सरकारले दूधको उपभोक्ता मूल्य बढाउन छलफल शुरु गरेको छ । दूग्ध उत्पादनका लागि आवश्यक सबै खाले वस्तुमा भएको मूल्य वृद्धिका कारण किसान मारमा परेको भन्दै दूधको मूल्य बढाउने तयारी गरिएको दूग्ध विकास बोर्डले जनाएको छ ।
सरकारले २०७६ सालमा लिटरमा ६ रुपैयाँले मूल्य वृद्धि गरी प्रतिलिटर ७६ रुपैयाँ पुर्याएको थियो । दुई वर्षपछि दूधको मूल्य बढाउन अध्ययन अघ बढाएको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले बताए । अन्य क्षेत्रमा भएको मूल्य वृद्धिले दूधको उत्पादन लागत बढ्दा किसानलाई दूग्ध उत्पादनमा टिक्न कठिन भएको गुनासो पछि यसबारे अध्ययन थालिएको यादवको भनाइ छ ।
चोकर, दाना, श्रमको ज्याला लगायतमा मूल्य वृद्धि हुँदा व्यवसायमा असर परेको होकि भनेर मूल्य बढाउन छलफल थालिएको हो,’ कार्यकारी निर्देशक यादवले भने । मूल्य वृद्धि गर्नु पर्ने कारणसहितको राय पेश गर्न अध्ययन कार्यदल गठन गर्नु पर्ने भएकाले अहिले प्रारम्भिक छलफल मात्रै भएको उनको भनाइ छ ।
कात्तिक अन्तिम साता सामान्य छलफल भए पनि कार्यदल गठन लगायतमा मन्त्रालयमा जानकारी गराउने पर्ने भएकाले थप प्रगति नभएको बोर्डले जनाएको छ । किसान, व्यवसायी, सरकार र उपभोक्ताकर्मी सम्मिलित विज्ञ कार्यदलको सिफारिसमा मात्रै सरकारले मूल्यबारे निर्णय गर्ने भएकाले अहिले अनुमानित मूल्य वृद्धि पनि आंकलन नभएको उनको भनाइ छ ।