काजकिस्तानका राष्ट्रपति कास्सिम जोमार्ट तोकायिभले रुससँग सहयोग मागेका छन्। इनधनको मुल्य वृद्धिको विरोधमा देशभर अशान्ति छाएपछि राष्ट्रपतिले रुससँग सहयोग मागेका हुन्।
राष्ट्रपति तोकायिभले रुसको सामुहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ)समक्ष काजकिस्तानमा स्थायित्व कायम गर्न अपिल गरेका हुन्। राष्ट्रपतिको सो अपिलपछि रुसी नेतृत्वको सैन्य फौज मद्दतका लागि काजकिस्तानमा तैनाथ गरिने बीबीसीमा समाचार छ।
तेलको धनीको रुपमा चिनिनेमध्ये एसियाली मुलुक काजकिस्तानमा केही दिनयता अशान्ति छाइरहेको छ। इन्धनको मुल्य वृद्धिको विरोधमा त्यहाँका सयौं प्रदर्शनकारीहरुले सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्। इनधनको मुल्य वृद्धिविरुद्धको प्रदर्शन पछिल्लो समय हिंसामा परिणत भएको अन्तरराष्ट्रिय मिडियामा खबर छ।
यसअघि बुधबार प्रदर्शन उग्र बन्दा त्यहाँको सरकारले राजीनामा दिएको थियो। विदेशी माफियामातहत चलेका आतंकवादी समुह प्रदर्शनमा सामेल भएको र सोही कारण प्रर्दशनले उग्र रुप लिएको त्यहाँका राष्ट्रपतिको भनाइ छ।
प्रदर्शन बिहीबार पनि उग्र बनेको र बिहीबार बिहान काजकिस्तानको ठुलो शहर अल्माटीमा बन्दुक चलेको आशंका गरिएको गार्जियनमा उल्लेख छ। बुधबारदेखि त्यहाँका सरकारी सैनिकहरु प्रर्दशन नियन्त्रणमा खटाइएको बताइएको छ।

