नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग सकिएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको तयारी ९५ प्रतिशत सकिएको छ । भट्टराईले अब फिनिशिङको काम मात्रै बाँकी रहेको बताउनुभयो ।
महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि बिहीवार दिउँसो नदी किनारमा सक्ने जति मानिस आउने बताउनुभएको हो ।
देशका विभिन्न ठाउँबाट आउने नेता/कार्यकर्तालाई स्वागतका लागि चितवनमा ५० भन्दा बढी ठाउँमा स्वागतद्वार बनेका छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चलगायतका सबै संरचना बनिसकेका छन् ।
बन्द सत्र हुने सौराहामा २२ सय जना अट्ने हल निर्माण गरिएको छ । सहभागीका लागि आवासको व्यवस्थापन कामसमेत सकिएको भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । भट्टराईले निर्वाचित र मनोनित गरी दुई हजार एक सय ७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभएको छ ।
यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार एक सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । कुल प्रतिनिधिमा ६ सय २७ जना महिला र दुई सय नाै जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । यसैगरी महाधिवेशनमा एक सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
बन्द सत्रको हल बनाउने तयारी पनि सकिएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । नारायणी नदी पारि नवलपुरको गैँडाकोट र नारायणगढका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखिने उहाँको भनाइ छ ।
उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालेले जनाएको छ । उनीहरूलाई उद्घाटन सत्र र सडकमा परिचालन गरिने प्रचार विभाग प्रमुख भट्टराईको छ ।
एमाले महाधिवेशन प्रतिनिधिका लागि मङ्सिर १० गतेदेखि मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रवार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मङ्सिर ११ गते बिहान आठ बजेर ३० मिनेटदेखि बन्द सत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
बन्द सत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्नुहुनेछ । मङ्सिर ११ गते बेलुका ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी, विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । त्यही दिन बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
एमालेले महाधिवेशनपछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ । प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशनपछि एमाले आउँदाे पालिका, प्रदेश र सङ्घको चुनावमा केन्द्रित भएर नागरिककाे बीचमा जाने बताउनुभयो । उहाँले अहिलेको महाधिवेशनले अन्तरविरोधलाई हल गरेर बलियो एकता कायम हुने बताउनुभयो ।