चितवन, कात्तिक १८-
भरतपुरको वाल्मीकि कलेजले कक्षा ११ को अन्तिम परीक्षा सामाजिक दूरी कायम गर्दै आजबाट सञ्चालन गरेको छ ।
कलेजले सामाजिक दूरी र सुरक्षाका विभिन्न मापदण्ड अपनाउँदै कक्षा कोठाको कम प्रयोग गरेर खुला आँगनमा नै परीक्षा सञ्चालन गरेको हो । आजबाट सुरु भएको परीक्षा कात्तिक २६ गते सकिने प्लस २ कोअर्डिनेटर प्रदिप पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
बिहान ७ बजेबाट सुरु हुने परीक्षा तीन सिफ्टमा साँझ ५ बजे सकिने पौडेलले बताउनुभयो । कलेजका अनुसार परीक्षामा विज्ञानतर्फ झण्डै ३०० र व्यवस्थापनतर्फ २१२ जना विद्यार्थी समावेश भएका छन् । एउटा बेञ्चमा एक जना राखेर लिइएको परीक्षामा शिक्षकहरुले पनि पीपीई लगाएका थिए भने विद्यार्थीहरुलाई पनि स्यानिटाइजर प्रयोग गरेर परीक्षा दिन बसेका थिए ।
खुला आकाशमुनि राखेर लिइएको परीक्षामा बिहान एकछिन पानी परेपछि केही विद्यार्थीलाई कक्षा कोठामा पनि सारिएको थियो । यसप्रकारले लिइएको परीक्षा चितवनमा पहिलो नै भएको कलेजको दाबी छ ।