नेपालको पर्यटन विकासलाई हेर्ने हो भने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विशिष्ट पर्यटकीय हबका रुपमा ‘काठमाडौँ–पोखरा–चितवन र लुम्बिनी’को चौकोण नै परिचित छन् । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरतपुर हो । चितवन प्रकृति, संस्कृति, धार्मिक धाम र विविधतापूर्ण भूगोलको समिश्रण थलो हो । त्यसैले, चितवनको चर्चा हुनासाथ अधिकांशले एकपटक घुम्नुपर्ने सोच बनाई हाल्छन् । यहाँ आउन ठूलो योजना र तयारी भने चाहिँदैन । देशको मध्यभागमा अवस्थित भएकाले पूर्वपश्चिम ओहोरदोहोर गर्ने जोकोहीले यहाँ पाइला टेकेकै हुन्छन् ।
विश्वका लागि नेपाल र नेपालीका लागि चितवन देशभित्रको फरक भूगोल र आनन्दको स्वर्ग हो । जहाँ रमाउनका लागि सयौँ कुरा छन्, आनन्द लिनका लागि हजारौँ कुरा छन् । हाम्रो परिवेश तथा नदी तटीय क्षेत्रले मान्छेको मनलाई रोमाञ्चित बनाउँछ, भावुक बनाउँछ र मान्छेले आफ्नो पीडा भुल्छ, आनन्द प्राप्त गर्दछ । महानगरपालिकाभित्र मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्य छन् । विश्वसम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुरमा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्न सकिन्छ ।
संघीय राजधानी र अन्य सहर जोड्ने संगमस्थल चितवनको पर्यटन विविधताले भरिपूर्ण छ । यहाँ आउने पर्यटकले एउटै कुरामा चित्त बुझाएर फर्किन पर्दैन । प्रशस्त प्राकृतिक, सांस्कृतिक, भौगोलिक र धार्मिक गन्तव्य भएकाले सबै खालका पर्यटकका लागि यहाँ गन्तव्य उपलब्ध छन् । चितवनसँग आडैको देवघाटको महिमा धार्मिकग्रन्थहरुमा छ । त्यहाँ देवताहरु नै घुम्न, स्नान गर्न आउने वृत्तान्त धार्मिक पौराणिक कथाहरुमा पढ्न पाइन्छ । त्यसैले चितवनसँग पर्यटन देवताकै पालादेखि जोडिएर आएको हो ।
आधुनिक कालखण्डमा हेर्ने हो भने राणाकालमै चितवन विदेशीहरुको मनोरञ्जन स्थल थियो । यहाँका अजङका वन्यजन्तु बाघ, गैँडाको सिकार गर्न राणाकालमै ब्रिटिस र भारतका राजामहाराजाहरु आउने गरेको इतिहास छ । ‘सिकार पर्यटन’का लागि चितवन त्यो बेला उपयुक्त गन्तव्य थियो । विसं २०३० सालमा चितवन निकुञ्जको स्थापना भएपछि चितवनमा पर्यापर्यटनको लहर चल्यो । त्योभन्दा आठ वर्षअघि मेघौलीनजिक जंगलमा बेलायती नागरिक जिम एडवर्डले ‘टाइगर टप्स जंगल लज’ खोलेका कारण सौखिन र धनाढ्य विदेशी पर्यटक चितवन आउन सुरू भइसकेका थिए ।
वन्यजन्तुमात्रै हैन, निकुञ्जआडका आदिवासी थारु समुदायको संस्कार, संस्कृति र दिनचर्या पनि उनीहरुका लागि चाखलाग्दो बन्यो । वन्यजन्तु पर्यटनका लागि चितवन देशको पहिलो गन्तव्य पनि हो । भरतपुर–२८ स्थित गोलाघाटबाट सूर्यास्त अवलोकन गर्न सकिन्छ । पटिहानी, जगतपुर, मेघौली र ज्ञानेश्वर सामुदायिक वन पनि आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । भरतपुर–२२ मा रहेको पटिहानी सूर्योदय र सूर्यास्तको दृश्य नियाल्नका लागि आकर्षक गन्तव्य हो । यो क्षेत्रको पर्यटन विकास गर्न स्थानीय सक्रिय छन् । यहाँ बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ले सबैको ध्यान तानेको छ । राप्तीकिनारमा बसेर साँझ–बिहान रमाउँदै थारु र बोटे संस्कृति नियाल्न सकिन्छ । नदीकिनारमा चरिरहेका हरिण, मृग र हिँडिरहेका गैँडाले ध्यान खिच्छ ।
