– रामशरण गैरे
हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ, यसवर्ष पनि मनाइएको छ । विश्वभरि पर्यटनको मह¤वलाई उजागर गर्दै पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र समग्र समाजमा पार्ने प्रभावहरुबारे सचेतना फैलाउने अवसरका रुपमा यस दिवसलाई विश्वभरि लिइन्छ । २०२४ को विश्व पर्यटन दिवसको नारा ‘पर्यटन, न्याय र शान्ति’ले हामीलाई पर्यटन क्षेत्रलाई केवल आर्थिक र सांस्कृतिक विकासमा सीमित नराखी सामाजिक न्याय, समानता र शान्तिको प्रवद्र्धनको साधन बनाउन प्रेरित गरेको देखिन्छ ।
पर्यटकीय मह¤वको हिसाबले नेपाल एक पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको कारण पनि हामीलाई यसको थप मह¤व हुनजान्छ, तर गाउँ–गाउँमा पर्यटन भिœयाउने चाहना तीव्ररुपमा वृद्धि भइरहेको समयमा पर्यटन विकास प्रभावकारी बन्न सकेको छैन । विगतका वर्षहरुमा सेप्टेम्बर, अक्टोबर, नोभेम्बर मात्र होइन फेब्रुअरी, मार्चका लागिसमेत अग्रिम बुकिङ हुने गर्दथ्यो । पर्यटकीय सिजन सुरू भइसक्दा पनि अक्टोबर, नोभेम्बरका लागि अग्रिम बुकिङ सुस्त रहेकोले काठमाडौँ, पोखरा र चितवनका होटेल, रिसोर्ट सञ्चालकहरु चिन्तामा छन् । पर्यटन क्षेत्रलाई वृद्धि गर्ने मनसायले खुलेका यहाँका दुई ठूला विमानस्थलहरु खासै सञ्चालनमा आउन सकेका छैनन् । पोखरा र भैरहवामा निर्माण भएका यी नवनिर्मित विमानस्थलका लागि छोटो दूरीको रूट पर्मिट छिमेकीले दिएको छैन ।
आस्थाको केन्द्र तथा आकर्षण स्थललाई पर्यटनको माध्यय बनाउने तर पर्यटन, शिक्षा, स्थानीय उपजको उत्पादनमा ध्यान जान नसक्दा पर्यटन ‘नाममात्रको पर्यटन प्रवद्र्धन’ हुन पुगेको छ । गाउँ–गाउँका स्थानीय युवा मिलेर पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहमा पहल गरे पनि भौतिक पूर्वाधार निर्माणमा मात्र प्राथमिकीकरण गरिनुले स्थानीय आयआर्जनको माध्यम बन्न सकेको छेन । ग्रामीण पर्यटन प्रवद्र्धनमा पर्यटन शिक्षा र पर्यटन उद्यमशीलताको विकास अभावमा पर्यटकीय गन्तव्यको आसपास स्थानीय रूमल्लिएका छन् । भौतिक पूर्वाधारमा केही बजेट छुट्याउने सरकारले पर्यटन शिक्षा र उद्यममा लगानी गर्न नसक्दा पर्यटकको चाप बढ्दै गएका ठाउँमा स्थानीय उत्पादन, होमस्टे, होटलजस्ता आर्थिक आर्जनका आयामको विकास हुन सकेको छैन ।
नेपालमा सडक यातायात सहज र विश्वसनीय छैन । निर्माणका योजना समयमा पूरा हुँदैनन् । विमानस्थलहरु साना–साना झरीमा पनि उडान रोकिने खालका छन् । सरकारका नीतिले पर्यटकसँग तीन गुना भाडा असुल गरिन्छ । आमनेपाली र विदेशीका लागि जहाजको भाडामा ठूलो भिन्नता छ । किन एक समान गर्न चाहन्न सरकार भन्ने स्पष्ट छैन । पर्यटकलाई लुट्नुपर्दछ भन्ने मनोभावना देशको अर्थतन्त्र चलाउनेदेखि साधारण होटेल व्यवसायी तथा ट्याक्सी ड्राइभरसम्ममा रहेको छ । नेपालमा पर्यटक बसाइ र उनीहरुले गर्ने सरदर खर्चमा पनि वृद्धि हुन सकेको छैन । दाल, चामलदेखि सम्पूर्ण सामग्री बोकेर आउने तथा होटेलमा टाउको गनेर सुत्ने भारतीय पर्यटकको जगजगी छ । यी भारतीयले नेपालको एक हप्ताको बसाइमा प्रतिव्यक्ति २० डलर पनि खर्च गर्दैनन् ।
