रामशरण गैरे
विश्वसम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुरमा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष–२०२४’ अहिले चलिरहेको छ । आवश्यक पूर्वाधारको समस्याका बाबजुद महानगर पर्यटन क्षेत्रमा गुणात्मक फड्को मानेर अभियानमा जुटेको छ । महानगरका विद्यमान पर्यटकीयस्थल र सम्भावनाको पहिचान, संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरी पर्यटकीय गतिविधि अभिवृद्धि गरी महानगरको अर्थतन्त्रलाई गतिशील बनाउने साथै आफ्नै मौलिक पहिचान रहेको र ऐतिहासिक एवम् पुराना बस्तीहरुका साथसाथै कला, संस्कृति, चाडपर्व र रहनसहनको उचित प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ ।
देशले कृषि, जलस्रोत, पर्यटन र विप्रेषणलाई समृद्धिको आधार मानेको परिप्रेक्ष्यमा समृद्धिको सपनालाई पर्यटनबाट पनि बिपनामा परिणत गर्न सक्ने मनोविज्ञानबाट आर्थिक मन्दी र आमजनतामा भएको निराशालाई हटाउन आयोजना गरिएको भरतपुर भ्रमण वर्ष–२०२४ उत्सवैउत्सवको वर्ष बनेको छ । महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान गरिसकेको छ । भ्रमण वर्षको अवसरमा महानगरले विभिन्न ५१ वटा कार्यक्रमहरु तय भएका थिए । निकुञ्ज, ताल, वन्यजन्तु, चराचुरूङ्गी, विविधतायुक्त जातिका रहनसहन र संस्कृतिका साथै एउटै सानो महानगरको भौगोलिक विशिष्टता आदि तन्तुका माध्यमबाट खासगरी विदेशी पाहुनालाई स्मरणीय आतिथ्य दिने योजनाका रुपमा यो भ्रमण वर्षलाई बुझ्नुपर्ने हुन्छ ।
स्थानीय तहमा पनि यो वा त्यो ढङ्गबाट पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने काम भैरहेको छ । देशको कुल गार्हस्थ उत्पादनमा कृषिपछिको दोस्रोमा योगदान रहेको क्षेत्र हो पर्यटन । अपवादमा रेमिट्यान्सबाहेक आर्थिक कारोबार धेरै हुने क्षेत्र भएकाले पनि पर्यटनमा केन्द्रदेखि स्थानीय सरकारसम्मको चासो हुनुपर्छ । यसै पनि यहाँ पर्यटन अन्य ठाउँमा जस्तो पूर्वाधारकेन्द्रित छैन । चितवनको पर्यटनको आधार मूलतः प्राकृतिक एवम् सांस्कृतिक आकर्षण नै रहँदै आएको छ । यतिञ्जेल त नेपालको पर्यटन विकासलाई हेर्ने हो भने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विशिष्ट पर्यटकीय हबका रुपमा ‘काठमाडौँ–पोखरा–चितवन र लुम्बिनी’को चौकोण नै परिचित छन् । जसको विकासमा सरकारसँगै निजी क्षेत्रले पनि उल्लेख्य भूमिका खेलेका छन् । पर्यटनका आधारभूत त¤वहरु भनेको आकर्षक गन्तव्य, पहुँच, पूर्वाधार र नागरिकको सक्रियता तथा पर्यटनमैत्री नागरिक हुन् ।
विद्यमान पर्यटकीय आकर्षणका क्षेत्रको पहिचान र तिनको प्रवर्द्धन सकारात्मक पक्ष भए पनि पर्यटकीय क्षेत्रको व्यावसायीकरणका निम्ति स्थानीय निकायबाट अपनत्व नलिँदासम्म र निजी क्षेत्रबाट पहल नहुञ्जेल अपूरो हुन जान्छ । किनभने, सरकारको पहल भनेको केवल नीतिगत सुधार हो । त्यसो त, पर्यटकीय आकर्षणका गन्तव्यहरुमा पूर्वाधार विस्तारको प्राथमिक जिम्मेवारी सरकारकै हो । तर, लगानी भने आजसम्म समुदाय अर्थात् निजी क्षेत्रबाटै भइआएको पाइन्छ र अब पनि त्यसै हुँदामात्रै पर्यटकमैत्री पूर्वाधार तयार हुने गुञ्जायस रहन्छ । पर्यटक आउनका लागि सबै खालका संरचनागत सुधारदेखि सुविधा र पूर्वाधारमा पनि ध्यान दिन जरूरी छ । हामीले पर्यटन वर्ष घोषणा गरेर रटान लगाए पनि यदि अहिलेकै अवस्थामा हाम्रो पर्यटकीय क्षेत्रको प्रचारप्रसार, प्रवद्र्धन र त्यस्ता क्षेत्रहरुमा पूर्वाधारको विकास रहने हो भने हामीले सोचेको जस्तो उपलब्धि हासिल गर्न भने सकिँदैन ।
पर्यटनको विकास भनेको केवल पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुनु होइन । पर्यटकहरुको आउजाउले सम्बन्धित क्षेत्रमा सेवा वा उद्यमको पनि सँगसँगै विकास हुने हुन्छ । जस्तो कि, पर्यटकसँगै यहाँबाट हस्तकला वा कृषिजन्य वस्तुहरुको पनि निर्यात हुने गर्दछ । जसले पर्यटकलक्षित समुदायलाई व्यावसायीकरणतर्फ उन्मुख गराउँछ । यस मानेमा पनि पर्यटन प्रवद्र्धनको दायित्व सबै क्षेत्रबाट लिइनु जरूरी छ । चितवनमा पर्यटनको सबल पक्ष भनेको देशकै मध्यभागमा रहेको मुख्य ट्रान्जिट, ट्रेड तथा हस्पिटल सिटी, एजुकेसन हब, निकुञ्ज र पर्यटनमैत्री समाज, प्रतिस्पर्धी बजार, पूर्वाधारमा बढ्दो लगानी, खेलकुद पूर्वाधारमा बढोत्तरी, पानीजहाजलगायतका पानीमा आधारित पर्यटन पूर्वाधार, प्राकृतिक र मानवनिर्मित बढ्दो पूर्वाधार, वरिपरिको जनघनत्व, धार्मिकस्थल देवघाट, स्थानीय मठमन्दिर आदि हुन् ।
हाम्रो कमजोर पक्ष आर्थिक समृद्धिको आधार तय हुन नसक्नु, पर्यटनलाई नगरको मुख्य पेसा बनाउने संकल्पको अभाव, बिक्रीयोग्य साइनको अभाव, मुख्य आकर्षणको अभाव, कमजोर भविष्य, अवलोकनकर्ता र पर्यटकमा फरक छुट्याउन नसक्नु, वर्तमान पर्यटन व्यवसायीले चितवनको गन्तव्य प्रचार गरेर बिक्री गर्न नसक्नु, सहरमा कोलाहल बढ्दो तर सौन्दर्यीकरण घट्दो हुँदै जानु, वातावरणीय सुधारको चिन्तनमा कमी, फोहोरमैला व्यवस्थापन मुख्य चुनौती, सामुदायिक वनलाई पर्यटनका रुपमा प्रयोग गर्न नसक्नु, वर्षात्मा बाढीको समस्या, स्थानीय सरकार पर्यटनप्रति उदासीन हुनु नै हो । युवाहरुमा पर्यटन सचेतनाको अभाव, पर्यटक र पर्यटनमा भेद बुझ्न नसक्नु, यथेष्ट लगानीअनुरुप पर्यटनमा प्रादेशिक राष्ट्रिय पहिचान बनाउन नसक्नु, यहाँ दलीय प्रभावले एकताको अभाव हुनुलगायतका समस्या छन् । चितवन आफैँमा पर्यटनको प्रशस्त आधार भएको क्षेत्र भएका कारण युवाहरुले पर्यटनका बहुआयाममा लगानी, सीप विकास र क्षमता विकास गरेको खण्डमा यो क्षेत्रका युवाहरुले यो प्रदेशको पर्यटनको व्यावसायिक नेतृत्व गर्ने सम्भावना प्रबल देखिन्छ ।
पर्यटनमा प्रतिफल ढिलो देखिने भएकोले युवाहरुलाई तत्काल आकर्षित गर्न कठिन हुन्छ । आर्थिक मन्दी र विश्वव्यापी समस्याले सबैभन्दा पहिले र लामो समयसम्म प्रभाव पार्ने भएकोले घाटा सहन कठिन हुन्छ । पर्यटनको क्षेत्रमा निरन्तर प्रतिस्पर्धा भइरहन्छ र पर्यटकले हरेकपटक नयाँ खोजिरहन्छन् । चाँडो पैसा कमाउने मानिसहरुको यो क्षेत्रमा प्रवेशको सम्भावना र उनीहरुको गलत कार्यले पर्यटन क्षेत्र नै बदनाम हुन सक्छ । विश्व ट्रेन्डलाई पछ्याउन र समयअनुरुप अपडेट हुन जरूरी छ । स्थानीय सरकारले पर्यटन चासोमा वृद्धि हुने कार्यक्रम आयोजना गरिरहने, पर्यटनसम्बद्ध कार्यहरु गरिरहने र युवालक्षित पर्यटन प्रशिक्षण र तालिम आयोजना गर्ने, टुरिजम आइकन के हो त्यसको छनोट गर्ने अर्थात् मुख्य प्रोडक्ट छनोट गर्ने, प्रोडक्टअनुसारको प्याकेजिङ, प्याकेजिङअनुसारको टार्गेट ग्रुप र टार्गेट ग्रुपअनुरुप मार्केटिङ गर्ने तथा हाल भएका पर्यटन व्यवसायीले सहरभित्रका पोइन्टहरु निर्धारण गर्ने र पोइन्टको प्याकेज बिक्री गर्ने, सबै होटलहरुले एकदिने र दुईदिने प्याकेज बनाउने, होटल व्यवसायी मिलेर यातायातमा ती पोइन्ट र गन्तव्य भ्रमण गराउने तथा भर्चुअल विज्ञापनमा ध्यान दिन जरूरी छ ।
मुख्य आकर्षण अथवा मेन प्रोडक्ट छनोट गर्ने, वरिपरि तथा छेउछाउका गन्तव्यसँग समन्वय र साझेदारी गर्न सकिने, खोला, नदीहरुको व्यवस्थापन गरेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने, साथै थारुहरु आतिथ्यतामा उत्कृष्ट हुने भएकाले उनीहरुमा आधारित थप होमस्टे सञ्चालन गर्न सकिन्छ । हामीले लिएको लक्ष पहिल्याउनका लागि प्रकृतिले हामीलाई भरपूर साथ दिएको छ । हामीसँग विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदी राप्ती तथा नारायणीका साथै संसारका मानिसलाई अटाउन सक्ने हाम्रो सहिष्णुता छ । तर, त्यसको प्रयोगमा अझै पनि हामी चुकिरहेका छौँ । चार जना विदेशी घुमे भने त्यसलाई अद्भुत सम्भावना बोकेको क्षेत्र मान्ने र हजारौँ आन्तरिक पर्यटकको गन्तव्यलाई हामीले परम्परागत शैलीको भ्रमण मान्ने परम्पराकै कारण हामी आफू आफैँमा चुकिरहेका छौँ ।
आज विश्व यति धेरै व्यस्त र बोरिङ भइसकेको छ कि आफ्नो कामका लागि मान्छे दिनरात मेसिनजस्तै पिसिएको छ । तनाव र चिन्तामा मान्छे कुदिरहेको हुन्छ । यही सिलसिलामा मानिसहरु आफ्नो कार्यक्षेत्र छोडेर केही समय आफूलाई फ्रेस बनाउनका लागि अल्लि टाढाको अर्को ठाउँ निस्कन चाहन्छ । विश्वका लागि, नेपाल र नेपालीका लागि चितवन देशभित्रको फरक भूगोल र आनन्दको स्वर्ग हो । जहाँ रमाउनका लागि सयौँ कुरा छन्, आनन्द लिनका लागि हजारौँ कुरा छन् । हाम्रो परिवेश तथा नदी तटीय क्षेत्रले मान्छेको मनलाई रोमाञ्चित बनाउँछ, भावुक बनाउँछ र मान्छेले आफ्नो पीडा भुल्छ, आनन्द प्राप्त गर्दछ ।
