कतार, पौष १ : कतारको अल यानूब रङ्गशालाभन्दा २० किलोमिटरटाढा एउटा ठूलो स्क्रीनमा हजारौँ विदेशी कामदारहरू विश्वकप फुटबलका खेलहरू हेर्छन्। आफैँले निर्माणमा सहयोग गरेको उक्त रङ्गशालामा हुने खेल हेर्ने यो नै उनीहरूको सबैभन्दा राम्रो व्यवस्था हो।
कामदारको सुरक्षाका लागि हामीले कुरा गरेका श्रमिकहरूको नाम परिवर्तन गरेका छौँ।
शुक्रवार राति दोहाका शपिङ मल र रेस्टुराँ भएका ठाउँभन्दा पर एशियन टाउन क्रिकेट रङ्गशालामा हजारौँ विदेशी कामदार भेला भए।
रङ्गशाला प्रवेश गर्ने ढोकामा टाँगिएका ठूला ब्यानरमा अरबी, अङ्ग्रेजी र हिन्दी भाषामा “यो फिफा विश्वकप सर्वोत्कृष्ट बनाउन योगदानका लागि तपाईँलाई धन्यवाद” लेखिएको छ।
“यो गरिबहरूको ‘फ्यान जोन’ हो,” घानाबाट कामका लागि कतार पुगेका एक श्रमिक जोनले भने। त्यहाँ उपस्थित हजारौँ मानिसमध्ये उनले पनि विश्वकपका लागि तयार पारिएका संरचना निर्माणमा काम गरेका छन्।
“मेरो करार दुई वर्षको लागि भए पनि म १० वर्ष बस्न चाहन्छु,” उनले भने।
“कहिलेकाहीँ कतारका प्रहरीलाई सम्पर्क गर्न सकिन्छ वा सधैँ उनीहरूबाट भाग्नुपर्छ भन्ने कुरा थाहा नभए पनि मलाई कतार मन पर्छ। उनीहरू (प्रहरी) डरलाग्दा छन्,” हाँस्दै उनले भने।
तर सबैको भावना जोनको जस्तो छैन। “हामीले दास जसरी काम गर्छौँ,” युगान्डाबाट आएका मोसेसले भने।
“यहाँ गर्मी उच्च छ र कहिलेकाहीँ हामीले सहमति जनाएकोभन्दा लामो समयसम्म काम गर्नुपर्छ। सम्झौतामा आठ घण्टा उल्लेख भए पनि हामीले १३ देखि १५ घण्टासम्म काम गरिरहेका छौँ।”
“तैपनि मेरा भाइहरूले खान र पढ्न पाऊन् भनेर म यहाँ टिकिरहेको छु,” उनले थपे।
विदेशी श्रमिकलाई गरिएको व्यवहारप्रति लिएर कैयौँ मानवाधिकारवादी संस्थाहरूले विश्वकपमा कतारको चर्को आलोचना गरिरहेका छन्।
सन् २०२२ को विश्वकपका पूर्वाधार निर्माणका क्रममा दर्जनौँ विदेशी कामदारहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनले दाबी गरेको छ।
मोसेसका अनुसार कतारमा सँगै काम गरेका उनका दुई साथीको मृत्यु भयो। उनको दाबी हाम्रो संचार माध्यमले स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकेको छैन।
“एक जना त गर्मीका कारण अचेत भयो र उसको मृत्यु भयो,” उनले भने।
विदेशी श्रमिकको मृत्युबारे हामीले मागेको प्रतिक्रियामा कतारका निकायहरूले उत्तर दिन चाहेनन् ।
तर सरकारका एक प्रवक्ताले केही समयअघि बीबीसीलाई अन्य खाडी राष्ट्रको तुलनामा कतारले कैयौँ सुधारका योजना लागु गरेको र त्यसले विदेशी श्रमिकको काम गर्ने अवस्थामा व्यापक सुधार ल्याएको बताएका थिए।
कतारले न्यूनतम पारिश्रमिकको व्यवस्था गरेको छ र विवादित कफाला प्रणालीमा रोक लगाएको छ।
उक्त प्रणालीमा रोजगारदाताको अनुमतिबिना जागिर फेरे कामदारलाई मुद्दा हाल्न, पक्राउ गर्न र स्वदेश फिर्ता पठाइदिन सक्ने व्यवस्था थियो।
तर हामीले कुराकानी गरेका एक दर्जन श्रमिकले न्यूनतम पारिश्रमिक [१,००० कतारी रियाल (३६,००० रुपैयाँभन्दा केही बढी)] कमाउनका लागि आफूहरूले औसतमा साताको छ दिन १२ घण्टाभन्दा बढी काम गर्नुपरेको बताए।
दोहासम्म पुग्ने खर्च धान्न आफूले नसक्ने उनीहरूको दुखेसो छ।
‘पिँजडामा जस्तो जिन्दगि ‘
“मलाई पिँजडामा परे जस्तो अनुभूति हुन्छ,” जोनले भने।
“प्रत्यक्ष रूपमा खेल हेर्न जाने कुरा त मैले सोचेकै छैन। सायद कुनै समय म अलि स्वतन्त्र हुनेछु। तर यो ‘फ्यान जोन’ हाम्रा लागि हो र म यसका लागि कतारलाई धन्यवाद दिन्छु। मलाई यो मन परेको छ,” उनले थपे।
हामीले कुरा गरेका अधिकांश श्रमिकहरूले कतारी निकायसँग भन्दा पनि आफूले काम गरेका कम्पनीहरूप्रति आफू बढी निराश रहेको बताए। यद्यपि उनीहरूले कुन कम्पनीमा काम गर्छन् भन्ने खुलाएनन्।
पत्रकारहरूसँग कुरा नगर्न रोजगारदाताले चेतावनी दिएको उनीहरूले बताए।
“हामी कुराकानी गर्न सक्दैनौँ। हामीलाई यहाँ सहज छैन, हामी समस्यामा पर्न चाहन्नौँ,” एक श्रमिकले भने।
bbcको सहयोगमा