जरूणी छ धर्म सुधार आन्दोलन
-रामशरण गैरे
विषय प्रवेश
धर्म के हो ? विश्वास हो, आस्था हो, कर्तव्य हो, अनुशासन हो, पहिचान हो, अस्तित्व हो । धर्म के होइन ? अन्धविश्वास होइन, आडम्बर होइन । धर्म प्रकट कसरी हुन्छ ? भगवानको पूजापाठ गरेर, भजन किर्तन गाएर, मन्त्र जपेर, पुराण लगाएर ? कि मानव सेवामा समथरका केही थारु र पहाडी भेगका चेपाङलाई छाड्ने हो भने चितवन पूरै आन्तरिक आप्रवासीको भूमि हो । समर्पित भएर ? यसमा सबैको बुझाई एकरूप छैन, तथापि धर्म यस्तो हतियार हो जसले भौगोलिक सीमाभन्दा बाहिर रहेका मान्छेलाई समेत यौटै भावनात्मक डोरीले बाँधेको हुन्छ ।
नेपाली भाषा बृहत् शब्दकोशले धर्मलाई व्यक्ति वा वस्तुमा रहिरहने गुण, ‘स्वर्ग वा ईश्वर प्राप्तिका लागि गरिने पुण्य कार्य’, ‘असल आचरण’ र ‘कुनै महापुरुषको मत, सम्प्रदाय’ भनेको छ । धर्म हाम्रो मौलिक शब्द हो र यसको अर्थ व्यापक छ । धर्म एउटा जीवनपद्धति हो । धर्मको अर्थ केलाउँदा मुख्य ४ वटा भाव देखिन्छन् ।
एक– कुनै चिज वा अस्तित्वको प्राकृत/मौलिक चरित्र वा कर्तव्य । जस्तै, आगोको धर्म बल्नु, पोल्नु वा ताप दिनु । नुनको धर्म नुनिलो हुनु । पुलिसको धर्म सुरक्षा दिनु । शिक्षकको धर्म ज्ञान शिक्षा दिनु वा ज्ञान हस्तान्तरण गर्नु आदि ।
दुई– निश्चित दार्शनिक विचार अभियानबाट निर्माण भएका अनुयायीहरुको सम्प्रदाय । जस्तो– क्राइष्टको विचार मान्ने क्रिश्चियन । बुद्धको विचार मान्ने बुद्धिष्ट, महाबीरको विचार मान्ने जैन, पैगम्बर मोहम्मदको विचार मान्ने मुस्लिम आदि ।तेस्रो– मान्छेको आध्यात्मिक, नैतिक तथा व्यवहारिक जीवनलाई निर्देशित गर्ने तरिका । जस्तो– रजनीशको ओशोधारा, पतञ्जलीको योग आदि ।चौथो– निश्चित प्रकारको इतिहास, परम्परा र मनोविज्ञानबाट भनेको सभ्यता । जस्तो–हिन्दू ।
मन, वचन र कर्मलाई पवित्र राखेर परोपकारमा लाग्नु नै धर्म
सूर्य समयमा उदाउँछ। हावा चलिरहन्छ। पृथ्वी घुमिरहन्छ। दिन र रात समयमै हुन्छ। मौसम समयमा आउँछ। यिनमा कुनै अनियमितता छैन। यिनले कहिल्यै नियम तोड्दैनन्। कहिल्यै धर्म छाड्नैनन्। यस्तो प्राकृतिक नियमलाई ‘धर्म’ भन्न सकिन्छ। यही कुरा मानव जीवनका सन्दर्भमा बुझ्दा मन, वचन र कर्मलाई पवित्र राखेर परोपकारमा लाग्नु नै धर्म हो।
संसारमा धर्मको संख्या धेरैै छ तर तिनको अध्ययन गर्दा ती सबैको सार र मर्म एउटै मानवीय बिन्दुमा मिल्छन्। तिनमा रहेका अनेक कथा, उपकथा र विचार पनि अन्ततः मानवीय हितमै टुंगिन्छन्। कुनै पनि धर्मले ‘झुटो बोल’, नराम्रो काम गर’, ‘चोर’, ‘अरूलाई दुःख देऊ’ भन्दैन। सबैले ‘साँचो बोल’, ‘राम्रो काम गर’, ‘नचोर’, ‘अरूमाथि दया गर’ नै भन्छन्।
मनुले हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, पवित्र बन्नु र इन्द्रिय नियन्त्रणमा राख्नुलाई धर्म भनेका छन्। यज्ञ गर्नु, वेद पढ्नु, दान दिनु, तप गर्नु, साँचो बोल्नु, धैर्य राख्नु, क्षमा गर्नु र लोभ नगर्नु-यी धर्मका आठ मार्ग हुन्। जसमा पहिला चारवटा देखाउनका लागि पनि गर्न सकिने कार्य हुन् भने पछिल्ला चार महात्माहरूमा मात्र पाइने विशेषता वा गुण हुन्।
हिन्दुशास्त्रीय मान्यतामा ‘धर्म’ शब्दको अर्थ लामो र व्यापकरूपमा दिइएको पाइन्छ। यसले दिने केही मुख्य अर्थ हुन् :धर्मराज, भक्ति, सत्संग, यज्ञ, समानता, नियम, इमान, न्याय, कानुन, धर्मशास्त्र, उचित र अनुचित विचार गर्ने चित्तवृत्ति, माता, पिता, गुरु आदि मान्यजनको त्यस्तो वचन वा मत जसको पालन गर्दा आफ्नो भलो हुन्छ इत्यादि।
हरिवंश पुराणअनुसार धर्मका पाँच पाउ (खुट्टा) छन्। तीमध्ये सत्य युगमा चार पाउ धर्म र एक पाउ अधर्म। त्रेता युगमा तीन पाउ धर्म र दुई पाउ अधर्म। द्वापर युगमा दुई पाउ धर्म र तीन पाउ अधर्म। कलियुगमा एक पाउ धर्म र बाँकी चार पाउ अधर्म हुन्छ भनिएको छ।
यसरी हेर्दा युगैपिच्छे धर्म क्रमशः घट्दै गएको देखियो। धर्मको यस्तो युगीन विशेषतासहितको शास्त्रीय अर्थ र परिभाषाबाहेक नेपाली बृहत् शब्दकोशले पनि ‘धर्म’ को ‘असल आचरण’, ‘उपकार’, ‘पुण्य’, ‘कुनै महापुरुषले चलाएको मत’ लगायत नौवटा अर्थ दिएको छ।
‘ओरालो बग्नु पानीको धर्म हो’ भन्दा ‘धर्म’ को अर्थ ‘गुण वा विशेषता’ हुन्छ। ‘बाबुआमाको सेवा गर्नु छोराछोरीको धर्म हो’ भनियो भने ‘धर्म’ को अर्थ ‘कर्तव्य’ बुझिन्छ। यद्यपि समाजमा हामी जुन रूपमा ‘धर्म’ शब्दको प्रयोग गर्दछौं, त्यसको पहिलो र सबैभन्दा प्रचलित सामान्य अर्थ ‘लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य तथा असल आचरण’ भन्ने नै बुझिन्छ।
यसलाई ‘वैदिक कालदेखि नै ‘परम्परागत रूपमा चलिआएको सदाचरण, नियम वा सिद्धान्त’ भनेर बुझ्दा पनि हुन्छ। जसरी बुझ्दा पनि यो शब्दले असल, राम्रो, बहुजन हिताय र सकारात्मक भावकै अर्थ बुझाउँछ।
हिन्दू धर्मको कुनै एकल मानक छैन । कुनै एकल देवता छैन । एकल ग्रन्थ छैन । एकल संस्कृति छैन । हिन्दुत्व एक बहुआयामिक महासभ्यताको समिष्ट मात्र हो । यसलाई क्रिश्चिानिटी, इस्लामसंग तुलना गर्न सकिन्न ।अरु धर्महरु माथि वर्गिकरण गरेको दोस्रो अर्थमा बनेका छन् । ‘हिन्दू’ तेस्रो र चौथो अर्थको कुल योग हो । हिन्दू क्रिश्चियन वा इस्लाम भनेजस्तो कुनै धर्म सम्प्रदाय हैन ।
हुन्थ्यो भने यसको पनि एक प्रारम्भकर्ता, एक आधिकारिक ग्रन्थ, एक विचार प्रणाली, एक संस्कृति हुन्थ्यो । हिन्दूसँग यी कुनै छैनन् । कोटीकोटी देवता छन् । अल्ला वा क्राइष्ट मात्र छैनन् । हज्जार ग्रन्थ छन् । यहाँसम्म कि बुद्धलाई पनि हिन्दुले १० मध्ये एक अवतार मान्छन् । त्यसो भए बुद्धिष्ट हुनु पनि हिन्दुभन्दा बाहिर हुनु त हैन, फेरि कसैले बुद्धिष्ट धर्म लियो के को आपत्ति ? ऊ भगवान कै दश मध्ये एक अवतारलाई त मानिरहेको छ ।
