कविता ः विश्व मानचित्रबाटै हराउछकी मेरो देश?
–रामशरण गैरे
विविधताले विश्वभरीकै सुन्दरतालाई
जम्मा पारेर घप्लक्कै खन्याएको
वीर पुर्खाहरूले आफ्नो ज्यान
जोखिममा राखेर बचाएको मुलुक
प्रकृतिको क्रीडाभूमि,
ऋषिहरूको तपोभूमि,
र वीर योद्धाहरूको कर्मभूमि हो नेपाल।
.
वीर सपूतहरु जन्माउने देश
अमरसिंह भक्ती थापा र विर बलभद्रको
विरताले कसै सामु घुँडा टेक्न दिएन।
पानी समेत नपिएर लडेको
नालापानीको युद्धले विश्वको सामु
शिर नझुकेको देशको परिभाषा
. . .
फेरिएको छ आजभोली
इमान र जमानहरु हराएका
जमातहरुले भरिएको छ।
किन काँतर बन्यो
बिर बलभद्र लडेको देश
कता हराउदैछ?
सधैं स्वाधीन रहेको
मेरो देशको अश्मिता ?
खुम्चिएछन् हिमाल
. . .
उजाडिएछन् गाउँ घर,तराई
कुन दुष्टको जाल हो
यो हामीलाई बनाउने पराई
दिनका दिन हराउँदै छ
गोर्खालीको पहिचान
कुन कुन निष्ठुरी मिलेर गिरायो
हाम्रो स्वाभिमान?
. . . .
लोकतान्त्रिक शासनमा
अपांग झैं भएकोछ देश
एक एक गरि बेचिँदैछन्
हाम्रा संस्कार र संस्कृतिहरु
भत्काइँदैछन् अनि मासिँदैछन्
अमूल्य मठ मन्दिरहरु
कस्ता पापीहरुले लगाए
यो देशको हातमा जन्जिरहरु
. . .
कठै ! छन् यो देशमा
सत्ताधारी, कुलंगारी र धन्धुकारीहरु
विदेशको कमाइले हाम्रो
पेट पाल्न त सघायौ
तर यो देशलाई कसरी असफल बनायौं ?
.
जसले सक्छ उसैले लुट्छ
कोही सत्तामा बसेर लुट्छन
कोही सत्ता बाहिर बसेर लुट्छन्
लुट्नका सक्नेहरुका लागि
स्वर्ग हो रहेछ यो देश,
.
हो ‘नेपाल’ सोचाइ विशाल
हरेक मनभित्र,
अनि हिमालको उच्चतासँगै
गाँसिएको हाम्रो गौरव
र हाम्रो सार्वभौमिकता,
तर हाम्रो सच्चा आर्यभावना
हार्दिकता पूर्वक व्यवहार
र सहिष्णु सम्बन्धमा
सधैँ धावा बोल्दै आइरहेको छ
केही ठुल्दाइ बनेर त
केहीे नभई नहुने छिमेकी बनेर,
कहिले रोटीबेटीको सम्बन्ध व्युँताएर त
कहिले पहाडमा नटिक्ने जवानी
र पानीको कथा सुनाएर,
.
आज नेपालको
लिम्पियाधुरा, लिपुलेक र कालापानी
दुखेको छ,विस्तारै विस्तारै
हाम्रा भूभागहहरूमा
कब्जा र हस्तक्षेप
बढ्दै गइरहेका छन्,
साच्चै जङ्गे पिल्लरहरु
हराएका छन्,
नक्साहरु खुम्चिएका छन्,
हाम्लाई अत्तोपत्तो छैन
हो देशको माटो लुछिँदा
धेरैको मुटु भने रोएको छ
. . . .
अन्तर्रा्ष्ट्रिय सन्धि सम्झौताको
धज्जी उडाउँदै नेपालको सीमा क्षेत्रमा
एकतर्फी बाँध, नहर, तटबन्ध र सडक बन्छ।
. . . .
