काठमाडौं : सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ ।
सरकारले गरेको नाप सर्वेक्षणमा सर्वोच्च शिखर सगरमाथाको उचाइ हाल कायम रहेको आठ हजार आठ सय ४८ मिटरभन्दा केही बढी रहेको पाइएको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
डेढदेखि दुई मिटरसम्म अहिलेकोभन्दा बढी रहेको स्रोत बताउँछ । तर हिउँलाई उचाइ मान्ने कि नमान्ने भन्ने विषयमा छलफल भने जारी छ । हिउँलाई उचाइ मान्ने हो भने उचाइ घट्न पनि सक्ने उनको भनाइ छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हाल कायम रहेको आठ हजार आठ सय ४८ मिटरभन्दा बढी उचाइ रहेको घोषणा गर्ने तयारी गरिरहेको छ ।
नेपाली सर्वेक्षण टोलीले गरेको अध्ययनले समुद्र सतहबाट सगरमाथाको शिखर आठ हजार आठ सय ४९ मिटरभन्दा बढी रहेको पाएको हो । मन्त्रिपरिषद्ले पनि नयाँ उचाइ सार्वजनिकका लागि मन्त्रालयलाई स्वीकृत प्रदान गरिसकेको छ । जसअनुसार सगरमाथाको नयाँ उचाइ यसैमहिना सार्वजनिक गर्ने तयारी छ ।
मन्त्रालयसम्बद्ध स्रोतले कुराकानीमा भन्यो, “हामीले आफ्नै स्रोतसाधन उपयोग गरेर सगरमाथाको उचाइ निकालेका छौं । त्यो उचाइ अहिले कायम रहेकोभन्दा केही बढी छ ।”
हिउँको उचाइ मान्ने हो भने हाल कायम रहेको उचाइभन्दा केही घटेर नतिजा आउन पनि सक्छ । सगरमाथाको टुप्पोमा करिब ४ मिटर हिउँ रहेको बताइएको छ । सगरमाथाको उचाइ नाप्ने क्रम आर्थिक वर्ष २०६४–६५ बाट सुरु भएको हो । २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।
सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो । सन् २०१९ मा चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।