-रामशरण गैरे
मलाई अध्यात्मतिरको झुकाव अलि पहिलेबाटै थियोजस्तो लाग्छ । यो संसार रहस्यमयी लाग्नु, प्रकृतिप्रति उच्च सम्मान जाग्नु, जीवनमा घट्ने हरेक घटनाहरू एउटा संयोग मात्र लाग्नु तथा म अहिले जे गरिरहेको छु, जहाँ छु, यो अस्तित्वले मेरो लागि निर्धारण गरेको हो भन्ने यकिन विश्वास हुनुजस्ता मानकहरूले म आफूले आफूलाई नास्तिक र आस्तिकको तराजुमा मापन गर्दा अलि बढी आस्तिकतिर ढल्किएको हुँ कि जस्तो महसुस गर्छु ।
क्यानडाको हामिल्टनमा केही समय रहदा कहिलेकाहीँ युगल कुञ्ज स्थित ‘राधा कृष्ण’को मन्दिरमा गएर ‘हरे कृष्ण हरे राम’को भजन गाउनु, कहिलेकाहीँ मन्दिरमा भैपरी आउने विभिन्न कामहरूलाई स्वयंसेवकको रूपमा सेवा गर्दा अपार आनन्दको अनुभव हुँदै गर्दा यस्तै प्रकारको आध्यात्मिक खोजमा केही समय बिताउन पाए हुन्थ्यो भन्ने सधैँ मनमा लागिरहन्थ्यो । धेरै वर्ष अधि रोजगारीको क्रममा युएइमा रहदा सामाजिक सञ्जाल केलाउने क्रमम़ा ओशोको प्रवचनहरू युट्युबमा हेरेको थिए र त्यसप्रति रूचि जागेको थियो पछी क्यानडा रहदा पर्याप्त पमयपनी मिलेकोले ओशोको प्रवचन र व्यक्तित्वबाट निकै नै प्रभावित भई उहाँसँग सम्बन्धित धेरै सामग्रीहरू युट्युबमा खोजीखोजी हेर्न थालेँ । हुन त म काठमाण्डुमा रहदा एक पटक एतिकै घुम्दै तपोवन पुगेँको थिए ।
बालाजु बाइपासबाट करिब ५ किमि ककनी जाने बाटोमा नागार्जुन हिल्समा अवस्थित तपोवन जानका लागि बाइपासमा समयसमयमा छुट्ने सार्वजनिक सवारीसाधनवाट सजिलै पुग्न सकिने रहेछ । वरिपरि हरिया पहाडहरूको बीचमा अवस्थित तपोवन साँच्चिकै तपोवन नै रहेछ । हरियो जंगल, कलकल बग्ने पानीको बीचमा पारिलो घाम पर्ने दक्षिणतर्फ़ फर्किएको एउटा पहाडमा स्वामी आनन्द अरुणले आजभन्दा करिब ३५ वर्षअगाडिदेखि यो कमुनको स्थापना गर्नुभएको रहेछ । आवासीय सुविधासहितको ध्यान केन्द्र, साधकहरूलाई खानपिनका लागि सुव्यवस्थित ‘सुजाता किचेन’, विपश्यना ध्यानका लागि नवनिर्मित बुद्ध मन्दिरलगायत ओशोको समाधिस्थल, शिवपुरी बाबाको मन्दिर तथा आगन्तुकहरूलाई परमसत्य मृत्युको बोध गराउने मृत्यु पार्क आदि तपोवनका मुख्य आकर्षण रहेछन् ।
झट्ट हेर्दा ओशोका विचारहरू भौतिकवादीजस्ता लाग्दछन् । तर, सारमा ती विचारहरू अध्यात्मवादी रहेका छन् । उनको भनाइ नै छ– भौतिकवादको दरो जगविना आध्यात्मिकता (धार्मिकता) टिक्तैन । वास्तवमा उनी द्वैतवादी देखिन्छन् । एकातिर उनी ईश्वरको विरोध गर्दछन् भने अर्कातिर ईश्वर र भगवानका बीच विभेद गरेर भगवानमाथि आस्थासमेत प्रकट गर्दछन् । कृष्ण र बुद्धको भजनकीर्तन गर्दछन् र पुनर्जन्म तथा जीवनको शाश्वततामाथि विश्वास राख्तछन् । विज्ञानले पुष्टि गर्नै नसक्ने पुनर्जन्म र जीवनको शाश्वततामाथि विश्वास गर्ने, भगवान्माथि आस्था राख्ने र भजनकीर्तनमा रमाउने ओशोको मतलाई यसका अनुयायीहरूले आलोचनात्मक दृष्टिले नहेरी अकाट्य विश्वासका रूपमा लिने गरिरहेका छन् । यसको अर्थ ओशोले जेजस्तो मत प्रचार गरे पनि त्यसलाई विश्वासका रूपमा मान्यता दिएर ओशोसम्प्रदाय आज धार्मिक सम्प्रदायका रूपमा विकसित हुने प्रक्रियामा अघि बढिरहेको सजिलै देख्न सकिन्छ ।
ओशोका कतिपय चिन्तनहरू एकदमै अनैतिहासिक वा इतिहासविरोधी छन् । अतीतप्रतिको उनको विक्षोभ यसैको एउटा उदाहरण हो । वर्तमान परिस्थितिको निर्माण अतीतले गरेको हो र मनुष्यताको सारा अतीत मूढतापूर्ण विचारधाराहरूबाट भरिएको छ भन्ने उनको विचार यसअघि नै हामीले उल्लेख गरिसकेका छौँ । पृथ्वीलाई मनुष्य सिर्जन गर्न चालीस लाख वर्ष लाग्यो, यो त्यति महत्त्वपूर्ण छ भनेर मूल्यांकन गर्ने रजनीश जब अतीतलाई सम्पूर्णतया गाली गर्दछन्, त्यतिखेर उनको यही इतिहासविरोधी दृष्टिकोण प्रकट हुन्छ । भौतिक तत्त्वमा रस लिने र आत्मिक तत्त्वको गहन खोजीमा लाग्ने नयाँ र परिष्कृत मानिसको जुन चित्र ओशोले जोरबा दि बुद्ध भन्ने सूत्रबाट व्यक्त गर्ने प्रयत्न गरेका हुन्, ती जोरबा र बुद्ध दुवै जना अतीतकै देन थिए भन्ने तथ्य हामी सबैलाई थाहा नै छ ।
त्यस्तै ओशोले आफ्नो चिन्तनमा विज्ञान र प्रविधिमाथि जुन विशेष जोड दिएका छन्, त्यो विज्ञान र प्रविधिको विकास पनि आज एकाएक नभएर अतीतदेखिकै निरन्तर विकासको परिणाम हो भन्ने पनि हामी बिर्सन सक्तैनौँ । अरू सबै कुरालाई छोडेर ओशोले आफ्नो चिन्तनमा अतिशय महत्त्व दिएको ध्यानको विषयलाई नै लिने हो भने पनि ध्यानका ती विधिहरूमध्ये अधिकांश वा प्रायः सबै नै ओशोले अतीतका विद्वान्हरूबाट प्राप्त गरेका हुन् भन्ने तथ्य कसैबाट छिप्न सक्ने विषय होइन । अनि एकोहोरो रूपमा अतीतको विरोध केका लागि, स्वतः प्रश्न उठ्न पुग्छ ।
