बाहुन पुराण
रामशरण गैरे
ब्राह्मण संस्कृत शब्द हो । ब्राह्मणको अर्थ हो, ब्रह्म बुझेको मान्छे । अर्थात् विद्वान् । सबभन्दा पहिले ब्राह्मण शब्दको प्रयोग अथर्ववेदका उच्चारणकर्ता ऋषिहरूका लागि गरिएको थियो । पछि प्रत्येक वेदलाई बुझ्नका लागि ग्रन्थ लेखिए र त्यस्ता ग्रन्थलाई पनि ब्राह्मण साहित्य भनियो । सर्वप्रथम यहाँ “जन्मले वा वंशले कोही ब्राह्मण हुँदैन, ब्रह्मज्ञानादि गुणले मात्र ब्राह्मण हुन्छ” भन्ने कतिपय व्यक्तिको भनाइको विचार गरिन्छ ।
आर्यमूल अन्तर्गत पर्ने पूजा-आजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जन जिब्रो शैलीमा “बाहुन” भनिन्छ र नेपाल भाषामा जुजु-बाजे (राजा बाजे) वा द्य: ब्राह्मण (देव ब्राह्मण) भनिन्छ। ईश्वरवादी, वेदपाठी, ब्रह्मगामी, सरल, एकान्तप्रिय, सत्यवादी एवं बुद्धिले जो दृढ छन्, तिनलाई ब्राह्मण भनिएको छ । थरीथरीका पूजापाठ आदि पौराणिकहरूका कर्म छोडेर जो वेदसम्मत आचरण गर्छन् तिनलाई ब्राह्मण भनिएको छ ।
त्यति बेला ब्राह्मणको कुनै जाति वा समाज थिएन।वर्तमानमा सबैजसो ‘मात्र’ नामक ब्राह्मण छन्।जो स्वकर्महीन एवं जन्मकै आधारमा ब्राह्मण कहलाएका छन् । विष नभएका सर्पजस्तै त्यस्ता ब्राह्मणहरूमा कुनै पनि ब्राह्मणोचित गुण पाइन्न । यद्यपि उनीहरू आफूलाई ब्राह्मण भनाउनुमा गर्व गरिरहेका छन् ।
संसारको रहस्य बुझ्ने या ब्रम्हाण्डको अनेकन् ज्ञान हुने व्यक्तिलाई ‘ब्राम्हण’ भन्ने तर्क केही सनातनी धार्मिक किताबहरूमा उल्लेख भएपनि आजको दक्षिण एशियाली समाज वैज्ञानिक, अध्येता र चिन्तकहरूलाई ब्राम्हण उपाधी दिँदैन। प्राधिकार, सरकार र अनेक खालका सामाजिक व्यवस्थामाथि प्रश्न गर्ने, चिन्तन गर्ने र नयाँ आविस्कार गर्ने चिन्तकहरूलाई यो समाज बरू अधर्मी, धर्मछाडा र समाज भँडुवा भन्छ। जबकि तिनै भौतिकवादी र अनिश्वरवादीहरूकै वैज्ञानिक आविस्कारहरू प्रयोग गर्न अलिकति पनि संकोच मान्दैन समाज। बरू जन्म र वंशका आधारमा मात्र मान्छेले ब्राम्हणको उपाधि पाउँछ। जन्मैले शुद्र कहलाउँछ। र, विभेद जन्मैबाट प्रारम्भ हुन्छ।
त्यस्तै ब्राह्मण–शब्दबाट ब्रह्म जान्ने व्यक्ति भन्ने अर्थ मात्र बुझिन्छ, ब्राह्मणवंशमा जन्मेको व्यक्ति भन्ने अर्थ बुझिँदैन भन्यो भने त्यो पनि गलत नै हुन्छ । ब्राह्मण– शब्दबाट उक्त दुवै अर्थ बुझिन्छन् ।अनादिपरम्पराबाट सिद्ध शुद्ध ब्राह्मण माता र पिताबाट शास्त्रीय अनिन्दनीय वैवाहिक सम्बन्धले जन्मेको, ब्राह्मणका निम्ति उचित वैधानिक संस्कार भएको र साधारणतया ब्राह्मणको आचरणको शास्त्रा नुकूल रूपमा पालना गर्ने व्यक्ति ब्राह्मण भनिन्छ ।
ब्राह्मणले वेद पढ्ने–पढाउने, यज्ञ गर्ने–गराउने र दान लिने–दिने यी छ कर्म गर्नुपर्ने विधान छ । ब्राह्मणले गर्ने यी कर्महरूले सबैको कल्याण हुन्छ । ब्राह्मणलाई सामान्यतया विप्र, ब्रह्मा, अग्रजन्मा, भूदेव, द्विज, द्विजागर्य, मुखज, द्विजाति र वेदगर्भ पनि भन्दछन् । जन्म, विद्या र तपस्या (चरित्र) यी तीनै कुराका संयोगले ब्राह्मणत्व पूर्ण हुन्छ । योनि जन्म, विद्या र तपस्याले शुद्ध ब्राह्मणलाई त्रिशुक्ल ब्राह्मण भन्दछन् ।
त्यसमा पनि शास्त्रसम्मत प्रकारको जन्म नै आधारभूत तत्त्व मानिन्छ, विद्या र तपस्या वा चरित्र त्यसका पूरक मात्र मानिन्छन् । यही कुरा नै परम्परागत रूपमा पनि मानिँदै आएको छ ।भृगु, जमदग्नि, अङ्गिरा, भरद्वाज, गर्ग, मुद्गल, विश्वामित्र, कुशिक, वसिष्ठ, कुण्डिन, उपमन्यु, पराशर, कश्यप, शण्डिल, अत्रि, अगस्त्य इत्यादि गोत्रकार ऋषिका वंशाणुपरम्परायुक्त सन्तानहरू नै जन्मसिद्ध ब्राह्मण मानिन्छन् ।अरू जन्मसिद्ध ब्राह्मण मानिँदैनन् ।
यतिले पनि समूह विभाजन गर्न नपुगेकाले यिनका दरसन्तानबाट अनेकौं गोत्र तथा प्रवर ऋषिहरूका रुपमा स्थापित छन्। गोत्र परम्पराको विकास पुरुषप्रधान समाजसँगै निर्माण भएको पाइन्छ। गोत्रका आदिपुरुष ब्राह्मण ऋषिहरू हुन्थे। जसको सम्बन्ध शिक्षादीक्षा तथा जजमानीसँग हुन्थ्यो। यसका लागि वंश र सम्बन्धको विस्तार जरुरी पर्दथ्यो।
पूर्णप्रकाश नेपाल यात्रीले भने ईपू आठौं शताब्दीदेखि ईपू पाँचौं शताब्दीमा नै खसहरू पश्चिम नेपालमा आइसकेको उल्लेख गरेका छन्। ऋगवेदको दशौं मण्डलाको पुरुष शुक्त इ.पू. १००० तिर रचियो। जसमा ब्राह्माको आडैको हैसियत भएको मानव भएकोले ऊ ब्राह्मण भयो।
इपू ६०० तिर मनुस्मृति रचियो र त्यसमा चर्तुवर्णलाई व्यवस्थित गरियो जहाँ क्षत्रीय (छत्री) राजा भए; ब्राह्मण (वाहुन) शाष्त्र निर्माता, पुरोहित र सल्लाहकार भए; वैश्य वेपार र कृषि कर्मी र शुद्र सेवक भए। राज्य चलाउन उपयुक्त हुने नियम कानुन लेख्नमा वाहुनले सहयोग गर्दथ्यो।
त्यतिबेलाका मान्छेले धार्मिक रुपमा धेरै, पराभौतिक रुपमा अलिअलि र वैज्ञानिक रुपमा नगन्य रुपमा सोच्दथे। त्यही धार्मिक सोच भएका मान्छेलाई अल्मल्याउन लेखिएका शाश्त्रहरू अहिले वैज्ञानिक सोचले हेर्दा अविवेकी देखिए पनि तात्कालिन अवस्थामा प्रभावकारी थिए।
बाहुनले गहन चिन्तन मनन गरे ज्ञान बनाए, लिपि आविष्कार गरे, र शाष्त्र लेखे। अक्षर जगतको निर्माणमा वाहुनको योगदान उच्च छ- एकातिर शाष्त्र उत्पादन गर्ने र अर्कोतिर शिक्षण।बाहुन भनेको शिक्षाको ज्योति हो। शाष्त्रीय ज्ञानको स्रोत हो।
