काठमाडौं — नेपाल पर्यटन बोर्ड र टिकटकबीच ऐतिहासिक साझेदारीको घोषणा भएको छ। नेपालको अनौठो भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा साहसिक यात्रा अनुभवलाई विश्वभरका दर्शक सामु प्रवर्द्धन गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको छ। यस अभियानको केन्द्रमा ‘ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स’ रहेको छ, जहाँ दुनिया भरका क्रिएटर्सले नेपालका तथा प्रचारमा कम रहेका गन्तव्यहरू पल्टाउने इन–एप इन्टरएक्टिभ एक्सपिरियन्स उपलब्ध गराइनेछ।
यो पहलमा स्वदेशी तथा विदेशी चर्चित ट्राभल क्रिएटरहरूसँग सहकार्य गरी नेपाल भ्रमणका लागि निमन्त्रणा गरिनेछ। उनीहरूको नेपाल यात्राका आकर्षक भिडियोहरू टिकटकमा सार्वजनिक गर्नेजसको माध्यमबाट नेपालका सुन्दर ठाउँ, सांस्कृतिक धरोहर, चाडपर्व, कलाक्षेत्र, खानपान र स्थानीय परम्पराहरू विश्वसामु प्रस्तुत गरिनेछ। अभियान अवधिभर क्रिएटरहरूले प्राकृतिक सौन्दर्यदेखि स्थानीय समुदायको जीवनशैलीसम्बन्धी कन्टेन्ट तर्जुमा गर्नेछन्।
नेपाल भ्रमणमा आउने फिचर क्रिएटरहरूलाई काठमाडौं उपत्यकादेखि विविध गन्तव्यसम्म पुग्न सहज होस् भन्नका लागि पर्यटन बोर्डले यात्रा, आतिथ्य र विज्ञ मार्गदर्शनको व्यवस्थापन गर्नेछ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वमञ्चमा नयाँ उचाइमा पु-¥याउने विश्वास व्यक्त गरे। उनले टिकटकको विश्वव्यापी पहुँचले नेपालको प्रकृति, संस्कृति र अनुभवहरूलाई विश्वसामु चिनाउने अवसर मिलेको बताए।
टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी प्रमुख फर्दोस मोत्ताकिनले नेपालका प्राकृतिक सम्पदा र सांस्कृतिक अनुभवलाई विश्वमा फैलाउन बोर्डसँगको सहकार्य उत्साहजनक रहेको बताइन्। उनले नेपाल विश्वको अनौठो सुन्दरता र सांस्कृतिक अनुभवहरूको देश भएकाले यस अभियानले दर्शकहरूलाई लोभ्याउने विश्वास व्यक्त गरिन्।
संझौता कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बोर्ड र टिकटकको सहकार्यले अन्तर्राष्ट्रिय प्रवर्द्धन मात्र हैन, स्थानीय समुदाय र सिर्जनाकर्ताहरूको क्षमता अभिवृद्धिमा समेत ध्यान केन्द्रित गरिने बताए। योजना गरिएका कार्यशाला र सीप विकास कार्यक्रममार्फत नेपाली युवा, उद्यमी र क्रिएटरलाई आफ्नो संस्कृति, सम्पदा र ज्ञान प्रदर्शन गर्ने अवसर मिल्ने मन्त्री पाण्डेले बताए। उनले पर्यटनलाई नेपालको सामाजिक–आर्थिक विकासको मेरुदण्ड भन्दै रोजगारी, उद्यम, ग्रामीण सशक्तिकरण र परम्परा जगेर्नामा सहयोग गर्ने फाइदा उल्लेख गरे।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यले नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ दिशा दिने विश्वास गरिएको छ।