धर्म भनेको आत्म–खोज र आन्तरिक रूपान्तरणको मार्गको साथै प्राकृतिक नियमका साथै सत्य र ज्ञानको लागि व्यक्तिगत खोज धर्म हो । साँचो धर्मले व्यक्तिलाई ध्यान र जागरूकतामार्फत भित्री ज्ञान र आत्म–प्राप्तिको लागि मार्ग प्रदान गर्दछ भन्ने ओशोको धारणा थियो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अङ्गालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं । तिनै ईश्वर प्राप्तिका लागि भनेर पूजापाठ गर्ने, खसीबोका, हाँसकुखुरा बली दिने गर्छौं । कोही मूर्तिका सख्त विरोधी छौँ त कोही अन्धभक्त छौँ। हिन्दूले लक्ष्मी माता मानेर पूजा गर्ने गाई मुस्लिमको अल्लाह खुशी पार्ने आधार बन्दछ । यस प्रकार विरोधाभाषी क्रियाकलापमार्फत हामी मान्छे कर्तव्य निर्वाह र धर्म प्राप्तिको मार्गमा सरिक छौँ । फलस्वरूप धनजनको सङ्हार गर्ने धर्मयुद्ध भएका छन्, भइरहेका छन् ।
धर्मको प्रचार र रक्षार्थ भनी खर्चिला यज्ञयज्ञादि, तीर्थयात्रा, गोष्ठी, सम्मेलन आदि भइरहेकै छन । र, पनि न मानसंहार रोकिएको छ, न त धन विनास थामिएको छ । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इष्र्या जागा अवस्थामा छ । कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाले गर्दा मानवता नै हराउन थालेको छ । आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्च्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु भइरहनु मानव सभ्यताकै दुर्भाग्य हो । मौखिकरूपमा हामीले सुमार्गमा फर्केका हुन सक्छौँ, तर हाम्रो मन फर्कन सकेको छैन । मन फर्काउन चित्तशुद्धीको अभियानमा सरिक रहनु आवश्यक हुन्छ । यसका अनगिन्ती मार्गमध्ये ध्यान, योग, प्रणायमको मार्ग एक महत्वपूर्ण मार्ग हो ।
तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यही प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ। ओशोका अनुसार धर्मका जति पनि परिभाषा दिइएका छन्, ती एकदमै कुरूप र गलत प्रमाणित भएका छन् । तिनले खुसी, सौन्दर्य र प्रेमको उचाइसम्म उठ्नमा मानिसलाई कुनै सहयोग पुर्याएका छैनन्, तिनले त बरु मानवतालाई दुःख र पीडामा पो होमेका छन् ।
तिनले मानिसलाई स्वतन्त्रता सिकाएका छैनन्, उल्टै तिनले आज्ञाकारिताको नाममा मानिसमाथि सब किसिमका दासताहरू लादेका छन् । पुरोहितहरूको आज्ञापालन, पैसावालहरूको आज्ञापालन र सत्ताधारीहरूको आज्ञापालन, संक्षेपमा सम्पूर्ण निहित स्वार्थहरूको आज्ञापालन गर्न तिनले सिकाउँछन् । धर्मले संसारमा काटमार मच्चाएको, कथित धर्मयुद्ध चलाएको र मनुष्यको अखण्डता र मानवतालाई नष्ट गरिदिएको छ।सबै धर्महरूको जोड एउटै मात्र कुरो विश्वासमा जोड भएको कारणले मानिस आजसम्म बुद्धिहीनतामा बाँचेको छ । विश्वास बुद्धिका निम्ति जहर हो । धर्महरू खालि एउटै कुरो विश्वासमाथि जोड दिने गर्दछन् र विश्वास सबै किसिमको विकासको बाधा हो ।
धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने उनको ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन्, संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनून् । अनि मात्र हिन्दू, जैन, क्रिष्चियन, इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम, कृष्ण, क्राइष्ट, बुद्ध, मोहम्मादहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।’
ओशोको विचारमा राष्ट्रपछिको अर्को ठूलो सामाजिक रोग धर्म हो । ओशोको भनाइमा धर्महरू परजीवी रहेका छन्, यिनले मानिसहरूको शोषण गर्दै आएका छन्, उनीहरूलाई दास बनाउँदै आएका छन् र उनीहरूलाई बलपूर्वक विश्वास समाउन बाध्य पारिरहेका छन् । ओशोका दृष्टिमा विश्वास बुद्धिका निम्ति जहर हो, सबै किसिमको विकासका निम्ति बाधक तत्त्व हो । सबै धर्म विश्वासहरूमा आधारित छन् । तर विश्वास मानिस आफैंलाई धोका दिने एउटा चाल मात्र हो । धर्महरूले काल्पनिक विश्वास निर्मित गरेर मनुष्यको मति मन्द बनाएका छन् ।
ओशोलाई बुझ्ने विभिन्न तौरतरिकाहरूमध्ये मैले ओशो स्वतन्त्रताको पक्षेपाती, प्रेमको पुजारी र २१औँ शताब्दीसुहाउँदो साधनाको गुरुको रूपमा बुझेको छु । पश्चिमा पुँजीवादी समाजको व्यभिचार, वेश्यावृत्ति र बहुगामितालाई वैधता प्रदान गर्ने प्रयत्नबाहेक यो अरू केही हुन सक्तैन । विवाहप्रथाको विरोध, मुक्त प्रेममाथि विशेष जोड, सम्भोगलाई विशुद्ध क्रीडा, आनन्दको विषय, खतरा र उत्तरदायित्वबाट मुक्त बनाउनुपर्ने उनको दृष्टिकोणले त्यही चिन्तनलाई प्रतिनिधित्व गर्दछ । यौनप्रति उनको विशेष मोह व्यक्त भएको पाइन्छ । यौनतृप्तिलाई परमात्माको प्राप्ति मान्ने, सम्भावना भयो कि सम्भोग गर्नुपर्छ भनेर उत्प्रेरित गर्ने र बढी हारमोन हुनेहरूका लागि बहुगामिता नैतिक हो भनेर खुल्ला रूपमा बहुगामितालाई प्रश्रय दिने उनका चिन्तनहरू यौन स्वच्छन्दता र अराजकताका पक्षमा रहेका छन् र यो खुलेआम वेश्यावृत्तिलाई बढावा दिने दृष्टिकोण हो ।