हाम्रो प्राचीन न्याय प्रणाली शास्त्रीय परम्परामा नै आधारित थियो। ब्रह्माजीले लोकको सृष्टि गर्दा ब्रह्माको मुखबाट ब्राह्मण, बलबाहुबाट क्षेत्री, जाँघबाट बैश्य तथा पाइतालाबाट शुद्रको उत्पत्ति भएको भन्ने हिन्दू शास्त्रमा उल्लेख छ। ब्रह्माको मुखबाट उत्पत्ति भएकोले ब्राह्मणको बोलीलाई देववाणी मानिन्थ्यो। राजालाई नै त्यस बखत सवोर्च्च न्यायदाताको रूपमा मानिन्थ्यो। न्याय सम्पादन गर्नका लागि राजालाई सहयोग गर्नका लागी धर्मशास्त्रीहरू रहन्थे।
शुक्राचार्यले राजाले रिस वा लोभ नलिईकन न्यायाधीश, बुद्धिको कुरा पर्दा सल्लाह दिने मन्त्री, ब्राह्मण पुरोहितलाई साथमा राखी सावधानीपूर्वक धर्मशास्त्र अनुसार मुद्दा हेर्नुपर्छ भन्ने उल्लेख गरेबाट पनि त्यस बखतको न्याय सम्पादन वेद, उपनिषद्, धर्मसूत्र, मिमांस, मनुस्मृति, याज्ञवल्क्य स्मृति, पराशर, नारद स्मृति, कौटिल्यको अर्थशास्त्र आदिको आधारमा गरिने गरिएको बुझिन्छ।’
यो कानुनले शिक्षामा समेत मनुस्मृतिमा ‘शुद्रले वेद सुने कानमा तातो झीरले घोंचिदिने’ लेखिएको नियमको आधारमा कसले पढ्न पाउने कसले पढ्न नपाउने ब्यवस्था गरेकोथियो । यसले स्वाभाविक रुपमा कमजोर जातीय समूहहरु शिक्षामा पछाडि पर्दे गए । शिक्षाले सचेत हुन्छन् भनि कहाँ सम्म गरिएकोथियो भने भारतीय सेनामा लामो समयसम्म गोर्खाली सेनाहरुलाई अग्रेंजी नपढाएर रोमन पढाईन्थ्यो
वंश परम्परा विशेष दुई प्रकारले चलेको पाइन्छ। पहिलो, विन्दुवंश परम्परा। यो परम्परामा मैथुनी प्रक्रियाबाट वंश बढ्दै जान्छ। बाजे, बाबु, छोरा, नाति गर्दै रक्तसम्बन्धबाट सिर्जित वंश परम्परा हो। दोस्रो, नादवंश परम्परा हो। यस परम्परालाई ज्ञानवंश परम्परा पनि भनिन्छ। गुरुले शब्दद्वारा (महावाक्य सुनाएर) शिक्षादीक्षा दिएर शिष्य बनाई वंश फैलाउँछन्।
नेपालको इतिहास अनुसार भारतको बिभिन्न ठाउँहरू भारतको उत्तराखण्डको पिथुरागढ, कुमाउ, बनारस आदि ठाउँहरुबाट ब्राह्मणहरू(बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ। ब्राह्मण शास्त्रज्ञहरूमा प्रमुख अग्निरस, अपस्तम्भ, अत्रि, बॄहस्पति, बौधायन, दक्ष, गौतम, हरित, कात्यायन, लिखित, मनु, पाराशर, समवर्त, शंख, शत्तप, ऊषानस, वशिष्ठ, विष्णु, व्यास, यज्ञवल्क्य तथा यम ऋषि हुन। यी एक्काईस् ऋषिस्मॄतिहरूका रचयिता थिए। स्मॄतिहरूमा सबभन्दा प्राचीन अपस्तम्भ, बौधायन, गौतम तथा वशिष्ठ छन्।
नेपाली बाहुनहरू खसजाती (भारतको कस्मीर देखि भूटानसम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जातीका हाँगा हुन्। यो जाती नेपाल लगायत तत्कालीन विशाल नेपालका भूभागहरू हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश, दार्जीलिङ, कालिम्पोङ, सिक्किमका साथै भूटान, बर्मा तथा भारतका अन्य भूभाग तथा विश्वका विभिन्न ठाउँका निवासी छन। यस्क मुनिको निरुक्त शास्त्रका अनुसार -ब्रह्म जानाति बब्राह्मण त्यो हो जो ब्रह्म (अन्तिम सत्य,ईश्वर या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ-“ईश्वर ज्ञाता” ।
तर हिन्दू समाजमा ऐतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्। किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसंख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि धर्म, संस्कृति, कला, शिक्षा, ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ।
ब्राह्मण समाजको इतिहास प्राचीन भारतबर्षको वैदिक धर्मबाट आरम्भ हुन्छ। “मनु-स्मॄति” का अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो। ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो। ब्राह्मणहरूका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन्। पारम्परिक मान्यता अनुसार यो विश्वास छ कि वेदअपौरुषेय(कुनै पनि मानव/ देवताले नलेखेको) तथा अनादि हो। वेदलाई श्रुति मानिन्छ (श्रवण हेतु, जो मौखिक परम्पराको द्योतक हो)।प्राचीन समयमा हरेक जाति एवं समाजका व्यक्ति ब्राह्मण बन्न उत्सुक रहन्थे । ब्राह्मण हुने अधिकार आज पनि सबैलाई छ । चाहे ऊ कुनै पनि जाति, देश वा सम्प्रदायको होस्, गायत्री दीक्षा लिएर ब्राह्मण बन्नसक्छ तर ब्राह्मण हुनका लागि केही नियमहरू पालन गर्नुपर्ने हुन्छ ।
यहाँ त्यस ब्राह्मण समाजको कुरा गरिएको छैन जहाँका अधिकतर व्यक्तिले आफ्नो ब्राह्मण कर्म छोडेर अन्य कर्म अपनाएका छन् । हुन त उनीहरू अब ब्राह्मण रहेनन् तर अहिले पनि ब्राह्मण नै कहलाउँछन् ।श्रुति, स्मृति एवं पुराणहरूमा ८ प्रकारका ब्राह्मणको वर्णन पाइन्छ– मात्र, ब्राह्मण, श्रोत्रिय, अनुचान, भ्रूण, ऋषिकल्प, ऋषि र मुनि । ८ प्रकारका ब्राह्मण श्रुतिमा पहिले बताइएको छ । यसका अतिरिक्त वंश, विद्या एवं सदाचारबाट माथि उठेका ब्राह्मणलाई ‘त्रिशुक्ल’ भनिन्छ । ब्राह्मणलाई धर्मज्ञ, विप्र र द्विज पनि भनिन्छ ।
यस्ता ब्राह्मण जो जातिले ब्राह्मण हुन् तर उनीहरू कर्मले ब्राह्मण होइनन् भने तिनलाई मात्र भनिएको छ । ब्राह्मण कुलमा जन्मँदैमा कोही पनि ब्राह्मण हुँदैन । धेरै यस्ता ब्राह्मण ब्राह्मणोचित उपनयन संस्कार एवं वैदिक कर्महरूबाट टाढा छन् तर आफूलाई ब्राह्मण हुँ भन्छन् ।
यिनमा कतिपय त शिखाहीन र जनैसम्म धारण नगर्ने पनि छन् । उनीहरू शूद्र हुन् ।यस्ताहरू थरीथरीका देवीदेवतालाई पुज्दछन् र रात्रिकालीन क्रियाकाण्डमा समेत लिप्त हुन्छन् । ती सबै राक्षसधर्मी पनि हुनसक्छन् ।स्मृतिअनुसार जो कोही मानिस वेदका कुनै एक शाखालाई कल्प र छ अंगसहित अध्ययन गरेर ब्राह्मणोचित षट् कर्ममा संलग्न रहन्छ, तिनलाई श्रोत्रिय भनिएको छ ।
