काठमाडौं । कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ । यो मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई समेत अनुसन्धानमा तानिने प्रहरी स्रोत बताउँछ ।
सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो । यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामै मुद्दा दर्ताका लागि बचतकर्ताहरु कालिमाटीस्थित प्रहरी वृत्त पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्ने तयारी गर्दा आईजी बसन्त कुँवरको निर्देशनमा रोकिएको आराेप लागेकाे थियो । त्यसलगत्तै काठमाडौं जिल्ला परिसरका प्रमुख (एसएसपी) भुपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान प्रमुख सोमेन्द्रसिंह राठौर अवधिअगाडि नै सरुवा गरिएका थिए ।
उक्त सहकारीमा कुनै समय रविकी पत्नी निकिता पौडेल उपाध्यक्ष र भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम अध्यक्ष थिए । निकिताले समेत सो सहकारीबाट ऋण लिएकी थिइन् । सहकारी ऐनले सम्बन्धित संस्थाको सदस्य भई रकम बचत गर्ने व्यक्तिबाहेक अरुलाई ऋण प्रवाह गर्ने अनुमति दिएको छैन । निकिताले विनावचत ऋण लिएको पाइएकाे दाबी प्रहरीकाे छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार निकिताले उपाध्यक्षबाट राजीनामा दिनुका साथै आफूले लिएको रकम पनि फिर्ता गरिसकेकी छन् ।ती अधिकृत भन्छन्, ‘तर कसुरमा सहभागी भैसकेपछि रकम फर्काएको, पदबाट राजीनामा दिएको भनेर उन्मुक्ति मिल्दैन ।’
निकिताले रविसँग विवाह गर्ने बेलामा सहकारीले ऋण प्रवाह गरेको उक्त संस्थाका एक सञ्चालकले बताए । रविले २०७७ सालमा निकितासँग विवाह गरेका थिए । रवि र निकिता दुवैको यो दोस्रो विवाह थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उक्त मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढेको स्वीकारे ।
‘अनुसन्धानको प्रारम्भिक चरणमा छौं’, उनले भने, ‘तत्कालीन र वर्तमान सञ्चालकलाई ल्याएर आवश्यक सोधपुछ गर्दैछौं ।’