हाम्रो पुरानो चलन छ, साँझमा घरमा बास बस्न आएको बटुवालाई बास दिने, घरमा पाकेको कुरा खान दिने र कतै सुत्न दिने । अहिलेको होमस्टे त्यसकै विकसित रुप हो । पाहुना घरमा आउँछन्, घरमै पाकेको खाना खान दिने ढिँडो, घोंगी, गुन्द्रुक, भटमास, हरियो सागपात, सिस्नो, पुदिना, धनियाँजस्ता खानासहितको गाउँले परिकारले स्वागत गर्ने, घरको एउटा सफा कोठाको सफा बिस्तारामा सुत्न दिने, घरको परिवारको सदस्यजस्तै व्यवहार गर्ने । घरले गर्ने यत्ति हो, बाँकी कुरा आउने पर्यटकले मजा लिने हो । एउटा विदेशीले महँगा र ठूला होटलबाट गाउँको सानो घरमा त्यसरी खानु र बस्नुमा बेग्लै आनन्द प्राप्त गर्दछ । त्यो घर, परिवार र समाजको संस्कारसँग परिचित हुन्छ । ऊ त्यो घरका हरेक क्रियाकलापप्रति यति धेरै आशक्त हुन्छ कि सबै कुरा र व्यवहार अनौठा र लोभलाग्दो पाउँछ । यसरी कुनै पर्यटन एक–दुई दिन, कुनै एक हप्ता त कति महिनौँदिनसम्म पनि गाउँमै बस्छन् । बसेबापतको निश्चित रकम घरले पाउँछ । यसले गाउँको विकासमा धेरै सकारात्मक परिवर्तनहरु गरिदिन्छ ।
पूर्वाधारको विकास हुन्छ, आफ्ना संस्कार र संस्कृतिप्रति माया र सद्भावको विकास हुन्छ, चेतना र ज्ञानको क्षेत्रमा वृद्धि हुन्छ, आर्थिक उपार्जनले स्वावलम्बी बानीहरुको निर्माण हुन्छ । यसरी ग्रामीण जनताको जीवनस्तरको परिवर्तनमा ग्रामीण पर्यटनको धेरै नै मह¤व छ । रमणीय गाउँहरुमा होमस्टे सञ्चालन गर्ने, सहज आवागमनको व्यवस्था गर्ने, ग्रामीण बस्तीहरुमा पर्यटकीय शिक्षा प्रदान गर्ने हो भने नेपाली पर्यटकहरुलाई ग्रामीण क्षेत्र पु¥याएकै भरमा यहाँको पर्यटन क्षेत्रलाई माथि उठाउन सकिने छ । देशी–विदेशी पर्यटक आउँदा र जाँदा उनीहरुले खोज्ने वातावरण हामीले कागजमा मात्रै बनाएका छौँ, जुन कुरा व्यवहारमा आवश्यक छ । पर्यटकले रूचाउने प्रकृतिको छटामा हामी दोहन गरिरहेका छौँ र सुन्दरता लुटिरहेका छौँ । धार्मिक सम्पदा मासेर माटोको मक्कल बनाउनमा तल्लीन छौँ ।
यी सबै अवस्थाको सुधार गरेर पर्यटकको रोजाइअनुसारको यात्रा, उनीहरुकै चाहनाअनुसारको खाना, बस्न र उनीहरुकै चाहनाअनुसारको प्रकृतिको उपहार देखाउन सकियो भनेमात्रै हामी लक्ष्यमा पुग्ने छौँ । यी सबै विषयवस्तुमा राज्यको उपल्लो तहबाट भन्दा तल्लो तहबाट भैरहेका प्रयास र थालिएको पहल सकारात्मक पक्ष हो । विगतमा अधिकांश स्थानीय तहले पर्यटन विकासका नाममा मन्दिर निर्माण, जीर्णोद्धार तथा भ्यू–टावरमा प्राथमिकताका साथ लगानी गरे । तर, त्यस्ता आयोजनाको पुँजी निर्माणको दर नगन्य रह्यो भने स्थानीय सरकारहरु यही कारणले आलोचित पनि बन्न पुगे । दिगो पर्यटन विकासको स्थानीयकरण भनेको विश्वव्यापी सन्दर्भमा तय भएका दिगो विकास लक्ष्यअन्तर्गत परिमाणात्मक लक्ष्य र सूचकहरुलाई स्थानीय स्रोत र साधनअनुसार उपयुक्त ढङ्गबाट परिमार्जन गर्ने हो । पर्यटन प्रवद्र्धनसम्बन्धी स्थानीय योजना बनाउँदा तिनीहरुको आन्तरिकीकरण तथा अन्तर्घुलन कायम गराई कार्यान्वयनमा ल्याउनुपर्छ । दिगो पर्यटन विकासको स्थानीयकरण, दिगो पर्यटन विकासको अवधारणा र कार्यान्वयनमा स्पष्टता तथा एकरुपता ल्याउन र दिगो पर्यटन विकासमा सरोकारवालाहरुको सहभागिता तथा योगदान सुनिश्चित गर्न जरूरी छ ।
>>gaireramsharan@gmail.com