कुनै पनि व्यक्ति वेद एवं वेदांगहरूको तत्वज्ञ, पापरहित, शुद्ध चित्त, श्रेष्ठ, श्रोत्रिय विद्यार्थीहरूलाई पढाउने तथा विद्वान छन्, तिनलाई अनुचान भनिएको छ ।भ्रूण : जो अनुचानका समस्त गुणहरूले युक्त भएर पनि केवल यज्ञ र स्वाध्यायमा संलग्न रहन्छन्, यस्ता इन्द्रिय संयम व्यक्तिलाई भ्रूण भनिएको छ ।जो कोही मानिस सबै वेद, स्मृति एवं लौकिक विषयहरूको ज्ञान प्राप्त गरेर मन एवं इन्द्रियलाई वशमा राखी आश्रममा सदा ब्रह्मचर्य पालन गरिबस्छन्, तिनलाई ऋषिकल्प भनिएको छ ।
यस्ता व्यक्ति जो सम्यक आहार, विहार आदि गरेर ब्रह्मचारी रही संशय एवं सन्देहमुक्त छन् र जसको श्राप र अनुग्रह फलित हुन्छन् त्यस्ता सत्यप्रतिज्ञ एवं समर्थ व्यक्तिलाई ऋषि भनिएको छ ।जो व्यक्ति निवृत्ति मार्गमा स्थित, सम्पूर्ण तत्वका ज्ञाता, ध्याननिष्ठ, जितेन्द्रिय तथा सिद्ध छन्, यस्ता ब्राह्मणलाई मुनि भनिएको छ ।
अहिले नेपालमा उपाध्याय, पूर्वीया, कुमाईं, मैथिल, जैसीजस्ता ब्राह्मण छन् । यिनमा पनि अनेकौं उपभेद पाइन्छन् । यिनीहरूका थर पनि विभिन्न किसिमले बनेका छन् । विशेषगरी वासस्थान, पदवी, सम्मान, पेसा, कार्य, गोत्रप्रवर्तक प्रसिद्ध ऋषि, विद्या आदिका आधारमा थर बनेका पाइन्छन् ।
प्राचिन ब्राह्मणहरू पाँच भागमा विभक्त थिए सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र उत्कल । सारस्वतहरू सरस्वती नदीको किनारबाट नेपालतर्फ पसेका थिए । त्यसैकारण उनीहरूको हाँगालाई सारस्वत भनिएको हो। तर उनीहरू कालान्तरमा कान्यकुब्ज समुदायमा सम्मिलित भइसकेका छन् । अर्को हाँगा कान्यकुब्जहरू कनौजबाट हिमाली भेकतिर पसेका थिए ।यिनीहरू दुई भागमा विभाजित भएका छन् ।
एउटा पूर्वीया भनिन्छ भने अर्को कुमाइ । कुनै कालमा डोटी र कुमाउँ दुई अलग अलग राज्य थिए । यिनको सीमारेखा महाकाली नदी थियो । लामो राजनीतिक विभाजनका कारण महाकालीपूर्वका पूर्वीया र त्यसभन्दा पश्चिमका कुमाउँ निवासीलाई कुमाई भनिएको हो । पूर्वीयाहरूले लामो समयसम्म कुमाउँसित लड्नु परेकाले उनीहरू एकजुट भएर बसेका थिए र एउटै वर्गमा आबद्ध भए । तर कुमाउँमा त्यस्तो मेलमिलाप हुन सकेन । त्यहाँ धनी भए पाका र गरिब भए काँचा कुमाई भन्ने भेदभाव उत्पन्न भयो। तिनै प्राचीन समयका कुमाउँनिवासी ब्राह्मणका सन्तति आज पनि कुमाइँ ब्राह्मण कहलाउँछन् र पूर्वका पूर्वीया ।
वर्ण विभाजनमा ब्राह्मणहरू सबभन्दा माथिल्लो स्तरको मानिन्छ । त्यसको मुख्य आधार प्राचीन ग्रन्थहरूलाई मानिन्छ । हुन पनि केही ग्रन्थहरूमा यसको कारण पनि दिइएको पाइन्छ । मनुस्मृतिमा भनिएको छ, अध्यापन मध्ययनं याजनं तथा । दानं प्रतिग्रहं चैव ब्राह्मणानामकल्पयत् । पढ्नु पढाउनु, यज्ञ गर्नु गराउनु, दान दिनु लिनु । यी ६ वटा कार्य ब्राह्मणको लागि बनाइएका छन्।
यी कार्यहरू अहिले पनि यो वर्गबाट गरिन्छ । तर त्यसका अतिरिक्त उनीहरू अरू पेसामा पनि सक्रिय भएका छन्।नेपालको सन्दर्भमा सरकार र प्रशासन उनीहरूकै हातमा गएको छ। राज्यको कार्य यही वर्ण व्यवस्थाअन्तर्गत क्षेत्रीय समुदायलाई सुम्पिएको छ । यसको माने या वर्ण व्यवस्था लागू छैन या यसमा विकृति आएको छ । समाजले कुन चाहिँलाई आत्मसात् गर्ने र कुन चाहिँलाई परित्याग गर्ने ? यसको खुलासा गर्नु आवश्यक देखिन्छ ।
महाभारतका साप्तिक पर्वमा योभन्दा कडा भनाइ पाइन्छ । अदान्तो ब्राह्मणोऽसाधुः । जसले इन्द्रियहरूलाई वशमा गर्न सकेको छैन, ऊ सच्चा ब्राह्मण हुनै सक्दैन । यो त झन् कठिन अनुशासन र आत्मसंयमको मुद्दा अगाडि सारियो । यो भनाइलाई अनुसरण गर्ने हो भने पूर्णरूपले साधुसन्तहरू मात्र यो वर्गमा सामेल हुन सक्ने देखिन्छ । यसले यो समाजमा ठूलो संकट नै उत्पन्न गर्छ । इन्द्रियहरूलाई बसमा राख्न ठूलो साधना र त्याग गर्नुपर्ने हुन्छ।केही व्यक्तिविशेषबाहेक अरूमा यस अनुकूलको व्यवहार र चरित्र पाउन कठिन हुन्छ । यसकारण यो सूक्ति पनि चरितार्थ भएको पाइन्न ।
यसैगरी महाभारतको कर्ण पर्वमा भनिएको छ ब्राह्मणस्या श्रुतं मलम् । याने वेदको ज्ञान नहुनु ब्राह्मणको लागि कलंक हो । यसको माने ब्राह्मण हुने उसैलाई मात्र अधिकार हुन्छ, जसलाई वेदको राम्रो ज्ञान हुन्छ । अब सवाल उठ्छ- वेदको ज्ञान नहुने ब्राह्मणलाई के भन्ने ? यसमा प्राचीनता र आधुनिकताको द्वन्द्व लुकेको देखिन्छ । यसको निराकरण गर्नु पनि आवश्यक छ।
यिनै विश्वास र धारणालाई माहाभारतको वन पर्वमा अरू बलियो रूपमा प्रस्तुत गरिएको पाइन्छ । चतुर्वेदोऽपि दुर्वृत्तः स शूद्रादतिरिच्यते । योऽग्निहोत्रपरो दान्तः स ब्राह्मण इति स्मृतः ।। चारै वेदका ज्ञाता ब्राह्मण यदि दुराचारी भए भने ऊ शूद्रभन्दा घटिया मानिन्छ।जो मानिस वेदबारे केही थाहा छैन तर जसले आफ्ना इन्द्रियहरूलाई बसमा गरेको छ भने उनी सच्चा ब्राह्मण हुन् । यसबाट के थाहा हुन्छ भने ब्राह्मण शब्द गुण, उपलब्धि, सच्चरित्रसित जोडिएको छ न कि जन्मसित ।
जनकलाल शर्माले आफ्नो विश्लेषणमा ब्राह्मणहरू उपाध्याय ब्राह्मण र जैसी ब्राह्मणमा विभक्त भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, उपाध्याय ब्राह्मणको मर्यादा जैसीभन्दा माथिल्लो तहमा मानिन्छ । तर यो माथिल्लो तहमा हुने कारण भने देखिँदैन । कारण मनुस्मृतिअनुसार वृत्तिको लागि जसले वेदको कुनै अंश वा वेदांग पढाउँछ, त्यो उपाध्याय कहलाउँछ ।
