भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमूना मावि भरतपुर १०, प्रभात मावि भरतपुर २५, भीमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बस हस्तान्तरण गरेको हो ।महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुलार्ई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिकाले काम गरिरहेको छ ।” शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उहाँको भनाइ थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा नारायणी नमूना माविका प्रधानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उहाँको भनाइ थियो ।
महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरी खरिद गरेका हुन् । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको थियो । महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले बेहोर्नुपर्ने उहाँले बताउनुभयो । 
महानगरपालिकाले वितरण गरेको बस संग पृष्ठभूमिमा फोटो खिच्दै भिमनगर उच्च माविका प्राचार्य कोमलनाथ घिमिरे

