मेडिकल माफिया दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा सीआईबीको टोलीले प्रसाईंलाई भर्खरै पक्राउ गरेको हो । उनी भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।
प्रहरीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग पुष्टि गरे । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।
‘त्यस्तो कीर्ते कागजात उनले कसरी बनाए ? अरु कसैले पठाएको हो भने कसले पठायो भन्ने विषय पनि अनुसन्धानका क्रममा खोज्नुपर्ने भएकाले बरामद गरेका हौं’, एक अनुसन्धान अधिकृतले भने, ‘मोबाइल र ल्यापटपबाट ती कागजातको स्रोत पत्ता लाग्न सक्छ भन्ने अपेक्षा हो ।’
प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए ।
प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।
प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ । सीआईबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।
उनले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा ओलीको लगानी रहेको भनेर ‘फेक डकुमेन्ट’ सहित सामाजिक सञ्जालमा दुष्प्रचार गरेका थिए ।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो।
सोही आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीमाथि किर्तेमा पनि अनुसन्धान हुनसक्छ । उनी किर्ते र संगठित अपराध र मानहानीमा पनि तानिन सक्ने सीआईबी स्रोतले बतायाे । प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनका आधार मुद्दा चलाइन लागिएको हो । एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने हुन्छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो।
साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो।
उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।

