हाम्रो भरतपुर (निबन्ध)
– रामशरण गैरे
भनिन्छ चितवनको भरतपुर देश भरीकै रोजाइमा परेको र सम्भावना वोकेको सहर हो । देशभरिका मान्छेहरूका सपनाको चाङ थोपर्ने ठाउँ हो यो। म पनी सपनाहरु बोकेर भौतरीरहेकै छु । भरतपुर त झन् यस्तो सहर हो कि हरेक जिल्लाका मान्छेहरू यहीँ भेटिन्छन् र सबै ठाउका भाषा, संस्कृति र संस्कार यहाँ ल्याएका छन् ।
पवित्र नारायणी नदी किनारमा अवस्थित भरतपुर शहर ।नेपालका ६ वटा महानगरपालिका मध्येको एक महानगरपालिका।देशका विभिन्न जिल्ला बाट सुगम र सहजताको खोजी गर्दै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७८ औं जिल्लाको उपमा दिन थालिएको होला?
२०११ सालमा तनहुँ, लमजुङ, गोरखा, मनाङलगायत मध्यनेपालको पहाडी क्षेत्रका जनतालाई कहिले लामो खडेरी त कहिले दर्के झरीले अत्यायो । यसरी अनावृष्टि र अतिवृष्टिका कारण जीवन कष्टकर बनेपछि उनीहरू सुरक्षित वास र गाँसको खोजीमा भौँतारिन थाले । तर, कहाँ जाने ? पहाडमा ठाउँ छैन । मधेसमा औलोको डर भएपनी भोकको अगाडि डर पनि डराउँदो रहेछ । अन्ततः उनीहरू चितवन झर्न थाले ।
यसरी विस्थापित भएका हुलका हुल मानिसको रोजाइमा चितवन पर्यो । एक मोहरको टोकन काटेर प्रतिपरिवार एक प्लट (५ बिघा) जग्गा पाएर ढड्डी फाँडेर बस्ती वसाइएको चितवन विभिन्न कृषि तथा कृषिमा आधारित उद्योग र पर्यटनको भरमा चलिरहेको छ।पहाडका रूख्खासुख्खा खानेहरु पनि चितवनले देखाएको हरियो सपना पछ्याउँदै आएको देखीन्छ ।थाहा छैन कतिका सपनाहरु प’रा भए।
भरतपुर महानगर चर्चाको हिसाबले नेपालकै केन्द्रमा छ ।अझ पटक पटक हुने निर्वाचन र राजनैतिक घटनाक्रमहरूले भरतपुरलाई चर्चाको शिखरमै पुर्याउछ। यो सहर सबैको रोजाइको त हैन होला। तर किन राजनितिक कर्मी हरूको रोजाइमा पर्यो भन्ने कुरा मलाई पटक्कै थाहा छैन ।सुगम र देशकै मध्य भागमा पर्ने भएकोले यहाँ मान्छेहरूको आकर्षण बढेको हुन सक्छ।
जे भए पनि पनि यस्तै विवधता वोकेको सहरको एउटा कुनामा बस्ने बासिन्दा हुँ म । नाफा कमाउनलाई भनेर कुनै साहुले खोलिदिएको एउटा मेडीयामा काम गर्छु । साहू महाजनको दया÷माया भएन भने फेरि पेटमा मुसा दौडिन सुरु गर्छन् । वाध्यता नै छ बाच्नका लागी केही त गर्नैै पर्यो ।
हिउँदको चिसो रातमा मेरो स्मार्टउन्मुख सहरमा चम्किला बत्तीहरू पार गर्दै म काम सकेर हस्याङफस्याङ गर्दै महानगरकै एउटा कुनामा रहेको आफ्नो घरमा पुग्दा बत्ती हुदैन धारामा पानी हुदैन ।यो अवस्था घण्टौ सम्म लम्बिन्छ । महंगीले यहाँे अर्को परिचय थपेको छ ।आम्दानीको तुलनामा खर्च अत्यधिक छ ।
हुनत २०३५ सालमा नगरपञ्चायतसँगै २०४८ सालमा भरतपुर नगरपालिका बनेको हो ।साविकका भरतपुर क्षेत्र,नारायणी नगरपालिका, चित्रवन नगर पालिका र कविलास गाउँ विकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनःर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गरेपछि यो भरतपुर महानगर पालिका बन्यो र ०७१ मा उपमहानगरपालिका बनेको तीन वर्ष नपुग्दै ०७३ मा महानगरपालिका भएको भएर होला नगर भित्रका समस्याहरू ज्यु का त्यु छन,केवल फडको न मारेको हो,विस्तारै होला नी त चित्त बुझाउने ठाउ त धेरै छन।
जनघनत्व बढ्ने र नयाँ सहरमा परिणत हुँदासमेत बदलिँदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन।केही वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो ।नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा समेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन।अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनी ब्यहोनुपर्ने हैरानी ले हामीलाई सधैं बिझाइरहन्थ्यो ।
