प्रधानमन्त्री ओलीविरुद्ध गालीगलौज र किर्ते कागजातको सहारा
-रामशरण गैरे

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंले पछिल्लो समय सामाजिक सञ्जालमार्फत् देशका नेताहरूमाथि जथाभावी गालीगलौज गर्दै आइरहेका छन् । पछिल्लो समय आफूसँग सबैको प्रमाण छ भन्दै सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसार्ईंले सोमबार आफ्नो फेसबुक पेज मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा गम्भीर आरोप लगाए । फेसबुकमा‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ लेख्दै ६ मिनेट ११ सेकेन्डको भिडियो हाले।
प्रहरीले मंगलबार कार्यालय समय खुल्नेबित्तिकै प्रसार्ईं विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरी किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिसकेको छ । प्रसार्ईं विरुद्ध प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट आजियाटा टेलिकम कम्पनीमा लगानी गरेको भ्रम फिँजाएको अभियोग छ ।
प्रसार्ईंले सार्वजनिक गरेको भिडियोअनुसार कम्बोडियाको कम्पनी आजियाटामा ओलीको लगानीको प्रमाण भनेर देखाइएको छ । ओलीको लगानी भनेर बनाइएको ३४ सेकेन्डको सो भिडियोमा अंग्रेजी नाम,थर नै गलत छ, अर्को दुई फरक नामले प्रधानमन्त्री ओलीविरुद्ध फेक प्रमाण बनाएको पुष्टि हुन्छ ।
हुन त यसअघि पनि प्रसार्ईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भनेर आरोप लगाएका थिए । प्रसार्ईंको सो अभिव्यक्तिको १३ कात्तिकमा पोखरामा भएको एमाले गण्डकी प्रदेशको कार्यक्रममा ओलीले व्यंग्यात्मक रूपमा आरोपको खण्डन गरिसकेका थिए । प्रधानमन्त्री ओलीले त्यतिबेला भनेका थिए, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु, देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन, हजार रुपैयाँ थपेर सबै दिन्छु ।’
प्रसार्ईंले आफूले विगतमा भनेको कुरा पुष्टि गर्ने भन्दै किर्ते कागजात बनाएर युट्युबरलाई बोलाएर प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाएका थिए । ‘प्रधानमन्त्री ओलीको २१ करोड डलर कम्बोडियाको आजिआटा कम्पनीमा लगानी’ भन्दै भिडियो हालेका प्रसार्ईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । भिडियो सार्वजनिक गरेर भ्रम फैलाएको तथा ओलीकै हस्ताक्षरसमेत किर्ते गरेको आरोपमा दुई मुद्दा चलाएकोछ ।
प्रसाईँ कहिले विदेशी राजपरिवारसँग नाम जोडेर चर्चामा आउन खोज्छन् त केहीले नेपालकै पूर्वराजपरिवार र नेताहरूसँग जोडिएर चर्चामा आउन चाहन्छन् तर कतै टिक्दैनन् । सबै क्षेत्रमा चर्चामा आउन चाहनु र सबैसँग सम्बन्ध देखाएर प्रसाईँले चलखेल गर्न खोज्नुको एक मात्रै कारण भनेको उनले बैङ्कबाट लिएको ऋणको धान्नै नसक्ने बोझ र त्यसबाट उम्कनको लागि गरिएको चालबाजी हो भन्ने बुझ्न गाह्रो छैन ।
