काठमाडौं — प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए।
भेटका क्रममा विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जानकारी दिए। उनीहरूले यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउँदै विपिनको रिहाइका लागि थप पहल गर्न सबैलाई आग्रह गरे।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय आधारमा उनको रिहाइका लागि पहल गर्न अनुरोध गरिन्। सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।
हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि सरकारी र कूटनीतिक प्रयासहरू जारी रहेका छन्।

