क्यानडा यात्राको रमाइलो पल
- रामशरण गैरे
पत्रकारीता जिवनमा सधैका कार्यक्रमहरू,भिडभाड तथा साथिभाइहरूले घेरीएर रहीरहने मैले असार २२ गते दिउशो ४ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडमा पनी आफूलाई नितान्त एक्लो महसुस गरिरहेको थिय । हुन त विशाल भीडमा पनि मानिस आफूलाई एक्लो देख्छ । एक्लो सोच्छ।
म र मेरी पत्नी शान्तीको ७ बजेको फ्लाइट थियो क्यानडाको लागी । दिउशो ४ बजिसकेको थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेक्सीबाट ओर्लिंदा । मेरो नाती प्रवेश, सालो रविन धिताल र एयरपोर्ट नजिकै गेष्टहाउस चलाएका नाताले जेठान पर्नेशुक्रनगरका टेकनारायण खनालले एयरपोर्टसम्म छोडिदिए । ट्रली ल्याइदिए ।विमानस्थलको त्यो भीडमा ट्रलीमा सामान लोड गरेर हामी केही बेर उभियौँ । सायद मनमा केही लोभ थियो, हामीलाई बिदाइको हात हल्लाउन कोही आइहाल्छ कि भन्ने ।
विमानस्थलको यही ठाउँ हो, जहाँ हामीले धेरैलाई बिदा गरेका थियौँ । धेरैलाई स्वागत गरेका थियौँ । आज हामी पनि क्यानडा जाँदै थियौँ । तर, हामीलाई बिदा गर्न, बिदाइ तस्बिर खिच्न हौस्याउने र फोनको क्यामेरा तेर्स्याउने कोही थिइनन ! सिधै भित्र पसे हुन्थ्यो । तथापि, हामी केही क्षण त्यही भीडमा अल्झिरह्यौँ । खै किन हो, थाहा छैन ! हुन त मौसम पनी राम्रो थिएन पानी परीरहेको थियो।
जतिजना थियौँ मोवाइलबाटै फोटो खिचियो।वुडावुढीले एकदुइटा सेल्फी लिइयो। ‘हामी हिँड्यौँ है समुद्रपारि’ भनेर सामाजिक सञ्जालमा पोस्ट गर्नै पनि तस्बिर खिच्न जरुरी थियो ।
त्रिभुवन विमानस्थलमा भीड थियो, दिउँसोको समय भएरपनी होला । नेपाललाई विदेश संग जोड्ने एक मात्र विन्दु त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलको लर्को हेर्दा लाग्छ कि छिट्टै नै नेपाल रित्तिदै छ।कोही माला र खादा लगाएर सुक्कसुक्क गर्दै भित्र छिर्दै थिए, कोही सारीका सप्कोले आँखा पुछेर बाहिरिँदै थिए। कोही-कोही फोटो खिचिरहेका थिए, हँसिमजाक गरिरहेका थिए। त्यो ठाउँ रंगमञ्चभन्दा कम थिएन। लाग्थ्यो त्यहाँ आँसु, हाँसो सबै छ।
काठमाडौँ विमान स्थल पुग्दा विमानस्थलमा खादा र माला पहिरी चाँडै फर्किने आसामा विह्वल भावमा वृद्ध बाआमा, जहान, बच्चाबच्ची, साथीभाइसँग भावुक मुद्रामा सम्झना स्वरूप फोटो खिचिरहेका दृश्यहरू देखियो । बाध्यता भनौं या परिस्थिति शैक्षिक जनशक्ति र ऊर्जावाल युवाहरूको यत्रो ठूलो लर्को देख्दा भावुक हुनु स्वाभाविक हो ।ट्रली सार्दै अगाडि बढेँ । कसैले ‘ए रामशरण’ भनिहाल्छ कि भन्ने लालसा सायद मनमा थियो । त्यसैले एकफेर फर्केर पनि हेरेँ । त्यो भीडमा मैले चिनेको अनुहार एउटै थिएन ।
हामीलाई फटाफट काम सक्नु पर्ने थियो: लगेज ड्रप-अफ र सेक्युरिटी चेक-ईन आदि। पहिले-पहिले यी दुबैका लागि समय प्रशस्त लाग्ने, तनाव भइरहने हुन्थो। सजिलै पार गर्न केहि न केहि आपत आई लाग्दथ्यो। तर यसपाली त फटाफट ‘टेन्सन फ्रि चेक-इन’ भयो। सेक्युरिटी चेकिङमा, बेल्ट निकाल्न, जुत्ता फूकाल्न वा हात माथि गर्ने यी सबै गतिबिधिसँग हामी एक प्रकारले अभ्यस्त भइसकेछौं।
बोर्डिङ पास, सुरक्षा जाँच, अध्यागमनमा मुलुक छोड्ने अनुमति छापलगायत कामको मैझारोपछि तोकिएको ढोकाछेउ पुगेर हामी दुवैले कुनाको कुर्सी समायौँ । भर्खर वेलुकाको ६ बजेको थियो । यस हिसाबले जहाज उड्न अझै डेढ घण्टा बाँकी थियो । शान्तीलाई कुर्सीमै छाडेर म केही बेर सिसाबाहिर हेर्नतिर लागेँ । मलाई सम्झना भयो, १९९९ को नोभेम्वरको महिनामा पहिलो चोटी नेपाल एयरलाइन्बाट म रोजगारीको लागी दुवइ गएको । म सँगै चेतवाहादुर खडका दाजु पनी हुनुहुन्थ्यो।
एउटै कम्पनीमा रोजगारीका लागी जादै थियौँ हामी।यस अघि पनी दिदी हंगकग जानुहुँदा एकदुईचोटि एयरपोर्टसम्म आएको र माथिसम्मै उक्लिएर दिदीले प्लेन चढेकोसम्म हेर्न भ्याएको थिएँ । विमानस्थलकै पसलमा कफी खाएको थिएँ ।अचेल त छोड्न आउनेलाई भित्र छिर्ने अनुमति छैन ।हामी लाई दिल्ली हुँदै लियर जाने इण्डिगो जहाज एउटा छेउ खडा थियो। दिल्लिमा ७ घण्टा बसेर केएलएम एयरलाइन्सबाट नेडरल्याण्डको आम्स्ट्राडम सम्म र त्याहा ४ घण्टा ट्रान्जिट पछी ८ घण्टा उडेर मात्र हामी टोरण्टो विमान स्थलमा पुगिन्थ्यो।
दुइटा रेडवुल र केही चकलेटहरू किनेर फेरि आएर कुर्सीमै बसे । धेरै बेर किन उभिरहनु ! तोकिएको ढोकामा बोलाउने समय भएकै थिएन । दुइटै छोरा क्यानडामै रहेको र ठुलो छोरो सँग त सात वर्षपछी भेट हुन पाउने हर्षले हामी वुढा वुढी मख्ख परेका थियौँ । त्यसमा पनि दिदी भिनाजु,वहिनी ज्वाइ तथा भाञ्जा,भाञ्जीहरू सबै सँग भेट हुन पाइने थियो।
बसिरहँदा फेरि सम्झिएँ, ‘एही ठाउवाट पटक पटक दुबही गएको कतार एयरवेज, गल्फ एयरवेज त कतिफेर चढियो चढियो !’ लगभग १० वर्ष त अरव कन्ट्रीमा विताएको थिए।
त्यतिखेरै चितवन घरबाट म्यासेन्जरमा कल आयो, ‘प्लेन चढ्ने बेला भयो ?’ क्यानडा बाट पनी कल आयो,खुसी लाग्यो, बाहिर कोही नभेटिए पनि भित्र मोबाइलमै भए पनि भेटियका छन । केही बेरको भलाकुसारीपछि म्यासेन्जर अफ गरेँ । अनि, बुढाबुढीको गन्थनमै समय कट्न थाल्यो ।केही साथीहरूलाइ फोन गरेर विदा भए।
