लोकार्पण कार्यक्रमका प्रमुखअतिथिसमेत रहेका भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले आँशुकवि घिमिरेले दुई ठूला कृति एकसाथ लोकार्पण गरेर चितवनको साहित्य क्षेत्रलाई उच्च स्थानमा पु¥याएको बताए ।
‘मुगलान’ महाकाव्यको समीक्षा छन्दकाव्य प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलले गरेका थिए । उनका अनुसार महाकाव्य ‘मुगलान’मा अहिलेको वैदेशिक रोजगार भनेजस्तै त्यसबेला मुगलान भनिने ठाउँमा जाँदाको समस्या, घरपरिवारको सम्झनाको चित्रण गरिएको छ । ‘मुगलान’ महाकाव्यमा राणाशासन, २००७ सालको क्रान्ति, पञ्चायती व्यवस्था, धर्म–संस्कृति, राजा महेन्द्रको प्रभाव, भूकम्प, हलो आन्दोलन, सतीप्रथा, कमाराकमारीप्रथादेखि बहुदलीय व्यवस्थासम्मको चित्रण गरिएको छ । दुई सय उपशीर्षकमा महाकाव्य तयार भएको हो ।
‘मुगलान’ लेखक घिमिरेका पिता वासुदेव घिमिरे र माता शिवादेवी घिमिरेको जीवनमा आधारित रचना हो । समीक्षक लकाश पौडेलले घिमिरेका पिता वासुदेव लमजुङको पुस्तुनबाट मुगलान छिरेको, मुगलानको आन्दोलन हुँदै अनेकौँ संघर्षका साथसाथै चितवन झरेसम्मको चित्रण कृतिमा पाइने बताए ।घिमिरेकी आमा शिवादेवीको ६ वर्षको उमेरमा विवाह भएको र उनले सहेका बुहार्तन, संघर्ष र बालविवाहको समस्याको पनि महाकाव्यमा चित्रण गरिएको छ ।
अर्को खण्डकाव्य ‘पथिक’ घिमिरेको स्वयं आफ्नो भोगाइ हो । लेखक घिमिरे निवृत्त सरकारी कर्मचारी हुन् । तीन दशक उनले खानेपानीको क्षेत्रमा काम गरे । खानेपानी क्षेत्रमा काम गर्दाका अनेकौँ गाउँका समस्या र आफ्नो जीवनको भोगाइ नै यस कृतिमा पाइन्छ ।
‘पथिक’ खण्डकाव्यको समीक्षा डा. धनेश्वर भट्टराईले गरेका थिए । कार्यक्रममा कविताबाट छन्दकवि विदुर अधिकारीले कृतिको समीक्षासमेत गरेका थिए । कार्यक्रममा महानगरका प्राज्ञ पोषराज पौडेल, साहित्यकारहरु हरिप्रिया रिजाल, सूर्यमणि रेग्मी, रत्ननगर नगरपालिकाका प्रज्ञा केशवराज आमोदी, लेखकका दाजु बलराम घिमिरेलगायतले कृतिगत चित्रणसहित रचना वाचन गरेका थिए ।
काव्यको साहित्य संगम चितवनले प्रकाशन गरेको हो। प्रकाशन सहयोग कवि बिष्णु प्रसाद घिमिरेले गरेका थिए।
चितवनको साहित्य उन्नयनका लागि लेखक घिमिरेले दुई लाख ५१ हजार १८१ रूपैयाँको अक्षयकोषको घोषणा गरेका छन् । उनले सो रकमको चेक साहित्य संगम चितवनलाई हस्तान्तरणसमेत गरे । उक्त कोषबाट आएको वार्षिक आम्दानीबाट एक जना स्रष्टालाई सम्मान गरिने लेखक घिमिरेले बताए । उनले बुबा वासुदेव घिमिरे र माता शिवादेवी घिमिरेको नाममा अक्षयकोष बनाएका हुन्, वार्षिक एक जना स्रष्टा नगदसहित कदरपत्रका साथ सम्मानित हुनेछन् ।
लोकार्पण कार्यक्रमको सञ्चालन साहित्य संगम चितवनकी सचिव उषा तिवारीले गरेकी थिइन् ।यी दुई कृतिसहित घिमिरेका सातवटा कृति बजारमा आएका छन् । यसअघि घिमिरेले ‘गोरेटो’ छन्द कवितासङ्ग्रह–२०७९, ‘जिन्दगीका तरङ्गहरु’ गजल सङ्ग्रह–२०७९, बृहत् कवितासङ्ग्रह (संयुक्त लेखन : २०८०) प्रकाशित गरिसकेका छन् ।
लेखक घिमिरेले हालसम्म पाँच हजार कविता लेखिसकेका छन् ।

