पौष २९ , चितवन | बतास अर्गनाइजेसनले आफूसँगको सम्झौता रद्द गर्न सरकार स्वतन्त्र रहेको बताएको छ । ठूला योजनाको काम गरिरहेको बतासले पछिल्लो समय आलोचना खेपीरहेको अवस्थामा उसले एक विज्ञप्ति जारी गर्दै सरकार आफूसँग कानुनी रुपमा गरेका सम्झौताहरु रद्द गर्न स्वतन्त्र रहेको बताएको छ । तर सम्झैता रद्द गर्दा आफ्नो लगानी र त्यसका उचित क्षतिपूर्ति दिनुपर्ने बताएको छ
यदी सम्पूर्ण क्षतिपूर्ति दिएर आजकै मितिबाट सरकारले सम्झैता रद्द गर्छ भने आफूहरुलाई कुनै आपत्ति नहुने बतासले विज्ञप्तिमा जनाएको छ ।‘बतास अर्गनाइजेसनले कानुनसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुनबमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति छैन,’ विज्ञप्तिमा भनिएको छ ।
बतास अर्गनाइजेसन इमान्दारीता, नैतिकता र आचरणमा सम्झौता नगर्ने संस्था भएको पनि दावी गरिएको छ । विज्ञप्तिमा बचनमा पक्क हाम्रो प्रतिबद्धता रहेको भन्दै उसले जे भन्ने सत्य भन्ने र जे गरेको हो त्यो स्वीकार गर्ने संस्था बतास अर्गनाइजेसन भएको भनिएको छ ।विभिन्न समाचार माध्यमहरुमा प्रकाशित प्रसारित समाचारहरु अनर्गल, आफूहरुलाई खल पात्रका रुपमा प्रमाणित गराउन आएको भन्दै त्यसप्रति आपत्तिसमेत जनाइएको छ ।आम नेपाली नागरिकहरुले गलत समाचार प्राप्त गरेको भन्दै बतासले दुख अनुभूत भइरहेकोसमेत बताएको छ ।
समाचार प्रकाशन प्रसारण गर्नुअघि कुनैपनि समाचार माध्यमहरुले आफूहरुसँग उक्त विषयमा सोधखोज नगरीकन एकतर्फी समाचार लेखिएको भन्दै बतासले असन्तुष्टिसमेत जनाएको छ ।उसले विज्ञप्तिमार्फत विवादित प्रत्येक योजनाहरुका बारेका प्रष्ट पार्ने प्रयाससमेत गरेको छ ।
खासगरी नारायणहिटी दरबार संग्राहलयमा रेष्टुरेन्ट बनाउन दिएको विषयले बतासलाई विवादमा ल्याएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले संग्राहलयमा बतास कम्पनीले ठेक्का पाएर निर्माण गरिरहेको रेष्टुरेन्टका काम रोक्न र बनेका संसचना भत्काउन निर्देशन दिएपछि त्यहाँको संरचना भत्काइएको छ ।