शारदानगर । ऐतिहासिक व्यक्तित्व स्व.बखानसिंह गुरुङको जीवनलाई केन्द्रमा राखेर लेखिएको वसन्त पराजुलीको पहिलो उपन्यास ‘बखान’ उनको गृहनगर शारदानगरमा विमोचन गरीएको छ ।
शनिबार राजधानीमा एक भव्य समारोहबीच लोकार्पण भएको ‘बखान’ को आइतबार चितवनमा विमोचन गरीएको हो।
गोरखापत्र दैनिकका चितवन संवाददाता तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष रहेका पराजुलीको यसअघि कुमाता, मोम्चो लगायत चार कृति प्रकाशित भइसकेका छन् । उनको यो उपन्यास पत्रकारिताबाट सिर्जनात्मक साहित्यतर्फको अर्को कदमको रूपमा हेरिएको छ ।
विमोचन समारोहमा बोल्दै प्रमुखअतिथि बागमति प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले २००७ सालमा राणाविरोधी आन्दोलनमा होस् या २०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेपछि पञ्चायतविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा होस्, बखानसिंह सधैँ अग्रिम मोर्चामा रहेर नेतृत्व गरेको वताइन।
पत्रकार माहासंघका बरिष्ठ उपाध्यक्ष दिपक आर्चायले प्रजातान्त्रिक आन्दोलनका अगुवा, सहिद पिता, राजनीतिक धरोहर एवं सहकारी अभियन्ता बखानसिंह गुरुङको योगदानको उचित सम्मान हुन नसकेको वताए।
कार्यक्रममा बोल्दै बखान सहकारीका संरक्षक तथा बखान सिहं गुरूङका नाती चन्द्रध्वज गुरूङले बखानसिंह गुरुङलाई सहकारीका जन्मदाताका रूपमा मात्र बढी चर्चा गरिँदा उनको अर्को महत्वपूर्ण पाटो राजनीतिक व्यक्तित्व ओझेल परेको वताए।
२००७ सालमा राणाविरोधी आन्दोलनमा होस् या २०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेपछि पञ्चायतविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा होस्, बखानसिंह सधैँ अग्रिम मोर्चामा रहेको बखानसिंह मात्र होइन, उनको परिवार नै क्रान्तिको अगुवा रहेको वताए। बखानसिंह गुरुङलाई न्याय दिन राम्रा कामलाई हाम्रा सम्झेर नेपालको राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने वताए।
बखान सहकारीका सल्लाहाकार संयोजक तोपमान सिंह गुरूङले नेपालको राजनीतिक इतिहासमा आन्दोलनकै क्रममा दुईजना छोरा गुमाउने बखानसिंहको जीवनबाट राजनीतिलाई अलग्याउने हो भने देशलाई उनले दिएको देन अपूरो रहेको वताए ।
‘सहिदहरूका पिता एवं नेपाल सहकारी आन्दोलनका प्रथम अभियन्ताको नाममा उनको जन्मथलो पुलिमराङलाई बखान गाउँपालिका नामकरण गर्न सकिन्थ्यो ।’ बखानसिंहको कर्मथलो चित्रवन नगरपालिकाले बखान नगरपालिका नाम पाएको भए पनि हुन्थ्यो । त्यति भएको भए बखानसिंहको आत्माले पक्कै पनि न्याय पाएको अनुभूति गर्ने थियो होला ।’ उनले भने,
पुस्तकमाथि चर्चा गर्दै साहित्यकार उदय अधिकारीले लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, बीपी कोइरालाको समाजवादका चरण र गुरुङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक ढङ्गले उतारेको वताए । समग्रमा, यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्त्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको उनले वताए।
पुस्तक लेख्नका लागि विभिन्न व्यक्ति, पत्रकार तथा संस्थाहरूले दिएको सहयोगप्रति लेखक पराजुलीले आभार व्यक्त गर्दै पुस्तकको लेखक पराजुलीले २००७ सालको परिवर्तन देखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, विपी कोइरालाको समाजवादका चरण र गुरूङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक ढङ्गले पुस्तकमा उतारेको वताए ।
वखान सहकारीका का.अध्यक्ष देवी थापामगरको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारी लगायत साहित्यकार, पत्रकार, समाजसेवी, प्रबुद्ध वर्ग, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । बखान सहकारीका सदस्य सोमप्रसाद भण्डारीले उदघेषण गरेको कार्यक्रमको सहकारीका सदस्य रामशरण गैरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
‘बखान’ उपन्यासको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङ

शारदानगर । २०७६ फागुनमा पराजुलीको पहिलो कथासङ्ग्रह ‘कुमाता’ र २०७८ मङ्सिरमा दोस्रो कथासङ्ग्रह ‘मोम्चो’ मार्फत पाठकमाझ पहिचान बनायका पत्रकार बसन्तराज पराजुलीले पहिलो पल्ट उपन्यास लेखनमा लागेका छन।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका पराजुलीको यो पहिलो उपन्यास हो।
शिखा बुक्सले प्रकासन गरेको ‘बखान’ उपन्यासमा तनहुँको पुलिमराङदेखि चितवनको शारदानगरसम्म जीवनका अनेक संघर्ष पार गरेका स्वर्गीय बखानसिंह गुरुङको जीवनसङ्ग्राममा आधारित छ ।

२०११ सालमा तनहुँ, लमजुङ, गोरखा, मनाङलगायत मध्यनेपालको पहाडी क्षेत्रका जनतालाई कहिले लामो खडेरी त कहिले दर्के झरीले अत्यायो । यसरी अनावृष्टि र अतिवृष्टिका कारण जीवन कष्टकर बनेपछि उनीहरू सुरक्षित वास र गाँसको खोजीमा भौँतारिन थाले । तर, कहाँ जाने ? पहाडमा ठाउँ छैन । मधेसमा औलोको डर ।
त्यसको करिब दुई वर्षअघि नै तनहुँको पुलिमराङबाट बखानसिंह गुरुङ चितवन झरेका थिए । त्यसरी कहाँ जाने भनेर भौंतारिएकाहरूलाई बखानसिंहले चितवन बोलाए । उनीहरूले सुरुमा औलोको डरले चितवन बसाइँ सर्न आनाकानी गरे । तर भोकको अगाडि डर पनि डराउँदो रहेछ । अन्ततः उनीहरू चितवन झर्न थाले । त्यसरी झर्नेहरूलाई बखानसिंहले व्यवस्थित बसोवास मिलाउन अगुवाइ गरे ।
भित्री मधेस र तराईको समुचित विकास गर्ने क्रममा चितवन राज्यको पहिलो रोजाइमा परेको स्थान थियो । त्यसैले त्रिभुवनले बखानसिंहलाई चितवन विकास गर्ने क्रममा विशेष दूत बनाएर पठाएको पाइन्छ ।

राजा त्रिभुवनको आदेशबमोजिम उनी २००९ साल चैतको २९ गते हालको क्षेत्रपुर पुगे । त्यसवेला चितवन जंगलैजंगलले ढाकिएको थियो । पहिलो रात उनले एक रुखमुनि बिताएको विषय उपन्यासमा लेखियको पाइन्छ।
२०१३ सालमा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उनको परिवारले राज्य पक्षबाट भोगेका अत्याचार, उनीहरूले गरेका संघर्ष र योगदान उपन्यासको मूल कथावस्तु बनेको लेखक पराजुलीले बताए ।
बखानसिंहले पञ्चायती शासन र राणा प्रभावका विरुद्ध लड्दै आफ्ना दुई जवान छोराहरू गुमाएका थिए । त्यही जीवनदृष्टिकोणसँगै उपन्यासमा चितवनमा भएको बस्ती विकास, राजा महेन्द्रको रहस्यमय मृत्यु, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरिएको ऐतिहासिक प्रसङ्गहरू पनि समेटिएका छन् ।
राजनीतिक परिवर्तन, गुरुङ समुदायको रोदी परम्परा, सामाजिक नियम, प्रेमभाव, बसाइँसराइलगायत विषयहरू उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरिएको लेखकको भनाइ छ । पाठकले उपन्यासमा बखानसिंह गुरुङको जीवनको सङ्घर्ष र समर्पणलाई यथार्थपरक ढंगमा भेट्नेछन् ।
नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसले २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको छ, जसले इतिहासलाई साहित्यिक आयाममा बुझ्न मद्दत गर्छ।
पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धा हुन्। बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई जना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ।
उनका बारेमा खासै लेख–रचना नभएको सन्दर्भमा गाउँघरमा चलेका किंवदन्ती र परिवारका सदस्यबाट प्राप्त जानकारीलाई आधार बनाएर यस उपन्यासको रचना गरिएको देखिन्छ। यसले इतिहासमा हराएका पात्रहरूलाई पुनर्जीवन दिएर उनीहरूको योगदान उजागर गर्ने प्रयास गरेको छ।
लेखक पराजुलीले ऐतिहासिक तथ्यलाई आधार मानेर त्यसभित्र तथ्यपरक जलप लगाएका छन्। पुस्तकमा चितवनको २०१३ सालपछिको विकासको तीव्र गतिलाई पनि समावेश गरिएको छ।
नारायणी खगेरी सिँचाइ आयोजना, रामपुर क्याम्पस, नारायणघाट–मुग्लिन सडकजस्ता पूर्वाधारहरूको निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको विकासले तत्कालीन चितवनको समग्र चित्र प्रस्तुत गर्छ। यसरी बस्ती विकासमा बखानसिंह गुरुङले खेलेको महत्त्वपूर्ण भूमिकालाई पनि यसले चित्रण गरेको छ।

