टेमवर्थ, एनएसडब्लु (अष्ट्रेलिया) : नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा अष्ट्रेलियाको टेमवर्थमा सांगीतिक दर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। साँझ ५ बजेदेखि सुरु भएको कार्यक्रममा उपस्थिति अथितिहरुलाई समुदायका सचिव मदन कुमार पाण्डेले मन्तव्य सहित् स्वागत गर्नुभयो। नेपाली लोक कलाकार बद्रि पंगेनीको सांगीतिक माहोलमा सम्पूर्ण नेपाली महिला दिदीबहिनी तथा आमाहरुले दरखाने कार्यक्रम मनाउनु भएको हो। झन्डै ३०० जनाको उपस्थिति रहेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको समुदायका अध्यक्ष सागर पौडेलले बताउनुभयो।
स्थानीय काउन्सिलका मेयरका साथसाथै टेमवर्थ क्षेत्रमा रहेर व्यवसाय गर्नुहुने सम्पूर्ण भारतीय तथा बंगाली व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो। झन्डै ५ घन्टाको कार्यक्रममा स्थानीय कलाकारहरु प्रशान्त उदय, समिक्षा श्रेष्ठ, शिखर पौडेल, सरिता पौडेल, अपराजिता पन्थी तथा अभिषेक त्रिपाठी (डिजे सेउसि) को पनि प्रस्तुति रहेको थियो। नेपाली कला संस्कृति झल्किने गरि भेषभूषामा उपस्थित भएर यसरी समुदायमा कार्यक्रम गरिराख्नाले यहीं जन्मिएका दोस्रो पुस्ताहरुलाई पनि आफ्नो कला संकृति प्रति लगाव जाग्ने समुदायका अग्रज तथा पूर्वाध्यक्ष विकास सापकोटाले बताउनु भयो।
नेपाली कलासंस्कृतिको जगेर्नाका लागि नेप्लिज इन टेमवर्थ इन्कोर्पोरेटेडले वर्षैभरि विभिन्न नेपाली चाडवाड मनाउने क्रमलाई निरन्तरता दिने समुदायका उपाध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो। येसैगरी वार्षिक रुपमा हरितालिका तिजको अवसरमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुलाई आमन्त्रित गरि कार्यक्रम गर्ने गरिएको र यसपालिको कार्यक्रममा ३०० जनाको हाराहारीमा उपस्थितिले आयोजकलाई हौसला मिलेको र अझै उत्साहित बनाएको समुदायका उपसचिव सुरेश श्रेष्ठले बताउनुभयो।

कार्यक्रमको संचालन सदस्यद्वय कविराज लामिछाने र शितल शाहले मनोरन्जनात्मक तरिकाले गर्नुभएको थियो। साथै अन्तिममा यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संस्थाहरुलाई समुदायले एकमुष्ट धन्यवाद ज्ञापन गरेको छ।