भरतपुर महानगरमा स्तरोन्नति त भयो तर महानगर हुनका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास थिएन । त्यही बीच महानगरको नेतृत्व गर्ने गरी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएर आइन । त्यसपछि हो भरतपुरले काँचुली फेर्न थालेको हो भनेर भन्न कञ्जुस्याइ गर्न हुदैन। राष्ट्रिय गौरवका आयोजना ५ वर्ष अगाडिसम्म भरतपुरवासीको कल्पनामै थिएनन् । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन् । वर्षेनी त्यहाँ बजेट छुटिटएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुदैनथ्यो ।
जति बजेट आउँथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो ।न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो,न तटबन्ध निर्माणकै तत्कालीन काम नै पनि पूरा हुन्थ्यो ।अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको अग्रणी सहरको रुपमा फडको मारेकोछ।
नेपालकै सबभन्दा लामो महानगरीय रिङरोड,पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक साथै बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको हुलाकी सडकको विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य द्रुत गतिमा अघि बढेसँगै भरतपुरको भविष्य उज्वल छ भन्ने लाग्छ।
भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ।भरतपुर महानगरपालिकालाई हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएकोले गौरव गर्छु म।
भरतपुरमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशाला बन्ने साथै थुप्रै आयोजनाहरु सम्पन्न हुने र शुरुवात हुने प्रक्रियामा छन्।प्राविधिक समस्या का कारण केहि योजनाहरु निर्माण सम्पन्न हुन समय लागेता पनि सबै आयोजनाहरु पुरा हुदैगर्दा भरतपुर महानगरपालिकाको मुहार पुर्णरुपमा फेरिने छ।
भरतपुर महानगरलाई उज्यालो शहरको रुपमा, हरियाली शहरको रुपमा, खेलकुदको शहर,स्वास्थ्यको शहर,शैक्षिककेन्द्रको शहर,कृषिको शहर, पर्यटनको शहर हुदै सफा र सुन्दर शहरको रुपमा दक्षिण एसियाकै एउटा नमुना बहु आयामिक शहरको रुपमा अबको केहि वर्ष भित्र पाउनेमा आशावादी छु।
पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटलभरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् ।मेघौली, पटयानी,जगतपुर,गोलाघाट जस्ता ठाउँहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ ।कविलास गढीहरुमा नयाँ–नयाँ होटलहरु खुलेका छन् ।एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्काेतिर ठूलो लगानी चितवनमा भित्रिएको छ ।जसको कल्पना सायदै चितवन भरतपुर बासीले गरेका थिए ।
समाचार संकलनको क्रममा भरतपुरका गल्ली गल्लीमा पुग्दा मलाई सबैभन्दा बढी मनमा आइराख्ने कुरा चाहिँ शैक्षिक हब र मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुर बन्ला त स्मार्ट सिटी ! स्मार्ट सिटीको सम्भावना सँगसगै धेरै चुनौतीहरु देख्छु म । ति चुनौती पार गर्न नसके भरतपुर स्मार्ट सिटी सपनामात्र हुने छ । आवश्यक पर्ने जुनसुकै विषय पनि अत्याधुनिक प्रविधिबाट सम्पन्न हुन सक्ने शहरलाई न हो स्मार्ट सिटी भन्ने ।
पहिला ठूलठूला कुरा भन्दा पनि नगरवासीसँग प्रत्यक्ष जोडिएका ससाना समस्याहरु समाधान गर्नुपर्यो नि मान्छे मात्र थुप्रीयर र प्लटिङ गरेर कृषि योग्य जमिन टुक्र्यार व्यवस्थित शहरीकरण हुन सक्ला र?भरतपुरलाई स्मार्ट सिटी बनाउन सकिने सम्भावना छ, तर अव्यवस्थित तरिकाले कुनै गुरूयोजना नबनाइ, कुन क्षेत्र केका लागि हो, कुनै निर्धारण नगरी काम गरियो भने बजार बिग्रन्छ । अनि त्यतिबेला स्मार्ट सिटी सपनामात्र हुने अवस्था नआउला भन्न सकिन्न ।
महानगरमा औद्योगिक, पर्यटक, हस्पिटल, होटललगायतको क्षेत्र निर्धारण गरेर विकास गरेमा स्मार्ट सिटीको सम्भावना बढछ । यसको लागी त राजनीति दलको सहमतिमा एउटा गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने हो ।चारतिर फर्केका दलहरुबाट के सहमतीको आशा गरौ?