पर्यटकीय क्षेत्रलाई व्यवस्थित, सुरक्षित तथा वातावरणमैत्री बनाउन स्थानीय सरकारको अहं भूमिका रहन्छ । पर्यटनले स्थानीय मौलिक कला, संस्कृति तथा परम्परालाई जोगाइराख्न स्थानीय सरकारको विशेष दायित्व रहन्छ । पर्यटनसँगै स्थानीय बासिन्दाको हकहितको संरक्षणमा पनि ध्यान दिनुपर्छ । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार स्तम्भको रुपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारणसम्म पु¥याउने लक्ष्य स्थानीय तहले अङ्गीकार गर्नुपर्छ । अर्कोतर्फ त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनुपर्दछ । अहिलेसम्म पर्यटकहरुलाई आकर्षण गर्ने प्राकृतिक सम्पदामा राज्यले खर्च गर्न परेको छैन । तर, अब पर्यटनको विकास गर्न ती सम्पदाहरुलाई संरक्षण गर्दै जानुपर्दछ । पूर्वाधारको विकास गर्ने हो भने नयाँ गन्तव्यको पर्खाइमा बसेका पर्यटक घुमफिर गर्न उत्साहित हुन्छन् ।
तर, हामीकहाँ पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्ने काममा कुनै गुरूयोजना छैन । आवश्यकता हो या हैन ? आफूखुशी पर्यटनको पूर्वाधार बन्न थालेका छन् । प्राकृतिक भ्यू–टावर बनेका पहाडको टुप्पोमा भ्यू–टावर बनाउने होड चलेको छ । मोटरमार्ग पुगेको ठाउँमा केबुलकारको योजना बनेको छ र कहीँकतै निर्माण पनि हुन लागेको छ । प्रत्येक जिल्लामा यस्ता धेरै उदाहरण भेटिन्छन् । पर्यटन विकासका लागि पर्यटकहरुका निम्ति खान, बस्न होमस्टे र होटलहरु खुल्दै जानुपर्दछ । गाउँमा पुग्ने सडकमार्ग भरपर्दो हुनुपर्दछ ।
अर्कोतर्फ पर्यटकहरुको सुरक्षा, सञ्चार सुविधा र स्वास्थ्यकेन्द्रहरुको पनि व्यवस्था हुनुपर्दछ । नेपाल पर्यटकीय मुलुक भए पनि पर्यटन क्षेत्रबाट खासै लाभ लिन सकेको छैन । मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पर्यटन क्षेत्रको योगदान २ प्रतिशतको हाराहारीमा छ । अहिले नेपालमा वार्षिक ८ लाख पर्यटक भित्रिन्छन्, जसमध्ये अधिकांश पर्यटक कम खर्च गर्ने खालका हुन्छन् । नेपालमा प्रशस्त खर्चालु पर्यटक भित्राउन सकिने सम्भावना भएर पनि हामी चुकिरहेका छौँ । खर्चालु पर्यटक भित्राउन नेपालमा प्रशस्त पर्यटकीय प्रोडक्ट छन् ।
चितवन नेपालको प्रमुख तीन पर्यटकीय गन्तव्यमध्येको एक हो । चितवन भन्नेबित्तिकै हामी सबैको मुखमा चितवन राष्ट्रिय निकुञ्जको नाम आउँछ । तर, बदलिँदो समयमा सफारी पर्यटनलाई मुख्य आकर्षण बनाएको चितवनले बिस्तारै नयाँ ‘प्रोडक्ट’तिर ध्यान दिएको पाइँदैन । सन् १९६० को दशकमा बेलायतका नागरिक जिम एडवर्डसले पहिलोपटक चितवनमा टाइगर टप्स नामक होटल खोलेर निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसायको थालनी गरेका थिए । चितवन क्षेत्रमा सफारी पर्यटन सुरू भएको धेरै भइसकेको छ । यो अवधिमा संख्यात्मक हिसाबमा धेरै व्यवसाय वृद्धि भयो, तर नयाँ प्रोडक्टको बारेमा खासै ध्यान दिइएन । अहिले आएर नयाँ प्रोडक्टको बारेमा चिन्तन गर्न थालिएको छ । नयाँ सोच भएका युवाहरुको जमातले चितवनको पर्यटनमा कायापलट ल्याउने छन् ।
लगानीकर्ताहरु भने नयाँ सोच र शिल्प लिएर नयाँ पर्यटकीय गतिविधि थप्ने क्रममा छन् । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढिरहेको छ । हाल विदेशी पर्यटकहरु मात्रै नभएर उच्च, मध्यमस्तरका आय भएका नेपालीहरु पनि त्यहाँ आन्तरिक पर्यटकका रुपमा प्रशस्तै जान थालेका छन् । तैपनि, नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहेजति सरसहयोग छैन, राष्ट्रले दिन सक्ने योगदान दिन सकेको छैन ।
चितवनको कुरा गर्दा हामीले सौराहालाई बिर्सन सकिन्न । चितवन आउने कुल पर्यटकको ८० प्रतिशत हिस्सा सौराहाले राख्दछ अनि धेरैको मनमा चितवन भन्नेबित्तिकै सौराहा आउँछ । सौराहामै पर्यटकका लागि ठोस नयाँ प्रोडक्ट सुरू नभए पनि यहाँ रात्रिकालीन जिपसफारी, गल्फ कोर्ष, वाटर फन पार्क र सभाहल निर्माणका लागि कुराहरु सुनिन्छन् । सौराहाले थप पर्यटकलाई आकर्षित गर्न यी र यस्तै नयाँ पर्यटकीय प्रोडक्ट ल्याउन जरूरी छ, र सफारी पर्यटनले चिनिएको वर्तमान अवस्थामा सौराहा आउने पर्यटकको बसाइ लम्बाउनका निम्ति नयाँ प्रोडक्ट आवश्यक छ ।
भरतपुर–१६, ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा निर्माण भएको मिनी पानीजहाजले चितवनको पर्यटनमा थप टेवा प्रदान गरेको छ । नारायणी नदीमाथि हुने यो यात्राले देवघाटदेखि गोलाघाटसम्मको यात्रा तय गर्ने योजना छ । दुबई, थाइल्यान्डजस्ता देशमा यस्ता पानीजहाजमा डिनर क्रुज सञ्चालन हुने गर्दछन् र यहाँ सञ्चालन हुने यो क्रुजले यी र यस्तै नवीनतम कार्यक्रम ल्याउने नै छन् । समुद्र नभएको हाम्रो मुलुकमा यो मिनी पानीजहाज सबैका लागि आकर्षणको केन्द्रविन्दु बन्ने छ र चितवनमा यसकै कारण थप पर्यटक भित्रने छन् ।
आँपटारी जलदेवी सामुदायिक वनले सुरू गरेको जिपलाइन सेवा चितवनको पर्यटन क्षेत्रमा पहिलो जिपलाइन सेवा हो । मुग्लिन–नारायणघाट सडकखण्डमा अवस्थित यो जिपलाइन सेवा चितवनलगायत आँपटारी भएर अन्य जिल्ला जाने पर्यटकहरुका लागि पनि पायक पर्दछ । साहसिक पर्यटनमा रूचि हुनेहरुका लागि यो खेल पहिलो रोजाइमा पर्दछ । मेघौलीमा निर्माण भैरहेको राइनो पार्क अबको केही वर्षमा निर्माण हुनेछ । विशाल गैँडाको मूर्ति सामुदायिक वनमा बन्दैछ । त्यो गैँडाको आकृतिभित्र पर्यटन सूचना केन्द्र, म्युजियम, भ्यू–टावरलगायत हुनेछन् । यसको टावरमा बसेर घाँसे मैदानमा गैँडा चरिरहेका दृश्य देख्दा कसको मन नरमाउला र ? यो राइनो पार्कको निर्माणपछि यसकै कारण पनि चितवनमा थप पर्यटन क्षेत्र वृद्धि हुने छ र विशेषतः मेघौली क्षेत्रमा ओरालो लागेको पर्यटनलाई यसले उकास्ने छ ।