ओशोका अनुसार, यदि मान्छेले कसैको आँखामा आफ्नो जीवनको गरिमा देख्छ, तब उसले आफूलाई सार्थक पाउँछ । प्रेममा हुनु भनेको आनन्दको स्वर्गमा प्रवेश गर्नु हो । मान्छेभित्र ध्यान अनि बाहिर प्रेम हुनुपर्छ । ओशोको दृष्टिमा त्यही व्यक्ति कवि हुन सक्छ, जसले प्रेमको अनुभव गरेको होस् । अनि प्रेमसँगै जागरूकता पनि ऊसँग होस् । मान्छे स्वयंको भित्र ध्यान अनि बाहिर सम्बन्धहरूमा प्रेम हुनुपर्छ । भित्र ध्यानको फूल फुलोस्, बाहिर प्रेमको सुगन्ध निस्कियोस् । प्रेम परमात्माकै अर्को रूप हो । त्योभन्दा कम प्रेमको परिभाषा छैन । प्रेम त अर्को जगतको हीरा हो ।
ओशोको दृष्टिमा जब मान्छे प्रेमपूर्ण हुन्छ, तब उसले जीवनको उत्तरदायित्व सही ढंगले निभाउन सक्छ । जब मान्छेभित्र प्रेम उत्पन्न हुन्छ, तब मात्र उसले अरूलाई प्रेम दिन सक्छ । जब मान्छेमा प्रेम उत्पन्न हुन्छ, तब उसको प्रेम दिने सामर्थ्य बढ्छ, अनि उसमा अरूसँग प्रेम माग्ने इच्छा हट्छ । जब मान्छेभित्र प्रेम आयो भने उसले आफ्नो कर्तव्य सही ढंगले निभाउन सक्छ । प्रेम लेनदेन होइन, जब प्रेम लेनदेन हुन्छ, तब त्यहाँ छिटै प्रेम घृणामा परिवर्तन हुन्छ । ओशोको सारा प्रयास मान्छेमा प्रेम कसरी पैदा गराउने भन्ने देखिन्छ ।
प्रेम त्यस व्यक्तिमा हुन्छ, जब उसमा आनन्द उपलब्ध भएको हुन्छ । प्रेम त्यही व्यक्तिले दिन सक्छ, जसभित्र दुःख मेटिएको होस् र ऊ आनन्दित भएको होस् । प्रेमभित्र कुनै अपेक्षा हुँदैन ।ओशोका अनुसार, प्रेम पाप हुन सक्दैन । यदि कसैको जीवनमा क्रोध, ईष्र्या, वैमनश्यता र जलन छ भने उसको प्रेममा प्रदूषण छ । व्यक्तिमा भएको क्रोध, ईष्र्या, जलन हट्यो भने प्रेम उत्पन्न हुन थाल्छ । जीवनले दिएको प्रेम गर्ने अवसरलाई मान्छेले खेर फाल्नु हुँदैन । प्रेमबाट भोगी पनि वञ्चित हुन्छ र संसारबाट भागेको सन्न्यासी पनि वञ्चित हुन्छ प्रेमबाट । जीवनलाई समग्रतामा जिउनुपर्छ । जीवनका सारा रङहरूलाई समेट्दै जीवन जिउनुपर्छ । यो संसारमा प्रेमबिनाको जुनसुकै सम्बन्ध बनाउनुस्, त्यो सम्बन्ध सतही हुन्छ ।
प्रेमबिनाको विवाहतर्फ संकेत गर्दै ओशो भन्थे— विवाह र वेश्यागमनमा म कुनै फरक देख्दिनँ । ओशो यति कठोर सत्य बोल्थे, जसले गर्दा सामाजिक मान्यताहरू हल्लिन्थे । ‘विवाह गर्नुअघि स्त्री र पुरुष तीन–चार वर्षसँगै बस्नुपर्छ र एक–अर्काका भावना, स्वभाव बुझ्नुपर्छ अनि यो व्यक्तिसँग जीवन जिउन सहज हुन्छ भन्ने दुवैलाई लागेमा अनि दुवैमा एक–अर्काप्रति प्रेम कायम रहेमा मात्र विवाह गर्नुपर्छ,’ ओशोको भनाइ छ, ‘विवाह गर्न कानुनी रूपमा बढी जटिलता हुनुपर्छ । विवाह गर्ने अनुमति प्रेम जोडीले सजिलै पाउनु हुँदैन, तर सम्बन्ध विच्छेद एकदम सजिलोसँग हुने कानुनी व्यवस्था हुनुपर्छ ।’
ओशोका अनुसार, अकारण र बेसर्त जब प्रेम आफ्नो शुद्धतामा पैदा हुन्छ तब प्रेम मन्दिर बन्छ । जब प्रेम आफ्नो अशुद्ध रूप अर्थात् वासनाका रूपमा, शोषण र हिंसाको रूपमा, ईष्र्या र द्वैषका रूपमा प्रकट हुन्छ तब प्रेम कारागार बन्छ । कारागारको अर्थ हुन्छ, जसबाट मान्छे बाहिर निस्कन चाहन्छ, तर निस्कन सक्दैन । जुन बन्धन जस्तो बोझिल बन्छ । जसले मान्छेलाई डुबाउँछ । जसका कारण मान्छे मुक्त हुन तड्पिन्छ तर मुक्त हुन सक्दैन । असली प्रेम त मन्दिर जस्तो हुन्छ । मान्छे त्यसभित्र आउन वा बाहिर पनि निस्कन सक्छ सजिलै । भित्र आउन जति स्वतन्त्रता हुन्छ, बाहिर निस्कन उति नै स्वतन्त्रता हुन्छ । मन्दिरबाट मान्छे बाहिर जान चाहँदैन तर बाहिर निस्कन स्वतन्त्रता हुन्छ ।
प्रेम शरीरको आकर्षण होइन दुई मनबिचको मिलन हो भन्ने ओशोको भनाइ छ । उनका अनुसार, प्रेम अन्त्यमा त दुई आत्माको मिलन बन्छ । जुन प्रेममा परमात्माको दर्शन हुन्छ, त्यो मन्दिर हो । प्रेम कारागार भएका कारण साधुहरू प्रेमबाट भागेका छन् । सारा दुनियाँमा धर्मले सिकाएको छ प्रेमबाट बच । अधिकांश मान्छेहरू प्रेममा डुब्छन् अनि नष्ट हुन्छन् । २१औँ शताब्दीका रहस्यदर्शी ओशोले प्रार्थना प्रेमकै रूप हो भनेका छन् । त्यस कारण ओशोले संसारबाट भाग भन्दैनन् । किनकि आफ्नो आत्मक्रान्ति नगरीकन यस संसारबाट भाग्नेले केही पाउँदैन ।