हुन त व्यवस्थित र प्रविधियुक्त सहर नै स्मार्ट सिटी हो । यसको लागि महा नगरपालिकाले आर्थिक स्रोतको परिचालन, लगानी सुरक्षित हुने वातावरण, बन्द र हड्तालहरुको निराकरण, हरेक काममा प्रविधिको प्रयोग, सुविधायुक्त सुरक्षित स्थल बनाउन जरुरी छ ।जनताका ससाना समस्याहरु हल नगरी स्मार्ट सिटीको परिकल्पना गरियो भने सपनामात्र हुन्छ, तर ससाना समस्या हल गर्दै स्पष्ट भिजन लिएर अघि बढेमा भरतपुर स्मार्ट सिटीको सम्भावना हुन्छ ।
दुई ठूला मेडिकल कलेज, करिब एक दर्जन नर्सिङ कलेजहरु भरतपुरमै छन् ।शैक्षिक हब बन्दै गएको भरतपुरमा पीएचडीसम्मको पढाइ हुन्छ । महानगर भित्रै कृषि विश्वविद्यालय छ । बिजुली, बैंक, सुपर मार्केट, ठूला होटल तथा बस पार्कको समस्या छैन ।भरतपुर महानगरभित्र धेरै कुरा भएकाले यहाँ स्मार्ट सिटीको बलियो सम्भावना छ।
भरतपुरलाई स्मार्ट सिटी बनाउने हो भने सबैभन्दा पहिला हरियाली र सफा सहर बनाउनपर्ने हुन्छ ।फोहोर व्यवस्थापन, भित्रभित्र कालोपत्रे फराकिला सडक, रातिमा पनि उज्यालो सडक, सुरक्षित गन्तव्य र हरेक काममा प्रविधि को प्रयोग हुन सके भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सकिन्छ ।
स्मार्ट सिटीमा नीजिलाई भन्दा पनि सार्वजनिकलाई बढी प्राथमिकता दिइन्छ र सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुन्छ।स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुन्छ । चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नु पर्दैन, घरमै आउँछन् चिकित्सक। अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टि फिकेसन सिस्टम’ हुनेछ । संदिग्धको फोटो र डीएनए कम्प्युटरमा राखेलगत्तै उनको विगत र अपराधका बारेमा तुरुन्त जानकारी लिन सकिनेछ । पार्किङका लागि मानिसहरूले कुनचाहि पार्किङ स्थलमा ठाउँ छ भन्ने जानकारी गाडीमै पाउँछन् । यस्ता दिन आउलान र भरतपुरमा?