एक देशे तु वेदस्य वेदांगान्यपि वा पुनः । योऽध्यापयति वृत्यर्थमुपाध्यायः स उच्यते ।। उनको भनाइअनुसार वेदाध्ययनको अधिकारी ब्राह्मण मात्र हुँदैन । क्षेत्रीय पनि हुन सक्छ । यस तर्कबाट जसले वेदको अध्ययन र अध्यापन गर्न सक्छ, ऊ उपाध्याय कहलाउन सक्छ । यदि यस तर्कलाई स्वीकार गर्ने हो भने ब्राह्मण शब्द वेदसित गाँसिएको देखिन्छ ।
जन्मजात ब्राह्मण विद्या (चेतना विस्तार) र तपस्या (चरित्र)ले पनि युक्त छ भने विशेष मान्य र पूज्य हुन्छ, विद्या र तपस्या नभएपनि विशेष दुर्गुण र दुश्चरित्र नभए सामान्यतया मान्य र पूज्य हुन्छ, विशेष दुर्गुण भए अमान्य र अपूज्य हुन्छ, विशेष दुश्चरित्र भए पतीत, बहिष्कार्य र अव्यवहार्य समेत हुन्छ भन्ने हाम्रो शास्त्रव्यवस्था र मौलिक परम्परा हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ । ब्राह्मणले चारै पाउले युक्त धर्मको पालन गर्नुपर्ने र आफ्ना नित्य कर्म छाड्दा वा दुष्कर्म गर्दा कडा प्रायश्चित्त गरेर चोखिनुपर्ने शास्त्रीय विधान देखिन्छ ।
जति सदाचार गर्न सक्यो त्यति नै व्यक्ति सम्मानित हुन्छ भन्ने शास्त्रीय र लौकिक सिद्धान्त एवं व्यवहार पनि छ। यस वस्तुस्थितिमा उक्त वैदिक शास्त्र व्यवस्था र मौलिक परम्पराका विरुद्ध रूपमा एकाङ्गी दृष्टिकोणका आग्रहले विनाप्रमाण बोलिएका अन्यथा कुराहरू वेदबाह्य र भ्रमात्मक हुन् भनेर सजिलै बुझ्न सकिन्छ। विद्वान्हरूले पनि शास्त्रीय वस्तुस्थितिलाई यथार्थ रूपमा समाजका अगाडि प्रस्तुत गरेर भ्रम हटाउनु पर्ने आवश्यकता देखिन्छ ।बाम्हण ग्रान्थहरू वैदिक साहित्यको मध्य भागका रचना मानिन्छन् ।
वेद समिताहरूमा रहेका मन्त्रहरूको अर्थ व्याख्या र विधानहरूको विश्लेषण गरिएका ग्रन्थहरू नै ब्राम्हण ग्रान्थ हुन् । ब्राम्हण ग्रान्थहरूमा वैदिक मन्त्र, कर्म र विनियोगको व्यावस्था गरिएको हुन्छ । खास गरि कर्मकाण्डको विधि र प्रयोगको शुक्ष्म चिन्तन बाम्हण ग्रान्थहरूमा गरिएको हुन्छ । वैदिक मन्त्रहरूमा रहेका आख्यानलाई विस्तृत व्याख्या गरिएका ग्रान्थ नै ब्रम्हण ग्रान्थ हुन । यो विशेष गरेर ब्राम्हणले अध्ययन गरेर व्यावहारमा लागु गर्ने ग्रान्थ मानिन्छ ।
ब्रम्ह ज्ञान प्राप्त भएको, ब्रम्मालाई चिन्न सक्ने व्यक्ति नै ब्राह्मण हो । ब्राम्हण त्यो हो जसले ग्रान्थहरूको अध्ययन गरेको हुन्छ । एक ब्राम्हणले ब्राह्मणको कर्म गर्नुपर्छ । विहान उठ्ने, सौच, न्यास, ध्यान, पुजापाठ लगायत कार्य गर्नु पर्छ भन्ने मान्यता रहेको हुन्छ । ब्राम्हाणले झुट बोल्नु, जे पायो त्यहि खानु, परस्त्री गमन गर्नु, जुवा तास खेल्नु जस्ता कार्य गर्नु हुदैन् । भन्ने कुराहरू विभिन्न धार्मिक ग्रान्थहरूमा उल्लेख भएको पाइन्छ ।
हिन्दु धर्म भारतवर्षको प्रमुख धर्म हो । यसमा पवित्र सोह्र संस्कार रहेका छन् । हिन्दु धर्मको प्राचीनता एवं विशालताका कारण नै यसलाई‘सनातन धर्म’ भनिएको हो ।बौद्ध, जैन, इसाई, इस्लाम आदि धर्म जसरी हिन्दु धर्म कोही एक विशेष व्यक्तिले स्थापना गरेको धर्म होइन । यो त प्राचीनकालदेखि चल्दै आएका विभिन्न धर्म र आस्थाहरूको बृहत् सम्मिश्रण हो ।महर्षि वेदव्यासका अनुसार मनुष्यको जन्मदेखि मृत्युसम्म विभिन्न सोह्र पवित्र संस्कार सम्पन्न गरिन्छन् ।
गर्भाधान,गर्भाधान संस्कारबारे महर्षि चरकले भनेका छन् कि मनलाई प्रसन्न र पुष्ट राख्नु गर्भधारणका लागि आवश्यक छ । यस कारण महिला र पुरुषले सधैँ उत्तर भोजन गर्नु जरुरी छ भने प्रसन्नचित्त रहनुपर्छ ।गर्भको उत्पत्तिको बेला महिला र पुरुषको मन उत्साह, प्रसन्नता र स्वस्थताले भरिपूर्ण हुनुपर्छ । उत्तम सन्तान प्राप्त गर्नका लागि सबैभन्दा पहिला गर्भाधान संस्कार गर्नुपर्छ ।
मातापिताका रज र वीर्यको संयोगबाट सन्तान उत्पत्ति हुन्छ । यो संयोगलाई नै गर्भाधान भनिन्छ । महिला र पुरुषको शारीरिक (यौन) सम्पर्कलाई गर्भाधान संस्कार भनिन्छ । गर्भस्थापनापछि अनेक प्रकारका प्राकृतिक दोषको आक्रमण हुन सक्छ, तीबाट बच्नका लागि यो संस्कार गरिन्छ, जसबाट गर्भ सुरक्षित रहन्छ भन्ने विश्वास छ ।
विधिपूर्वक गरिएको संस्कारयुक्त गर्भाधानबाट असल र सुयोग्य सन्तान जन्मिने हिन्दु शास्त्रमा उल्लेख छ ।पुंसवन संस्कार,पुंसवन संस्कार गर्भधारणको तीन महिनापछि गरिन्छ । गर्भ रहेको तीन महिनापछि गर्भस्थ शिशुको मस्तिष्क विकसित हुन थाल्छ । यस समय पुंसवन संस्कारद्वारा गर्भमा रहने शिशुमा संस्कारको आधार तयार पारिन्छ । शिशुले गर्भमै सिक्न सुरु गर्छ । यसको उदाहरणका रूपमा अभिमन्युलाई लिन सकिन्छ, जसले आमा द्रौपदीको गर्भमा नै चक्रव्यूहको शिक्षा लिएका थिए ।
सीमन्तोन्नायन संस्कार,सीमन्तोन्नायन संस्कार गर्भ रहेको चौथो, छैठौँ र आठौँ महिनामा गरिन्छ । यस समय गर्भमा हुर्किरहेको बच्चा सिक्न तयार भइरहेको हुन्छ । उसमा राम्रा, असल गुण, स्वभाव र कर्मको ज्ञान आओस् भनेर उसकी आमाले सोही प्रकारले आचार विचार, रहनसहन र व्यवहार गर्छिन् । यस क्रममा शान्त र प्रसन्नचित्त रहेर आमालाई अध्ययन गर्न जरुरी हुन्छ ।जातकर्म,बालकको जन्मसँगै जातकर्म संस्कार गर्नाले शिशुका कुनै पनि प्रकारका दोष हट्छन् ।
यसअन्तर्गत शिशुलाई मह र घीउ चटाउने गरिन्छ । सँगसँगै वैदिक मन्त्र उच्चारण गरिन्छ ताकि बच्चा स्वस्थ र दीर्घायु होस् ।नामकरण,जातकर्मपछि नामकरण संस्कार गरिन्छ । नाम व्यक्तिको पहिचानको आधार पनि हो । नाम राख्ने कर्म पनि हिन्दु शास्त्रमा एउटा विधिका रूपमा रहेको छ । शिशु जन्मिएको ११औँ दिनमा नामकरण अर्थात् न्वारन संस्कार गरिन्छ । ज्योतिषशास्त्रका अनुसार बच्चाको नाम निर्धारण गरिन्छ ।
धेरै मानिस आफ्ना बच्चाको नाम जे पनि राखिदिन्छन्, जुन गलत हो । उसको मानसिकता र उसको भविष्यमाथि यसको असर पर्ने गर्छ । जसरी राम्रो कपडा पहिरिँदा व्यक्तित्वमा निखार आउँछ, त्यसरी नै राम्रो र सारगर्भित नाम राख्नाले सम्पूर्ण जीवनभर व्यक्तिलाई त्यसको प्रभाव पर्छ । निष्क्रमण,बच्चा जन्मिएको चौधौँ महिनामा निष्क्रमण संस्कार गरिन्छ । निष्क्रमणको अर्थ हुन्छ, बाहिर निकाल्नु । हाम्रो शरीर पृथवी, जल, अग्नि, वायु र आकाशबाट बनेको छ, जसलाई पञ्चभूत भनिन्छ ।यस कारण पिताले यी देवताबाट बच्चाको कल्याणका लागि प्रार्थना गर्छन् । साथै कामना गर्छन् कि शिशु दीर्घायु र स्वस्थ होस् ।
अन्नप्राशन, अन्नप्राशन संस्कार बच्चाको दाँत निस्कने बेलामा अर्थात् ६–७ महिनाको उमेरमा गरिन्छ । यस संस्कारपछि बच्चालाई अन्न खुवाउन सुरु गरिन्छ ।सुरुमा बच्चालाई उत्तम प्रकारका अन्न, जस्तै खीर, खिचडी, भात आदि खुवाइन्छ । चूडाकर्म, शिरको केस पहिलो पटक काट्ने कर्मलाई चूडाकर्म संस्कार वा मुण्डन भनिन्छ । जब शिशु एक् वर्षको हुन्छ, तब वा तीन वर्षमा अथवा पाँच वा सातौँ वर्षमा बच्चाको केस मुण्डन गरिन्छ । यस संस्कारबाट बच्चाको शिर मजबुत हुन्छ तथा बुद्धि तेज हुन्छ भनने विश्वास छ ।
साथै, शिशुको कपालमा रहेका किटाणु पनि यसबाट नस्ट हुन्छन्, जसबाट शिशुलाई स्वास्थ्यलाभ हुने गर्छ । गर्भबाट बाहिर आएपछि बालकको शिरमा माता पिताले दिएको केस नै रहेको हुन्छ भन्ने मान्यता छ । मुण्डानपछि भने त्यो हटेर शुद्धि हुन्छ भन्ने धारणा रहिआएको छ ।विद्यारम्भ,विद्यारम्भ संस्कारको क्रमका बारेमा हाम्रा आचार्यहरूबीच मतभिन्नता छ । केही आचार्यहरूको मत छ कि अन्न प्राशनपछि विद्यारम्भ संस्कार हुनुपर्छ भने केही चूडाकर्मपछि यस संस्कारलाई उपयुक्त मान्छन् ।
अन्नप्राशनपछि नै शिशुले बोल्न सुरु गर्छ । यस कारण अन्नप्राशनपछि विद्यारम्भ संस्कार उपयुक्त लाग्छ । विद्यारम्भको अभिप्राय बालकलाई शिक्षाको प्रारम्भिक स्तरसँग परिचित गराउनु हो ।
प्रचीनकालमा जब गुरुकुल परंपरा थियो, त्यसबेला बालकलाई वेद अध्ययनका लागि पठाउनुअघि घरमा अक्षरबोध गराइन्थ्यो । पितामाता र गुरुजनले पहिला उसलाई मौखिक रूपमा श्लोक, पौराणिक कथाहरू आदिको अभ्यास गराइन्थ्यो ताकि गुरुकुलमा कठिनाइ नहोस् । कर्णवेध,कर्णवेध संस्कारको अर्थ हो– कान छेड्नु । यसका पाँच कारण छन्, एक, आभूषण पहिरिनका लागि, दुई, कान छेड्नाले ज्योतिषका अनुसार राहु र केतुको खराब प्रभाव बन्द हुन्छ ।
यसरी नै तेस्रो, यसबाट अक्युपंचर हुन्छ, जसबाट मस्तिष्कसम्म जाने नसामा रक्तप्रवाह ठीक हुन्छ।चौथो, यसबाट श्रवण शक्ति बढ्छ र केही रोगको रोकथाम समेत हुन्छ ।पाँचौँ, यसबाट यौन इन्द्रिय पनि पुष्ट हुने गर्छ भन्ने विश्वास छ ।
यज्ञोपवित,यज्ञोपवितलाई उपनयन वा जनेऊ संस्कार पनि भनिन्छ । प्रत्येक हिन्दुले यो संस्कार गर्नुपर्छ । उप भन्नाले साथ र नयन भन्नाले लिएर जानु भन्ने अर्थ लाग्छ ।गुरुले साथमा लैजाने काम नै उपनयन हो । आज पनि यो परंपरा जारी छ । यज्ञोपवितमा तीन सूत्र हुन्छन् । यी तीन देवता ब्रह्मा, विष्णु र महेशका प्रतीक हुन् । यस संस्कारबाट शिशुलाई बल, ऊर्जा र तेज प्राप्त हुन्छ भन्ने मान्यता छ । साथै बच्चामा अध्यात्मिक भाव जागृत हुने विश्वास पनि गरिन्छ । वेदारम्भ, यसअन्तर्गत व्यक्तिलाई वेदका बारेमा ज्ञान दिने गरिन्छ ।
केशान्त,केशान्तको अर्थ हो, केसको अन्त्य गर्नु वा समाप्त गर्नु । विद्या अध्ययन पूर्व पनि केशान्त वा मुण्डन गरिन्छ । शिक्षा प्राप्तिअघि शुद्धि आवश्यक छ, ताकि मस्तिष्कले ठीक दिशामा काम गरोस्। प्राचीनकालमा गुरुकुलबाट शिक्षा लिएपछि पनि केशान्त संस्कार गरिन्थ्यो । समावर्तन,समावर्तन संस्कारको अर्थ हो, फेरि आउनु वा फर्किनु । आश्रम वा गुरुकुलबाट शिक्षा प्राप्त गरेपछि व्यक्तिलाई फेरि समाजमा फर्काउनका लागि यो संस्कार गरिन्छ । यसको आसय हो, ब्रह्मचारी व्यक्तिलाई मनोवैज्ञानिक रूपमा जीवनको संघर्षका लागि तयार पार्नु ।
विवाह,उचित उमेरमा विवाह गर्नु जरुरी छ । विवाह संस्कार सर्वाधिक महत्त्वपूर्ण संस्कार मानिन्छ । यसअन्तर्गत वर र वधु दुवै साथै रहेर धर्म पालनको संकल्प लिँदै विवाह गर्छन् । विवाहद्वारा सृष्टिको विकासमा योगदान मात्र हुँदैन, व्यक्तिको अध्यात्मिक र मानसिक विकासका लागि पनि यो आवश्यक छ ।
यसै संस्कारबाट व्यक्ति पितृऋणबाट पनि मुक्त हुन्छ । अन्त्येष्टि संस्कार, अन्त्येष्टि संस्कारको अर्थ हो अन्तिम संस्कार । शास्त्रका अनुसार व्यक्तिको मृत्यु अथवा देह त्यागपछि मृत शरीरलाई आगोमा समर्पित गरिन्छ।आज पनि शव यात्राको अगाडि घरबाट आगो बालेर शवलाई लगिन्छ। यही आगोबाट चिता जलाउने गरिन्छ।हाम्रो वैदिक धर्मदर्शनमा हिन्दू धर्मका माथिका१६ मूल आधारहरु बताइएको छ ।
जसरी पूर्णचन्द्र हुन सोह्र कलाको आवश्यकता पर्दछ, त्यस्तै हिन्दू दर्शन र तिनमा आधारित संस्कृतिका पनि १६ अंगहरु छन् । धर्मानुकूल शारीरिक सदाचार हुनु, आफ्नो अन्तर आत्मा परमात्मातिर लैजानु, वर्ण धर्म सनातन, जातीय शुद्धता, आश्रम व्यवस्था जसमा ब्रह्मचर्याश्रम,गृहस्थाश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम यस्तै दैवी सृष्टिमा विश्वास गर्नु, सर्वशक्तिवान् सर्वव्यापक सकल गुण सम्पन्न भगवान्को अधिष्ठाता हो भन्नेमा विश्वस्त हुनु, योगमूलक भक्तिमूलक उपासना पद्धति, देवमूर्तिलाई दिव्य शक्तिको आधार मानेर भागवत् सत्ताको पूजा उपासना गर्नु, शुद्धाशुद्धि कर्म, यज्ञ महायज्ञमा विश्वास गर्नु, वेद उपनिषद् श्रुति, स्मृति, पुराण जस्ता धर्म दर्शन शास्त्रमा विश्वास राख्नु, जन्म, मृत्यु र पुनर्जन्ममा तथा इहलोक परलोकमाथि विश्वास, पितृलोक, देवलोक, असुरलोक, स्वर्गलोक र वैकुण्ठलोकमा भ्रमण गर्दै मावनजीवले मृत्युलोक प्राप्त गर्छ भन्ने विश्वास गर्नु, गाइर्, गंगा, गायत्री, गणेश, गीता र गुरुमा श्रद्धा राख्नु, कैवल्यपद प्राप्ति अर्थात् मोक्षपदवीको ईच्छा राख्नु हो।
