँ
जहाँ घरको धुरीमा आगो झोसिएको छ
देशको अस्मिता लुटिँदा
बलात्कारीहरूको अट्टहास सुनिन्छ जहाँ
जहाँ परचक्रीहरूको ग्रहण लागेको छ
पाखण्डले ताण्डव नृत्य गर्दै छ जहाँ
यही हो मेरा देश
मेरो देश !
.
हामी सबै हारेको देश ।
देश हाँक्ने अभिभारा लिएका
लालबुझक्कडहरू छन यहाँ
भ्रम फैल्याउँछन् र दुस्वप्न बाँड्छन्
स्वाभिमान बेचेर
विदेशीको चरणमा लम्पसार पर्छन्
.
यो देशमा सरकार रहेको
अनुभूति हामी गरिब जनताले
कहिले गर्न पाउने ?
हाम्रै पौरखले सिँगारिएको सिंहदरबारले
हाम्रो मर्म किन बुझ्दैन ?
सरकार कर असुल्नै पर्छ भन्छ
मानौँ ऊ बिर्तावाल साहू हो
नेता कार चढ्नै पर्छ भन्छ
मानौँ उसको जन्मसिद्ध अधिकार हो
.
नेता महोदय
देश कसैको रहर लहडमा चलाइने वस्तु होइन
देश परीक्षण गर्ने प्रयोगशाला पनि होइन
बन्द गर तिम्रा यावत् नाटकहरू,
देश रंगमञ्चको पर्दा होइन
देश रंगमञ्चको पात्र पनि त होइन ।
यहाँ भ्रष्टतन्त्र फैलाउने काममा
सरकारमा बसेका महत्त्वपूर्ण
नेता र पदाधिकारीहरू लागेको छ।
कर्मचारीतन्त्र यदि भ्रष्ट र अयोग्य छ
दलालहरू शक्ति केन्द्रहरूमा पुगेको छ ।
.
वृद्ध र बिरामी नेताहरूको उपचारमा
करोडौंको राजकीय धन
निर्लज्ज तरिकाले बाँडफाँट गरिन्छ।
प्रमुख राजनीतिक दलका नेतृत्वहरूलाई
आफ्नो सरकार र राजनीतिक
अस्तित्व बचाउँदैमा फुर्सद छैन।
देशका सबै गाउँघर युवारहित छन्,
युवा विदेसिन लालायित छन्।
अनुसन्धान र अन्वेषणको
हालत शून्य छ,
.
अध्ययन केन्द्रहरूलाई पनि रो
गी बनाइएको अवस्था छ।
अध्ययन अनुसन्धान गर्ने अंगहरू
अयोग्यहरूको भर्तीकेन्द्र वनेको छ।
.
यहाको नैटंङकीहरू देख्दा
यस्तो लाग्छ कुनै दिन्
विश्व मानचित्रबाट नै हराउछकी मेरो देश?
भरतपुर महानगरपालिका वडा नं. १९ चितवन