नेपाल रेल्वे कम्पनीका कर्मचारीले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। रेल्वे कम्पनी जनकपुरले ज्यालादारीका कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।
जनकपुर कार्यालयले केही दिनअगाडि ज्यालादारीमा काम गर्ने १ सय ५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो।
रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा ०५८ सालदेखि नै कार्यरत रहेकोमा अहिले आएर बिना कारण आफूहरूलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताए।
उनले ज्यालादारीमा काम गर्ने कर्मचारी नहटाउन भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको बताए।
तर प्रजिअ पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झामाथि कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरेको आरोप लगाए।
कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारी नियुक्त गरी पुरानो कर्मचारीलाई अवमूल्यन गरेर नयाँलाई तालिम दिन थालेपछि पुराना कर्मचारीहरू आन्दोलित भएका छन्।
नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाएर जयनगर–कुर्था खण्डमा नियुक्त कर्मचारीलाई एक्कासी सूचना निकालेर हटाएसँगै आफूहरूलाई समायोजन गर्न माग गर्दै कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेलको लिक तयार भइसकेकाले सरकारले गत वर्ष नै रेल खरिद गरिसकेको छ।
गत असोज ३ गते सरकारले खरिद गरेको दुई वटा रेल आए पनि अहिलेसम्म इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ।