काठमाडौं,जेठ २६-भारतको लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी गरिरहेका छन्। भोलि जुन ९ मा मोदीसँगै केही मन्त्रीले शपथ खाने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शपथ समारोहमा नेपालसहित धेरै देशका प्रमुखलाई भारतले निमन्त्रणा गरेको छ।
जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु छन्।
भारतको केन्द्रीय सरकारको विज्ञप्तिअनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनाहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्। भारतको ‘छिमेक नीति’ र ‘सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ।