कोभिड- १९ को कारण आर्थिक रुपमा तहसनहस भएको अबस्थामा व्यावसायी लगानी गर्न सकिरहेका छैनन्। यही प्रतिकुल समयमा पनि एन आर एन एका पूर्व उपाध्यक्ष एवं सल्लाहकार एवम केटीएम हस्पिटालिटीका संस्थापक रामेश्वर शाहले हस्पिटालिटी क्षेत्रमा लगानी गरेका छन्।
संक्रमण घटेर पर्यटन क्षेत्र पुनः चलायमान हुन थाल्ने विश्वाससहित ‘द फरेष्ट फ्रन्ट बुटिक रिसोर्ट’ निर्माण भइरहेको हो। केटीएम हस्पिटालिटी प्रालिले सञ्चालनमा ल्याउने रिसोर्टको पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवले शिलान्यास गरेका छन्। पर्यटन क्षेत्रमा लगानी बढाउँदा फाइदा हुने देखेर रिसोर्टको योजना बनाइएको सञ्चालक रामेश्वर शाहले बताएका छन्।
कोभिड महामारी सुरू हुनुअघि नै बनाइएको योजनामा बल्ल काम थालिएको हो। केटीएम हस्पिटालिटीका संस्थापक शाह गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवं सल्लाहकार पनि हुन्। १७ वर्षदेखि यमन, मलेसिया र युएइमा रहँदै आएका शाहले पहिलोपटक रिसोर्ट व्यवसायमा हात हालेका हुन्।
‘कोभिडको महामारी सुरु हुनुअघि नै रिसोर्टका लागि नक्सा पासको प्रक्रिया अगाडि बढाएका थियौं। बीचमा सबै काम ठप्प थिए। अब बिस्तारै जनजीवन सामान्य हुँदै गर्दा प्रक्रिया पूरा गर्यौं,’ उनले भने, ‘अब निर्माण कार्य सुरु भएको छ। एक वर्षभित्र तयार भएर रिसोर्ट संचालनमा ल्याउँछौं।’ संसारका बिभिन्न मुलुकमा कोरोनाविरुद्धको खोप परीक्षण र प्रयोगमा आउन थालेको खबरले शाह उत्साहित छन्।
एकल लगानी रहेको रिसोर्टको क्षेत्रफल १२ कट्ठा छ भने निर्माण लागत २५ करोड रुपैयाँ रहने अनुमान शाहको छ। पाहुनालाई भिन्नै र अत्याधुनिक प्रविधिमार्फत परमपरागत शैलीमा सेवा दिने योजना रहेको उनले बताए। रिसोर्ट चलाउन विदेशी व्यवस्थापक ल्याउने योजना भए पनि सुरुवात भने नेपाली दक्ष जनशक्तिमार्फत नै गर्ने शाहले सुनाए। ‘इन्टरनेशनल फ्रेन्चाइजलाई व्यवस्थापन ल्याउने योजना त छ तर आफैं पनि व्यवस्थापन पृष्ठभूमिबाट आएका कारण सुरुमा यो क्षेत्रका दक्ष नेपाली नै नियुक्त गर्ने योजना बनाएको छु,’ उनले भने।
रिसोर्ट सञ्चालनमा आएपछि ३५ जना प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७० जना जनशक्तिले रोजगार पाउने उनको दाबी छ। केज कन्सल्टका आर्किटेक्ट विष्णु पन्थीले डिजाइन गरेको रिसोर्टको बनोट विशुद्ध परम्परागत शैलीमा रहेको उनी बताउँछन्। आठवटा भौतिक संरचना निर्माण हुने रिसोर्टमा ३४ वटा कोठा र ६५ वटा बेड क्षमता हुनेछ।
रिसोर्टमा चारवटा एक तल्ले, तीनवटा दुई तल्ले र एउटा तीन तल्ले भवन निर्माण हुनेछ। रिसोर्टको अगाडिपट्टि भएको सामुदायिक जंगलमा पाहुनाले सहजै वन्यजन्तुको दृश्यावलोकन गर्न सक्नेछन्। सौराहाको संस्कृति, परम्परा झल्किने रिसोर्टमा पाहुनाका लागि स्वीमिङ पूल, फिटनेस सेन्टर, स्पा, १५० जना क्षमताको कन्फ्रेन्स हल, बिजनेस सेन्टर लगायतका सुविधा रहने डिजाइनमा छ।
‘हामीले पर्यटकलाई मात्र नभइ व्यवसायिक अध्ययनका लागि यहाँ आउनुहुने साहित्यकार, वन अध्ययनकर्ता लगायतलाई मध्यनजर गर्दै एउटा कक्ष तयार पारेका छौं, जसमा उहाँहरुलाई चाहिने पूर्वाधारसहितका सुविधा हुनेछन्,’ शाहले भने। सानोतिनो बैठकका लागि रिसोर्टमा १५ जना क्षमताको कक्ष रहने छ। विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै रिसोर्टमा एउटा चार्जिङ स्टेशन पनि रहने छ।
फार्म हाउस खोल्न लिएको जग्गामा फेरिएको प्लान
एक वर्षअघि शाहले फार्म हाउस खोल्नका लागि सौराहामा १२ कट्ठा जग्गा किनेका थिए। ‘फार्म हाउसले आफ्नो खर्च त धान्ला तर यस्तो केही गरौं जसले देशको एउटा क्षेत्रमा आफ्नो सहभागिता देखियोस् भन्ने सोचाइ आयो,’ शाह सुनाउँछन्, ‘जग्गा त्रिकोणात्मक, साथीभाईलाई यो जग्गा देखाएँ। व्यवसायको बारेमा पनि सुझाव लिएँ। रोजगार सिर्जना, मुलुकलाई टेवा दिने व्यवसाय नै यही पाएँ।’ बिस्तारै कोभिड-१९ को प्रभाव घट्दै गएर पर्यटन क्षेत्र चलायमान हुँदा व्यवसाय बढ्नेमा आफू आशावादी रहेको उनले बताए।
रिसोर्टको सफ्ट ओपनिङ सन् २०२१ को डिसेम्बर १५ तारिख गर्ने भन्ने टुंगो नै गरेर निर्माण सुरू भएको छ। सन् २०२२ जनवरी १ मा फुलफ्लेज ओपनिङ मिति तोकिएको शाहले सुनाए।
गत सोमबार पर्यटन मन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव, गैरआवासीय नेपाली संगठनका संस्थापक उपेन्द्र महतो, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ लगायतको सहभागितामा रिसोर्टको शिलान्यास गरिएको थियो।
Source: Bizmandu