भरतपुर–२२ को पटिहानीको राप्ती तटमा अम्ब्रेला स्ट्रीट निर्माण भएको छ । यहाँ आउने पर्यटकहरुले अति सुन्दर तरिकाले निर्मित यो स्ट्रीटबाट सूर्यास्त हेर्न पाएका छन् । राप्ती नदीमा सूर्यास्त अवलोकन एकदमै लोभलाग्दो हुन्छ । सूर्यास्तको अलावा यो सडकबाट चितवन राष्ट्रिय निकुञ्जलाई नजिकबाट र सँगसँगै गैँडा, गोहीलगायतका जनावरहरु पनि देख्न सकिन्छ । चितवनमा मुख्यरुपमा निकुञ्ज घुम्न पर्यटक आउँछन् । निकुञ्जमा पाइने दुर्लभ एकसिङ्गे गैँडा, बाघ, भालु, गोहीलगायतका जनावरले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । थारु संस्कृतिमा पनि पर्यटक रमाउने गर्छन् । पर्यटकहरुले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरु रूचिपूर्वक अवलोकन गर्दछन् ।
निकुञ्जमा पर्यटकले नेचर गाइडको सहयोगमा पैदलै जंगल भ्रमण, मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी, निकुञ्ज या मध्यवर्ती वनमा जिप सफारी, निकुञ्ज हुँदै बग्ने खोला र नदीमा डुङ्गा सफारी गर्छन् । टाइगर टप्स जंगल लजले केही वर्षदेखि हात्ती सफारी बन्द गरी नयाँ कार्यक्रम जोडेको छ, त्यो हो हात्तीसँग हिँड्ने । अंग्रेजीमा यसलाई वाक विथ एलिफेन्ट भनेर चिनिन्छ । यसलाई अनुसरण गर्दै अहिले सौराहाका केही व्यवसायीहरुले यो कार्यक्रमलाई परिमार्जित गर्दै बुस वाकको नाम दिएका छन् । हात्ती चढ्न मन नपराउनेहरुले यो कार्यक्रमलाई निकै रोचक मानेका छन् । पशु अधिकार खोज्नेहरुले यो कार्यक्रमलाई मन पराएको र चितवन आउँदा हात्ती सफारी मात्र होइन हात्तीसँग पनि हिँड्न पाइन्छ भन्दा यहाँ पर्यटन थप वृद्धि हुने आशा छ ।
प्रोडक्टसँगसँगै यसको बजारीकरण पनि उत्तिकै मह¤वपूर्ण छ । चितवनको पर्यटनको भविष्यलाई सुनिश्चित गर्ने हो भने निकुञ्जभित्र गरिने सफारी गतिविधिमा सुधार, विस्तार अनि यसको संरक्षणमा हामी लाग्नुपर्दछ । हामीले चितवनको पर्यटनको कुरा गर्दा सफारी पर्यटनलाई सधैँ आत्मसात् गर्नुपर्दछ । पर्यटकको आगमनले होटल, यातायातलगायत व्यवसायमा पनि टेवा पुगिरहेको छ । यसबाट पूर्वाधार र प्रचारमा यथेष्ट ध्यान दिन सक्ने हो भने पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिका लागि मह¤वपूर्ण माध्यम बन्नेमा सन्देह छैन ।
पर्यटकका कारण होटल, ट्राभल कम्पनीहरुको व्यवसायमा टेवा पुगेकै छ, रैथाने संस्कृति प्रवद्र्धन पनि भइरहेको छ । यसको अर्थ पर्यटन क्षेत्रबाट मुलुकले बहुआयामिक लाभ लिन सक्छ । चितवन पर्यटन सामथ्र्य र सुविधाको दृष्टिले आकर्षक र प्रतिस्पर्धात्मक बनाउन मानव संसाधन व्यवस्थापन, आर्थिक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासमा वातावरणमैत्री रणनीतिहरु तर्जुमा गर्नुपर्दछ । प्रादेशिक सम्पदाको संरक्षण गर्दै टुर प्याकेज बनाएर लक्षित बजारमा सम्प्रेषण गरी वैकल्पिक पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिलाई समेत प्राथमिकता दिनुपर्दछ ।