तर हाम्रा नेता मन्त्रीहरु
जनताको मतमा सिंहदरबार पुग्छन्
रङ्ग भेद बदल्छन्
नेपालीको पसिना पचाउँछन्
लैनचौरको रेड कार्पेटमा शरण पर्छन्
नेपालीको समस्यालाई हल्का बनाउँछन्
अनि रात्रिभोजमा उडाउँछन् !
.. . .
विदेसीको घातक हस्तक्षेपलाई
एकजुट भई
राष्ट्रवादले सामना गर्ने हो ?
तर यो देशमा
ढिला सुस्ती र भष्ट्राचारले
लिप्त छन शासकहरू
र देश लुटन,व्यस्त छन शासकहरू,
. . .
देशमा एउटा सरकार त छ
तर जनताका दुखमा बोल्दैन
सरकार बोल्दै त बोल्दैन
छिमेकीले सिमाना किन मिच्यो भन्दा पनी
छिमेकीले जे गरेपनि सहन्छ सरकार।
कमिसनको चक्करमा फसेको सरकार
चुनावको बेला मात्र यसो नजिक सर्छ ।।
विधिविधानको उपहास गर्छ
संविधानको हुर्मत लिन्छ
मिच्छ नैतिकताका सीमाहरू
तर पनी फलाक्छ, लोकतन्त्रको नारा ।
.
देखाउँछ शक्तिको तुजुक
मोलमोलाइमा,उदघाटनमा
ठाउँ कुठाउँ कारबाहीमा
बर्खास्ती, नियुक्तिमा
राजिनामा र पुनर्नियुक्ति
अनि शपथग्रहणहरूमा ।
.
हामी सबै हारेको देश ।
दिशाहीन गन्तव्यका लागि
रुमलिएको जमात छ जहाँ
देशको अस्मिता लुटिँदा
देश हाँक्ने अभिभारा लिएका
लालबुझक्कडहरू मौन छन यहाँ
भ्रम फैलाउँछन् र दुस्वप्न बाँड्छन्
स्वाभिमान बेचेर
विदेशीको चरणमा लम्पसार पर्छन्
.
यो देशमा सरकार रहेको
अनुभूति हामी गरिब जनताले
कहिले गर्न पाउने ?
हाम्रै पौरखले सिँगारिएको सिंहदरबारले
हाम्रो मर्म किन बुझ्दैन ?
सरकार कर असुल्नै पर्छ भन्छ
मानौँ ऊ बिर्तावाल साहू हो
नेता कार चढ्नै पर्छ भन्छ
मानौँ उसको जन्मसिद्ध अधिकार हो
.
नेता महोदय
देश कसैको रहर लहडमा चलाइने वस्तु होइन
देश परीक्षण गर्ने प्रयोगशाला पनि होइन
बन्द गर तिम्रा यावत् नाटकहरू,
देश रंगमञ्चको पर्दा होइन
देश रंगमञ्चको पात्र पनि त होइन ।
यहाँ भ्रष्टतन्त्र फैलाउने काममा
सरकारमा बसेका महत्त्वपूर्ण
नेता र पदाधिकारीहरू लागेको छ।
कर्मचारीतन्त्र यदि भ्रष्ट र अयोग्य छ
दलालहरू शक्ति केन्द्रहरूमा पुगेको छ ।
.
वृद्ध र बिरामी नेताहरूको उपचारमा
करोडौंको राजकीय धन
निर्लज्ज तरिकाले बाँडफाँट गरिन्छ।
प्रमुख राजनीतिक दलका नेतृत्वहरूलाई
आफ्नो सरकार र राजनीतिक
अस्तित्व बचाउँदैमा फुर्सद छैन।
देशका सबै गाउँघर युवारहित छन्,
युवा विदेसिन लालायित छन्।
.
यहाको नैटंङकीहरू देख्दा
यस्तो लाग्छ कुनै दिन्
विश्व मानचित्रबाट नै हराउछकी मेरो देश?
बिलाउनु भन्दा पहिले बिलम्ब नगरी
आउ, यो देश बचाँऊ ।
भरतपुर- १९,चितवन

