काठमाडौं – पूर्वराजा वीरेन्द्र शाहलगायत राजपरिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ। विक्रम सम्वत् २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो।
नेपालको आधुनिक इतिहासको सबैभन्दा दुखद घटना मानिने यस हत्याकाण्डले नेपालको राजनीतिक इतिहासमा निर्णायक मोड ल्याएको थियो। घटनामा कुल १० जना राजपरिवारका सदस्यको मृत्यु भएको थियो। अर्ध मूर्च्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अर्ध मूर्च्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो।
दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो। तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो। छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिएको थियो। तर यो प्रतिवेदनमाथि विभिन्न राजनीतिक दल र नागरिक समाजले प्रश्न उठाएका थिए।
यो घटनाले नेपालको २४० वर्षे शाह वंशको शासनमा गहिरो प्रभाव पारेको थियो। राजा ज्ञानेन्द्रको शासनकालमा लोकतान्त्रिक आन्दोलन तीव्र भएको र अन्ततः २०६३ सालको जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भएको थियो। २०६४ सालमा संविधानसभाले नेपालमा गणतन्त्र घोषणा गर्दै राजतन्त्रको औपचारिक अन्त्य गरेको थियो।
हत्या गरिएका पूर्वराजपरिवारका सदस्यको सम्झनामा आज विविध कार्यक्रम गरिँदै छ। योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ। यस्तै, हिमानी ट्रस्टले कमलादीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। राजा वीरेन्द्रलाई जनताका राजाको रूपमा सम्झिने गरिन्छ र उनको मृत्युले नेपालको राजनीतिक भूगोललाई सदाका लागि परिवर्तन गरेको मानिन्छ।