देशको प्रमुख बलियो खम्बाको रुपमा रहेको वा मानिएको पर्यटन व्यवसायलाई मूर्तरुप दिन र यस व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मक प्रचारप्रसारमा सञ्चारको बढी भूमिका रहन्छ । स्थानीय तथा राष्ट्रियस्तरका सञ्चार माध्यमबाट पर्यटनका लागि खोजमूलक र ओझेलमा परेका पर्यटकीयस्थलहरुका बारेमा समाचारलाई प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरी त्यहाँको सम्रग पक्ष र प्राकृतिक सुन्दरता, पशुपक्षी, भेषभूषा खानपान, सांस्कृतिक विशेषता आदिबारे फरक–फरक तवर र तरिकाबाट समाचार बनाएर विश्वव्यापी प्रचार रणनीतिको अवस्थामा सञ्चारमाध्यमले अपनाएमा पर्यटकको आकर्षणको गन्तव्य बन्न सक्छ ।
चितवनमा जलयात्रासहितको धार्मिक पयर्टन विकासको सम्भावना भएर पनि त्यसतर्फ कसैको ध्यान जान सकेको छैन । विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपर रहेका वनजङ्गल, त्यहाँ रहेका बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तुका कारण चितवन घुम्न देशविदेशका पर्यटक आउँछन् । तर, हात्ती चढेर गैँडा हेर्न चितवन आउने पर्यटकलाई जलयात्रासहितको धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन सक्ने हो भने उनीहरुको बस्ने समय लम्ब्याउन सकिने छ ।
त्रिशूली र नारायणी नदीमा जलयात्रासहितको मनकामना, देवघाट र वाल्मीकि आश्रमलाई जोडेर ‘टुर प्याकेज’ बनाउन सकिन्छ । मनकामनाको फेदीदेखि देवघाटसम्मको त्रिशूली नदीमा र देवघाटदेखि त्रिवेणीसम्मको नारायणी नदीमा जलयात्रा गरी मनकामना, देवघाट र वाल्मीकि आश्रमबीचको धार्मिक पर्यटनको विकास गराउन सकिन्छ । अहिले वन र वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकलाई पनि यो क्षेत्रमा आकर्षण गराउन सकिने छ । मनकामना फेदीबाट देवघाट ४० किलोमिटरको दूरी र देवघाटबाट त्रिवेणी ३५ किलोमिटरको जलयात्राको दूरी हुनेछ ।
नारायणीमा जलयात्राका क्रममा त्यहाँ देखिने जलचरहरु, चितवन निकुञ्जभित्रका बाघ, गैँडाजस्ता जङ्गली जनावर र चराचुरूङ्गीहरुले कसको पो मन नलोभ्याउला र ? अझै त्रिवेणी पुगेर जङ्गलको यात्रा ‘जङ्गल वाक’ गर्दै वाल्मीकि आश्रम पुग्दा नयाँ अनुभव गर्न सकिन्छ । वाल्मीकि आश्रम ऋषि वाल्मीकिले रामायण लेखेको र लवकुश हुर्काएको क्षेत्र हो । त्यसैले पनि यी क्षेत्र धार्मिकरुपमा अति मह¤वपूर्ण मानिन्छन् । यो क्षेत्र जोडेर धार्मिक पर्यटन रूट बनाउन सकिने हो भने धार्मिकमात्रै होइन अन्य स्वदेशी तथा विदेशी पर्यटकलाई समेत लोभ्याउन सकिन्छ । भारतबाट आउने धार्मिक पर्यटकलाई मात्रै ध्यान दिने हो भने पनि मनकामना, देवघाट, वाल्मीकिधाममा धार्मिक पयर्टन विकासको सम्भावना प्रशस्त भेटिन्छ ।
अहिले चितवन घुम्न आउने पर्यटकको औसत बसाइ २ दिन हो, तर नयाँ गन्तव्यको विकास गराउन सकिने हो भने यो बसाइ लम्ब्याउन सकिने छ । यसले चितवनलाई पर्यटकीय दृष्टिले तेस्रो गन्तव्यस्थलबाट दोस्रो गन्तव्य बनाउन पनि सहयोग पुग्ने छ । चितवन घुम्न आउने पर्यटकले अहिले औसत नेपालीले ८ हजार रूपैयाँ र विदेशीले १५ हजारसम्म खर्च गरेको अनुभव व्यवसायीहरुमा छ । पयर्टकको बस्ने समय लम्ब्याउन सकिने हो भने उनीहरुले गर्ने खर्चमा पनि वृद्धि भएर जाने छ ।