कसैसँग सम्बन्ध बढाएर वा कसैको भावनासँग खेलेर बैङ्कको ऋण तिर्दै नतिर्ने वा पछि धकेल्ने चालबाजी स्वरूप प्रसाईँले बारम्बार यस्ता टिकडम बाजीहरु लगातार गर्दै आएका छन् । प्रसाईँ कहिले बैङ्कहरूबाट ऋण लिएकालाई ऋण तिर्नु पर्दैन भन्दै आन्दोलनमा उतार्छन् त कहिले राजतन्त्र फर्काउने भन्दै देश दौडाहा गर्छन् । अनि कहिले देशबाट माडबाडी समुदाय लाई नै खेद्नु पर्छ भन्दै सामाजिक अराजकता फैलाउने कुरा गर्छन् ।
त्यति मात्र होइन कहिले आफ्नो सशस्त्र माओवादी युद्धमा ठुलो योगदान रहेको बताउँछन् त कहिले केपी ओली आफ्नो हजुरबा भएको भावनात्मक कुरा गरेर लाभ लिने प्रयत्न प्रसाईँ गर्छन् । प्रसाईँ शक्तिमा रहेकालाई पहिला आफ्नो अनुकूल बनाउन खोज्छन्, त्यो नसकेपछि जथाभाबी मुख छाड्दै र भ्रम फिँजाउँदै हिँड्छन् ।
जब बैङ्कले ऋणको सावा ब्याज असुलीको लागि च्याप्छ तब प्रसाईँले एउटा न एउटा फण्डा गर्छन् र विषय बस्तुलाई विषयान्तर गर्छन् । यो फण्डा पनि त्यसकैको निरन्तरता हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
एक दिनअघि मात्र पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री ओलीको आसन्न चाइना भ्रमण भारतविरुद्ध चाइना कार्ड भनेर मर्यादाहीन तर्क गरे लगत्तै भोलिपल्ट आएको यो अर्को फण्डा निकै रहस्यमा राखेर अध्ययन गर्न सकिन्छ । देशमा राजनीतिक अस्थिरताको निरन्तरताभित्र आफ्ना अनुचित आकाङ्क्षा हरू पूरा गर्न उद्यत तत्त्व, केही पात्र र प्रवृत्तिहरूले पनि यस्ता निन्दा र भत्सर्नायोग्य हरकतहरूलाई उकेरा लगाएको आभास हुन्छ ।
उनी सबैभन्दा ठूलो र बलियो पार्टीको नेताको रूपमा स्थापित हुनु भएर उचाइ लिनुभएको कतिपयलाई मन नपरेको होला ! यो पनि लोकतान्त्रिक आचरण र आस्था नै हो। फलतः विभिन्न बेलामा उहाँ विरुद्ध राग अपाल हुने र जहर ओकल्ने गरिन्थ्यो, गरिन्छ र अहिले फेरि नियोजित ढङ्गले गरिएको छ ।
कम्बोडियामा टेलिकम बिजनेसको प्रसङ्ग जोडेर कपोलकल्पित झुटको खेती आरम्भ गरिएको छ, कुनै आकर्षक तथ्य, ऊर्जा र उर्वरता नभएको साढे ३२ अर्बको सेयर लगानी भनेर किर्ते कागजात, अडियो र भिडियो तयार गरेर भ्रामक चर्चा सुरु गरिएको छ । भारतीय अनुकूल वा कन्फर्टेबल सरकार बनाउँदा चुइँक्क नबोल्नेहरू देशघातीहरु अनेक कृत्रिम कहानी कथेर एमाले र ओली विरुद्ध ज्यान फालेर लागेका छन् , ।
तिनको पालित पोषित क्षणिक लाड, आड र भरोसामा समकालीन नेपाली राजनीतिमा टावरिङ व्यक्तित्व केपी शर्मा ओलीलाई ढाल्न सकिन्छ कि भनेर यो सबै प्रपञ्च गरिएको हुनुपर्छ भन्ने सहजै निष्कर्ष निकाल्न सकिन्छ । सामाजिक सञ्जालमा सेयर, लाइक र यसमाथिको क्षुद्र टिप्पणीले पनि यसलाई जगजाहेर गर्दछ । जहाँसम्म ओलीलाई यस किसिमले सरासर फतुर आरोपको प्रश्न छ, त्यसका अनेक कारण रहेका छन् ।