उनी भन्छन सेक्स परमात्माको शक्ति हो । आनन्दको द्वार हो । मैथुनको समयमा मन विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु, जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ, त्यो विनासेक्स पनि बर्सिन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ । तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलव के हो भने म सेक्सलाई रूपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन, बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।यदि तिम्रो सेक्स साँच्चिकै तृप्त भएको खण्डमा तिमीलाई परमात्माको आवश्यकता नै रहँदैन, किनभने तिम्रो जीवन कृतकृत्य हुन्छ । तर तिम्रो सेक्सको निन्दा गरियो, त्यसको दमन गरियो, त्यसलाई नष्ट गरियो र तिम्रो मनमा यसप्रति निन्दाको भाव उत्पन्न गरियो भने मात्र परमात्मा सदा जीवित रहनेछ । तिम्रो आत्मघातबाट परमात्माले ऊर्जा प्राप्त गर्दछ ।
सेक्सले तिमीलाई जीवनको यथार्थको रहस्य उजागर गर्नेछ, किनकी सेक्सनै तिमीमा भएको सबैभन्दा जीवित कुरा हो। दिमाग तिमीसंग भएको सबैभन्दा मृत वस्तु हो अनि सेक्स सबैभन्दा जीवित। त्यसैले तिम्रो दिमाग सदैव सेक्सको विरोधमा हुनेछ, सेक्सलाई सधै दबाउन खोज्नेछ। यी एकअर्काका दुश्मन हुन। दिमाग मृत हो अनि सेक्स जीवित शक्ति, यी दुइ बीच द्वन्द चलिरहन्छ। जब तिमी सेक्स तर्फ अगाडी बढ्छौ, तब दिमागमा उदासी छाउँछ , अनि दिमागले भन्छ, ‘यो गलत हो’।दिमाग नैतिकवान बन्छ। दिमाग पुरातनवादी बन्छ, दिमाग नै पुजारी बन्छ। दिमागले निन्दागर्न सुरु गर्छ। सबै जीवित वस्तुलाई दिमाग निन्दा गर्न सुरु गर्छ, अनि सबै मृत वस्तुलाई दिमाग पुजा गर्न सुरु गर्छ। र सेक्स तिमीमा भएको सबैभन्दा जीवित वस्तु हो किनकी तिम्रो जीवन यसैबाट आएको हो। तिम्रो जन्म यसैबाट भएको हो, अनि तिमीले यसैबाट जन्म दिन सक्छौ। जहाँ जहाँ छ जीवन, छ जीवको अस्तित्व, सेक्स नै स्रोत हो।मानिस जो प्रेमसंग डराउँछन् सेक्ससंग डर मान्दैनन। प्रेम घातक हुन्छ, सेक्स खतरनाक हुदैन, यसलाई आफुखुसी प्रयोग गर्न सकिन्छ। कसरी गर्ने, अहिले धेरै पद्धति छन्। तिमीले आफुखुसी प्रयोग गर्न सक्छौ, सेक्स एक विधि बन्न सक्छ। प्रेम कहिल्यै विधि बन्न सक्दैन।
सेक्समा पनि जब तिमी नियन्त्रण गर्न खोज्छौ, सेक्सले पनि तिमीलाई लक्ष्य भेट्न मद्धत गर्दैन। यो एक निश्चित विन्दुसम्म जान्छ अनि तिमीलाई छोडिदिन्छ किनकी कहिँ न कहिँ यसले तिमीलाई छोड्नै पर्छ।त्यसैले संभोग निकै कठिन बन्दैछ। स्खलन हुनु संभोग हैन, बच्चालाई जन्म दिनु संभोग हैन। संभोगको लागि सबै शरिर सामेल हुनु पर्छ, दिमाग, शरिर, आत्मा एकसाथ। तिमीमा कम्पन आउँछ, तिम्रो सम्पुर्ण जीव काँप्छ, पाउ देखि शीर सम्म। तिमी आफ्नो वशमा हुने छैनौ। अस्त्तिवले तिमीमा आधिपत्य जमाएको छ र तिमीलाई थाहछैन तिमी को हो। यो एक पागलपन हो, गहित निद्रा हो, यो ध्यानजस्तो हो, यो मृत्यु झै हो।जति मानिस सेक्स गर्छ उति नै उ आविस्कार गर्छ। जति मानिस सेक्स गर्छ त्यति नै उ बुद्धिमान अनि चतुर हुन्छ। यौन शक्ति जति कम हुन्छ उ त्यति नै चतुरता कम हुन्छ। किनकी सेक्स एक गहिरो खोजकार्य हो, रहस्यको खोज हो, शरिरको मात्र होइन, विपरित लिंगीको शरिरमात्र होइन, बरु जे लुकेको छ, जे रहस्यमय छ त्यसको खोज हो।
तिम्रो मानिस वा स्त्रीको हात समाएर मौन किन नबस्ने? आँखा बन्द गरेर अनुभव किन नगर्ने? एक अर्काको समीपता अनुभुत गर, एक अर्काको अनुभुतीमा पस, अर्कोको अनुभुती आफुमा आउन देउ। संगै कम्पन ल्याउ, संगै झुल; यदि अकस्मात कुनै ठुलो शक्तिले धारण गर्छ भने संगै नाच। तिमीले संभोगको सबैभन्दा उचों बिन्दु भेट्नेछौ जुन पहिले कहिल्यै अनुभव नभएको होस्। संभोगको यो उच्च विन्दुसंग सेक्सको कुनै सम्बन्ध छैन। वास्तवमा यसको मौनतासंग प्रत्यक्ष सम्बन्ध छ।अनि आफ्नो यौन जीवनमा ध्यानी बन्न सक्यौ भने, तिमी प्रेम गर्नसंगै शान्त बन्नेछौ।सामान्यतया सेक्स र प्रेमलाई संगै जोडिन्छ, कुनै भित्री रहस्य भए झै। तर हैन। प्रेम केवल सेक्स गएपछि आउछ। त्यसअघिको प्रेम त केवल एक वासना हो, बाटो हो, बहाना हो, माध्यम हो, अरु केही होइन।
सेक्सको लागि केवल तयारी मात्र हो। दुइ बिच जति सेक्स हुन्छ त्यति नै कम प्रेम हुन्छ। तर जब सेक्स ध्यान बन्छ, प्रेम पनि मौलाउछ।म सेक्सको विरुद्धमा छैन अनि प्रेमको पक्षमा हैन। तिमीले यो भन्दा माथी उठ्नु पर्छ। यसैमा ध्यान गर्नुपर्छ। मेरो मतलब तिमी चेतनामा हुँदा नै यसबाट गुज्रनुपर्छ, अचेत भएर लिप्त हुने होइन। ठुलो सुख पाउछौ जब चेतना जागृत गर्छौ। अचेतनाले तिमीले सुख छुटाउँछौ। आँखा खोलर, आँखा बन्द गरेर हैन, आँखा खोलेर नै तिमीले बाटो देख्नेछौ।मानिस सेक्ससंग डर मान्छन्। तिम्रो शरीरको तल्लो भागको मुल्य घटेको छ। शारिरीक सुखको लागि बुझ्छौ तिमी। सेक्स र मृत्युसंग मानिसको डर छ। त्यसैले यी शब्द प्रतिबन्धित छन्। कोही मानिस सेक्स र मृत्युको कुरा गर्न खोज्दैन। हामी यी दुइ कुरामा मौन छौ। दशकौ देखि मौन छौ। शताब्दिऔ देखि मौन छौ। यी प्रतिबन्धित शब्द हुन।