ब्राम्हण समूदायहरूको आफ्नै संस्कार, संस्कृती, र विधिविधान छ । धर्म संस्कृतीको जगेर्ना गर्नु आजको आवश्यक बनेको छ । जसरी अरू जात जातिको धर्म संस्कृतिको जगेर्ना गर्नु जति आवश्यक छ त्यति नै आवश्यक ब्राम्हण धर्म र संस्कृतिको जगेर्ना गर्नु पनि आवश्यक भएको छ । होइन भने बाम्हण संस्कार र संस्कृती लोप हुने खतरा प्रवल रुपमा अगाडी बढेको छ भने धर्मको पनि क्षय हँुदै छ भन्ने संकेत देखीदै छ । ब्राम्हणको धर्म वैदिक हिन्दु हो भाषा संस्कृत हो संकार अन्तर्गत भने सोह्र संस्कार पर्दछ । सोह्र संस्कारलाई जिवित राख्ने ब्राम्हण संकट हुनु भनेको संकार संस्कृतिक लोप हुनु हो ।
समग्रमाः ब्राह्मणले आफ्नो कर्म बिर्सदा अपहेलित हुन भएन । ब्राह्मणले अध्यन चिन्तन नित्य सुद्ध भएर ब्राह्मणको कर्म गर्नु पर्छ।ज्ञानको भण्डार मानिने संस्कृत विधालाइ सरकारले पाठ्यपुस्तकमा ऐच्छिक विषयको रुपमा पुनः लागु गर्नुपर्छ । गुरुकुल, संस्कृत विद्यालयमा ब्राह्मणका कर्मको बारेमा विशेष गरेर पढाइ भई ब्राह्मणलाई सरकारले नै उचित पेशाको ग्यारेन्टि गर्ने वातावरण वनाई ब्राह्मण धर्म, संस्कृत र जातको पहिचान र ब्राह्मण शुद्धताको संरक्षण गर्नु आवश्यक भइसकेको छ । शुद्ध ब्राम्हणको वैयक्तिकताको अध्यन गरेर कर्म गराउने ब्राह्मणलाई लाइसेन्सको प्रभावकारी व्यवस्था गर्नु पनि आवश्यक छ ।
ब्राह्मणवाद कुनै जात वा नश्ल विशेषको लागि मात्रै होइन । यसको अभ्यास र अनुसरण जो कोहीले पनि शास्त्रले निर्देशित गरेको परिधिभित्र रहेर गर्न सकिन्छ । यो एक उच्च र सदगुणी संस्कार परम्परा मात्रै हो । यसलाई वंश वा कुल परम्परा भन्न पनि सकिन्छ ।
ब्राह्मण एक कठिन आचरणमा बस्नु पर्ने मानव शरीरलाई साधन मात्रै हो साध्य होइन भन्ने चेतना र चिन्तन लिएर सु–संस्कारित आत्मा र परमात्माको सूक्ष्म अस्तित्व स्वीकार गरेर स्व–शासित रही आत्मा अनुशासित कर्मयोगी, जो सदैव अतिरिक्त ज्ञान हासिल गर्न तत्पर रहने, अध्ययनशील संयमित जीवन निर्वाह गर्ने इन्द्रीय र कर्मेन्द्रीयहरुलाई कठोर योग र तपस्याको बलले नियमन र नियन्त्रित गर्ने, सत्गुणी, अल्पभोगी, भौतिक सुख सुविधाहरूको आवश्यकता अनुसार मात्रै उपयोग गर्ने मानिस हुन् ।
साथै अतिरिक्त धन आर्जन र सञ्चय नगर्ने नगराउने । सामाजिक आर्थिक र राजनीतिक रूपमा कठिन र कठोर नियम कानुन बनाएर त्यसैलाई अनुसरण र इमान्दारिताको साथ पालना गर्ने/गराउने र त्यस्ता कानुन र नितिनियमहरु उलंघन गर्नेहरूलाई सामाजिक बहिष्कार गर्ने गराउने । खाइपाइ गरेको सुख सुविधा मान-सम्मानबाट वञ्चित गराई उनीहरूको साथबाट धनसम्पत्तिहरु लगायत जग्गा जमिन जफत गर्ने/गराउने दण्ड सजाय दिने दिलाउने र पुनः भविष्यमा पनि त्यही व्यक्तिबाट त्यस्ता अपराधी कार्यमा संलग्न वा दोहोरिएको खण्डमा अङ्गभङ्ग गर्ने वा मृत्युदण्ड सम्म दिने दिलाउने संस्कार परम्परा र समुदायका मानिसहरू हुन् ।
आफ्नो संस्कार संस्कृति र परम्परालाई प्राणभन्दा प्यारो ठानेर यसभन्दा बाहिरका समुदायहरूलाई आफ्नो समुदायसँग आवश्यकताभन्दा ज्यादा घुलमिल नगर्ने/ नगराउने, जसको कारणले आफ्नो धर्म संस्कार संस्कृति र परम्परामा कुनै पनि किसिमको विसङ्गति र विकृतिहरू नफैलियोस् । यदि कोही कतै काहीँ कतै सङ्क्रमित भए गराए, आफैलाई जति नै पीडा भएमा पनि त्यस्तो सङ्क्रमित नालायक अङ्गलाई छेदन गरेर फाल्नलाई नै गर्व सम्झिने । तर अहिले आएर उनीहरूमा नै सङ्क्रमित भएको पाइन्छ र छ ।
धर्म, संस्कार, संस्कृति र परम्पराहरू मिसिएको छ, मासिएको छ । परिवर्तित समाज र राज्य शासन व्यवस्थाले गर्दा बाहिरी धर्म संस्कार र संस्कृतिहरूको सङ्क्रमण नराम्ररी फैलिएको छ । उनीहरूमा पनि आफै भित्रको अन्योलताको कारणहरूले गर्दा अव्यवस्थित र अस्तव्यस्त भएको छ । ब्राह्मणवाद आफैमा नराम्रो होइन तर यसभित्रको कठिन र कठोर नियमनहरू पालना गर्न गराउने अहिले चुनैतीहरु थपिएको मात्रै होइन, यसलाई नराम्रो गर्न गराउन देशी विदेशी शक्तिकेन्द्र सहित आफैभित्रका दलालहरू सक्रिय छन् ।
यसलाई हुबहु पालना गर्ने गराउनेभन्दा पनि उल्लङ्घन गरेर प्रगतिशीलको नामधारीहरू आयातित उच्छृङ्खल धर्म संस्कार र संस्कृतिहरू प्रतिको विभिन्न लोभ लालचमा ठुलै आर्थिक चलखेलहरूले गर्दा आकर्षित हुनेहरू धेरै भएकोले मात्रै हो । यदि यो ब्रह्माण्डले ब्राह्मणवादको हुबहु अनुशरण गर्ने गराउने हो भने अहिलेको यो ब्रह्माण्डमा देखिएको र भोगिएको सम्पूर्ण दुःख कष्ट बेथिति हत्या हिंसा र बलात्कारहरू जस्ता आपराधिक गतिविधिहरू हुने नै थिएन ।
एकले अर्काबाट डराउनु पर्ने थिएन । प्राकृतिक स्रोत साधनहरूको अत्यधिक प्रयोग र उपभोेगहरुले गर्दा यो पृथ्वीको आयु यसरी दिनानुदिन घट्ने थिएन । वायु प्रदूषण र वायुमण्डलीय उष्णतामा यसरी वृद्धि हुने नै थिएन । ब्राह्मणवादले मानिस मानिसलाई होइन, विरोध र निषेध गरेको मात्रै उनीहरूको गलत प्रवृत्ति सोच कर्म धर्म संस्कार संस्कृति र आचरणहरूलाई नै हो ।
