काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाह र सुमना श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पछिल्लो जेन जी आन्दोलनमा सरकारले दमनकारी नीति अपनाएको विरोधमा राजीनामा दिएको उनीहरूले स्पष्ट गरेका छन्।
सांसद शाहले बर्बर दमन, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने, नागरिक अधिकारमाथि हस्तक्षेपजस्ता अमानवीय सरकारका कदमलाई आफ्नो विवेक, जनप्रतिनिधिको उत्तरदायित्व र संविधान विपरीत भएको बताउँदै पद छाडेका छन्। उनले लगातार सदनमा युवाको आवाज बोलेको, सडकमा विद्रोह हुन सक्ने चेतावनी दिएको तर सरकारपट्टि गम्भीरता नआएको गुनासो पोखेका छन्। बच्चाहरूको ज्यानभन्दा संसद् भवनको रक्षा ठूलो त होइन भन्दै उनले सरकारको दमनलाई हत्या अपराधको संज्ञा दिएका छन्। शाहले अब सडकमा जेन जी पुस्ता, नागरिक र सत्यका लागि संघर्ष गर्ने संकल्प व्यक्त गरेका छन्।
यस्तै, सांसद सुमना श्रेष्ठले पनि संसद् सदस्य पदबाट राजीनामा दिएकी छिन्। पछिल्लो आन्दोलनको समर्थनमा र जनभावनाप्रति प्रतिबद्धता जनाउँदै श्रेष्ठले पद त्याग गरेकी हुन्।
दुवै सांसदका राजीनामा पत्र संसद सचिवालयमा बुझाइएको छ।