जब कसैले यी शब्द निकाल्छन् भित्र भित्र कम्पन सुरु हुन्छ।पहिलो त तिमी सेक्सबाट जन्मिएका हौ, तिम्रो जन्म नै सेक्स हो। अनि जन्म र मृत्यु एउटै यथार्थको दुइ ध्रुव हुन। जन्मको समयमा मृत्यु छिपेको हुन्छ। त्यसैले मानिस सेक्स र मृत्युको सम्बन्धसंग परिचित हुन्छन्। सेक्सबिना मृत्यु सम्भव छैन, किनकी सेक्सबिना जन्म सम्भव छैन।जति तिमी सेक्ससंगै ध्यानमा जान्छौ त्यति नै तिमीमा सेक्सको प्रभाव कम हुदै जान्छ। ध्यान त्यहिबाट फक्रन थाल्छ। नयाँ ढोका खुल्नेछ। अनि विस्तारै सेक्स सुकेर जानेछ। हराएर जानेछ। रुखको हाँगाबाट सुकेका पात खसेझै। रुखलाई पत्तोपनि हुनेछन् पात सुकेर खसिसक्यो भन्ने। त्यसरि नै तिमीले थाहै पाउदैनौं तिम्रो सेक्स प्रतिको लगाव र इच्छा हराउँदै छन् भन्ने।सेक्सलाई नै ध्यान बनाउ। यसैलाई माध्यम बनाउ। त्यसपछि त्यहाँ सेक्स हुनेछैन, अनि सेक्स प्रतिको तिम्रो डर हुनेछैन, तिम्रो तीव्र इच्छा हुनेछैन। सेक्स अर्थहिन बन्नेछ। तिमी त्यसभन्दा माथी उठ्नेछौ।जति तिमी ध्यान गर्छौ, त्यतिनै सेक्सको इच्छा हराउँदै जान्छ। तिम्रो चेतन दिमागले कुनै शक्ति नलगाउदा नै सेक्समा शक्ति कम गर्दै जान्छ। अब शक्ति बग्न नयाँ बाटो बनिसकेको हुन्छ। जब शक्ति ध्यानबाट पार हुन्छ, अनि खुल्छ पवित्र ढोका।
ओशोको दर्शन फरक यस अर्थमा रह्यो कि उनले यौनलाई धार्मिक प्रगतिको बाधक ठानेनन् । सांस्कृतिक अड्चन यसमा देखेनन् । बरु यौनमा धार्मिक मूल्यलाई थप उचाइमा पुर्याइदिनेताकत रहेको तर्क गरे । त्यसो त, यौन एउटा रहस्यमयी शक्ति हो जसले जोकोही सन्त–महात्मालाई पनि आफ्नो बहसमा राख्ने सामथ्र्य राख्दछ । स्वीकार्य मापदण्डको एउटा ‘हिलिङ टुल’ हो– यौन ।उनको यौनप्रतिको बुझाइ नै दार्शनिक बुझाइ हो । प्राकृतिक तहबाट निःसृतसर्वप्रिय तत्वको खोजीको सारमा यौन नै रहेको हुन्छ । तसर्थ, यौन एउटा सम्मानसूचक वस्तुपनि हो । सुन्दर र सुरम्य वस्तुका रूपमा यौनले आफ्नो अस्तित्व दाबी गरिरहँदा यौनिकताचाहिँ यसैको सहउत्पादनको कुरूप तत्वका रूपमा उदाएको हो । जसले समाजलाई दिग्भ्रमित तुल्याउँछ ।
हामीले भोगेर आएको विगतको समाजमा यौन सहज थिएन । यौन अभिव्यक्तिमा पनि अत्यन्त जटिलताहरू मौजुद थिए । जब त्यो अव्यक्त यौनको सामाजिकता मान्छेको दिमागमा पुग्यो अनि त्यो यौन अव्यक्तता सिर्जना वा रचनामा रूपान्तरण भयो, सुन्दर सपनामा रूपान्तरण भयो । यौन सिर्जनाको मूलस्रोत पनि हो । त्यसो त, यौन जब दिमागमा प्रवेश गर्दछ, तब यौनिकताको रूपमा यो विकसित हुन्छ ।यौन विज्ञानको साध्यले जीवनको अस्तित्वको संरक्षणसितको सम्बन्धलाई औँल्याए पनि ओशोले यसको व्याख्यालाई दार्शनिक रंग प्रदान गरेका छन् । पश्चिमा समाज यौनको सुन्दरताभन्दा धेरै पर पुगेको छ ।समाजले आफूलाईयौनको अधीनमा राख्न सकेको छैन । सँगै, यौनलाई आफ्नो सांस्कृतिक अधीनमा राख्ने प्रयत्न पनि विफल भएको छ । फलतः यौनको विकृत रूप देखापरेको हो ।
उनको यही एउटा जीवनमा धेरै जीवन जिउने र जीवनलाई अधिक समृद्ध बनाउने अर्थात् बुहपति वा बहुपत्नीप्रथालाई प्रश्रय दिने र सम्भव भएसम्म यौनसम्बन्ध स्थापित गर्ने चिन्तनहरूका कारणले रहेको हो कि भनी तर्क गर्ने पर्याप्त अवसरहरू छन् । निश्चय नै, हाल प्रचलनमा रहेको एकनिष्ठ विवाह प्रथा नारीका निम्ति दासता र पुरुषका निम्ति व्यभिचार र वेश्यावृत्तिमा आधारित विवाह प्रथा हो । यसले नारीका लागि एकनिष्ठतामा जोड दिन्छ, पुरुषका लागि होइन । त्यसैले यसको विरोध हुनु अस्वाभाविक होइन । तर एकनिष्ठ विवाह प्रथाको विरोध गर्नु भनेको पुरुषले गर्दै आएको बहुगामितालाई स्त्रीका निम्ति पनि विस्तारित गर्नु पटक्कै होइन । यसको उल्टो पुरुषका निम्ति पनि एकनिष्ठता लागू गराउनुचाहिँ हो । यौनका पक्षमा समेत पुरुषलाई जत्तिकै नारीलाई पनि समान अवसर, तह र स्थान प्रदान गर्नु हो ।
यसो गर्नु भनेको विवाहलाई प्रेममा आधारित बनाउने हो । यसको अर्थ विवाह तिनीहरूका बीच गरिने वा हुने प्रथा चलाउनुपर्दछ, जसका बीच प्रेम हुन्छ । जहाँ प्रेम हुँदैन, त्यहाँ विवाह नहुने मात्र होइन, विवाह भएकै खण्डमा पनि यौनसम्बन्ध पनि अनैतिक मानिनुपर्दछ र यस्तो भएको खण्डमा सम्बन्धविच्छेद अपरिहार्य हुन्छ । ओशोले विवाह प्रथाको विरोध गर्दा उठाएको महत्त्वपूर्ण तर्क भनेकै विवाह स्थायी हुनु र प्रेमको हत्यामा विवाह प्रथा खडा हुनु रहेको छ । प्रेममा आधारित विवाहलाई मान्यता दिनासाथ उनको यो तर्क स्वतः खण्डित हुन पुग्दछ । विवाहलाई औपचारिकताको अर्थमा मात्र बुझ्नु हुँदैन । यौनसम्बन्ध स्थापित गर्ने र सँगै बस्ने वा छुट्टिने काम व्यावहारिकतामा विवाह गर्नु र सम्बन्धविच्छेद गर्नु नै हो । त्यसरी सारमा विवाहलाई स्वीकारिसकेपछि सामाजिक मान्यताका दृष्टिले यसलाई सहज बनाउन कसैले समारोह गर्छ नै भने यसको विरोध गरिरहनुको खास केही तुक देखिँदैन । दुई व्यक्तिका बीचको व्यक्तिगत मामिला भएकाले यसलाई विशेष–चर्चा–परिचर्चाको विषय बन्नबाट पर राख्न सक्दा त्यो नराम्रो कुरोचाहिँ होइन ।