सबैलाई आफू अनुकुन संस्कार सङ्गत र वातावरण नै मन पर्छ । ब्राह्मणवाद एक उच्चकोटीको जीवन पद्धति, प्रवृत्ति, सोच, कर्म, धर्म, संस्कार, संस्कृति र आचरणहरू नै हो । जुन उच्चकोटीको छ त्यसैलाई सबैले स्वीकार गर्नु पर्छ । वैदिक सनातन धर्मका अन्वेषण कर्ताहरूले हाम्रो शास्त्रहरू श्रुतिस्मृतिभित्र भए रहेका अनि उल्लेख गरेका प्रत्येक विषयवस्तुहरूमा वैज्ञानिकता छ ।
वैज्ञानिक भनेको प्रयोग गरेर हेर्दा प्रमाणित हुने कुरा हो । तर यसलाई प्रमाणित गर्नको लागि यसभित्रको विषय वस्तुहरू माथि राम्रो ज्ञान र सामर्थ्य भएको मान्छे नै चाहिन्छ । नत्र जसरी विज्ञानको ज्ञान र सामर्थ्य नभएको मानिसले विज्ञानको प्रयोगशालामा बसेर केही प्रयोग गरेर प्रमाणित नै गर्न सक्दैन भने कोही कसैले सनातन धर्म संस्कार संस्कृति र परम्परा जस्ता गहन विषयहरू माथि के नै गर्न सक्ला, यदि उसमा त्यो ज्ञान र सामर्थ्य नै छैन भने ।
यो दुस्साहस कुहिरोभित्रको काग र समुन्द्रको किनारमा बसेर त्यसभित्रको गहिराई नापे जस्तो मात्रै हुन्छ।जो सँग जे कुराको जति चेतना हुन्छ, उ त्यो विषय वस्तु हरूमाथि त्यति नि चिन्तन गर्न सक्ने त हो । सुनलाई कसी लगाएर जाँच्न लाई पनि ज्ञान चाहिन्छ । विशाल समुन्द्रमा पसेर कसैले माछा र कसैले मोती त टिप्ने हुन् । त्यो उसको उद्देश्य र आवश्यकता मात्रै हो । समुन्द्रमा यो भन्दा अरू केही छैन भन्ने होइन ।
तर पनि केही अपाच्य र असभ्य वा अव्यवहारिक भाषा प्रयोग गर्दै सभ्य कहलिएका देखिने मानिसहरूबाटै भनेको सुनिन्छ, पण्डित, पुरोहित वा बाहुनहरू लोभी हुन्छन्, जति नै दान दिए पनि पुग्दैन, चित्त बुझ्दैन तर मलाई यहीँ एउटा प्रश्न जन्मिन्छ ती सभ्यहरूले त्यसरी धेरै नै दानहरू दिएर धन सञ्चयमा पण्डित पुरोहित वा बाहुनहरू लागेकै थिए भने त विश्वका धनाढ्यहरूको पहिलो सुचीमा यी पण्डित पुरोहित वा बाहुनहरू किन परेनन् आजसम्म ? यही हो सत्यता कि जे भनी रहेका छन् त्यो गरिरहेका छैनन् ।
आग्रह पूर्वाग्रहरहित भएर स्वतन्त्ररुपमा भन्नै पर्दा आफूलाई ब्राह्मण भन्न रुचाउने, हाम्रो त हड्डी नै चोखो भन्ने, अरूमाथि पैतृक तथा दर्ज्यानी हैसियत र अधिकार जमाउन वा राख्न खोज्ने तर तत् अनुसारको न त आचरण नै गर्ने, न त धर्म र संस्कारको पालना नै गर्ने, न त शिक्षा शास्त्राध्ययन चिन्तन मनन नै छ । यस्ता हरूले आफूलाई मात्रै होइन, आफ्नो वंश परम्परालाई नै अपहेलित र अपमानित गराउँछ । भित्र भान्छामा अरू नै भोजन पाक्ने पकाउने गरेता पनि बाहिर निस्किँदा लोकलाई देखाउनैको लागि हातमा बासमती धानको भातको ढल्लोलाई दहीमा चोबलेर जुँगामा दही दली कुकुर बोलाउँदैमा हाम्रो अनमोल पैतृक सम्पत्तिको रूपमा रहेको वैदिक सनातन धर्म संस्कृति र परम्पराहरू अब जोगिँदैन । र, यसो गर्न पनि अब पटकै सुहाउँदैन ।
आफू शास्त्रीय आधारमा ब्राह्मण आचरण र संस्कारमा नरहने तर पनि अरूप्रति भने अपमानित र अपहेलित व्यवहार गर्ने अग्राधिकार हाम्रो सनातन वैदिक धर्म शास्त्रहरूले कसैलाई दिएको छैन । शास्त्रीय आधारमा ब्राह्मणीय आचरणमा नरहने र नगर्ने र अरू जो कोहीमा शास्त्रभित्र एउटै स्थान हुन्छ ।
तर पनि जसरी यात्रा हरूमा कुनै मोडमा बाटो भुलेर अर्कै बाटो समातेमा पनि फेरि त्यही बाटोमा पुन आगमनको लागि धेरै र लामा घुम्तीहरूलाई लामो समयको सङ्घर्ष पछि छिचोल्दै पुन रागमन गर्न सकिने मार्गहरू भए जस्तै मूलदारबाट बाहिरिएका र बाहिर पारिकाहरुलाई आफ्नो धारमा ल्याउने विधि, प्रक्रिया र समयावधि शास्त्रमा प्रस्टै उल्लिखित भएको पाइन्छ । यसको लागि आउने र ल्याउनेहरू नै आफ्नो आफ्नो स्थानहरूमा सक्रियता जनाउनु पर्छ । सनातनीय वैदिक धर्म संस्कारबाट बाहिर परेका र पारिएकाहरू अरू कुनै पनि धर्म संस्कार संस्कृतिहरूमा रुपान्तरित भएमा पनि
आजको विश्व मानवजगत्मा फैलिएका धर्मका विविधता जतिसुकै किन नहुन्, धर्मको मूल मन्त्र एउटै हो । जसरी भगवान्का अनेक रुपहरु छन् । तापनि मूल परमब्रह्म एउटै हो । हिन्दू धर्म दर्शनमा धेरै शाखाहरु भएको र अत्यन्त फराकिलो पनि भएको हुँदा कैयौं मानवहरु अलमलमा परेका देखिन्छन् । यद्यपि हिन्दू धर्म दर्शनले म मेरो भन्ने शब्द राखेकै छैन । यसमा प्रशस्त प्रामाणिक उदाहरणहरु छन् । हाम्रो हामी सबैको उद्धार कल्याण होस् भन्ने शब्दहरु वैदिक दर्शनमा उल्लिखित गरिएको छ ।
यस दर्शनमा यावत उपयोगी जीवजन्तु पशुपक्षी जनावर वनस्पति वनजंगल हरेकको पूजा गर्नुपर्ने व्यवस्था गरेको छ । पूजा भनेको वस्तु, धर्म, संस्कार देवी देवता आदिको सम्मान र संरक्षण गर्नु हो । धर्म निर्मत्सर हुनुपर्छ, जुन धर्मबाट सबै मानव र जीव संरक्षित सुसंस्कृत अलंकृत पनि हुनुपर्छ ।
सनातन धर्म भनेको यही हो । धर्म नछाड तर लोक धर्म भनेर हुने विकृतिपूर्ण धर्म जो धर्मका नाउँमा पशुवली दिने वा अर्कालाई पीडा दिएर गरिने धर्म त्याग्नु पर्छ । धर्मको सारको बारेमा शास्त्रहरु भन्छन्, सत्यं वद, धर्म चर, गौतम बुद्धको उप देशमा पनि धम्मं शरणं गच्छामि भनिएको छ ।कर्म भनेको कुनै न कुनै काम गर्नु हो र बिना कर्म कोही पनि रहन सक्दैन । कुन कर्म गर्न हुन्छ, कुन कर्म गर्न हुँदैन, यो जान्न जरुरी छ । कर्म ३ प्रकारका हुन्छन्, अकर्म, विकर्म र कर्म । यिनै कर्मको विषयमा ज्ञान भयो भने मात्र मानिस ज्ञानी बन्दछ ।