‘सिन्धु’ नदीबाट ‘इन्दस’, ‘इन्द’ हुँदै ‘हिन्द’, हिन्दु बनेको मानिन्छ । यसको सिधा अर्थ यो सिन्धु पूर्वको सभ्यता हो । यो सभ्यताभित्र अनेक उपसभ्यता छन् । बुद्ध छन्, जैन छन्, शिख छन्, किराँत छन् । हिन्दुत्वलाई एक महासभ्यताका रुपमा लिने हो भने यसको क्षेत्र विराट हुन्छ । केवल धर्म सम्प्रदायका रुपमा मात्र लिने हो भने त्यो संकुचित र संर्कीण हुन्छ । हिन्दूलाई हामीले धर्मसम्प्रदायका रुपमा मात्र लियौं, त्यो गल्ती भयो, अब महासभ्यताका रुपमा बुझौं, धार्मिक अन्धता र अतिवादमा फस्नै पर्दैन ।
हिन्दुत्वको कुनै एक चिन्तन पद्धति छैन । वैचारिक रुपमा यसका ८ वटा समानान्तर चिन्तनधार छन् । वेदव्यास को वैदिक दर्शन, पतान्जलीको योगदर्शन, जैमिनीको मिमांसा दर्शन, वृहस्पतीको चार्वाक दर्शन, कपिलको सांख्य दर्शन, कणादको वैशेषिक दर्शन र गौतमको न्याय दर्शन । त्यसपछि वेदान्तको युग शुरुवात हुन्छ । वेदान्त अर्थात् वेदको अन्त्य र उपनिषदहरुको शुरुवात । वेदान्तका लागि योगदान गरेको मुख्य जस शंकराचार्यलाई दिने गरिन्छ ।
तर, वैदिक र चार्वाक दर्शनलाई बाहिर राखेर बाँकी छ वटा न्याय, वैशेषिक, योग, मिमांसा, सांख्य र वेदान्तलाई ‘सिष्टम अफ सिक्स’ भन्ने गरिएको छ । हिन्दुत्वभित्र यी सबै दर्शनको संयुक्त अभ्यास हुन्छ । ज्ञानमोह वैदिक दर्शनको बिशेषता हो । योग गर्नु पतान्जली दर्शन हो । भोग गर्नु चार्वाक दर्शन हो । मनोसाधना वा साक्षी वा तटस्थताको अभ्यास न्याय दर्शन हो । होम, कर्मकाण्ड गर्नु जैमिनी दर्शन हो ।
यसको अर्थ हिन्दू ‘मत वा सम्प्रदाय निरपेक्ष’ धर्म हो । ‘निरपेक्षता’ हिन्दुत्वको मौलिक गुण हो । अरु धर्म मत सापेक्ष, सम्प्रदाय सापेक्ष, राज्य सापेक्ष हुन सक्दछन् । तर हिन्दू धर्म सापेक्ष हुन सक्दैन । सापेक्ष हुने वित्तिकै हिन्दुत्वको मौलिकता नै समाप्त हुन्छ । उपरोक्त ८ मत– जुन मत मान्नेले पनि आफूलाई हिन्दू भन्न सक्छन् ।
हिन्दू धर्म स्व-खोजको यात्रा
हिन्दू धर्मका आधार चार वेद हुन्। ऋग्वेद भन्छ- ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पूरै संसार आफ्नो परिवार हो। सिन्धु घाटी सभ्यता र हिन्दू सभ्यताको शुरूआत एकै समय भएको मानिन्छ। इसापूर्व ३००० देखि १७०० बीचमा हिन्दू सभ्यता र सिन्धु घाटी सभ्यता सँगसँगै विकसित भएको आकलन छ।
वेदव्यासले चार वेद लेखेसँगै जसलाई आज हामी हिन्दू धर्म भन्दछौं, त्यसको दार्शनिक आधार तय भयो। प्रश्न, शंका, कारण र प्रमाण यस धर्मको दार्शनिक मान्यता बन्यो। ३५०० वर्ष पुरानो ऋग्वेदले सृष्टिकर्तालाई पनि प्रश्न गरेको छ। ऋग्वेद भन्छ, ‘भगवान्लाई पनि के थाहा, यो सृष्टिको आदि र अन्त्य के हो? ऊ स्वर्गबाट सृष्टिको निरीक्षण गर्दछ।’
प्रश्न मात्र होइन, हिन्दू धर्म स्व-खोजको यात्रा हो। उपनिषद्को अन्तिम वाक्य छ ‘नेति नेति’, अर्थात् ‘यो होइन, त्यो होइन’। वेद र उपनिषद्को सारबाटै निष्कर्षमा पुग्न सकिन्छ कि, हिन्दू सभ्यता प्रश्न हो, उत्तर होइन। अन्वेषणको यात्रा हो, विश्लेषणको जडता होइन। दर्शनको मूल चरित्र भन्दछ, ‘जो भन्दछन् सबै कुरा थाहा छ, उनीहरूलाई केही थाहा छैन।’ नजान्नु र जान्न प्रयत्नरत रहनु हिन्दू दर्शन हो।
हिन्दूपनको फराकिलो अवधारणामा ईश्वरको अस्तित्व नमान्न पनि पाइन्छ। मान्न पनि पाइन्छ। आस्थाको बाटो र तरीका एकै हुन सक्दछ र फरक पनि। यसैले गान्धी भन्ने गर्दथे, “ईश्वर अल्लाह तेरा नाम …।” आस्तिक-नास्तिक कुनै पनि चरित्रको मानिसलाई हिन्दू हुन पुरापूर छूट छ, र यो कर्मकाण्डको पुञ्ज होइन।
गीतामा भगवान् वाणीको सार छ, ‘सबै मानव आफ्नो आफ्नो बाटोबाट म सम्म आउन संघर्ष गरिरहेछन्। तिमी जुन बाटोबाट आए पनि म उपलब्ध हुनेछु।’ सनातन धर्मको मूल प्रवाहमा हिन्दू धर्म समाहित छ। सनातनको अर्थ नै सबैलाई समान दृष्टिले हेर्नु हो।
सन् १९८३ मा अमेरिकाको सिकागोमा संसद्लाई सम्बोधन गर्दै स्वामी विवेकानन्दले भने, “हिन्दूवाद विशाल अवधारणा सहित विविधता स्वीकार गर्दछ। अन्य आस्थाप्रति सहिष्णु मात्र होइन, स्वीकारभाव राख्दछ। यही विराट्ताकै कारण यसको प्रभाव संसारमा फैलिइरहेको छ। अरू आस्थावलम्बीहरूलाई त्रास पैदा नगरी आफ्नो प्रभाव सिद्ध गर्नु यसको चरित्र हो।”
हिन्दू सभ्यताले‘म आदि र अन्त’ भन्दैन। कुनै निश्चित जड मान्यता वा एक धर्म पुस्तक छैन।यसैले ‘फन्डामेन्टलिस्ट’ या‘अतिवाद’ शब्द हिन्दू दर्शनलाई लागू हुनै सक्दन, यो आयातीत अवधारणा हो। ‘फन्डामेन्टलिज्म’ र हिन्दू दर्शनको साइनो कतै पाइँदैन। हिन्दू धर्म र सिद्धान्त पुस्तकालय जस्तै छ र यसका अनेकौं ग्रन्थ र पुस्तक कुनै कहिल्यै असान्दर्भिक भएर जाँदैनन्। प्रश्न र विवेचनाका लागि खुला रहन्छन्। आवश्यक परे पुनः लेखिन्छन्, असान्दर्भिक र दोषपूर्ण भए विश्लेषणको कठघरामा उभ्याइन्छन्।
इतिहासकार अल्फ्रेड लेल भन्छन्, “हिन्दू दर्शन सम्पूर्ण रूपमा विपरीत दर्शन र विरोधाभाषले भरिपूर्ण छ।” यसको यही चरित्रकै कारण हिन्दूत्वको नाममा आस्थाको एक रूप अलाप्नेहरू आफै असान्दर्भिक लाग्दछन्। गान्धी भन्ने गर्दथे, “सबै किसिमका आस्था र विश्वासलाई समावेश गर्ने ठाउँ भएकाले हिन्दू धर्म मेरा लागि प्रिय छ।” गान्धीसँगै मिल्दो मत छ जवाहरलाल नेहरूको पनि, जसको नजरमा ‘हिन्दू धर्ममा सबै कुरा सबैका लागि हो।’