प्लेन चढियो, बीचको सिट परेछ । एकातिर तिनजना बस्न मिल्ने यो सिट रहेछ । दाहिनेतिरको छेउमा झ्यालतिरका सिटमा हामी बस्यौँ, एयटा सिट खाली नै उड्यो । करिब २०० यात्रु अट्ने त्यो जहाज भरिभराउ थियो । दिल्लीलाई ट्रान्जिट बनाएर कोही अरव,मलेशिया कोही अस्ट्रेलिया जाँदै थिए, कोही जापान कोही कोरीया, कोही अरू कुनै देश ।
हवाईजहाज केही ढिला गरी उड्यो । लामो यात्राका लागि पहिलोपटक उडिरहेको थिएँ । त्यसैले अनेक उहापोह थियो मनमा । के होला, कसो होला ! जे होस्, जहाज उडिसकेको छ र करिब दुइ घण्टामा दिल्लि पनि पुगिन्छ । विहानासाढे तिन वजे आम्स्ट्राडमको लागी उडीन्छ। दिल्लीमा राम्ररी सुत्न पायहुन्थ्यो ,यही सोचेँ ।
जहाज उडेको केही बेर निकै हल्लियो । जहाजजस्तै हाम्रो मन पनि दह्रो भएको थियो ।निकै समयपछि मात्रै खाना खुवाउने तारतम्यमा हवाई क्रु लागे । सबैभन्दा पहिले त शाकाहारीलाई खाना सर्भ गरिने रहेछ । अरू उँघिरहेका थिए, हाम्रा अघिल्तिर खानाको प्याकेट आइसकेको थियो । इण्डिगोमा खाना दिइदोरहेनछ छोटो दुरीका लागी किनेर खान पर्ने रहेछ।
हामी लामो यात्राका भएर हामीलाई खाना सर्भ गरिएको रहेछ । खाना थोरथोरै मात्र खायौँ । सेता बादलमाथि कतै निला समुद्र त कतै हिमाल जस्ता देखिने पहाड, सेतै हिउँले ढाकेका टाकुराहरू भन्दा धेरै माथि अझै निकै घण्टा उड्नु थियो । यस्तै दृश्य तथा सोचहरू, बाटोमा देखे–भोगेका कुराले तनमन कमजोर भएको महसुस भयो ।
झ्यालतिरको सिट भएपनी राती के देखिनु र निदाउनुबाहेक अरू उपाय थिएन । तर, निद्रा कोसौँ टाढा थियो । त्यसैले अघिल्लो सिटको पछिल्लो भागमा जोडिएको स्क्रिनमा सिनेमा हेर्ने प्रयास गरेँ । सिनेमा भेटनपनी सकिएनँ ।निद्रा नलागेकाले स्क्रिनले देखाएको दिल्ली पुग्ने अनुमानित समयतिर मात्रै ध्यान दिन थालेँ । समय काट्ने मेलो यही भयो । शान्त् पनि निदाउन सकिरहेकी थिइनन् ।
दिल्लिको विशाल हवाईअड्डामा ओर्लिँदा रातीको १० वजीसकेको थियो । हामीलाई सुरक्षा जाँच गराएर तोकिएको ढोकामा पुग्नु थियो । केएलएम एयरलाइन्सको अर्को बोरीङपास लिनु पर्छ भनेर केही बेर पर्खायो।टान्जिट समय पाँच घण्टाको भए पनि सकेसम्म ढोकासम्म चाँडै पुगौँ भन्ने नै थियो ।एकदुईपल्ट ओहोरदोहोर गरिसकेकालाई दिल्लि एयरपोर्टका बारेमा अलिअलि थाहा थियो।
अनेक सोधखोज गर्दै सुरक्षा जाँच क्षेत्रमा पुगेर काम सकाएपछि २५ नम्बर ढोकाबाट आम्स्ट्राडमका लागि जहाज उड्ने थाहा लाग्यो । अबको खोजी भनेको नम्बरको गेट २५ को थियो । र, गेट खोज्दै हामी लम्किन थाल्यौँ ।दिल्ली एयरपोर्टमा ‘दौड हिँडाइ’ गर्दा पनि २५ नम्बर गेटसम्म पुग्न आधा घण्टा बढीको समय लाग्यो ।टाढैबाट देखियो २५ नम्बरको बोर्ड । ढुक्क भएँ ।
घडीतिर ध्यान दिएँ, नेपाली समय देखाइरहेको थियो । करिब तिन घण्टा बाँकी थियो, ट्रान्जिटको समय ।ढोकानजिकै बाथरुम रहेछ । बाहिर पिउने पानीको व्यवस्था पनि । नित्यकर्म सकाएँ । फ्रेस भएँ । अनि, पानी खाँदै केही बेर आराम कुर्सीमा अडेस लगाएँर हल्का निदाउने प्रयाश गरीयो ।
शान्तीले त्यही फ्लाइटबाट आम्स्ट्राडम हुदै टोरण्टो जाने एकजना पोखरा तिरकी नेपाली महिला मित्र फेला पारिछन् । उनी दंग थिइन ।त्यसपछि म निस्किएँ चियाकफीको खोजीमा । नेपालमै हुदा केही अमेरिकी डलर साटेकोले वर्गर र कोल्डडिङ्कस खाएर जहाज उड्ने समय पर्खिएर बसियो ।
विहान ४ बज्यो । ढोकामा लाइन लाग्न भनियो । हामी लाइनमा लाग्यौँ । बोर्डिङ पास र पासपोर्ट हातमै थियो । एउटा क्यामेरा अघिल्तिर उभिन भने । म उभिएँ । उनले आफ्नो अगाडिको कम्प्युटरमा हेरे र भित्र जाने इसारा गरे । करिब साढे तीन सय बढी यात्रु अट्ने यो ठुलो हवाईजहाजमा पनी झ्यालतिरको सिट पाइयो । शान्ती झ्यालतिर बसिन् । म बीचमा बसेँ । यताको सिट भने खाली नै रह्रयो कोही पनी बसेन।
अबको यात्रा करिब आँठ घण्टा लामो थियो । आँठ घण्टा त्यहीँभित्र बिताउनु थियो ।जहाजले आकाशमार्ग समाएको आधा घण्टापछि केबिन क्रुले जाको प्याकेट ल्याएर दिए । हामीले खान थाल्यौँ । केही समयपछि ट्रलीबाट विभिन्न किसिमका पेयपदार्थहरू सर्भ गर्न थालियो, खाजासँगै। यात्रुहरू कोही बियर र वाइन लिइरहेका थिए । कोही कोक र जुस ।
लामो घण्टाको यात्रा भएकाले एक ग्लास भए पनि वाइन पाए हुन्थ्यो मनले भन्यो । तर, शान्ती पनी सँगै भएकोले मनले सुझाएको यो कुरा मैले केबिन क्रुका अघिल्तिर राख्ने हिम्मत गर्न सकिनँ ।अबका आठ घण्टा सुतेर विताउनु बाहेक अर्को विकल्प पनी थिएन।
आम्स्ट्राडम विमानस्थलमा थप पाँच घण्टाको ट्रान्जिट थियो र नेदरल्यान्डको राजधानी आम्स्ट्राडम एउटा क्यानलै क्यानलले भरिएको पर्यटकिय सहर हो र यस सहरलाई उत्तरको भ्यानिस भनेर चिनिन्छ।मनमोहक डिउटी फ्री सपिङ सेन्टर हरूमा मन भुलाइयो । घुमघाम पश्चात् सोही विमान स्थलबाट अर्को विमानबाट ७ घण्टाको यात्रा टोरन्टोको लागी सुरु भयो ।
लञ्चबक्समा कुखुराको मासु, भात, सलाद, एउटा पाउरोटी बम र सानो प्याकेटमा बटर एउटा किस्तीमा दिइन एयरहोस्टेजले । जुस आफूलाई मन लागेको माग्ने त हो पाइनेपल जुस भन्दै मागेँ मैले । एक पेट खानका लागि ठिक्क भयो दिएको खाना । प्रायः सबेको सिटको अगाडिको टेबुलमा खाना रित्तिएका किस्तीले सबैको लन्च खाने काम पनि सकिएको जानकारी दिइरहेको थियो । खाना खाइसकेपछि छेउछाउका फेरि निदाउन थाले ।
करीव ७ घण्टाको उडान पछी टोरण्टो विमान स्थलमा आइपुगियो छोरो प्रबेस एक घण्टा अघि नै आएर हामीलाइ पर्खी रहेको रहेछ।उसलाइ भेटेपछी ढुक्क भएर निवास स्थल हामिल्टन तिर लागियो।
सिस्टमले चलेको देश भन्थे ! वास्तवमा हो रहेछ । बाटो हिंड्ने (बजार एरिया र पार्क एरिया जहाँ पैदल हिडिन्छ) मान्छेमा न त कहीँ ठूलो स्वरमा बोल्ने, न त खोक्ने–थुक्ने, न त कागजको टुक्रा न हिलो धूलो, सफा देखिन्थ्यो । बजार होस् या सामान, लिफ्ट होस् या साइन जस्तोसुकै जहाँ पनि उनीहरूको आफ्नै भाषा ।
क्यानडा जाँदा हेर्नै पर्ने ठाउँ भनेर नायग्रा फल्सका बारेमा धेरैबाट सुनिएको थियो । मनमा नायग्रा फल्स हेर्ने धोको थियो । नायग्राफल्स हेर्न अवसर जुर्यो । प्रकृतिको अद्भूत लीला नायग्राफल्सको दृश्यावलोकनबाट रोमाञ्चित भइयो । धेरै पहिलेदेखि थाँती रहेको इच्छा पूरा भयो । स्मृतिमा सजाइयो । जीवन अनुभवको संग्रह हो । नयाँ अनुभव थपियो । नायग्राफल्स हेरेपछि लाग्यो यो प्रकृतिको अनुपम बरदान रहेछ । प्रकृतिको अद्भूत लीला रहेछ। मानवीय प्रयत्नबाट यहाँ तमाम सहयोगी संरचनाहरु समेत निर्माण गरिएका छन् ।
अवलोकनलाई अत्यन्त सहज बनाइएको छ । दृश्यहरु प्रीतिकर छन् । चुम्बकीय छन् । प्रविधिको प्रयोगले अझ दिव्य तुल्याइएको छ । वारिपारिका शहरको ढुकढुकी भएर नायग्रा फल्सले जीवन्त जीवन दिइरहेको छ । साथै यो त एक खुला विश्व विद्यालय रहेछ । प्रकृतिको बरदानलाई कसरी सदुपयोग गर्न सकिन्छ? प्रकृति र प्राणी बीचको सम्बन्धलाई कसरी सुमधुर र दिगो बनाउन सकिन्छ?
आकर्षक पर्यटकीय गन्तव्य कसरी विकास गर्न सकिन्छ? पर्यापर्यटनले आर्थिक विकासमा कसरी टेवा पुर्याउँदोरहेछ? जस्ता प्रश्नहरुको उत्तर यहाँ भेटिने रहेछ । पर्यटनका आधारभूत तत्वहरु सुन्दरता, सुरक्षा, सुविधा र सूचनाको संयोजन, प्रत्याभूति, प्रबन्ध र संप्रेषणका बारेमा व्यवहारिक शिक्षा दिने यो अत्यन्त उच्चकोटिको सम्पदा रहेछ ।
(लेखक यस चित्रवन खवर अनलाइनका सल्लाहाकार सम्पादक हुन)

