ट्यामवर्थ, अष्ट्रेलिया – चितवनको लंकु स्थायी घर भएका व्यवसायी बिकास सापकोटाले अष्ट्रेलियाको ट्यामवर्थमा रहेको ट्यामवर्थ नेपाली स्पोर्ट्स क्लब (टीएनएससी) लाई प्रायोजन गरेका छन्। सन् २००८ मा अष्ट्रेलिया आएका सापकोटाले ब्लू फ्लेम मोडर्न इन्डियन कुजिन र केटीएम सुपरमार्केटको संचालकको हैसियतमा यो सहयोग गरेका हुन्।
“हामी नेपाली समुदायको युवाहरूको खेलकुद प्रतिभा विकासमा योगदान दिन चाहन्छौं। यो हाम्रो दायित्व हो,” सापकोटाले भने। उनले पछिल्लो ८ वर्षदेखि रेष्टुरेन्ट र दुई वर्षदेखि नेपाली किराना पसल सञ्चालन गर्दै आएका छन्। बढ्दो नेपाली समुदायको सुविधाका लागि उनले केटीएम सुपरमार्केट स्थापना गरेको बताए ।
क्लबका अध्यक्ष बिकेश थापाको नेतृत्वमा रहेको यस स्पोर्ट्स क्लबले संजय लामिछानेको कप्तानीमा आगामी जुन १८ मा सेसनक नेपालिज एफसीसँग महत्वपूर्ण खेल खेल्ने छ। टिम कोर्डिनेटरको जिम्मेवारी सम्हालेका सुमन श्रेष्ठले यस्तो साथ र सहयोग पाइरहेमा टिमले अर्को वर्ष स्थानीय लिगमा पनि सहभागिता जनाउन सक्ने बताए।
सापकोटा ट्यामवर्थमा भारतीय, पाकिस्तानी, बंगलादेशी लगायत अन्य समुदायमा पनि परिचित व्यक्तित्व हुन्। उनले विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहयोग गर्दै समुदायिक एकताको विकासमा योगदान पुर्याउँदै आएका छन्। “खेलकुदले युवाहरूलाई नकारात्मक गतिविधिबाट टाढा राख्छ र समुदायिक भावना बलियो बनाउँछ,” उनले थपे।
यो प्रायोजनले ट्यामवर्थमा बसोबास गर्ने नेपाली समुदायको खेलकुद गतिविधिलाई नयाँ उत्साह प्रदान गरेको छ। क्लबले फुटबल मात्र नभएर अन्य खेलकुदमा पनि सक्रियता देखाउने योजना बनाएको छ। स्थानीय नेपाली समुदायले यस्तो सहयोगले खेलकुद क्षेत्रमा नेपाली युवाहरूको सक्रियता बढाउने र समुदायिक एकताको विकासमा योगदान पुर्याउने बताएका छन्।