पराजय र पुनर्जागरण
भगवान् नै तेत्तीस कोटि छन्। उनीहरूका अनेक कथा र कल्पना छन्। यो एक विराट् जंगल जस्तै हो, जसको रूप र चरित्र कुनै राजनीतिक दलको अभीष्टले बोक्न सक्दैन। हिन्दू धर्मलाई बोकर हिंड्ने काँध बलियो र छाती फराकिलो चाहिन्छ। काँध कच्चा पर्यो भने यो पराजय र क्षयीकरणको बाटोमा जान सक्ने खतरा रहन्छ। इतिहासमा यसले यस्तो दुर्भाग्य अनेक पटक भोगेको छ। पराजयलाई पराजित गर्दै फेरि उठेको छ।
हिन्दू दर्शनको उदयदेखि नै यसको यात्रा सरल देखिंदैन। अनेकौं उतारचढाव समय समयमा आइरहे। चुनौती आइरहने, त्यसलाई पार लगाउँदै यात्रा गरिरहने हिन्दू दर्शनको नियति बनिरह्यो। सत्यको खोजी, न्याय र नीतिको आडमा यसले बाधाहरूको सामना गरिरह्यो।
तार्किक शास्त्र, वेद र उपनिषद्का मूल्य र मान्यतामा उदाएको हिन्दू दर्शन कर्मकाण्डी पण्डितहरूको जालझेलमा पनि अल्झियो। छुवाछूत र जातीय प्रथाको कुकर्महरूको जालोले घेरियो। कट्टरता र कर्मकाण्डको जालोले हिन्दू धर्मको बाटो नै अलमलिन थाल्यो। यही समय थियो, जहाँ सरल धार्मिक-दार्शनिक मान्यता राख्ने शाक्यमुनि सिद्धार्थ गौतम उदाए।
कर्मकाण्डीय जटिलताका कारण हिन्दू धर्मले ओज गुमाउँदै थियो, बुद्ध दर्शनले मानिसलाई चुम्बकले झैं तान्न थाल्यो। त्यसै ताका अध्यात्मको नयाँ विश्लेषण लिएर महावीर उदाए। इसापूर्व ५९९-५२७ को बीचमा यसले पनि तत्कालीन समाजमा आफ्नो प्रभाव दिन सक्यो। बौद्ध दर्शन र जैन दर्शनको आगमनसँगै हिन्दू धर्मको एकल राजमा धक्का लाग्यो। बागीहरू मैदानमा आए। एकपछि अर्को ताजा दर्शनको उदयपछि हिन्दू दर्शनमा चुनौती थपियो र अब यो परिमार्जन र जागरणको खोजीमा फेरि लागिपर्यो।
आठौं शताब्दीमा दक्षिण भारतमा आदि शंकरको उदय भयो। हिन्दू धर्मभित्रै पनि कलह र विखण्डनको समय थियो। अद्वैत वेदान्तको दर्शन उनको धार्मिक आदर्श रह्यो। यही दर्शनको आडमा धर्म सुधार र एकताका सूत्राधार बने। अद्वैतको अर्थ नै ‘सबै एक’ भन्ने भएकाले पनि यो अभियानले सार्थकता पायो।
हिन्दू धर्मको मौलिक चरित्र नै कारण र प्रमाणको आधारमा सत्यको खोजी गर्नु हो। अद्वैत वेदान्तको मेरुदण्ड पनि यही चरित्रलाई अँगाल्यो, तर्कशास्त्र र बहस-विवेचनाको मार्ग मार्फत। आदि शंकर जटिल कर्मकाण्ड, जातीय प्रथा र महिला असमानताको विरोधी रहे। वैचारिक मतभेद, बहस र छलफल उनको मुख्य आधार बन्यो। बौद्ध मार्ग र जैन धर्मका गुणहरू हिन्दू अद्वैत वेदान्तका दर्शनमा समावेश गरे, हिन्दू दर्शन फराकिलो पारे।
प्रश्नोत्तर र बहस शैलीमा हिन्दू दर्शन पुनः जाग्यो, अझै फराकिलो र उदारभावका साथ। आदि शंकरले सिंगो भारत भम्रण गरी हिन्दू दर्शनको पुनर्जागरणको अगुवाइ गरे। उनको वाणी थियो, “मेरो चरित्र नै स्वतन्त्र हो।” विवाद र कर्मकाण्डीय संकुचनमा अल्झेको हिन्दू दर्शनलाई उनले नै फुकुवा गरे। ‘पूर्ण रूपमा आत्मबोध र चेतनाले भरिएको आत्मा नै सचितानन्द हो’ भन्ने दर्शनमा हिन्दू धर्म परिमार्जन अभियानमा होमियो।
जागरणको यात्रा सहज भने थिएन। सन् १००० तिर उपमहाद्वीपमा प्रभुत्वमा रहिआएको हिन्दू दर्शनमा अनेक संकट आइलागे।सन् ७१२ मा नै भारतले मुस्लिम योद्धा मोहम्मद बिन कासिमको हमला सामना गरिसकेको थियो। हमलाको यो क्रम सन् १००० मा झनै बढेर गयो। अर्का इस्लाम योद्धा गजनीका महमुदले सन् १००० र १०२७ को बीचमा भारतमाथि सत्र पटक जाइलागे।
यस शृंखलालाई निरन्तरता दिए मोहम्मद घोरीले जसले सन् ११८० र १२२० को बीचमा आजको अफगानिस्तानबाट झरेर अनगिन्ती पटक भारत हमला गरे। रक्तपात मच्चाए। हत्या र आतंकको सिलसिला चलिरह्यो। हिन्दू दर्शनका सबै मान्यता अस्वीकार गर्ने यी योद्धाले मन्दिर भत्काए। ऐतिहासिक धरोहर ध्वस्त पारे, सम्पत्ति लुटे।
गुजरातको सोमनाथ मन्दिरदेखि, मथुराका मठमन्दिरहरू सबै आक्रमणमा परे। कतिपय आक्रमणकारीले भारतवासीलाई हिन्दू धर्म परित्याग गर्न उर्दी जारी गरे। अन्यत्रका आक्रमणकारीहरू लुटपाट गरेर फर्कन्थे भने पछि गएर मुसलमान शासक भारतमै बस्न थाले, रैथाने बने।
एकातर्फ यिनीहरू भारतभरि नै सुल्तान र नवाब भई राजकाज गर्न थाले, बंगालदेखि दिल्ली र दक्कनसम्म भने अर्कातर्फ फरक यी धर्मावलम्बीका कारण सनातनीमाझ चुनौती थपियो, किनकि अब त शासक नै मुसलमान भए। पछिल्लो समय, पन्ध्रौं शताब्दीमा आजको उज्वेकिस्तानबाट हमला गर्न सिन्धु गंगा मैदान झरेका बाबरले त मुगल साम्राज्य नै स्थापना गरे। ऐतिहासिक भारतको धेरै भाग मुगल शासन अन्तर्गत आयो भने यदाकदा हिन्दू मठमन्दिर र आस्थामाथि पनि प्रहार भयो, जबकि बेलायती साम्राज्य नउदाउन्जेल यो सर्वत्र र सधैं रह्यो भन्न सकिंदैन।
विभिन्न भेगबाट आउने मुस्लिम आक्रमणकारीको निरन्तर क्रियाकलाप हिन्दू धर्मका लागि निकै कष्टकर रह्यो। कि सकिने कि अझै परिमार्जित भएर जाग्ने, ऊसँग यही मात्र विकल्प रह्यो। उतारचढावको यात्रामा पारंगत हिन्दू धर्मले परिमार्जनकै बाटो रोज्यो।
हिन्दू दर्शनको सरलीकरण, व्यक्तिगत आस्थाको सम्मान, स्थानीय परम्परा र आस्थाको समायोजन शुरू भयो, बौद्ध दर्शन र जैन धर्मको समायोजनका साथ। इस्लामिक विस्तारसामु इन्डोनेशिया र मलेशिया जस्ता देशले मुस्लिम धर्म अपनाए भने भारतले आफ्नो विविधता जोगाएर राख्यो। हिन्दू धर्म सकिएन, झनै चम्किलो भएर जाग्यो। हिन्दू धर्मको सवालमा कार्ल मार्क्सको भनाइ छ, “हिन्दूइज्म एक गैरआक्रामक आस्था हो। यो असाधारण हिसाबले बलियो छ। यसले आफूमाथिको अनेकौं प्रहार सह्यो। हरेक पटकको सामनापछि यो झनै जागेर आयो। हिन्दू धर्ममा रक्तपात अपवाद रह्यो। आक्रामक नभएर पनि यो कहिल्यै झुकेन।”
भक्तिमार्ग र विवेकानन्द
मुस्लिम आक्रमणको बदलाको पछि नलागी हिन्दू धर्मले भक्तिमार्ग अवलम्बन गर्यो। दक्षिण भारतका रामानुजले आदि शंकरको प्रगतिशील मार्गमा थप योगदान गरे। सन् १००० को मध्यतिर उनको अभियान तीव्रताका साथ अघि बढ्यो। महिला र दलितलाई मठमन्दिरमा प्रवेश गराउने काम गरे, सामूहिक भोज, भेला र बहसको आयोजना गर्ने काम गरिरहे। सनातनी धर्मको समान चरित्रको बोध गराउन अथक प्रयास गरे।
रामानुजको भक्तिमार्गमा मुस्लिम आस्थाका कवि कविर पनि समावेश भए। भक्तिमार्गले बिस्तारै गति लिंदै गयो। सन् १४४० देखि १५१० को अवधि भक्ति र सुफीमार्ग जागेको समय रह्यो। मीराको कृष्णभक्ति भजनले हिन्दू धर्मको लय र सौन्दर्य अर्कै स्तरमा पुर्यायो। कवि जयदेवको गीतगोविन्द, तुलसीदासको रामचरितमानस र हनुमान चालिसा आदिले भक्तिमार्ग प्रशस्त गरे। शान्ति, प्रेम र भक्तिको माध्यमले सत्यको खोजमा रहन प्रेरित गर्यो। पन्ध्रौं शताब्दीदेखि अठारौं शताब्दीको मध्यसम्म मुगल राजकाजको समय रह्यो। यो वेला हिन्दू धर्म भक्तिमार्गको बाटोबाट प्रभावशाली भइरह्यो। बदलाको तेज रफ्तारमा होइन, प्रेमको मन्द गतिमा हिन्दू दर्शन अघि बढिरह्यो।
मठमन्दिरमा हमला, ऐतिहासिक सम्पत्ति र दस्तावेजको बर्बादी, हिन्दू नारीहरूको बलात्कार र हिन्दूजनको हत्या जस्ता इस्लामिक कुकृत्यको प्रतिकारस्वरूप हिन्दू धर्म प्रतिरक्षात्मक बन्दै गएको अतिवादी हिन्दूहरूको प्रस्टीकरण छ। इतिहासका यस्ता घटनालाई हिन्दू अतिवादीहरू आजका अल्पसंख्यकमाथि हमला गर्ने अस्त्रका रूपमा प्रयोग गरिरहेछन्। आक्रमणमा परेको हिन्दू सभ्यता जोगाउन अनेकौं मुस्लिम कवि र विद्वान्हरूको योगदान अतुल्य छ,।
पटक पटकको आक्रमण र क्षयीकरणलाई निस्तेज गर्न अनेकौं हिन्दू दार्शनिक अहिंसा र प्रेमकै बाटो हिंडे, फर्केर हेर्दा। आदि शंकरदेखि विवेकानन्द हुँदै मोहनदास करमचन्द गान्धीले यही बाटो अपनाए। हिन्दू धर्म गतिशीलताको यात्रा हो, जडता होइन। हिन्दू सभ्यताको धारालाई पुस्तान्तरण गर्न अनेकौं ऋषि-महर्षिले समय समयमा महत्त्वपूर्ण योगदान गरिरहे।
आदि शंकरकै धार्मिक राजमार्ग अझै फराकिलो पार्ने काम विवेकानन्दले गरे। भौतिक, आर्थिक, सामाजिक र भावनात्मक आत्मनिर्भरताको बाटो विवेकानन्दले वकालत गरे। भोको पेटले रामभजन हुन नसक्ने उनको तर्क थियो। मानिसको अन्तर्निहित शक्तिको जागरण धर्मका लागि अनिवार्य मान्दथे उनी।
उनको जोड थियो, “विना तर्क र प्रमाण आस्थाको शरणले मात्र धर्म प्राप्त हुँदैन। मानिसमा ज्ञानको विकास आधारभूत कुरा हो।” अमेरिकाको संसद्मा १२५ वर्षअघि विवेकानन्दले हिन्दू दर्शनबारे ओजस्वी प्रवचन दिए। त्यो सभाको विचारको प्रभाव हिन्दू दर्शनमा आजसम्म पनि शक्तिशाली छ।
हिन्दुत्वको राजनीति
जातीयता र छुवाछूत समाजनिर्मित कलंक हो, यसको धर्मसँग कुनै साइनो छैन। कर्मको पराक्रम, ज्ञानको महिमा र प्रेमको शक्ति नै हिन्दू धर्मको बल हो। आत्मविश्वास र स्वाभिमान यसका चरित्र हुन्। धर्मलाई राजनीतीकरण गर्दै हिंड्ने हिन्दूत्व अतिवादीहरू नै सनातनी सभ्यताका घुसपैठिया हुन्।
हिन्दू धर्म भनेको सनातनी सभ्यता र जीवनशैली हो। राजनीतिक अभीष्ट हासिल गर्ने अस्त्र त हुँदै होइन। प्रेम, शान्ति, उदारताको आत्मविश्वासले भरिएको हिन्दू दर्शन कसैसँग खतरा महसूस गर्दैन। यसलाई जोगाउन असुरक्षित मनोभावका गुन्डाहरूको लस्कर चाहिन्न। अनगिन्ती प्रहार सहेर सधैं जागेर उठेको हिन्दू दर्शनको सभ्यता गतिशील छ। यो आफ्नै सच्चरित्रकै कारण जोगिनेछ, यसका लागि धर्म र राजनीतिको पारपाचुके अनिवार्य छ। स्वघोषित धर्मरक्षकहरूले बाटो छोड्नुपर्छ, हिन्दू सभ्यता आफै अघि बढ्छ।
यहाँनेर अर्थभेद गर्न जरुरी कुरा के छ भने ‘हिन्दुत्व’ र ‘हिन्दुत्वको राजनीति’ भनेको बिल्कुलै फरक कुरा हो । हिन्दुत्वले निश्चित महासभ्यता र महासंस्कृतिप्रतिको श्रद्धा, विश्वास र अभ्यासलाई बुझाउँछ । ‘हिन्दुत्वको राजनीति’ ले हिन्दुत्वको भावना शोषण गरेर सत्तामा पुग्ने धुर्तता गर्दछ । हिन्दुत्वको राजनीतिले हिन्दुत्वको व्यापकतालाई राजनीतिक स्वार्थमा दोहन गर्ने धारणा राख्दछ ।
हिन्दुत्वको राजनीति वेदान्तमा आधारित अतिवाद हो । यसको प्रारम्भ शंकराचार्यले गरेका थिए । वेदान्त भनेकै ‘वेदको युग अन्त्य भो, वेदको काम छैन, अब उपनिषद भए पुग्छ’ भनेको हो । तर, नेपालमा हिन्दुत्वको राजनीति गर्नेहरु यति न्यूनतम ज्ञान समेत राख्दैनन् । वेदलाई जोडेर ‘हिन्दुत्वको राजनीति’ गर्दछन्, जबकी ‘वेदान्त’ यसको विरुद्धमा हुन्छ ।
बुद्धिज्मको लोकप्रियताबाट तर्सेका बाहुनवादी शंकराचार्यले वेदान्त आन्दोलन चलाएका थिए । कतिपयले यसलाई बुद्धिज्म विरुद्ध ‘ब्राह्मणीय जेहाद’ मानेका छन् । बुद्धिज्म ‘नास्तिक’ दर्शन थियो । वेदान्तले ‘आत्मको परमसत्ता’ को अवधारणा सार्यो । ‘ब्रह्म सत्य, जगत मिथ्या’ र ‘अहं ब्रह्मास्मी’ यस दर्शनका मूलमन्त्र थिए ।
हिन्दुत्वको राजनीति गर्नेहरु हिन्दुत्वलाई नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डतासंग जोड्न खोज्छन्, त्यो अर्को अज्ञानता हो । जब मानसरोबरदेखि वालीदीपसम्म, बंगालको खाडीदेखि कान्दारसम्म एक निष्कन्टक हिन्दू महासाम्राज्यको शंकराचार्य अवधारणा अगाडि आउँछ, त्यहाँ नेपालको सार्वभौमसत्ता कसरी सुरक्षित हुन सक्छ ? नेपाल कसरी मौलिक र पृथक राज्य जोगिन सक्छ ?
