कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको प्राज्ञिक परिषद् होटलमा गरिएको भन्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।
भरतपुर चौविसकोठीमा रहेको होटल ग्लोबलको हलमा बैठक चलिरहँदा विद्यार्थीहरुले होटल परिसरमा नारा लगाएका हुन् । बिहान करिब ३ घण्टा नारा लगाइएको थियो ।
खर्चिलो र भड्किलो बैठक गरिएको विद्यार्थीहरुको आरोप छ । नेविसंघ विश्वविद्यालय कमिटिका सचिव मिराज पौडेलले बैठकको बहानामा हुने अनावश्यक खर्च रोक्न नाराबाजी गरिएको बताए ।
जनताको करमाथिको मोजमस्ती बन्द गर, प्रशासनिक गतिविधि होटलमा गर्न बन्द गर, आर्थिक पारदर्शिता लागू गर जस्ता नारा लगाएका थिए ।
विश्वविद्यालय परिसरमै झन्डै १ हजार जना बस्न मिल्ने सभाहल, ४ वटा थप अन्य साना हलहरु रहेका छन् । तर, विश्वविद्यालयले कन्फ्रेन्स, सेमिनार, बैठक, कार्यकारि परिषद, प्राज्ञिक परिषद लगायतका गतिविधिहरु प्राय: होटलमा हुने गरेका छन् ।
कार्यक्रम खर्चका रुपमा होटलहरुलाई वार्षिक १ करोड बढी रकम निकासा गर्ने गरेको स्रोतको दावी छ । विश्वविद्यालयको आर्थिक प्रशासन नियमावलीमा विश्वविद्यालयका गतिविधि विश्वविद्यालयमै गर्नुपर्ने तर अतिआवश्यक भएमात्र बाहिर गर्न सकिने प्रावधान छ ।
करिब ४ सय ५० बढी कर्मचारी रहेको विश्वविद्यालयमा झण्डै १ सय सहयोगी कर्मचारी छन् । विश्वविद्यालयका विभिन्न निकायहरुमा भान्छाको पूर्वाधार समेत छन् ।
तर, गोपनियताको लागि भन्दै बैठक तथा कार्यक्रमहरु बेलाबखत होटलमा हुन थालेका छन् । आज (बुधबार) बसेको प्राज्ञिक परिषद्मा २१ जना सहभागी थिए ।
विश्वविद्यालयका उपकुलपति (भीसी) प्रा.डा. पून्यप्रसाद रेग्मीले अनुकुल ठाउँमा बैठक बसेको जिकिर गरे । उनका अनुसार शैक्षिक क्यालेन्डर र भर्ना सम्बन्धि एकरुपता ल्याउने विषयमा छलफल भएको छ ।
समाचार श्रोत : नेपाल प्रेस