भारतीय चर्को दबाबलाई अटेर गरी नेपालको संविधान जारी गरेको, जारी संविधान विरुद्ध तराई मधेसमा फैलाइएका आपसी एकता भाँड्न फैलाइएका द्वेषपूर्ण अनेक भ्रमलाई निस्तेज पारेको,चुच्चे नक्सा नेपाली नक्सामा आबद्ध गरेको, नाकाबन्दी निष्फल पारेको,चीनसित पारवहन सन्धि सम्पन्न गरेको, सत्यमेव जयते होइन, सिंहमेव जयते भनेको तथा थिचाहा मिचाहा प्रवृत्तिलाई ओलीले पटक्क सहन नगरेको जस्ता विषय छन् ।
उनले विगतका कतिपय प्रधानमन्त्रीले झैँ नेपाल र यहाँको प्रधानमन्त्रीलाई भारतको भाइ भन्ने प्रवृत्तिलाई तर्क संगत तथा चित्त बुझ्दो रूपमा आम जनताले बुझ्ने गरी व्यवहारतः खण्डन गरिदिय । यी सबका कारण एमाले र ओली विरुद्ध भारतीय शासक कुद्ध बनेको सबैसामु छर्लङ्ग छ। मूर्ख तथा खोटीमनहरु बदलाको भावना राख्छन्, सज्जनहरू माफ गरिदिन्छन् विद्वान्हरू बिर्सिदिन्छन् भनेझैँ मूर्खको राम्रो ओखती गर्नु जरुरी देखिन्छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, जसले श्रीमती राधिका शाक्यको जागिरकालमा आर्जित सम्पत्तिसमेत आफ्नो मरणोपरान्त स्वसिद्ध राज्यको हुने सर्तमा बकस गरिदिनुभएको छ । परिवारभित्र कसैलाई सम्पत्ति जोडिदिनुपर्ने अवस्था छैन ।
राजाको सक्रिय राजनीतिक राजकीय सत्ताका अँध्यारा कालखण्डमा १४ वर्ष झ्यालखाना बसेर आउनुभएका उहाँ सभ्याचरणका पर्याय हुन । मानिसको आचरण, व्यवहार र दैनिक सक्रियतामा लोकतन्त्र र लोकतान्त्रिक आचरण प्रकट गर्नुपर्छ भन्ने मान्यतामा दृढ उनले कम्युनिष्ट आन्दोलन र राजनीतिक–वैचारिक उद्देश्य निर्देशित संगठनात्मक काममा समेत लोकतान्त्रिक आचरण अवलम्बनलाई अनिवार्य गरेकाछन । यसैको राजनीतिक दिशानिर्देशमा आज एमालेबाहेक लोकतान्त्रिक राजनीतिक पार्टी र सिङ्गो समाज लोकतान्त्रीकरणको प्रक्रियामा सफलतापूर्वक प्रवेश गरेको छ ।
भारतीय जनता र नेपाली जनताका बीचको आपसी प्रगाढ मित्रता उल्ले खनीय छ तर इस्टइण्डिया कम्पनी कुप्रभावको भारतीय शासक नेपाल र नेपाली प्रति अत्यन्त नकारात्मक तथा खोटी सोच राख्छ र यसले नेपालमा भारतीय शासक प्रति तीव्र आक्रोश छ । त्यसैले भारतीय कतिपय मिडिया नेपालप्रति चरम भ्रम फैलाउन उद्यत रहेको अहिले पनि स्पष्ट हुन्छ । यसको पछिल्लो उदाहरण कम्बोडियाको टेलिकममा ओलीको धेरै मोटो आर्थिक लगानी रहेको फेक समाचार हो ।
आरोप लगाउने मान्छे जब अधैर्य भएर आवेश र उत्तेजनामा बोल्छ तब त्यसमा अलिकति पनि सत्यता छैन भन्ने बुझे हुन्छ । सत्य तथ्य प्रमाण छ भने चरम उत्तेजनामा आएर पाँडे गाली गर्दैन । र कतिपय भारतीय मिडियाहरू फेक समाचार प्रवाह गर्छन् भन्ने कुरा भारतकै सर्वोच्च न्यायालयले आफ्नो फैसलामा उल्लेख गरेको छ ।