वास्तवमा हिन्दुत्वको राजनीति अवधारणा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्धमा हुन्छ । २१औं शताब्दीमा आइपुग्दा धर्मको नाममा राजनीति गर्न हुँदैन भनेर सैद्धान्तिक रूपमा स्वीकारे पनि व्यवहारतः अहिले पनि विश्वका शक्तिशाली राष्ट्रहरू नै भित्रभित्रै धर्मको नाममा राजनीति गरिरहेका छन्। विश्वका विभिन्न देशबीच धार्मिक कारणले नै सम्बन्ध राम्रो वा नराम्रो भएका धेरै उदाहरण छन् ।
धर्म सुधार आन्दोलन
धर्म बेलाबेला सुधार भइरहनु पर्दछ । अन्यथा त्यो जड हुन्छ । अन्ध हुन्छ । अन्यायी हुन्छ । विभेदकारी हुन्छ । शोषक हुन्छ । दुष्टहरुको शोषण र शासन गर्ने हतियार बन्न पुग्छ । हिन्दूमा मात्र हैन, त्यो भन्दा ठूला धर्म सुधार आन्दोलन क्रिश्चियनहरुमा चलेका छन् । यहुदी धर्ममा धर्मसुधार आन्दोलन भएर नै क्रिश्चियानिटी बनेको हो । क्रिश्चियनमा धर्मसुधार भएर नै प्रोटेष्टेन्ट बनेको हो । हिन्दूमा धर्मसुधार भएर नै बुद्धिज्म बनेको हो । शुरुशुरुमा वेदान्ती ब्रह्मणहरुले बुद्धिष्टहरुलाई सकेसम्म दमन गरे । पछि पार नलागेपछि बुद्धलाई नै भगवानको १० अवतारमध्ये एक भन्दिए ।
युरोपेली धर्मसुधार आन्दोलनको इतिहास पढ्दा त्यो राजनीतिक आन्दोलन जतिकै निर्मम र कठोर हुने स्वभाविक छ । क्राइष्ट स्वयं ‘क्रुसिफाई’ हुनु पर्यो । बेलायतमा धर्मसुधारक जोन विकलिफका समर्थक जसलाई ‘लोलार्ड’ भनिन्थ्यो, उनीहरुको हज्जारौंको संख्यामा हत्या गरिएको थियो । बेहेमियाका जोन हस, इटलीका सावरानोला, नर्वेका ज्गंवेलीलाई रोमन क्याथोलिकहरुले जिउँदै जलाएका थिए । यिनै बलिदानहरुको जगमा मार्टिन लुथर किङ्गले ‘प्रोटेष्टानिज्म’ को आन्दोलनलाई मूर्त बनाए ।
बुद्धले भोगेका अपमान र दुःखहरुको कथा भनिसाध्य छैन । जब मगधका मौर्य सम्राट अशोक कलिङ्ग (उडिसा) युद्धपछि युद्धको बिध्वंशबाट बैरागिए, हिन्दू छोडी बुद्ध धर्म ग्रहण गरे, मगधको राज्यकोष खर्च गरी बुद्ध धर्म प्रचारकहरु निर्माण गरे । अनि मात्र बुद्धिज्म स्थापित भएको हो । आजका आधुनिक र प्रगतिशील हिन्दूहरुले मनुवाद विरुद्ध लडनु अनिवार्य छ । त्यसले सामाजिक सदभाव खल्वल्याउँछ, जातीय द्वन्द्व बढाउँछ जस्तो तुच्छ सोच राख्न हुँदैन । आजको विश्व प्रतिस्पर्धामा मनुवादको ऐजेरु बोकेर हिदुत्व टिक्न र फैलिन सक्दैन ।
धर्म आफैंमा धारण गर्ने चिज हो । धर्मले मानिसलाई नैतिक र व्यवहारिक नियमहरु सुझाउँछ । भएसम्म सकारात्मक सोचको विकास गराउँछ भने धर्मले कसैको कुभलो चिताउँदैन । हिन्दु धर्ममा रहेका विभिन्न ग्रन्थ, नीतिशास्त्र र पुराणहरुले सत् कर्म गर्नुपर्ने र असत्कर्म परित्याग गर्नुपर्ने सन्देश दिन्छन् । समाजमा पाप, पुण्य, स्वर्ग र नर्कको भय देखाएर समतामुलक समाज निर्माणको अभियान प्राचीन ऋषिमहर्षिले गरेका थिए । मानिस विवेकशील बन्नुपर्छ । अरुमाथी अन्याय, अत्याचार, शोषण र दमन गर्नु पाप हो ।
अर्काको हत्या र हिंसा गर्ने महापापी हुन्छन् । धर्म, अर्थ, काम, मोक्ष चतुर्वर्ग फल प्राप्तिका लागि मानिसले निरन्तर साधना गर्नुपर्ने कुरा नीति शास्त्रहरुमा पाइन्छ । वास्तवमा धार्मिक ग्रन्थ, नीतिशास्त्र र पुराणहरु त्यतिबेलाका कानुन मानिन्थ्ये । तिनै ग्रन्थ र नीतिभन्दा बाहिर रहेर कसैले काम गर्यो भने त्यस्लाई सामाजिक बहिष्कार गरिन्थ्यो । यसरी समाज विकास र सामाजिक रुपान्तरणका लागि निर्मित ग्रन्थहरुले आवश्यक व्यवहारिक सीप, आध्यात्मिक र नैतिक चेतनाका साथै नीति, रणनीतिका विषयहरू पुर्ण रुपमा अवलम्बन गर्न र गराउन सिकाउँथे ।
दैनिक क्रियाकलाप संचालनका लागि आवश्यक ज्ञान पनि यिनै ग्रन्थहरुबाट प्राप्त हुन्थ्ये । मानव जीवनका चार आश्रम ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रममा पनि यिनै नीतिनियमले काम गर्दथे । कर्मेन्द्रिय र ज्ञानेन्द्रियहरुले पुर्ण रुपमा काम गर्न सके मानवले सफल जीवन ज्यूँन सक्छ । अन्यथा उस्ले शारीरिक अवयबहरुलाई नियन्त्रण गर्न सक्दैन उस्को जीवन दुर्बल हुन पुग्छ । यसरी हेर्दा पुराना नीतिशास्त्र र प्राचीन ऋषिमहर्षीहरुका कथन निक्कै फलदायी सिद्ध छन् ।
अत्याधुनिक युगको विकाससंगै हामी भौतिकता र ऐशआराममुखी भइरहेका छौँ । हाम्रा धार्मिक, साँस्कृतिक, नैतिकता, व्यवहारिक रीति रिवाज र परम्पराहरु बिलिन हुँदै गइरहेका छन् । हाम्रो समाजमा पाश्चात्य संस्कृतिले तिव्रता पाएको छ । धर्म परिवर्तनका अथाह रुपहरु देखिन थालेका छन् । मानिसहरूले आफ्नो धर्मभित्रको वैज्ञानिकता बिर्सिएर अर्काको खोक्रो संस्कृती अवलम्बन गरिरहेका छन् । हामी सनातन धर्मको आडमा बाँचेका मानिसहरुले आफ्ना सन्तानहरूलाई परम्परागत मूल्य मान्यता र रीतिरिवाजको मर्म अनुरुप अनुशासन र कर्तव्य परायणताको बोध गराउनु पर्दछ । हाम्रा धर्म ग्रन्थहरुले मानिसलाई इमानदार, नैष्ठिक, कर्तव्यनिष्ठ, निरपराधी, सात्विक र अनुशासित बनाउन महत्वपूर्ण भुमिका खेलिरहेका हुन्छन् ।
