सेसनक, १८ जुन – अस्ट्रेलियाको सेसनकमा आज दुई नेपाली टोली, ट्यामवर्थ र सेसनकबीच मैत्रीपूर्ण फुटबल खेल उत्साहपूर्वक सम्पन्न भएको छ। खेलको पहिलो हाफमा ट्यामवर्थले उत्कृष्ट प्रदर्शन गर्दै ३–० को अग्रता बनायो, जसमा पहिलो गोल दिनेश मगरले गरे, दोस्रो गोल रमेश पौडेलले थपे र तेस्रो गोल समीर कुँवरले गर्दै ट्यामवर्थलाई बलियो स्थितिमा पुर्याए। दोस्रो हाफमा सेसनकले पेनाल्टीमार्फत् एक गोल फर्कायो, जसले खेलमा थप रोमाञ्चकता ल्याएको थियो । खेलको अन्त्यतिर ट्यामवर्थका लागि रुपेश चलाउनेले थप एक गोल गर्दै टिमको जित सुनिश्चित गरे।
यस खेलमा ट्यामवर्थ टोलीका गौरव अधिकारीलाई उत्कृष्ट खेलाडी (Best Player) घोषित गरिएको छ। उनले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै टिमको रक्षा र मिडफिल्डमा महत्वपूर्ण भूमिका खेलेका थिए।
ट्यामवर्थ टोलीले सेसनकसम्मको ३.५ घण्टा लामो यात्रा गरेको थियो, जसको इन्धन बीपी ट्यामवर्थले प्रायोजन गरेको थियो । खेलपछि ट्यामवर्थ टोलीका सदस्यहरूले व्यक्तिगत सहयोगमा डिनरको व्यवस्था गरेका थिए र त्यसपछि टोली पुनः ट्यामवर्थ फर्किएको थियो। यस मैत्रीपूर्ण खेलले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीचको मित्रता, सहकार्य र खेल भावना अझ सुदृढ बनाएको छ ।