काठमाडौँ,। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताउनुभएको छ ।
बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले स्थिरताका लागि सो आवश्यक भएको प्रष्ट पार्नुभयो।
महामन्त्री थापाले भन्नुभयो, “हामी लड्छौँ भन्दै गर्दा कोही पनि हाम्रो दुष्मन छैन।न प्रचण्ड हाम्रो दुस्मन हो न केपी ओली।आज केपी ओलीसँगसगै सरकारमा छौँ। हामी इमानदारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ।किनकि, हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ।परिणाम दिन चाहन्छौँ ।”
उहाँले अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हप्तामा एक पटक प्रधानमन्त्री बनिदिनुस् भनेर प्रस्ताव आउने गरेको कुरा समेत खुलासा गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रचण्डले भर्खर बोलेर जानुभयो कि, यो–यो कारणले गर्दा सरकार बदलियो।नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठुलो पार्टी हो।अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर।यो खबर पठाउने काम पहिले अर्कैले गर्थे ।”
उहाँले शान्ति प्रक्रिया, संविधान निर्माणका बेलामा जस्तो कांग्रेसले अवस्था सम्हाल्न खोजेको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले पनि उपद्रो गर्ने, चलखेल गर्ने, तलमाथि गर्ने हो भने सङ्ख्या सबैभन्दा बढी कांग्रेससँग छ।तर, कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो।आज कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ।प्रधानमन्त्री बन्ने तागत नभएर होइन, प्रधानमन्त्री बन्न नआउने भएर होइन, यो बेलामा प्रधानमन्त्री बन्ने कुरा महत्त्वपूर्ण होइन, यो बेला स्थिर सरकार दिने महत्त्वपूर्ण कुरा हो।किनकि, हामी सम्हाल्न चाहन्छौँ।हिजो शान्ति प्रक्रियामा, संविधान निर्माणमा सम्हालेको जस्तै सम्हाल्न चाहन्छौँ।तन्नेरीहरू आत्तिएका छौँ, ती तन्नेरीहरूलाई ढाडस दिन चाहन्छौँ ।”
उहाँले मुद्दाहरूका आधारमा निर्वाचन लड्नुपर्ने भन्नुहुँदै मिसन ८४ को अर्थ नरहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “मिसन ८४, मिसन ८४ भन्ने कुराको म कुनै अर्थ देख्दिनँ, किनभने अहिले हामी २०८१ सालमा छौँ।एउटा चुनाव लड्छौँ, जित्छौँ अनि अर्को चुनावको सपना देख्न थाल्छौँ।२०८४ छोडिदिनुस्, २०८१ मा नेपालको जिम्मा कसले लिन्छ ? २०७९ देखि २०८४ सम्म नेपालमा कुनै पार्टी छैन सरकारमा नबसेको, कुनै पार्टी छैन प्रतिपक्षमा नबसेको ।”
उहाँले कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार कृष्णमान डंगोललाई निर्वाचित गर्न आव्हान गर्नुभयो।कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले रोजगारी दिनुपर्ने युवालाई प्रचण्डले बन्दुक बोक्न लगाएको आरोप लगाउनुभयो।
उनले ०८४ सालपछिका तीन वर्ष स्वर्ण युग रहेको र त्यहीबेला नेपालमा उद्योग, कलकारखाना खुलेको बताए। त्यतिबेला कांग्रेसले बहुमत थेग्न नसक्दा मध्यावधितिर जानुपरेको उनको भनाइ छ। उनले कीर्तिपुरको डाँडाबाटै महिनाको तीन-चार लाख कमाउन सकिने बताउनु भयो।
‘कसैले कीर्तिपुरलाई क्रिकेट खेल हेर्न त कसैले विश्वविद्यालय पढ्न गएको भनेर बुझ्न सक्छन्। तर, राजनीतिक दलका लागि कीर्तिपुर विद्रोहको ठाउँ हो। यही कीर्तिपुरको डाँडामा बसेर केटाकेटीलाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ। त्यो अवसर सूचना प्रविधिले ल्याएको छ। टिकटक र फेसबुकले मात्रै त्यो अवसर दिँदैनौं। त्यसका लागि पढेको जनशक्ति चाहिएको छ,’ उहाले भन्नु भयो। उनले त्रिभुवन विश्वविद्यालयबाट त्यस्ता जनशक्ति उत्पादन गर्न सकिने बताए।
उनले कीर्तिपुरलाई सांस्कृतिक सहर बनाएर ललितपुर र भक्तपुरलाई जोड्न सकिने बताउदै उहाले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो।
‘कुन तहले के काम गर्ने भन्ने कुरामा प्रस्ट हुनुपर्छ। एउटा नागरिक अस्पतालमा आइसकेपछि जति पैसा लागे पनि, मुटु, क्यान्सरको उपचार गराउनुपरे पनि एक रुपैयाँ नलाग्ने गरी नीति ल्याउनुपर्छ। यसका लागि स्थानीय सरकारले पहल गर्न सक्छन्। स्थानीय सरकारले अस्पताल धेरै बनाउने होइन। अस्पताल जान नपरोस् भनेर काम गर्ने हो। स्थानीय सरकारले भान्छामा काम गर्ने हो। खोपमा काम गर्ने हो,’ उहाले भन्नुभयो। उहाले यसखालको स्वास्थ्य प्रणाली कीर्तिपुरमा लागू गर्ने इच्छा रहेको बताउनु भयो।