पछिल्लो समय हाम्रो देशमा पाश्चात्य संस्कृतिको अनुकरण र सनातन धर्मप्रति वितिष्णाका भावहरु प्रकट हुँदै गइरहेका छन् । जस्ले गर्दा हिन्दु समाज खण्डित, वैमनस्य पुर्ण र सामाजिक सद्भाव विहिन बन्दै गएको छ । धर्म आफैंमा शक्तिशाली चिज होइन । धर्मलाई शक्तिशाली बनाउन मानव समुदायले धारण गर्नुपर्छ । जत्ति मात्रामा धर्मलाई धारण गरिन्छ । उत्ति नै धर्मले मलजल पाउँछ र सामथ्र्यवान भएर समाजलाई नैष्ठिक बनाउँछ । पाश्चात्य जगतका महान दार्शनिक कार्लमाक्र्सले धर्मलाई अफिम भनेका थिए ।
अफिम भन्दैमा लागुऔषध भन्नू हाम्रो भुल हुन्छ । अफिम आफैंमा चम्किलो, बहुमुल्य एवं स्वतन्त्र रुपमा नपाइने चिज हो । त्यसैले धर्म अफिमका रुपमा छ जुन सबै मानिसका लागि जसरी अपर्याप्य छ । त्यसैगरी महत्वपूर्ण पनि रहेको छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनभर नास्तिक भाव व्यक्त गरे तर अन्तिम समयमा ‘आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो न भो विवेक’ भनेर आफ्नो विगतप्रती कृतघ्न बनेका थिए । नेपालको वर्तमान राजनिती र राज्य व्यवस्थाले भरपुर परिश्रम गरिरहेको धर्म परिवर्तन र सामाजिक मर्यादा माथिको आक्रमणले जातीय द्वन्द र धर्म निरपेक्षतालाई लिएर समाज निराधार र कमजोर बनिरहेको छ । पश्चिमा देशहरुले हिन्दु धर्म र हिन्दुत्वप्रती आथाह आस्थाका भावहरु देखाउँदै गर्दा हाम्रा सर्वहारावादी नेताहरुले साम्यवादको नाममा आफ्ना मुल्य मान्यताहरु विरुद्ध षड्यन्त्र रचिरहेका छन् ।
धर्मलाई निराधार र कपोलकल्पित भन्नेहरूलाई दुइ चार ओटा पुर्व युगिन सत्यका भावहरु दर्साउनु अत्युक्ति होला । हामीले वैज्ञानिक र प्रमाणित सिद्धान्तलाई आधार मान्छौं भन्नू महाभुल हुन्छ । पुर्वीय दार्शनिक एवं हाम्रा ऋषि महर्षिहरुले आजभन्दा कैयौं शताब्दी पहिले गरेका केही भविष्यवाणी एवं नैतिक नियमहरु आज पनि अनुकरणीय नै छन् । जस्को केही भाग स्पष्ट पार्नु उक्तिसम्वत होला ।
लागौं हिन्दु धर्मभित्रको वैज्ञानिकतातर्फ धर्मसिन्धूमा ‘नून, घ्यू, तेल जस्ता पदार्थहरु चम्चाले मात्र पस्कनु पर्छ हातले होइन । भनेर भनिएको छ । ‘लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च । लेह्यं पेयं च विविधं हस्तदत्तं न भक्षयेत् ।’ लोभ नै पापको कारण हो तसर्थ लोभ परित्याग गर्न यसरी आह्वान गरिएको छ । लोभः पापस्य कारणम् । त्यसै गरेर पुर्वीय वाङ्मयको प्रसिद्ध ग्रन्थ मनुस्मृतिमा ‘अनातुरः स्वानि खानि न स्पृशेदनिमित्ततः ।’ अर्थात् आफ्नो शरीरका अंग जस्तै आँखा, नाक, कान आदिलाई बिना कारण छुनु हुँदैन । भन्ने उक्तिले सदावहार सार्थकता पाएको बुझ्न सकिन्छ । कोरोना महामारीको समयमा धेरै सुझाइएको यो सिद्धान्त हाम्रा ऋषिमुनिहरुले पहिलेदेखि नै प्रकाशमा ल्याएका थिए ।
मार्कण्डेय पुराणमा ‘अपमृज्यान्न च स्न्नात गात्राण्यम्बर पाणिभिः ।’ भनेर ‘एकपल्ट लगाएका बस्त्र धोएपछि मात्र पुनः प्रयोग गर्नुपर्छ, नुहाएपछि शरीर तुरुन्त सुकाउनु पर्दछ’ भन्ने भनाइ पाइन्छ । हिन्दु धर्म र संस्कारको मर्म नबुझि धार्मिक विसङ्गती मच्चाउन खोज्नेहरुलाई पनि प्रश्न एक्काइसौं शताब्दीका डाक्टर र वैज्ञानिकहरुले अहिले स्वास्थ्य मापदण्डमा अभिव्यक्त गर्ने यी भनाइहरु पहिलेदेखि नै मान्दै आइएका हुन् । साबुन पानीले राम्ररी हात धोएर खाना खानु पर्छ भन्ने तथ्य यसरी प्रयोग हुन्थ्यो शास्त्रमा ‘हस्तपादे मुखे चैव पञ्चाद्रे भोजनं चरेत् ।’ आफ्ना हात, खुट्टा र मुख सफा गरेपछि मात्र भोजन गर्नुपर्छ । वाघलस्मृति ग्रन्थमा ‘विना स्नान शुद्धि गरेका कार्य निष्फल हुन्छन् । भनेर भनिएको छ । ‘स्न्नानाचारविहीनस्य सर्वाः स्युः निष्फलाः क्रियाः ।’ हो यिनै तथ्य र प्रमाणले हामी हिन्दुलाई हिन्दु हुनुमा गर्व लाग्छ । आफ्नो सामान एक्लै प्रयोग गर्नु पर्छ । एक जनाले प्रयोगमा ल्याएका सामाग्री अर्कोले प्रयोग गर्दा रोग सर्ने भय हुन्छ भन्ने अर्थ यो श्लोकले निर्देश गर्छ ।
‘न धारयेत् परस्यैवं स्न्नानवस्त्रं कदाचन ।’ पद्मपुराणमा भनिएको यस उक्तिले ‘नुहाएपछि शरीर पुछ्ने तौलिया अरुले प्रयोग गरेको हुनु हुँदैन ।’ भनेर बताउँछ । महाभारतमा ‘तथा न अन्यधृतं (वस्त्रं धार्यम् ।।’ अर्थात् ‘अरुले प्रयोग गरेका कपडा लगाउनु हुँदैन । भनिएको छ । गोभिसगृह्यसूत्र नामक पुस्तकमा ‘न आद्रं परिदधीत ।। भनेर ‘भिजेको कपडा पहिरनु हुदैन ।’ भनिएको छ । ऋण लगाइदिने बाबा र खराब विचार भएकी आमा शत्रु हुन्छ भनेर ‘ऋण कर्ता पिता शत्रु माता च व्यविचारिणी ।’ भन्ने महावाणी संस्कृतमा पाइन्छ । त्यसै गरेर ‘अति सर्वत्र वर्जयत्’ भनेर अति कार्यलाई तुच्छ भाव दिइएको छ । अति गर्यो भने त्यो नष्ट हुन्छ ।