सामान्यतया प्रगतिशील राष्ट्रवादी शक्तिलाई अनेक तरहले षडयन्त्रमा पार्ने प्रयत्न गरिँदो रहेछ । अनि फुटाऊ र शासन गर भन्ने नीति अपनाइँदो रहेछ । त्यसैले विगतमा एकीकृत पार्टीमा नियोजित रूपमा फुट उत्पन्न गराउनुका पछाडिको राज यही हो । तिनले नै ओलीलाई संसद् विघटन गर्न बाध्य बनाइएका हुन् ।
किनभने ४०० यस वर्षमा प्रतिक्रियावादी शक्तिले धेरै जाली,झेली र फरेवी अनुभव समेत सिकेको छ । संसद् विघटन अत्यन्त अप्रिय कुरा हो र यो काम गरे लामो समय जनता भड्किन्छन् भन्ने प्रतिक्रियावादीले राम्ररी बुझेकै हो र थियो । यसका कारण एमाले नै रनभुल्लमा पर्छ भन्ने पनि उनीहरूले सोचेकै हो ।
बाध्यकारी तर अप्रिय काम गर्न बाध्य भएको यथार्थ सत्य धेरै एमालेले बुझे । संविधानका धारा र दफाको व्याख्या मात्र भर गरेर हुँदैन त्यसको मर्म र महत्त्व बोध गर्नेले टिके प्रधानमन्त्री बनाएको कदापि स्वीकार गर्दैन संसद् विघटन गरे पनि र विघटन नगरी प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरेको भए पार्टी अध्यक्ष ओलीलाई कुनै न कुनै निहुँमा उनको राजनीतिक जीवन समाप्त पार्ने दाउ प्रचण्डकै थियो ।
ओलीका दोष पाएका भए प्रधानमन्त्री हुँदा प्रचण्डले ओलीलाई बाँकी राख्ने नै थिएनन्। यो कुराको संकेत स्वयं ओलीले प्रचण्ड सहितले आफूमाथि लगाइएको फतुर आरोपको प्रत्युत्तर पत्रमा सूक्ष्म रुपमा उल्लेख गरेको पाइन्छ ।
विगतमा पटक पटक साम,दाम,दण्ड र भेद नीति अनुसार एमालेलाई समाप्त पार्न खोजिएकै थियो । जननेता मदन भण्डारीको हत्या प्रकरणमा एमाले नेतालाई मुछेर लागिपर्नु पनि विरोधको अन्तिम अस्त्र थियो ।
भण्डारीको हत्या प्रकरणमा टीएन प्रधानले धारावाहिक तर हो कि झैँ लाग्ने फेक समाचार बारबार प्रकाशित गरिएका थिए। एक समय टी एन प्रधानको जाली नामबाट तत्कालीन एक साप्ताहिक पत्रिकामा एमाले विरुद्ध धारा प्रवाह लेख लेखेर बदनाम गर्न पनि खोजियो ।
स्व. खुम बहादुर खुड्काले एमाले पार्टी फुटाउन अमुक नेतालाई ठुलै थैली दिएको कुरा सबैलाई थाहा भएकै कुरा हो । नेपाललाई कमजोर पार्न यही देशका स्थायी शक्ति, बलिया पार्टी र उच्च स्तरका नेतालाई पहिलो तारो बनाउन खोजेको र बनाएको जगजाहेर छ ।
सयौं वर्षदेखि नेपाली जनतामा विकास र समृद्धिको सपना बाँड्न सक्ने नेतृत्वको अभाव खडकरहेको घडीमा उनी त्यसको पर्याय जस्ता देखिन्थे। जसले भविष्यका लागि आवश्यक सत्य सपना देख्छन्,तिनै व्यक्तिले द्रष्टाको रूपमा इतिहासमा नाम लेखाउँछन्। ‘छुक छुक छुक छुक रेल’ भनेर नेपालीले गीत गाउने मात्र होइन, अब छुकछुक गर्ने रेल मेची–महाकाली कुदाइन्छ,केरुङबाट काठमाडौं, काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी पुर्याइन्छ।