ओशोको के भनाइ छ भने अस्तित्व तपाईंलाई यहीँ र अहिल्यै स्वर्ग प्रदान गर्न तयार छ। तर मानिसले यसलाई स्थगित गर्दै आएको छ, स्वर्ग सधैं मृत्युपछि मात्र प्राप्त हुन्छ भनेर । स्वर्ग यहीँ छ र अन्यत्र कहीँ पनि कुनै स्वर्ग छैन । स्वर्गको निर्माण मानिसको लोभको विस्तार हो । मानिसलाई नर्कबाट भयभीत बनाउनु मानिसको आत्माको केन्द्रमा नै ज्यादै ठूलो त्रास उत्पन्न गर्ने उपाय थियो । परमात्मा पनि ओशोका दृष्टिमा कविकल्पना मात्र हो । निश्चय नै यी कल्पनाहरू पुरेतहरूका निम्ति अतिशय लाभदायक भएका छन् । ओशोको के भनाइ छ भने सारा धर्महरू शरीर चेतना एकैसाथ भएको मनुष्य एक एकाइ हो र यो संसार मनुष्यबाट पृथक छैन भन्ने तथ्यलाई स्वीकार गर्दैनन् । धर्मले हामीलाई यस जगत्का अंश होइनौँ भन्ने सिकाएको छ । धर्मले हामी यस संसारमा कुनै सजाय भोग्न, आफ्ना मौलिक पापको प्रायश्चित्त गर्नका निम्ति आएका हौँ भन्ने शिक्षा दिने गरेको छ । सबै धर्महरू मानिसले आनन्द लिन सक्ने सबै चीजका विरुद्ध छन् । मानिसलाई दुःखी बनाउनमा, अहिल्यै र यहीँ नै स्वर्गप्राप्ति हुने शान्ति, आनन्द र तृप्तिको खोजीका सबै सम्भावनालाई नष्ट गर्नुमा धर्महरूको निहित स्वार्थ रहेको छ । धर्मका दृष्टिमा परलोक रहिरहनका निम्ति मानिसको दुःख नितान्त आवश्यक छ ।
ओशोको भनाइमा, धर्म होइन, एक किसिमको धार्मिकता, प्रेमपूर्ण हृदय, समग्रका प्रति मैत्री आवश्यक छ । यस निम्ति कुनै धर्मग्रन्थ होइन, मनुष्यता र धार्मिकता चाहिन्छ । ध्यान, सत्य, प्रेम, प्रमाणिकता र इमान्दारी चाहिन्छ । उनको भनाइमा धार्मिक व्यक्ति त्यही हो जसले संसारमा यसअघि नभएको केही सौन्दर्य, केही खुसी, केही प्रसन्नता र केही उत्सवको योगदान दिन्छ, केही नयाँ केही ताजा र केही फूल ।ओशोका दृष्टिमा राष्ट्र र धर्मलाई फ्याँकिसकेपछि समुन्नत जीवन, अधिक जीवन, श्रेष्ठता एवं बुद्धिमत्ता र अधिक सिर्जनात्मकताप्रति समर्पित विज्ञानको खाँचो पर्दछ । यी तीन कुरा पूरा भएको खण्डमा पूरै मानवतालाई धार्मिक, राजनीतिक र सामाजिक नेताहरूको हातबाट बचाउन सकिन्छ ।
उनको भनाइमा पुरोहित र राजनीतिज्ञहरूले मानवताका विरुद्ध सधैँ नै षड्यन्त्र गर्दै आएका छन् । ओशोले झन्डैजसो राजनीतिक र पुरोहितलाई समकक्षमा राखेर हेर्ने गरेका छन् । राजनीतिक र पुरोहितहरू एक–दोस्रोसँग हातमा हात मिलाएर काम गर्दै आएका छन् । राजनीतिकसँग राजनीतिक शक्ति छ भने पुरेतहरूसँग धार्मिक तागत छ । राजनीतिकले पुरेतको रक्षा गर्दछ र पुरोहितले राजनीतिकलाई आशीर्वाद दिन्छ । र, यसरी जनताको शोषण हुन्छ । दुवै मिलेर जनताको रगत चुस्तछन् राजनीतिकहरूले जीवनलाई बढीभन्दा बढी अशोभनीय बनाएका छन्, मनुष्यलाई नष्ट गरेका छन् । कारण– उनीहरूको शक्ति जनताको दासतामाथि टिकेको हुन्छ । पुरेतमाथिको आफ्नो आक्रोश व्यक्त गर्दै ओशो भन्दछन्– पुरोहितहरूले संसारमा के मात्र गरेका छैनन् र ? तिनीहरूले बोक्सी भनेर महिलाहरूलाई जिउँदै पोलेका छन् । उनीहरूले अरू धर्ममा विश्वास गर्नेहरूको हत्या गरेका छन् । उनीहरू सिर्जनात्मक मानिसहरू होइनन्, उनीहरूले पृथ्वीमा कुनै समृद्धि ल्याएका छैनन् । गुणतन्त्रको राजनीतिक र पुरोहित दुवैलाई उनीहरूको प्रदीर्घ, अति प्राचीन प्रस्थापनाबाट निकालेर एउटा सर्वथा नयाँ किसिमको व्यवस्थापन विकसित गर्दछ ।
आनन्द छ आफू भित्र बाहिर खोज्दा भेटिदैँन, धन, पद जति जोड तृष्णा कहिलै मेटिदैँन। धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो ।ओशो विचार र वर्तमान ध्यान भनेको उर्जा, उत्प्रेरणा, स्फुरण र ऊर्वरताको अर्को नाम हो । ध्यानसाधना पथमा डुबुल्की लगाउनेले जीवनमा असिम अनुभूति आर्जनका संयोगहरू प्राप्त गर्दछ । ध्यान गर्ने पनि छुट्टै किसिमको विधान छ । कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउने जाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षीभावलाई समात्न सकिन्छ । त्यसपछि भने असिमताको अनुभूति हुनथाल्छ । यसले विवेक र प्रज्ञा, समझ र संवेदना बढाउँछ । हिन्दू धर्मले सत्य, चेतना र आनन्दमय (सचितानन्द) मानेको हामीभित्रको विशाल ऊर्जा जसलाई सक्रिय पार्न ध्यान, योग, प्रणायमको आवश्यकता पर्दछ ।