सम्बन्ध होस् वा कुनै कार्य, खराब होस् वा असल, रवर जत्ती तन्क्यायो उत्ति नै चुडिने डर हुन्छ । भन्ने भाव यहाँ चरितार्थ गरिएको छ । अहिले धेरै अनुसन्धानकर्ता र वैज्ञानिकहरुले पत्ता लगाएका सिद्धान्तसंग पुर्वीय दर्शनले सिद्ध गरेका प्रशस्त नीतिहरुले सार्थकता पाएका छन् । आहारा द्विगुणश्चैव लज्जाश्चापी चतुर्गुणः । साहस षड्गुणश्चैव कामश्चाष्ट गुणस्मृतः ।। भनेर वर्णित स्त्रीका विशेषताहरुलाई नियाल्दा असन्तुष्टि प्रकट गर्न मिल्छ ? अँह कदापि मिल्दैन । यसर्थ अहिले कलियुगलाई मिल्ने नीति नियम पहिले नै निक्र्याैल गरिएको परिवेशमा के हिन्दु धर्म अवैज्ञानिक र निरर्थक छ ? तरल पदार्थको लेनदेनमा ढोकाको बार नहोस् र सिधै हातमा नदिनु भन्ने उक्ति पनि युग सापेक्षित नै छ ।
किनकी ढोका भित्र र बाहिर हुँदा भुभागमा भिन्नता हुने जस्को फलस्वरूप पदार्थ पोखिन पुग्ने, तातो वा चिसो पदार्थलाई सिधै हातमा दिदा नष्ट वा क्षति हुने सम्भावना भएकोले पानी, चिया, दूध र अन्य तरल पदार्थहरु थालमा राखेर दिने गरिएको हो । त्यसै गरेर खुर्सानीलाई हातहातै दिदा वा छुदा कुनै विलम्ब वा आतुर कालमा अन्य संवेदनसिल अङ्गमा छोइए कष्ट हुने भयले हातमा दिनु हुँदैन भन्ने प्रचलन चलाइएको हो । यसर्थ धर्मानुसार नीति नियम मानव जीवनको हित हुने गरि तय गरिएका हुन्छन् । तसर्थ वैदिक सनातन धर्म अनुकरण योग्य छ ।
यसर्थ पनि हिन्दु धर्मले आमा, बुबा र गुरूलाई देवता मान्नुपर्छ । आफुभन्दा ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ । असल बाटोमा हिँड्नुपर्छ । समाजको भलो चाहानुपर्छ । क्षणिकतामा रमाउनु हुँदैन । असत्यका अगाडि सत्य उज्यालो हुन्छ भन्ने अर्थ लगायो के यो झुट हो ? मानव जीवन प्राप्त गरेपछि कर्ममा विश्वास गर्नुपर्छ । त्यसैले प्रकृती र ईश्वरको पूजा गर । मन्दिर र मूर्ति देवताका साक्षात रुप हुन् । उनीहरूको सम्मान र पूजा नै ज्ञान, धर्म र संस्कारको सम्मान हो भन्ने भाव जागृत गरायो के धर्म स्वार्थी हो त ?
यी माथिका कुराहरू पालना गरे तिनीहरू समाजका असल नागरिक कहलिन्छन् । के समाजलाई व्यवस्थित गर्न बनाएको सामाजिक कानुन एवं तत्कालीन नीतिशास्त्रहरु वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण छैनन् ? के धर्मले समाजलाई व्यवस्थित रूपमा अघि बढ्न सघाएको छैन ? सामाजिक, पारिवारिक र राजनीतिक कर्तव्यको समायोजित रुप नै धर्म हो । पहिले धर्मले समाजलाई दिशानिर्देश गर्दथ्यो । धर्मकै आडमा मानिसले आफ्नो काम, कर्तव्य र अधिकारको प्रत्याभूत गर्दथे । राष्ट्रको मुल कानुन नै धार्मिक आस्थामा केन्द्रित थियो यसर्थ धर्म सर्वोपरि थियो । तर वर्तमानमा हजारौं तर्फबाट धार्मिक आस्थाप्रती प्रहार भइरहँदा पनि धर्मको वैज्ञानिक पक्ष नखोजिनु दुःखद छ ।
हिन्दुत्व र राजतन्त्र
कतिपय मान्छे हिन्दुत्वको राजनीतिसँग राजतन्त्र ‘चेन भ्यालु’ का रुपमा स्वस्फूर्त जोडिएर आउने धारणा राख्दछन् । तर, हिन्दुत्व र राजतन्त्र बिल्कुलै फरक कुरा हुन् । हिन्दूका त्रिदेव शिव, विष्णु र ब्रह्मजी कुनै राज्यका राजा थिएनन् । शिवको कैलास, विष्णुको बैकुन्ठ, ब्रह्माजीको ब्रह्मलोक उनीहरुका बासस्थान थिए, राज्य हैन ।
भगवानका १० अवतार मानिएका मत्स्य, कुर्म, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की मध्ये एक ‘राम’ मात्र राजा थिए । बुद्ध राजकुमार थिए तर त्याग गरे । मत्स्य राजा थिएनन् । कुर्म राजा थिएनन् । बराह राजा थिएनन् । नरसिंह राजा थिएनन् । बामन राजा थिएनन् । परशुराम राजा थिएनन् ।
अझ रोचक कुरा कृष्ण त स्वयं राजाहरुको बध गर्थे । तर आफू राजा हुँदैनथे । कंश राजा थियो, शिशुपाल राजा थियो, त्यस्ता थुप्रै राजाहरु कृष्णले मारे । जरासन्ध, जयद्रथ आदि थुप्रै राजा मराए, तर राज्य आफूले लिएनन् । कंश बधपछि बलरामलाई राज्य दिए । महाभारत युद्धको अन्त्यपछि युधिष्ठिरले ‘हस्तिानपुरको गादी हाजिर छ’ भनेका थिए तर कृष्णले लिएनन् । कृष्णलाई आदर्श र गीतालाई आधार मान्ने हो भने हिन्दुत्वले दुष्ट राजाहरुको बध गर्नेसम्म अनुमति दिन्छ ।
प्रविधिको विकास र निर्वाचन असंभव भएको युगमा राजतन्त्र एक बाध्यकारी राजनीतिक प्रणाली थियो । हिन्दुत्वसंग त्यसको कुनै सम्बन्ध छैन । वास्तविक हिन्दूहरु राजतन्त्रवादी हुन सक्दैनन् । मनुवादीहरु मात्र राजतन्त्रवादी हुने हुन् ।
हिन्दुत्व र हिंसा
नेपालको क्रान्तिकारी आन्दोलनलाई बदनाम गर्न यदाकदा हिन्दुत्व र हिंसालाई जोड्ने दुस्प्रयास गरिन्छ, यो उत्तिकै बेतुक कुरा हो । हिन्दुत्वमा हिंसावादी वा अहिंसावादी भन्ने कुनै मानक वर्गिकरण छैन । बरु त्यो बुद्धिज्ममा छ, गान्धीज्ममा छ । महाभारत स्वयं युद्धको कथा हो । हिंसाको कथा हो । रामायण युद्धको कथा हो । हिंसाको कथा हो । देवीले महिषासुर लगायतका दानवलाई मारेका कथा युद्धका कथा हुन्, हिंसाका कथा हुन् । फेरि ती ग्रन्थ र कथाहरु कसरी पवित्र भए, जो हिंसा र युद्धको गाथामा बनेका छन् ?