पहाडहरूमा सुरुङ खनिन्छ र त्यहाँ पनि रेल र गाडी कुदाइन्छ। किनारबाट बगिरहेको गण्डकीतर्फ देखाउँदै तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले घोषणा गरे; ‘अब यो नदीबाट नेपाली झण्डा फरफराएको पानीजहाज गंगाहुँदै समुद्रसम्म पुग्छ।’‘नेपालको पानीजहाजले सामान र मान्छे बोकेर कसरी हिँड्छ हामी देखाइदिन्छौं’ फेरि अर्को कार्यक्रममा उनले भने, ‘सिलिन्डरको खेल अब समाप्त पार्दिन्छु, घरघरमा चुलाचुलामा ग्यासको पाइप पु¥याइदिन्छु’,।‘डिजेलको भुरुरु धुवाँ छोडिएको बस चढ्नै पर्दैन, रोडहरूमा अब इलेक्ट्रिक बस चलाइन्छ। युवाले अब खाडीको ५० डिग्रीको तातो रापमा जवानी सक्नै पर्दैन, देशमै उद्योगधन्दा खोलिन्छ, रोजगारीको सिर्जना गरिन्छ र परिवारको साथमा उद्यमी बनेर देशमै बस्ने वातावरण बनाइन्छ।’
यतिमात्र होइन, उनले भनेका थिए, ‘दिदीबहिनीहरूले बच्चा पाउन नसकेर अब अकालमा ज्यान गुमाउनु पर्दैन, तत्काल हेलिकप्टर पुग्छ र उद्धार गरेर हस्पिटल पु¥याउँछ। कुनै बच्चा र असहाय नागरिक अब नेपालको सडकमा बेसहारा देख्न पाइने छैन, तिनको राज्यले जिम्मा लिन्छ। ज्यानमाया मारेर अब कोही तुइनमा झुन्डिनु पर्दैन, त्यहाँ पुल बन्छ।
‘कुनै नेपाली अब उपचार नपाएर मर्नु पर्दैन, पालिका पालिकामा अस्पताल खोलिन्छ र जनताको उपचार गराइन्छ। अब हामी अन्धकारमा बस्नु पर्दैन, पर्याप्त बिजुली निकालिन्छ, देश उज्यालो बनाइन्छ, बढी बिजुली बेचिन्छ र डलर कमाइन्छ। उनकै पालामा हत्ताको एक दिन भएपनी वंगलादेशलाइ विजुली बेच्न शुरू गरीएको छ।
खानीहरूको खोजी गरिन्छ, स्वदेशमै खनिज उत्पादन गरिन्छ। खेती अब नयाँ प्रविधिले गर्छ, डाँडाकाँडा फलफूलमय बनाइन्छ। नेपालको आफ्नै सेटेलाइट हुन्छ। अब चीनसँग पनि पारवहन सन्धि हुन्छ, कसैको गुलाम बनिँदैन। नेपालको गुमेको जमिन फिर्ता लिइन्छ।
कुनै नेपाली अब घरबारविहीन हुनुपर्दैन, सबैलाई आवासको प्रबन्ध गरिन्छ। ठूलाठूला अन्तर्राष्ट्रिय विमानस्थल बनाइन्छ, नेपाल विश्वको ट्रान्जिट हब बन्छ। आकस्मिकतामा रोडमै प्लेनहरू अवतरण गर्न सक्ने गरी ठूलाठूला रोडहरू बनाइन्छ। शिक्षामा व्यापक सुधार गरिन्छ, विश्वको दक्ष श्रम बजार नेपालीमय हुनेछ।’ आदि आदि हालका प्रधानमन्त्री ओलीका भनाइ हुन्।
जसरी ती केपी (कृष्णप्रसाद भट्टराई)ले मेलम्चीको उडन्ते सपना देखेका थिएनन्, त्यसैगरी उपरोक्त तथ्यहरूले यी केपी (खड्गप्रसाद ओली)ले समेत गफमात्र गरेका थिएनन्। उनको कर्मले निष्ठापूर्वक काम गरे नेपाललाई समृद्धि बनाउन सम्भव छ भन्ने प्रमाणित गरिदिए। जब कि उडाउन त आज पनि यी केपीलाई उडाई राखिएकै छ।
