काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आधिकारिक ट्विटर एकाउन्ट अकस्मात बन्द गरिएको छ। @ShitalNiwas ह्यान्डलको राष्ट्रपतिको आधिकारिक ट्विटर एकाउन्ट बुधबारदेखि बन्द गरिएको हो।
राष्ट्रपतिका मिडिया विज्ञ टीकाप्रसाद ढकालले एक ट्विट गर्दै यसबारे जानकारी गराएका छन्। उनले राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको जानकारी गराएका छन्। उनले ट्विट गरेका छन्, ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’
राष्ट्रपति भण्डारीको उक्त भेरिफाइड एकाउन्ट बुधबार बन्द गरिएको हो। उक्त एकाउन्टबाट मंगलबारमात्र राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु, नातिनीहरु र आमासँग विजयादशमीका दिन खिचिएको तस्बिर सार्वजनिक गरिएको थियो।