यसको अर्थ हो कि हिन्दुत्वले न्याय र अन्याय भनेर हेर्छ । ठीक र बेठीक भनेर हेर्छ । ‘बहुजन हिताय’ र ‘दुष्टजन हिताय’ भनेर हेर्छ । सत्य र असत्य भनेर हेर्छ । हिंसा र अहिंसा भनेर हेर्दैन । न्यायका लागि भएको हिंसा हिंसा भएर पनि अहिंसा हो । अन्यायका लागि भएको अहिंसा अहिंसा भएर पनि हिंसा हो । हिन्दुत्वको नीतिशास्त्रमा न्याय र सत्य महत्वपूर्ण छ, हिंसा वा अहिंसा हैन ।
राजनीति भनेको सामाजिक, आर्थिक, सांस्कृतिक र प्रशासनिक समस्याको समष्टिगत समाधान हो । सामाजिक–संस्कृतिक बेथिती र कुप्रथाबारे राजनीति गर्नेले बोल्नु हुँदैन भन्ने हो भने त्यो ‘पपुलिज्म’ हुन्छ, ‘मिसन पोलिटिक्स’ हुँदैन । सच्चा अग्रगामी, प्रगतिशील र समाजवादीहरु त्यस्तो भ्रममा पर्नु हुँदैन ।
हिन्दुत्वको गौरव र सारसत्वलाई हामी जोगाउँन चाहन्छौं भने मनुवाद, जातीय विभेद, छुवाछुतलाई हटाउनै पर्छ, त्यसका लागि धर्मसुधार गर्न पछि पर्नु हुँदैन । धर्म मानिसको व्यक्तिगत आस्था हो भने राजनीति राज्यको मूल नीति हो । धर्म र राजनीतिका आआफ्नै लक्ष्य र उद्देश्य छन् । आफ्नै बाटाहरू छन् र सीमाहरू पनि छन् । धर्म र राजनीतिलाई एकआपसमा मिसमास पार्न खोज्दा त्यहाँ धर्मका नाममा अधर्म मात्र हुँदैन, दुवैको लक्ष्य बिटुलिन्छ ।
हाम्रो नेपाल तान्त्रिक विधिले स्थापना भएको मुलुक हो । हामी शैव र बौद्ध मतका अनुयायी हौं । हामी सनातन धर्मावलम्बीमात्र नभएर खस, किरात, बोन र बुद्ध धर्मको एकाकार रूप हौं, यसलाई न बिर्सौं ।
प्राचीन कालमा अहिलेजस्तो नियम, कानुन, संविधान बनेका थिएनन्। त्यसैले पनि समाजमा अनुशासन र शान्ति सुव्यवस्था कायम गर्नका लागि पनि ‘धर्मो रक्षति रक्षितः’ (जसले धर्मको रक्षा गर्छ त्यसलाई पनि धर्मले रक्षा गर्छ) भन्ने उक्तिका साथ धार्मिक मान्यताको स्थापना गरियो होला। त्यो जमानामा यस्तो व्यवस्था सामयिक र आवश्यक पनि थियो।
कालान्तरमा धर्मका नाममा संसारमा एकपछि अर्को गरी अनेक विचार जन्मिए। ती विचार नै धर्म भए। धर्मसँगै संस्कार जन्मिए। तीमध्ये हिन्दु धर्मचाहिँ अरूभन्दा फरक छ। अन्य धर्मका जन्मदाता कोही न कोही महापुरुष छन् तर हिन्दु धर्म एउटा सनातन धर्म हो। यस धर्मका अधिकांश धार्मिक/सांस्कृतिक मान्यतामा वैज्ञानिकता पनि रहेको पाइन्छ। धार्मिक कार्यमा प्रयोग गरिने अनेक वनस्पतिमा औषधीय गुण रहेको पाइन्छ। जौ, तिल, कुश, बेल, नरिवल, घिउ, यज्ञ, हवनको वैज्ञानिक र वातावरणीय महत्व छ।
तुलसी रोप्नु, यसलाई छुवाएर चढाएको पानी खानु, यसको पूजा गर्नु धर्म हो भने यसो गरिनुको कारण तुलसीले अत्यधिक अक्सिजन दिनु र यसमा औषधीय गुण पाइनु वैज्ञानिकजन्य मानवीय उपयोगिता पनि हो। त्यस्तै पीपलको पूजा गर्नु, गाईको पूजा गर्नु, व्रत बस्नुजस्ता धार्मिक संस्कारजन्य क्रियाकलाप पनि मानव स्वास्थ्यसँगै जोडिएका छन्। यसैले गर्दा पनि हिन्दु धर्मप्रति पश्चिमाहरूको चासो बढ्न थालेको छ।
‘धर्म’ ले आजसम्म मानव जातिलाई फाइदाभन्दा बढी बेफाइदा गरेको इतिहास साक्षी छ। इतिहासका विभिन्न कालखण्डमा धर्मका नाममा अनेक युद्ध भएका छन् र त्यसमा असंख्य मानिस मारिएका छन्।एउटै धर्मभित्र अनेक सम्प्रदाय छन्। उनीहरू आफ्नै धर्म सही र अरूको धर्म गलत मान्छन्। कतिपय धर्मले आफैलाई ईश्वरका सन्तान र अरूलाई सैतान ठान्छन्। एकले अर्काको धार्मिक गतिविधि र दैनिकी मनै नपराउने मात्र होइन, एकअर्काप्रति आक्रामक बनेका देखिन्छन्।
उहिलेदेखि नै हिन्दु र मुस्लिम, सिया र सुन्नी, मुस्लिम र यहुदीबीच कडा मनमुटाव, विवाद र संघर्ष भइआएको छ। तिनीहरू एकले अर्कालाई सम्मान गर्नुलाई होइन, सकेसम्म सिध्याउनु र भत्काउनुलाई ‘धर्म’ ठान्छन्।यस क्रममा आफ्नो धर्म कसरी विस्तार गर्ने र अरूका धर्म कसरी मेटाउने रणनीति पनि अपनाइँदै आइएको छ। त्यसैका लागि असंख्य लगानी गरिएका छन्।
परिणामतः पवित्र ‘धर्म’ धनसँग नाता गाँसेर अपवित्र बन्दै छ। धर्मको विस्तार हुनुमा धन प्रभावी बन्दै छ। सम्पदा बनिसकेको बौद्ध गुम्बा धराशायी बन्नु र चर्चका नयाँनयाँ र आकर्षक पक्की भवनको संख्या बढ्नुमा धनकै करामत त होला!
मानवीय प्रवृत्ति असल बन्न नसकी धर्मका नाममा स्वार्थ गाँसिदा सनातन धर्ममा पनि अनेक संस्कार थपिएका छन्। यसले मानवीय जीवनको लय बिगारेको छ। सबै धर्ममा कथित धार्मिक अगुवा र टाठाबाठाले आफ्ना फाइदाका लागि सर्वसाधारणको शोषण गर्दै आएका छन्। धर्म-धन्दा, व्यापार र लुटको साधन बन्ने गरेको छ। संस्कार आडम्बरी र अन्धानुकरणमा रमाउँदै छन्।
भनिन्छ-मानिसको जिन्दगी सुख र दुःखको मिश्रण हो। सुख त सजिलो हुनाले बिर्सिइन्छ तर दुःखचाहिँ गाह्रो हुनाले सम्झनामा रहिरहन्छ। बुद्धले ‘संसार दुःखमय छ’ भन्नुको कारण पनि यही होला। यहाँ जन्म लिने प्रत्येक मानिसले जिन्दगीमा विभिन्न दुःखमय अनुभव लिनैपर्ने हुन्छ।
यो प्रकृतिको शाश्वत नियम नै हो। तर जसरी एकजना रक्स्याहा पिर पर्दा रक्सी र खुसी हुँदा पनि रक्सी नै पिउँछ, त्यसरी नै विभिन्न धर्मका नाममा गरिने विभिन्न संस्कार अन्तर्गत खुसी हुँदा होस् वा दुःखी हुँदा होस्, केही न केही फजुल खर्ची कर्मकाण्ड गर्नैपर्ने सामाजिक बाध्यता छ।
हिन्दु संस्कारअन्तर्गत गरिने न्वारन, व्रतबन्ध, विवाह खुसीका कुरा हुन्। त्यसैले त्यस्ता कर्ममा मन फुकाएर खर्च नगर्ने कोही हुँदैनन्, तर आफ्ना परिवारजनको मृत्युमा खेप्नुपरेको पीडा जोकोहीका लागि पनि असह्य हुँदाहुँदै पनि त्यस्ता बेलामा स्वर्ग/नर्कको डर देखाएर ‘यो’ वा ‘त्यो’ का नाममा गरिने÷गराइने खर्च झन् बढ्ता हुन्छ।
यसबाट कसैको पेसा चलिरहेको हुन्छ भने कसैलाई आर्थिक भार परिरहेको हुन्छ। त्यसैले लाग्छ, मान्छे भएर जन्मिएपछि बाँच्न त गाह्रो छ नै, त्योभन्दा पनि मर्न गाह्रो छ। यो कुरा सोच्दै गर्दा नेल्सन मन्डेलाको भनाइ सम्झना आउँछ-दुनियाँलाई बदल्ने शक्तिशाली हतियार भनेको शिक्षा हो। दुनियाँलाई मूर्ख बनाउने हतियार भनेको धर्म हो।तर यो कुरा बुझ्न विश्व मानव समुदायलाई अझै कति शताब्दी लाग्ने हो, भन्न सकिँदैन।