ओशोको भनाइमा ध्यानले व्यक्तिलाई तनावरहित, शान्त, मौन, निरीक्षणकर्ता, सजग, अन्तप्रज्ञायुक्त बनाउँछ । ध्यानले व्यक्तिलाई एक नयाँ व्यक्ति, नयाँ मनुष्य, नयाँ चेतना बनाइदिन्छ । त्यस्तो व्यक्तिलाई भय, गम्भीरता, लोभ र घृणा आदि केहीले पनि स्पर्श गर्न सक्तैन । कुरूप, रुग्ण र घृणित जस्ता अँध्यारा मनोवेग र भावहरू केहीले पनि छुन सक्तैनन् । ध्यानले व्यक्तिलाई माथि उठाउन मात्र जान्दछ र माथि झन् माथि उठाउँदै लैजान्छ । यसो भएपछि संसारको कसैले पनि त्यस्तो व्यक्तिलाई रिप्रोग्रामिङ गर्न सक्तैन । व्यक्तिलाई रूपान्तरित गर्दैन भने त्यो ध्यान हुनै सक्तैन ।
ओशोले मान्छेलाई सरल र सहज तवरले जिउने कला सिकाएका छन् । हाँसोको माध्यमबाट मान्छेभित्रको आनन्दलाई उपयोग गर्न सकिने कुरा बताएका छन् । उनले परिस्थितिलाई हैन मनस्थितिलाई बदल्न र जीवनदेखि डरले भागेर हैन जागेर होससहितको कृत्यमा सरिक हुनुपर्ने जनाएका छन् । होस नै पुण्य र बेहोसी नै पाप भन्ने उनको दार्शनिकताको मूल पाटो हो । जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जुन मानिस जिउने कला जान्दछ, जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यस मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो ? उसलाई त जीवन नै पर्याप्त हुनेछ ।’ मानिसलाई नीति सिकाएर हैन, प्रज्ञा दिएर, विवेकको आँखा खोलिदिएर ओशोले गरेर मान्छेलाई होसपूर्ण जीवन जिउन सिकाए । व्यक्ति–व्यक्तिमा करुणा, प्रेम, शान्ति, सद्भाव फैलाएर व्यक्ति विशेषको आन्तरिक इलाज गरी समाज र राष्ट्रलाई उँभो लगाउने महान् लक्ष्य प्राप्ति गराउन ध्यानले सहयोग पुर्याउने कुरा सत्य सावित भइसकेको छ ।
वास्तवमा भौतिक समृद्धि ल्याउने विज्ञान र आन्तरिक आनन्द दिलाउने आध्यात्म दुबै हाम्रो जीवनलाई आवश्यक छ । माक्र्सवादले भौतिक समृद्धि ल्याए पनि मनोक्रान्ति ल्याउन सकेको देखिन्न । बुद्धले शान्तिको मार्ग पक्रे तर भौतिक समुन्नतिको अध्याय छाडिदिए । यिनै अपूर्णतालाई पूर्ण गर्न र मानव जीवनको साङ्गोपाङ्गो पक्षलाई बुझ्न पनि आध्यात्मिक क्रान्तिको खाँचो छ जुन धर्म र सम्प्रदायको पुच्छर पक्रेर र बुइ चढेर सम्भव छैन । निरपेक्ष भई ध्यानसाधनामा डुबुल्की लगाउनु उत्तम मार्ग हो । र, अन्यमा जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्निहित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब थोक पाखामा । पद र पैसाकै पछि लागेर मान्छेले धर्म छाडेको छ, बाटो विराएको छ ।
वंशउत्पादनका सम्बन्धमा पनि आशोको आफ्नै किसिमको दृष्टिकोण रहेको छ । उनको विचारमा परिवारनियोजन पूर्णतः अनिवार्य गरिनुपर्दछ । यसले सयगुना गुणवत्तालाई बढाउँछ । मनुष्यले बाँच्ने हो भने, आफ्नो गरिमा, सम्मान र जिउने अधिकार प्राप्त गर्ने हो भने जनसंख्यालाई घटाउनै पर्दछ । वर्षमा कति नयाँ मानिस जन्माउने हो यसको निधो चिकित्सा समिति (मेडिकल बोर्ड) ले गर्नुपर्दछ र त्यसअनुसार बालबालिकाहरू जन्माउने काम एकदमै थोरै मानिसहरूले मात्र गर्नुपर्दछ, त्यो पनि सर्वश्रेष्ठ शुक्राणु र सर्वश्रेष्ठ अण्डाणु मिलाएर कृत्रिम बीजारोपणको पद्धति अपनाएर मात्र।ओशोले स्पष्ट शब्दमा आफू परिवारनियोजनको पक्षमा मात्र होइन, आनुवंशिक यान्त्रिकको पक्षमा रहेको उल्लेख गरेका छन् । र, यो काम विज्ञानको अन्तर्राष्ट्रिय एकेडेमीको मातहतमा हुनुपर्ने समेत उनको राय छ ।
ओशोको दृष्टिमा बीजारोपण सर्वश्रेष्ठ बालक खोज्ने एकमात्र वैज्ञानिक उपाय हो । त्यसैले म बाबु हुँ भन्ने पुरानो मानसिकतालाई परित्याग गरेर मैले सर्वश्रेष्ठ बालक चयन गरेको छु भन्ने धारणा निर्माण गर्नुपर्दछ र पुरुषले यसमा गर्व समेत गर्नुपर्दछ । प्रतिभासम्पन्न, मेधावी र स्वस्थ बालक जन्माउनका निम्ति आफ्नो शुक्राणु कुन आमाको गर्भमा रहेको छ भनेर चिन्ता नदिई सर्वश्रेष्ठ बच्चा उत्पन्न गर्ने चिन्ता गरिनुपर्दछ । ओशोको त कस्तोसम्म दृष्टिकोण रहेको छ भने कुनै शिशु लाटो, अन्धो, लँगडो, बहिरो वा अस्वस्थ जन्मिएको खण्डमा उसलाई सत्तरी–असी वर्षसम्म बचाएर व्यर्थमा दुःख भोग्नबाध्य पार्ने चिन्तन लिनुको साटो बाबुआमा मान्दछन् भने त्यस्तो बच्चालाई पहिल्यै महानिद्रामा सुताइदिनु उचित हुन्छ ।
ओशोका विचारमा प्रत्येक पुरुष बाबु र प्रत्येक स्त्री आमा हुनैपर्दछ भन्ने विचार गलत छ । उनी भन्दछन्– सम्भोगबाट शिशुको जन्म हुनुहुँदैन, सम्भोग उत्तरदायित्वबाट मुक्त हुनुपर्दछ, यसमा कुनै खतरा हुनुहुँदैन । सम्भोग आमाबाबुका निम्ति विशुद्ध क्रीडा वा खेल हुनुपर्दछ । यौनतृप्तिलाई परमात्माको प्राप्ति ठान्ने ओशोको विचार यसअघि प्रस्तुत भइसकेको छ । उनी सम्भोगलाई नै जीवन मान्ने सोच समेत राख्तछन् । बहुगामितालाई अर्थात् धेरै जनासँग यौनसम्बन्ध राख्ने कामलाई एउटा जीवनमा अनेक जीवन जिउनु र जीवनलाई अधिक समृद्ध बनाउनु हो भन्ने धारणा ओशोको छ । आफूले प्रस्ताव गरेको कम्युनका बारेमा चर्चा गर्दा उनले स्पष्ट भनेका छन्– त्यसमा (कम्युनमा) विवाहको कुनै प्रश्न नै उठ्नेछैन, न त सम्बन्धविच्छेदको नै । यदि दुई व्यक्ति सँगै बस्न चाहन्छन् भने बस्न सक्तछन् र कुनै दिन उनीहरू एकसाथ बस्न चाहँदैनन् भने ठीक छ, उनीहरू छुट्टियून् । सँगै बस्ने चयन उनीहरूको आफ्नो चयन हो ।
उनीहरू कुनै अर्को मित्र छान्न सक्तछन् । वस्तुतः एक जीवनमा अनेक जीवन किन नबाँच्ने ? जीवनलाई बढी समृद्ध किन नबनाउने ? कोही स्त्री र पुरुष जीवनभरि एकअर्कासँग बस्न चाहन्छन् भने त ठीक छ, अन्यथा उनीहरू एकअर्कासँग किन टाँसिइरहने ? ओशोले बलात्कारका सम्बन्धमा आफ्नो विचार व्यक्त गर्ने क्रममा धेरै व्यक्तिसँग यौनसम्बन्ध राख्नु उचित छ भनेर खुल्ला घोषणा नै गरेका छन् । उनी भन्छन्– जो व्यक्ति बलात्कार गर्दै छ, ऊभित्र सायद ती नैतिक मानिसहरूको भन्दा बेसी हारमोन छन्, जो एउटी स्त्रीसँग सम्पूर्ण जीवन गुजार्दछन् र के ठान्दछन् भने उनीहरू ठूला नैतिकवान् हुन् । साँचो कुरो त के हो भने उनीहरूका हारमोनहरू धेरै नै कमजोर छन्, उनीहरूको हारमोनका निम्ति एउटी स्त्रीसँग रहनु पर्याप्त हुन्छ । जुन पुरुषसँग धेरै हारमोन हुन्छन्, उसलाई धेरै स्त्रीहरूको आवश्यकता हुनेछ, यही कुरो स्त्रीका सम्बन्धमा पनि लागू हुन्छ । यसमा नैतिकताको कुनै सवाल छैन, यो सवाल हो जैविकीको ।
ओशोका अनुसार समाजको सबैभन्दा पहिलो र महत्त्वपूर्ण एकाइ परिवार हो र परिवार लाखौं रोग र बिमारीहरूको मूल कारण हो । त्यसैले परिवारलाई नष्ट गर्नुपर्दछ । समाजको सट्टा सामूहिकताको नयाँ रूप कम्युन निर्माण गरिनुपर्दछ । आदर्श कम्युनमा परिवार हुँदैन । विवाह हुँदैन । मनुष्यलाई एक अर्कासँग जोड्ने एक मात्र कानुन प्रेम हुनेछ । कम्युन स्वतन्त्र आत्माहरूको मिलनस्थल हुनेछ । बालबालिकाहरू कम्युनको संरक्षणमा हुनेछन्, मातापिताको होइन । प्रतिभा पैदा गर्ने, बुद्धिविकासका लागि अवसर प्रदान गर्ने, सबै किसिमका विकासमा बाधा पुर्याउने विश्वासको ठाउँमा बुद्धिको विकास गर्ने, अन्वेषक, अनुसन्धानक, आविष्कारक र बाह्य जगत् एवं भौतिकतामा पूरा रस लिने ‘जोरबा’ र त्यसरी नै आन्तरिक वा आध्यात्मिक खोजमा डुब्ने ‘बुद्ध’ लाई सम्मिश्रण गरेर जोरबा दि बुद्धको निर्माण गर्ने काम कम्युनमा हुनेछ । कम्युन ओशोका दृष्टिमा महत्त्वाकांक्षारहित जीवनको घोषणा हो । त्यहाँ सबै मानिसलाई समान अवसर दिइनेछ । प्रत्येक व्यक्तिलाई सम्मान दिइनेछ ।
कम्युनमा निजी सम्पत्ति हुनेछैन र पैसालाई बिदा दिइनेछ । कम्युनमा शब्दको अभिव्यक्ति तथा सिर्जनाका लागि पूर्ण स्वतन्त्रता रहनेछ । व्यक्ति जस्तो छ, त्यही रूपमा उसलाई सम्मान दिइनेछ, कसैको आदर्शअनुसार होइन । कम्युनमा सबैले उत्पादन गर्नु, सबैले मिलेर कम्युनलाई समृद्ध तथा सम्पन्न बनाउनुपर्ने हुन्छ । तर, अल्छीहरूलाई पनि त्यहाँ एक खास अनुपातमा सम्मानजनक स्थान दिइनेछ । व्यक्तिका आधारभूत आवश्यकताहरू कम्युनले पूर्ति गर्नेछ, कम्युनको समृद्धिसँगै सुख, सुविधा पनि दिइनेछ । प्रत्येक कम्युन परस्पर निर्भर रहनेछन् र तिनका बीच पैसाको होइन, वस्तुको विनिमय हुनेछ । ओशोका अनुसार यसले गर्दा गरिबी, पुँजीवादका सम्पूर्ण दुःस्वप्न र धनी र गरिब वर्ग र अर्कामाथि अधिकार जमाउने लालसा समाप्त हुनेछ ।
ओशो भन्छन्, ‘भित्रबाट जाग्नु नै ध्यान हो । सधैँ निर्विचारको अवस्थामा रहनु नै ध्यान हो ।’ध्यान भनेको स्वयं र वस्तु स्थिति प्रतिको जागरूकता हो । यो न त एकाग्रता हो, न धारणा नै । एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । ध्यानमा मन हराउँछ । ध्यान स्वयंतिर फर्कने यात्रा हो । ध्यानमा सबै बाह्य वृत्तिहरू छुट्छन् तर जागरणको सघनता रहिरहन्छ ।ओशोले परम्परागत ११२ वटा ध्यानहरूलाई आधुनिकतम मनोविज्ञान, मनोचिकित्सा र मनोविश्लेषणबाट प्राप्त ज्ञानका आधारमा परिष्कृत गर्ने काम गरेका छन् । निश्चय नै, ध्यानले व्यक्तिलाई मनोग्रन्थि र मनोदशाका समस्याबाट केही समय मुक्ति दिने, तिनलाई बिर्साउने र सामाजिक समस्याबाट केही समय अलमल्याउने (डाइभर्ट) काम गरेर सहयोग पुर्याउँछ । त्यति मात्र होइन, ध्यानले मानिसलाई केही समय ऊर्जा, मानसिक शान्ति, स्फूर्तिसमेत प्रदान गर्दछ । तर, यसले सामाजिक समस्याहरू वा व्यक्तिगत समस्याहरूलाई समाधान गर्दैन । चुनौतीका साथ के भन्न सकिन्छ भने यसले समस्याबाट मुक्ति होइन, केही समय पलायन गराउने मात्र हो । व्यक्तिलाई यसले सापेक्ष रूपले लाभ दिन सक्तछ, समस्याको समाधान भने गर्दैन ।