कर्म भनेको धर्मयुक्त र निःस्वार्थ भावनाले गर्ने काम हो। विकर्म भनेको निहित स्वार्थपूर्तिका लागि र अरुको स्वार्थ पूर्ति गर्ने समेतको काम हो। अकर्म भनेको गर्नै नहुने काम आदि यसै गरी विधि निषेधका सम्बन्धमा भनिएको छ के खान हुन्छ ? के खान हुँदैन ? के बोल्न हुन्छ ? के बोल्न हुँदैन ? कहाँ जान हुन्छ ? कहाँ जान हुँदैन ? के–के काम गर्न हुन्छ ? के काम गर्न हुँदैन ? विवाह, सन्तान, उद्योग, राजनीति, व्यापार कसरी गर्ने ? विद्यार्थी, युवा, वृद्ध, कर्मचारी, राजनीतिज्ञ, महिला, पुरुष सबैको काम, कत्र्तव्य र अधिकार समेत हाम्रो शास्त्रीय दर्शनमा उल्लिखित छन् ।शास्त्र भन्दछ– “मानिसका सुख र दुःखका कोही दाता छैनन् । आफ्नै कर्म सूत्रमा सबै बाँधिएका हुन्छन्” ।
मूल रुपमा अध्यात्मको अर्थ आफ्नो अस्तित्वको पहिचान गर्नु हो । आफ्नो काम, कत्र्तव्य र अधिकारको बोध नहुनु आफूले आफ्नै पहिचान गर्न नसक्नु नै मन्द बुद्धिका लक्षण हुन् । अध्यात्म विषय ईश्वरीय कानून ऐन, नियम हो । जसको ज्ञानले मानिसको अस्तित्वको पहिचान गराउँछ र धर्तीलाई नै स्वर्ग बनाउँछ । मानव मानवमा एकता, मित्रता, श्रद्धा सद्विवेकको विजारोपण गराई सुसंस्कृत समाजको स्थापना गर्न आध्यात्मिक चेतनाबाट मात्र सम्भव छ । जबसम्म म को हुँ ? भन्ने ज्ञान हुँदैन, तबसम्म ‘पशुभिः समानम्’ पशु समान हुन्छ ।
अर्जुन युद्ध मैदानमा युद्धको अन्तिम तयारीमा थिए । हतियार उठिसकेका थिए । तत्काल उनको बुद्धि मन, परिवर्तन भयो र हतियार भुइँमा फ्याकेर हे केशव ? म युद्ध लड्दिनँ र मलाई राज्य चाहिँदैन भने । त्यसबेला अर्जुन आफैसँग भएको तागत शक्ति र कत्र्तव्यको ज्ञान भएन र भगवान् कृष्णले गीता उपदेशबाट अर्जुनको अस्तित्व पहिचान गराउनुभयो । अनि मात्र अर्जुनलाई म धनुर्धारी पराक्रमी अर्जुन हुँ भन्ने आफ्नो कत्र्तव्यको ज्ञान भयो । अनि मात्र युद्ध गर्न तयार भए । लडाईं पनि जिते ।
मन्त्र नभएको अक्षर हुँदैन । औषधि नभएको वनस्पति हुँदैन । योग्यता नभएको पुरुष हुँदैन तर त्यसको पहिचान गराउने योजक अर्थात् विशेषज्ञ गुरु पाउन दुर्लभ हुन्छ भनेर बताइएको छ । गीताको अन्तिम पंक्तिमा गीताको सारतत्व बताइएको छ । जहाँ कृष्ण जस्ता गुरु र अर्जुन जस्ता शिष्य छन्, त्यहाँ विजय निश्चित छ । यही नै सत्य हो भनेर गीता तथा वेदका रचनाकार व्यासले बताउनुभएको छ । यसरी आफ्नो पहिचान गर्न नसक्दा को कहाँ पुग्दछ भन्ने कुरा माथि लेखिएको दृष्टान्तबाट अवगत हुन्छ ।
प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएका आधारलाई मान्ने हो भने यो सद्चरित्र, वेदका विद्वान् र त्यसमा उल्लेख गरिएका व्यवसायमा लागेकालाई मात्र ब्राह्मणको पहिचान दिनुपर्यो । तर अर्को सवाल उठ्छ-त्यसो गर्ने हो भने त्यो सीमाभित्र नपर्नेलाई के भन्ने ? यदि वर्ण व्यवस्थालाई अन्यत्र भएको मान्ने हो भने यी सवाल खडा हुँदैनन् । कि प्राचीन धारणालाई मानेर त्यसैअनुसार गर्नुपर्यो कि आधुनिकतालाई अपनाएर यसतो विभेद त्याग्नुपर्यो ।
प्रकृति आफ्नो स्वरूपमा अडिग छ । पशुपंक्षीहरू आफ्नो मर्यादामा चलेका छन् । नक्षत्रहरू निःस्वार्थ सेवा गरिरहेका छन् । वन, उपवन, नदी, समुद्र, पहाड आफ्नो निष्ठामा छन् । तर सचेत प्राणी मानिसले सीमा अतिक्रमण गरेकाले सनातन संस्कार र संस्कृति कुरूप बनेका छन् ।
विहित–अविहित कर्म, वैधानिक अवैधानिक कर्म र सत्य र असत्य कर्मलाई मिसमास गरी भाँच्ने कुच्याउने, दोब्य्राउने, थिच्ने, हान्ने र फ्याँक्नेसम्मको काम गरी बहादुरी देखाउन खोज्दा सुसंस्कार र सुसंस्कृति बालुवाको माछा जस्तै अलापविलापमा छ । ज्ञान र विज्ञानको साक्षी पनि जडमूर्तिझैं उभिएकाले न्यायको कन्दनी चुँडेको छ ।
वर्तमान जीवनको बेवास्ता र मृत्युपछिको जीवनको चिन्ता गर्ने धर्मको अति व्याख्याले पनि संस्कार र संस्कृतिको पालुवा पलाउन सकेन । आध्यात्मिक ज्ञानको यात्रा र भौतिक विकासको द्वन्द्वयात्रा पनि शिशिर ऋतुको हुरीसँगै बगेको छ । बाँच्नु र मर्नुको अस्तित्व थाहा नपाई आयु सकिन्छ । अनकन्टार जङ्गलको गुफाबाट कोही तपस्वी निस्केला र नयाँ सभ्यताको युग ल्याउला भन्ने आशामा हाम्रो संस्कृति र हाम्रो संस्कार रहेको छ ।
ज्ञानले ओतप्रोत, फाटेको समाजलाई जोड्ने, सबैलाई प्रेमले झुकाउन सक्ने सर्वमान्य व्यक्ति हो– ब्राह्मण । यस वस्तुस्थितिमा जन्मजात ब्राह्मण विद्या (चेतना विस्तार) र तपस्या (चरित्र)ले पनि युक्त छ भने विशेष मान्य र पूज्य हुन्छ, विद्या र तपस्या नभएपनि विशेष दुर्गुण र दुश्चरित्र नभए सामान्यतया मान्य र पूज्य हुन्छ, विशेष दुर्गुण भए अमान्य र अपूज्य हुन्छ, विशेष दुश्चरित्र भए पतीत, बहिष्कार्य र अव्यवहार्य समेत हुन्छ भन्ने हाम्रो शास्त्रव्यवस्था र मौलिक परम्परा हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ ।
ब्राह्मणले चारै पाउले युक्त धर्मको पालन गर्नुपर्ने र आफ्ना नित्य कर्म छाड्दा वा दुष्कर्म गर्दा कडा प्रायश्चित्त गरेर चोखिनुपर्ने शास्त्रीय विधान देखिन्छ । जति सदाचार गर्न सक्यो त्यति नै व्यक्ति सम्मानित हुन्छ भन्ने शास्त्रीय र लौकिक सिद्धान्त एवं व्यवहार पनि छ । यस वस्तुस्थितिमा उक्त वैदिक शास्त्रव्यवस्था र मौलिक परम्पराका विरुद्ध रूपमा एकाङ्गी दृष्टिकोणका आग्रहले विनाप्रमाण बोलिएका अन्यथा कुराहरू वेदबाह्य र भ्रमात्मक हुन् भनेर सजिलै बुझ्न सकिन्छ । विद्वान्हरूले पनि शास्त्रीय वस्तुस्थितिलाई यथार्थ रूपमा समाजका अगाडि प्रस्तुत गरेर भ्रम हटाउनु पर्ने आवश्यकता देखिन्छ ।

