चितवन, असोज २२
चोरीको आरोपमा प्रहरीकोे नियन्त्रणमा रहेका दुई किशोर भरतपुर अस्पतालको आइसोलेसनबाटै भागेको २१ दिन बितिसक्दा पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । लाखौँ रूपैयाँ नगद र धनमाल चोरी गरेको आरोप लागेका उनीहरु भदौ ३१ गते फरार भएका थिए ।
जिल्ला अदालत चितवनमा चोरी आरोपमा मुद्दा चलाइएका १५ र १७ वर्षका ती दुई किशोरमा कोरोना भाइरस पोजिटिभ देखिएपछि भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो । उनीहरु भदौ २७ गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । फरार रहेका दुई किशोरसहित १३ वर्षका अर्का बालकमाथि साउन १५ गते दिपेन्द्रचोकमा र साउन ३१ गते यज्ञपुरीमा चोरी गरेको आरोप छ ।
आफ्नो अनुसन्धान र संरक्षणमा रहेका ती किशोरहरु अस्पतालबाटै फरार हुने वातावरण बनेको यो घटनाले प्रहरीको हदैसम्मको लापरबाही भएको सरोकारवाला बताउँछन् ।
जिल्ला अदालत चितवनको भदौ २४ गतेको आदेशले तीन जना बालकहरुलाई बालमैत्री वातावरणमा यसै क्षेत्रमा काम गर्ने संस्थालाई जिम्मा लगाउन आदेश गरेको थियो । चोरीको आरोप लागेका तीनैजनालाई वैतनिक वकिल कृष्ण पन्तको जिम्मामा छाडिएको थियो । पन्तले फेरि प्रहरीकै जिम्मामा पठाएका थिए । प्रहरीले अदालतको आदेशअनुसार तीन बालकलाई पिटुसिटु (पुलिस पब्लिक क्याम्पेन फर चिल्ड्रन) मा लगेको थियो । जहाँ अन्य सडक बालबालिकाहरु पनि संरक्षित छन् । प्रहरी र नागरिकको संयुक्त प्रयासमा यो संरक्षण केन्द्र सञ्चालनमा छ ।
पिटुसिटुका अध्यक्ष बेलबहादुर गुरूङले बालकहरुलाई भदौ २६ गते संस्थामा ल्याएको र २७ गते दुई जनामा कोरोना पोजिटिभ देखिएपछि प्रहरीकै जिम्मामा अस्पताल पु¥याएको बताउनुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी एवम् पिटुसिटुकी सदस्य मीना खरेलले यो घटनामा प्रहरीले लापरबाही गरेको बताउनुभयो । खरेलले भन्नुभयो–‘कोरोना संक्रमणका बेला एकातिर कोभिड टेष्ट ने नगरी पिटुसिटुमामा पठाउने, अर्कोतिर कोरोना लागेको पाइएपछि प्रहरीको नियन्त्रणमा उपचार हुँदाहुँदै अस्पतालबाट भाग्ने वातारण बन्नुले प्रहरी विवादित बनेको देखियो ।’
पछिल्लो समयमा चोरीका घटनामा सडक बालबालिकाको प्रयोग हुँदै आएको छ । ठूला चोरले धनमाल लाने, तर यस्ता बालबाबालिकालाई सहयोगीका रुपमा परिचालन गर्ने घटना बढेको अधिकारकर्मी खरेलको भनाई छ । दिपेन्द्रचोक र यज्ञपुरीको चोरीको घटनामा पनि सडकबालबालिकाहरु सहयोगीको रुपमा परिचालित भएको खुलेको हो ।
साउन ३१ गते भरतपुर–४ स्थित नवदूर्गा टोलका रामहरि पौडेलको घरमा करिब सात लाख रुपियाँ बराबरको धनमाल चोरी भएको थियो । यो घटनामा पनि ‘नाबालक’हरुलाई परिचालन गरिएको छ । प्रहरीका अनुसार उनीहरुले चारेको गरगहना राजकुमार तामाङलाई लगेर बुझाएका थिए । तामाङले यसबापत पन्ध्र हजार रुपियाँ ती ‘नाबालक चोर’ लाई बुझाए । पछि प्रहरीले ती गरगहना तामाङकै घरपछाडि खाल्डोमा पुरेर राखेको अवस्थामा बरामद गरेको थियो । बरामद भएकामध्ये केहि गरगहना भनेै पौडेलले फिर्ता पाए । बाँकी अझै पाएका छैनन् । तामाङलाई भने अदालतले पचास हजार रुपियाँ धरौटी लिई मुद्दा पूर्पक्षका लागि तारखेमा छाडिसकेको छ । अस्पतालको आइसोलेसनबाट भागेकाहरु पौडेलको घरमा भएको चारेीमा संलग्न थिए । यो मुद्दा अहिले जिल्ला अदालत चितवनमा चलिरहेको छ ।
भरतपुर–१० दिपेन्द्रचोककी गोमा सापकोटाको घरमा पनि साउन १५ गते करिब १२ लाख रुपयाँ बराबरको धनमाल चोरी भएको थियो । भदौ १७ गते चोरीमा संलग्नमध्येका एक किशोरलाई असई ठाकुर पनेरुले सापकोटाको घरमा ल्याए । ती किशोरले आफूले चोरी गर्दाको सम्पूर्ण विवरण पीडित सापकोटा र असई पनेरुलाई बताए । ती किशोरले बताए अनुसार पौडेल र सापकोटाको घरमा चोरी गर्नेको समूह एउटै भएको खुलेको छ । तर प्रहरीको फितलो अनुसन्धानले पक्राउ परेका ‘चोर’ हरु पनि अस्पतालबाटै फरार हुन सफल भएका हुन् ।
एकातिर ‘नाबालक चोर’ लाई समाएजस्तो गर्ने तर चोरीको भेद खुल्ने भएपछि ठूला चोरलाई समेत उम्काउन प्रहरीले अस्पतालबाटै ‘चोर’ भगाएको पीडितहरुको गुनासो छ । चोरी भईसकेपछि मुचुल्का गर्दा प्रहरीले अनुसन्धानका लागि फिंगर प्रिन्ट पनि लगेको थियो ।
चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले यस घटनालाई गम्भीरतापूर्वक नलिएको पनि पीडितहरुले बताउनुभयो । ‘प्रहरी कार्यालयबाट मेरो घर एक किलोमिटर टाढा पनि पर्दैन । सय मिटर नजिक रहेको अस्पतालबाट प्रहरीको नियन्त्रणमा रहेका चोर फरार भएका छन् । दिनरात प्रहरीले गस्ती गरिरहने यो ठाउँमा एसपी अझ गम्भीर नदेखिनु लाजमर्दो भयो ।’–पीडित सापकोटाले भन्नुभयो ।
प्रहरी प्रमुख गुरुङले फरार किशोरहरुको खोजी कार्य भईरहेको जानकारी दिनुभयो । ‘खोजी कार्य जारी छ, तर फेला पारेका छैनौँ,’ उहाँले भन्नुभयो ।
यसअघि पनि भरतपुर अस्पतालकै आइसोलेसनबाट चोरी आरोपित एक युवा भागेर रातारात साइकलमा नुवाकोट पुगेका थिए । उनी पनि कोरोना पोजेटिभ थिए । पछि उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।