अनि कुनै पनि सहर वा गाउँ बस्न लायक छ कि छैन भन्ने कुरा मापन गर्ने तत्त्वहरू के के हुन् भन्ने कुरा पनि मलाई पटक्कै थाहा छैन । सायद मेरो अन्दाजमा शिक्षा, स्वास्थ्य, रोजगारी, जीवनप्रतिको सन्तुष्टि, आय जस्ता कुरा पर्छन् होला । मेरो आफ्नै मनले बनाएको मापदण्ड चाहिँ अर्कै छ जुन मनमा खुसी र शान्ति मानिसलाई जहाँ बस्दा हुन्छ त्यही सबैभन्दा बस्न लायक ठाउँ हो । मैले देखेकोछु राम्रा घर, राम्रा सोफा दराज र भाँडाकुँडा भए पनि दिगो आम्दानीको स्रोत नहुँदाको मानिसहरूको दुःख र छटपटाहट ।
सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म भरतपुरमा पर्दछन् । त्यसो त, पवित्र तीर्थस्थल देवघाटधाम, गणेशधामलगायतका धार्मिक स्थल पनि यहाँ रहेका छन् ।महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । दुवै नदी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिन्छन् ।
महानगरमा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका पर्यटकीय क्षेत्र पटिहानी, जगतपुर, मेघौली, प्रसिद्ध धार्मिकस्थल देवघाट, गणेशधाम, वागेश्वरी कसराको गोही प्रजनन केन्द्र, विक्रमबाबा, यस्तै प्राकृतिक सुन्दरताले भरिएको गोला घाट, ज्ञानेश्वर, नगर वन, बिसहजारी ताल, बाटुली पोखरी, राइनो ताल, रानी पोखरीका साथै धनगढा मन्दिर, महाबौद्ध गुम्बालगायत धार्मिक स्थल समेत पर्छन् ।गन्तव्य वास्तवमा पूर्वाधारयुक्त, रमणीय भए पनि पर्यटकमैत्री छैनन् । ती सानो क्षेत्रफलमा फैलिएका र पुराना छन् ।
यसका अलावा महानगरभित्र पैदलयात्रु पेटी, सवारी पार्किङ, दर्जन स्थानमा खेलकुद मैदान, दर्जन स्थानमा फराकिलो डेटिङ स्थल, अस्थायी बजार, पान–सुर्ती प्रतिबन्ध, विभिन्न स्थानमा २४ घन्टा पानी आउने सार्वजनिक धारा,गर्मी मौसमका लागि निःशुल्क आरामस्थल, सार्वजनिक बस, ट्याक्सीको सफाइ व्यवस्थापन र सर्वसुलभ, सार्वजनिक शौचालय आदि स्मार्ट सिटी उन्मुख पूर्वाधारहरुको अभाव छन् ।
पछिल्लो समय महानगरले पर्यटकीय पूर्वाधार विकासमा खासै लगानी गरेको देखिँदैन । चितवनको बाघ र गैडा विदेशीलाइ देखायर यहाँ अरवौ कमाउन सकिन्छ नी तर पर्यटक राख्नुपर्ने ठाउमा सुकुम्वासी राखेको छ र तिनै सुकुम्वासीको नाममा भोटको राजनिती गरको छ अचम्म?
मेघौली रेञ्ज पोष्टको पछाडि गैंडा विचरण गर्ने सुन्दर वन फंडानी गरेर ‘गैंडा पार्क’ बनाउन लागेको देखेर हाँसो पनी उठ्यो ।जहाँ सांच्चिकै गैंडा देख्न पाइन्छ त्यहाँ आर.सि.सि. गैंडाको स्मारक बनाइएको छ । टाईगर टप्स होटलको पालामा दिनमा ९ फ्लाईटसम्म हुने मेघौली एयरपोर्ट वनमारा र झारले कुरुप बनेर बस्यो धेरै वर्ष अहिले भने स्तरोत्तरीको काम भेरहेकोछ।
यहाँ फ्लाईटबाट विश्व प्रख्यात प्रकृति तथा वातावरणप्रेमी अतिथिहरु मेघौली अवतरण गर्दथे । जीवनमा सबैभन्दा बढी खुशी र हर्षको अनुभूत गर्दथे । सगरमाथाको चुचुरोमा पुगेको भन्दा धेरै गुना बढी खुशी र उत्साह चितवन भ्रमणले दियो भन्दै वर्षेनी आउने संकल्प गर्दथे । मेघौली विमानस्थलमा खुट्टा परे देखि हरेक सेकेण्डलाई रहस्यमय, आकर्षक, शिक्षाप्रद र उपयोगी ठान्दथे अतिथिहरु ।
