नेकपा (माओवादी केन्द्र)का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने जिकिर गरेका छन्।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भइसकेको छ। लोकतन्त्रको आधार नै निर्वाचन हो। निर्वाचनको मिति घोषणा भएको छ, यो महत्वपूर्ण विषय हो।’
उनले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरे। उनले भने,‘एक वर्षभित्र सबै तहको निर्वाचन गराएर मुलुकमा तीनै तहमा नयाँ सरकार आउँछन्, स्थानीय तहको निर्वाचन एकै चरणमा हुने घोषणा गरेको छ। स्थानीय तहको सम्पन्न भएपछि हामी प्रदेश र संघको निर्वाचनको मिति घोषणा गर्छौं। यही सरकारले सबै तहको निर्वाचन गराउँछ।’
उनले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने विश्वास दिलाए। ‘माओवादी केन्द्र निर्वाचनमा प्रतिष्पर्धा गर्छ, सहमतिमै अहिलेको गठबन्धन कायम गरेर चुनावमा जाने पाँच दलीय गठबन्धनको लक्ष्य र चाहना छ,’ उनले भने, ‘यो सरकारमा रहेका गठबन्धनका शक्तिहरु चुनावमा मिल्नुपर्छ। अहिले निर्वाचनमा सँगै जानेबारे गम्भीर छलफल भएको छ। हामीसँगै चुनावमा जान्छौं।’
उनले गठबन्धन नभएपनि आफ्नो दल एक्लै भएपनि चुनावमा प्रतिष्पर्धा गर्ने बताए। यद्यपि गठबन्धनका अध्यक्षहरुमा भने अहिलेको पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ भन्ने पार्टीको धारणा रहेको उनले सुनाए।
मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको बताए। उनले भने, ‘एमसीसीबारे अहिलेसम्म संस्थागत निर्णय गरेर कुनैपनि पार्टीले एकमत बनाएका छैनन्। एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्छ। अहिले यसैका लागि छलफल चलिरहेको छ।’