२०७२ सालमा भूकम्पले सयौं नागरिकको ज्यान लियो, हजारौं घरहरू ढले, लाखौं नागरिक विपत्तिमा रुमलिए। विपत्तिको त्यो घडीमा राजनीतिक दलहरू संविधानको न्यूनतम सहमतिमा पुगे र संविधान जारी गरे तर विडम्बना एउटा छिमेक हाम्रो संविधानप्रति खुसी देखिएन र उसले नेपाली जनतामाथि नाकाबन्दीको नयाँ उपहार थमाइदियो।
ओलीको व्यक्तित्व र राष्ट्रवादी छवि यसै घटनाका साथ सगरमाथा जस्तै चुलियो। संविधान बनेपछि नाकाबन्दीका बीच प्रधानमन्त्री बनेका उनै ओली नेपाली राष्ट्रवादका प्रतीक बने। नेपालीलाई बरु भोकै बस्न सहमत गराए तर भारतीय मिचाहा प्रवृत्तिसामु झुक्दै झुकेनन्। अन्ततः नेपाली जनताको अडान सामु भारत झुक्यो र नाकाबन्दी खुल्यो।
नेपाली कांग्रेसले नाकाबन्दीसम्म भन्न नसकेको सारा नेपालीको राष्ट्र वादी लडाइँमा केपी शर्मा ओली साहसिक सेनापति ठहरिए। त्यसपछि भीम सेन थापालाई झैं अपमानपूर्वक उनलाई सत्ताबाट हटाईयो। तर उनको सरकार ढले पनि उनीप्रति अधिकांश नेपालीको विश्वास भने ढलेको देखिएन।
नाकाबन्दीको सामना, चीनसँग ऐतिहासिक पारवहन तथा यातायात सम्झौता र भारतसँग विशाखापट्टनम बन्दरगाह प्रयोग गर्नेसम्ममा सम्झौता भएका हुन् । देश हितलाई केन्द्रमा राखेर पनि बाह्य प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्न सकिन्छ भन्ने प्रमाणित भयो।
९ महिनापछि बालुवाटारबाट बालकोट फर्कंदा उनको लोकप्रियता घटेको थिएन, बढेको थियो। त्यसैबेला हो, नेपालका नेताले आफ्नो सामर्थ्यबाट घरेलु निर्णय लिन सक्छन्, कसैको दबाब र प्रभावलाई निस्तेज पार्न सक्छन् भन्ने प्रमाणित भएको । त्यसयता, नेपालले आफ्ना महत्त्वपूर्ण निर्णय आफैं गरेको छ ।
दोस्रो पटक नेकपाको दुईतिहाइको प्रधानमन्त्री हुँदा ओलीले एउटा पात्रो बनाएर कामको श्रीगणेश गरेका हुन्। प्रधानमन्त्रीको पहिलो वर्षलाई विकासको आधार वर्षको घोषणा गरे र त्यसका क्षेत्रगत प्राथमिकता चयन भयो। त्यसको जगमा दोस्रो वर्षलाई विकासको कार्यान्वयनको प्रारम्भका रूपमा अघि बढाएका हुन्। चीनसँग यातायात र पारवहन प्रोटोकलमा हस्ताक्षर भयो, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो, नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बनाउने नेपाली चाहनाको चीनले समर्थन गर्यो।
ओलीले भारतलाई समेत विश्वासमा लिएर ठूला परियोजना आरम्भ गरेका हुन्। सन्तुलनको कोणबाट हेर्दा पनि ओलीले त्यसलाई कायम राखेका हुन्। ओलीकै पालामा भारतसँग ठूला विकास परियोजना अघि बढेका हुन् ।
