भरतपुर । हरेक वर्षझैँ यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नारायणगढमा ‘रोपाइँ जात्रा २०८१’ हुने भएको छ । भरतपुर वडा नं. २, नारायणगढमा स्थित नारायणी कला मन्दिरले शनिबार पत्रकार सम्मेलन मार्फत् रोपाइँ जात्रा–२०८१ गर्न लागेको जानकारी दिएको हो ।
कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठले पत्रकार सम्मेलनमा हराइरहेको मौलिकता र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रोपाईं जात्रा गर्न लागिएको बताए । कृषि पेसामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली संस्कृतिको एउटा उत्कृष्ट प्रतिबिम्ब भएको अध्यक्ष श्रेष्ठले भने ।
उनले खेतमा रोपाइँ सकेर क्वाँटी खाई जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिकरूपमा समेत सक्षम भई भाद्र कृष्णाष्टमीको दिन आनन्दपूर्वक यो जात्रा मनाउने गरिएको बताए । मनोविनोदको लागि मात्रै नभएर यो जात्रालाई सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसरमा रूपमा हामीले लिने गरेको उनको भनाइ थियो ।
उनका अनुसार खासगरी नेवार जातिको व्यापारसँग पनि यो जात्रा जोडिएको र जात्राको दिन बाटोको छेउछाउमा बजार थाप्ने प्रचलन पनि रहिरहेको छ ।
कार्यक्रममा रोपाईं जात्राका संयोजक अनुकुल श्रेष्ठले नेवारी संस्कृति संरक्षण र संवर्द्धन गर्नका लागि २०४८ सालदेखि नारायणगढ बजारमा रोपाई जात्रा गरिँदै जानकारी दिए । रोपाईं जात्राको मौलिकता जोगाउने र भावी पुस्तालाई हस्तान्तरण गर्न पनि रोपाई जात्रालाई निरन्तरता गर्न लागिएको उनले बताए ।
जात्राका अवसरमा भोलि (सोमबार) बिहान ८ बजे नारायणी कला मन्दिरमा ‘हो पाँचो हो’ हुँदैछ । यसको अर्थ रोपाइँ जात्राको सूचना दिई जात्रामा सबैलाई आमन्त्रण गर्नु हो । त्यसपछि दिउँसो ४ः०० बजे गत वर्षभन्दा पृथक ढंगले रोपाइँ जात्रा निकालिने संयोजक श्रेष्ठले बताए ।
नारायणी कला मन्दिरबाट निकालिएको जात्रा बालकुमारी स्कुलचोक, मिलनरोड, शहीदचोक, पुल्चोक, मेनरोड, लीलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेशचोक, प्रगतिपथ, बालकुमारीचोकहुँदै कला मन्दिरमा आएर समापन हुने आयोजकले जानकारी दिए ।
पञ्चेबाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने रोपाइँ जात्रालाई जीवन्त राख्नु अहिलेका पुस्ताको धर्म र कर्तव्य रहेको श्रेष्ठले बताए । २०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरले नेपाली कला, साहित्य र रङ्गमञ्च सँगसँगै यस्ता जात्रा, मेला, पर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रियताका साथ कार्यक्रम गर्दै आएको छ ।