‘पंक्षी हेरौं कि जलचर ? वनस्पति राम्रो कि घांसे मैदान ? जैविक विविधता हेरौं कि भौगोलिक सामाजिक र सांस्कृतिक विविधता ?’स्वर्गको टुक्रा जस्तो मेघौली प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाले सम्पन्न रहेको छ । ९ वटा सामुदायिक वनहरु, सिमसार क्षेत्र, घाँसे मैदान तथा थुप्रै तालहरु भएकाले चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा चराचुरूङ्गीको बाक्लो बासस्थानका रुपमा मेघौली प्रख्यात र मनमोहक छ ।
गोलाघाट अर्थात मेघौलीको आर्कषण । जुन भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित छ । जो टाइगर टप्स होटलका कारण सबैभन्दा धेरै चर्चित बन्यो ।
राप्ती र नारायणी नदीको किनार । दुई किनार भएर बग्ने दुई नदी मिसिएर बनेको दोभान । त्यही दोभानमा एकाबिहानै र साँझपख सूर्यको मनमोहक दृश्य देखिन्छ । त्यो दृश्य हेर्न चितवन पुगेका हरेक पर्यटक मोहित भएर गोलाघाट पुग्छन् ।
वर्षौ पहिले खुलेर १२ वर्षअघिदेखि टाइगर टप्स होटल बन्द भएपछि मेघौली सुनसान बन्यो । अनि राप्ती र नारायणी नदीको संगमस्थल अर्थात दोभानका कारण गोलाघाट चर्चित हुँदै गयो ।
टाइगर टप्स होटलका कारण चर्चित बनेको मेघौलीमा पर्यटक आउन छाडेका छैनन्।मात्रै पहिलेको तुलनामा धेरै कम मात्रामा पर्यटक मेघौली जाने गरेका छन्।मेघौलीको मायाले आउने पर्यटकलाई अचेल गोलाघाटले निरन्तर आकर्षण गरिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, त्यसभित्रका वन्यजन्तु, राप्ती र नारायणीको सुन्दर किनार अनि कुमाल समुदायको बाहुल्य बस्ती ।पर्यटक निरन्तर आइरहँदा निकुञ्जभित्रका होटल बन्द भएपछि अलपत्र पर्ने गरेका तिनै पर्यटकलाई गाँस र बास दिने कुमाल सामुदायिक होमस्टे अहिले मेघौली तथा गोलाघाटको भरोसा हो भन्ने लाग्छ मलाइ ।
गत वर्ष सरकारले घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक भरतपुर महानगर–२२, पटिहानी घटगाईंमा नेपालकै नमुना खुला आकासे सडक ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू’ आन्तरिक पर्यटनको आकर्षणको केन्द्र बन्दैछ । विश्व पर्यटनको अभ्यासमा समेत अम्ब्रेला स्ट्रीट र वाकिङ स्ट्रीटजस्ता पर्यटकीय केन्द्रमा पर्यटकको आकर्षण बढेकोले यो आन्तरिक पर्यटनको रोजाइमा परेको छ ।साच्चिकै कती मनमोहक छ है यो ठाउ?एउटै अम्ब्रेला स्ट्रीटले यती धेरै पर्यटकहरु आकर्षण गरेको छ।
सहरका सपना पनि भयानक ठूला हुँदा रहेछन्।बाहिरबाट हेर्दा सफल र भाग्यमानी ठानिने यो व्यस्त सहरका एक्ला मान्छेहरू एउटा अधुरो कहानी बोकेका, सधैँ उथलपुथल बाँचिरहेका, डरलाग्दा प्रेम कथाहरू बोकेर हिँडेका जस्ता लाग्ने ।भित्री भावना, प्रेम, दया, माया र करुणालाई पनि मारेर एउटा मेसिन जस्तो चौबिसै घण्टा चलिरहन्छन् । सधैँ बजार र बजार सञ्चालनसँग मात्रै प्रतिस्पर्धा गरिरहन्छन्, नाफा र घाटाको हिसाब किताब जोडिरहन्छन् । यो सहरमा न कसैको निद्रा पुग्छ न त कसैको सपना नै पुरा हुन्छ ।
खाली सपनाको चाङ थोपरेर बाँचेकोछ मेरो प्यारो भरतपुर।