संविधान बनाउन अहम् भूमिका खेलेको, भारतसँग डटेर झुक्न बाध्य बनाएको,नेपाली जनताको स्वाभिमानको लडाइँको दृढतापूर्वक नेतृत्व गरेको आदि कारणले उनको व्यक्तित्व भव्य बनेको थियो। उनका सामु अरू नेताहरू सगरमाथाको सामु ढिस्काजस्ता देखिन्थे। उनले नेपाली जनतालाई जगाएको आशा क्रमशः भरोसामा परिणत हुँदै थियो।
संविधान बनेपछि पनि उनले नेपाली जनतामाझ ब्युँझाएका सपनाहरूलाई विपक्षीले उडाइरहेकै थिए। कागजका जहाजहरू बनाएर पानीमा तैर्याइए। काठको प्वालहरूलाई सुरुङ मार्ग भनियो। रेल डोरीले तान्दै व्यंग्य गरियो। पाइपबाट कहीँ ग्यास पुर्याउन सकिन्छ भन्दै उनका कुरालाई उट्पट्याङ भनियो।
भारतसँग पौठे जोरी खेल्नु पहरालाई कुइनुले लडाउन खोज्नु हो भन्दै उनको राष्ट्रवादी छविलाई धमिल्याउन खोजियो। चीनसँग पारवहन सन्धि गर्नुपर्छ भन्दा कम्युनिस्ट भएर कम्युनिस्टतिरै लाग्यो भनियो। आदि इत्यादि भनेर मूलधारका मिडियाहरूले, विपक्षीहरूले र कतिपय विद्वान हुँ भन्नेहरू ले समेत उनलाई उडाइरहेकै हुन्थे। मानौं, उनी कुनै सर्कसका जोकर हुन्।
२०४८ र २०५६ सालको चुनावमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गर्दा उनलाई त्यसैगरी उडाइएको थियो।त्यही पानीले काठमाडौंको सडक धुने र सिंगापुर जस्तै काठमाडौंलाई सफा बनाउने कुरा गर्दा उनलाई कतिले उट्फट्याङ भनें। दर्जनौं पहाड छिचोलेर ल्याउने योजना त्यतिखेर काठमाडौंवासीलाई सपनै जस्तो लाग्थ्यो, त्यस माथि सुरुङ खनेर। गुफाबाहेक कुनै अर्को सुरुङ नदेखेको नेपाली मनले त्यस्तो कथा जस्तो लाग्ने कुरा कसरी पत्याउनु ?
भट्टराईका कुरालाई उडाउने मात्र होइन, अपत्यारिलो समेत बनाइयो। जाने बुझेकै भनिएका व्यक्तिहरूबाट उनी खिसीट्युरीका पात्र बने। २६ किलोमिटर सुरुङ छिचोल्दै हिमालसँग पिरती गाँस्दै बसेको मेलम्चीको पवित्र पानी आखिर उनले घोषणा गरेको करिब २३ वर्षपछि सुन्दरीमा ओर्लियो।
जसरी मेलम्चीको पानी ल्याउँछु भन्दा ती केपीलाई उडाइएको थियो, उट्फट्याङ भनिएको थियो। नेपालमा पानीजहाज चलाइन्छ, रेलगाडी छुक छुक पारिन्छ, सुरुङ खनिन्छ,पहाडको फेदफेदमा रेलका स्टेसनहरू बन्छन्, नेपालको आफ्नै सेटेलाइट हुन्छ, भान्सा–भान्सामा पाइपबाट ग्यास पुर्याइन्छ, बाटो चौडा पारिन्छ भने जस्ता कैयौं युगान्तकारी योजनाहरू अगाडि सार्दा यी केपीलाई समेत त्यसैगरी उडाइयो।
उट्फट्याङ भनियो, उखाने भनियो र सर्कसको जोकर जस्तो बनाइयो। तर ती केपीले देखाएको सपना साँच्चिकै वास्तविक थियो र काठमाडौं वासीलाई अपरिहार्य पनि। विपना हुन सक्ने सपना देखेकै कारण ती केपीको सपना विपनामा परिणत भएका थिए। सपना सबैले देख्न सक्छन् भन्ने हुँदैन। जसले भविष्यका लागि आवश्यक सत्य सपना देख्छन्, तिनै व्यक्तिले द्रष्टाको रूपमा इतिहासमा नाम लेखाउँछन्।
