भरतपुर । मेडिकल सिटीको रुपमा परिचित चितवनमा रहेको भरतपुर अस्पतालको फार्मेसीमा कार्यरत फर्मासिस्ट प्रभात पौडेलमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न अस्पताल विकास समिति कर्मचारी युनियनले माग गरेको छ ।
फर्मासिस्टमाथि भएको आक्रमणप्रति खेद प्रकट गर्दै युनियनले अपराधीलाई कानुनी कठघरामा ल्याएर हदै सम्मको कारबाही गर्न माग गरेको हो । युनियनको भरतपुर अस्पताल इकाई समितिका अध्यक्ष इन्जिनियर चन्द्रमणी बस्यालले बुधबार अस्पतालका मेसुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पौडेलमाथि अस्पतालको फार्मेसीमा जेठ १७ गते राति अज्ञात समूहले दुव्र्यवहार गर्नुका साथै भौतिक आक्रमण समेत गरेको बस्यालले बताए । कोरोना नियन्त्रणमा तल्लिन स्वास्थ्यकर्मीलाई सुरक्षित किसिमले काम गर्ने वातावरण बनाउन उनले आग्रह गरे ।
ध्यानाकर्षण पत्रमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थमा राखिएको छ ।
नेपाल फार्मेसी संघ जिल्ला कार्य समिति चितवनका अध्यक्ष विनोद पन्तले बिज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कारबाही गरी कानुनी कठघरामा उभ्याउन माग गरेको छ। साथै स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्न माग गरेको छ ।