नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले गठबन्धनको सरकारले आफूलाई अवसर दिएको भए पनि आफूमाथि ठुलो चुनौती भएको बताएका छन्।
मंगलबार पदभार ग्रहण गर्दै घिसिङले भने, ‘पहिलो कार्यकालमा म आउँदा उर्जामन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो। अहिले गठबन्धनको सरकारको सहयोगको कारणले फेरि प्राधिकरणमा फर्किएको छु। त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा मन्त्री पम्फा भूसाल लगायतको पहलमा म यहाँ आइपुगेको छु।’
दोस्रो कार्यकालका लागि फेरि प्राधिकरणमा आएकाले आफूमाथि ठुलो चुनौती भएको उनको भनाई छ।
उनले भने, ‘सरकार र आम जनताको मलाई विद्युत प्राधिकरणमा आएर अगाडी बढाउनुपर्ने जनअपेक्षा थियो। अहिले दोस्रो कार्यकाल यहाँ आएको छु मेरो जीवनमा यो भन्दा ठुलो चुनौती अरु हुँदैन। त्यसका लागि नयाँ टीम, नयाँ जोस र जागरका साथ अगाडि बढ्नुपर्छ।’
आफ्नो कार्यकालमा देशमा मात्रै नभएर विश्वमै विद्युत प्राधिकरणलाई चिनेको उनले बताए। प्राधिकरणको विकास हुँदा आफ्नो मात्रै नभएर देशको विकास हुने उनको भनाइ छ।
प्राधिकरणमा भएका राम्रो कामलाई निरन्तरता दिँदै कमीकमजोरी सच्चाएर अघि बढ्ने उनले बताए। व्यक्तिहरुमा नेतृत्व गर्ने क्षमता फरक हुने भएकाले नतिजामा असर पर्ने उनको भनाइ छ।
सबैले आ-आफ्नो क्षमताअनुसार काम गर्दा जुनसुकै काममा राम्रो नतिजा पाउन सक्न उनले बताए।
सरकारले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी अनुसार नेपालको उर्जा क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता घिसिङले जाहेर गरे। कुरा गरेर भन्दा आफू काममा विश्वास गर्ने उनको भनाई थियो।