उनी व्यंग्यबाट हडबडाएनन्, आलोचनाबाट आत्तिएनन्, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ भने झैं यी केपीले पनि आफ्नो कर्मलाई निरन्तरता दिइराखे। संयोग कस्तो मिल्यो भने उनका सपना कार्यान्वयन गर्ने ठाउँमा उनी आफैं पुगेका छन् यतिबेला। ती सपना त्यस्ता थिएनन्, जसलाई विपना बनाउन नसकियोस्। ती नेपाली जनताका लागि न्यूनतम आवश्यकता थिए, गर्नैपर्ने कार्यहरू थिए र अहिलेसम्म नगरिएका विकास का नयाँ योजनाहरू थिए।
जब उनी सरकारको नेतृत्वमा आए तब कोशी, नारायणी र कर्णालीबाट गंगा हुँदै समुद्रसम्म जहाज चलाउन पाउने गरी भारतसँग दुईपक्षीय सम्झौता गरे। पानीजहाज कार्यालय नै खोलियो र त्यससम्बन्धी थप काम अगाडि बढे। चीन र भारतसँग नेपालमा रेल ल्याउन सम्झौता गरे।
मेची–महाकाली रेल बाटो बन्न थाल्यो। कोशी र गण्डकीमा ससाना बोटहरू चल्न थाले। नेपालको आफ्नै सेटलाइट बन्यो। नागढुंगामा सुरुङ मार्ग सुरु भयो। सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्न थालियो। सडकका बालबालिका र बेसारा मानिस राज्यले जिम्मा लियो। तराईको दक्षिणतर्फ विशाल चौडा सडकहरू बनाइए। लोडसेडिङ हट्यो। विद्युत् उत्पादनका ठूलाठूला योजना हरू सुरु गरिए। भूकम्पले ध्वस्त घर र पुरातात्विक स्थलहरू शीघ्रता पूर्वक ठडिए। धरहरा पुनः उठ्यो। यीलगायत कैयौं काम अगाडि बढे, जसले नेपाल लाई समृद्धितर्फ डोर्याउन थाल्यो।
आफूलाई उडाउनेहरूको मुख आफ्नो शत्प्रयासको बुझोले बन्द गरिदिए। जसरी ती केपी (कृष्णप्रसाद भट्टराई)ले मेलम्चीको उडन्ते सपना देखेका थिएनन्, त्यसैगरी, उपरोक्त तथ्यहरूले यी केपी (खड्गप्रसाद ओली)ले समेत गफमात्र गरेका थिएनन्।उनको कर्मले निष्ठापूर्वक काम गरे नेपाललाई समृद्धि बनाउन सम्भव छ भन्ने प्रमाणित गरिदिए। उडाउन त आज पनि यी केपीलाई उडाई राखिएकै छ। जसरी ती केपीलाई उडाइएको थियो। तर वास्तविकता वास्तविकता नै हो।
कि त हामी अभाव गरिबी र अविकासमा बस्न अझै मञ्जुर हुनुपर्यो। अन्यथा देश उनले देखाएको मार्गमा नहिँडेर सुखै छैन। अहिले रेल, पानीजहाज, घर घरमा ग्यासका पाइपलाइनलाई जसरी खिसीटिउरी गरिन्छ, ती अब छनोट होइन, बाध्यता बन्छन्।
एमाले मात्र अहिले देशी र विदेशी प्रतिक्रियावादीको विरोधको तारो बनेको छ । त्यसमा पनि ओलीलाई सबैले निसाना बनाएको स्पष्ट हुन्छ।देश र जनताको हित गर्ने पार्टी र नेतृत्व सधैँ सबैतिर विरोधीको केन्द्र बन्ने गरेको छ । अरू पार्टीजस्तै एमाले र ओली चरम लोभी पापी नहुनु प्रतिक्रियावादीलाई परेको पर्नु पिर हो । एमाले पनि अरू पार्टीजस्तै भएदेखि बोकाले झैँ नेपाल मा दाइँ गर्न सजिलो हुन्थ्यो भन्ने तिनको ध्येय देखिन्छ । एमाले र एमाले नेतृत्व विरुद्ध प्रतिक्रियावादीहरू पहिले देखि नै लिट्टो कसेर लागेका हुन् ।