मेघौली चितवन राष्ट्रिय निकुञ्ज तथा दुई ठूला नदी राप्ती र नारायणी नदीले घेरिएको सुन्दर टापुका रुपमा रहेको छ । थारु, कुमाल र मुसहरको संस्कृति यहाँ हेर्न सकिन्छ । यो ठाउँबाट सहजै गैँडा देख्न पाइन्छ । जलयात्राका लागि गोलाघाट उपयुक्त गन्तव्य हो । साँझपख राप्ती र नारायणीको संगमस्थल गोलाघाटमा सूर्यास्तको दृश्यले मनमोहक पार्छ । जंगल सफारी सुरू गरिएको क्षेत्र पनि मेघौली नै हो । दुई दशकयता भरतपुर आन्तरिक पर्यटकको पनि पहिलो रोजाइ बनिरहेको छ । अहिले यहाँ आउने धेरै पर्यटक निकुञ्ज घुमफिर र स्थानीय जनजातिका संस्कृति अवलोकन गर्न आइरहेका छन् । निकुञ्जआसपासका गन्तव्यमा पर्यटक ओइरिने गरेका हुन् । स्वदेशी÷विदेशी पर्यटकको पहिलो रोजाइ सौराहा भए पनि त्यसपछि भरतपुरका जगतपुर, पटिहानी, मेघौलीमा पर्यटक आउँछन् ।
चितवनमा पर्यटनको सबल पक्ष भनेको देशकै मध्यभागमा रहेको मुख्य ट्रान्जिट, ट्रेड तथा हस्पिटल सिटी, एजुकेसन हब, निकुञ्ज र पर्यटनमैत्री समाज, प्रतिस्पर्धी बजार, पूर्वाधारमा बढ्दो लगानी, खेलकुद पूर्वाधारमा बढोत्तरी, पानीजहाजलगायतका पानीमा आधारित पर्यटन पूर्वाधार, प्राकृतिक र मानवनिर्मित बढ्दो पूर्वाधार, वरिपरिको जनघनत्व, धार्मिकस्थल देवघाट, स्थानीय मठमन्दिर आदि हुन् । विद्यमान पर्यटकीय आकर्षणका क्षेत्रको पहिचान र तिनको प्रवद्र्धन सकारात्मक पक्ष भए पनि पर्यटकीय क्षेत्रको व्यावसायीकरणका निम्ति स्थानीय निकायबाट अपनत्व नलिँदासम्म र निजी क्षेत्रबाट पहल नहुञ्जेल अपूरो हुन जान्छ । किनभने, सरकारको पहल भनेको केवल नीतिगत सुधार हो । पर्यटनका आधारभूत त¤वहरु भनेको आकर्षक गन्तव्य, पहुँच, पूर्वाधार र नागरिकको सक्रियता तथा पर्यटनमैत्री नागरिक हुन् ।
त्यसो त, पर्यटकीय आकर्षणका गन्तव्यहरुमा पूर्वाधार विस्तारको प्राथमिक जिम्मेवारी सरकारकै हो । तर, लगानी भने आजसम्म समुदाय अर्थात् निजी क्षेत्रबाटै भइआएको पाइन्छ र अब पनि त्यसै हुँदामात्रै पर्यटकमैत्री पूर्वाधार तयार हुने गुञ्जायस रहन्छ । पर्यटक आउनका लागि सबै खालका संरचनागत सुधारदेखि सुविधा र पूर्वाधारमा पनि ध्यान दिन जरूरी छ । पर्यटनको विकास भनेको केवल पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुनु होइन । पर्यटकहरुको आउजाउले सम्बन्धित क्षेत्रमा सेवा वा उद्यमको पनि सँगसँगै विकास हुने हुन्छ । जस्तो कि, पर्यटकसँगै यहाँबाट हस्तकला वा कृषिजन्य वस्तुहरुको पनि निर्यात हुने गर्दछ । जसले पर्यटकलक्षित समुदायलाई व्यावसायीकरणतर्फ उन्मुख गराउँछ । यस मानेमा पनि पर्यटन प्रवद्र्धनको दायित्व सबै क्षेत्रबाट लिइनु जरूरी छ ।
यहाँको कमजोर पक्ष आर्थिक समृद्धिको आधार तय हुन नसक्नु हो । यहाँ पर्यटनलाई नगरको मुख्य पेसा बनाउने सङ्कल्पको अभाव छ । बिक्रीयोग्य साइनको अभाव, मुख्य आकर्षणको अभाव, कमजोर भविष्य, अवलोकनकर्ता र पर्यटकमा फरक छुट्याउन नसक्नु पनि हो । वर्तमान पर्यटन व्यवसायीले चितवनको गन्तव्य प्रचार गरेर बिक्री गर्न नसक्नु, सहरमा कोलाहल बढ्दो तर सौन्दर्यीकरण घट्दो हुँदै जानु, वातावरणीय सुधारको चिन्तनमा कमी, फोहोरमैला व्यवस्थापन मुख्य चुनौती, सामुदायिक वनलाई पर्यटनका रुपमा प्रयोग गर्न नसक्नु, वर्षात्मा बाढीको समस्या, स्थानीय सरकार पर्यटनप्रति उदासीन हुनु नै हो । युवाहरुमा पर्यटन सचेतनाको अभाव छ । पर्यटक र पर्यटनमा भेद बुझ्न नसक्नु, यथेष्ट लगानीअनुरुप पर्यटनमा प्रादेशिक तथा राष्ट्रिय पहिचान बनाउन नसक्नु, यहाँ दलीय प्रभावले एकताको अभाव हुनुलगायतका समस्या छन् ।
विश्वमा आन्तरिक पर्यटकको संख्या ठूलो हिस्साका रूपमा रहेको हुन्छ । चीन, अमेरिका, जापान, अस्ट्रेलिया, युरोपलगायतका देशहरुले आन्तरिक पर्यटकबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् । नेपालमा औँसी, पूर्णिमामा मात्र केही आन्तरिक पर्यटक घुमफिर गरेको देखिन्छ । कि त दसैँतिहार र नयाँ वर्षमा केही मानिस घुमफिरमा निस्किएका हुन्छन् । त्यसमा पनि नेपाली खासै साहसिक पर्यटनमा घुलमिल भएका छैनन् । साहसिक पर्यटन अल्लि महँगो पनि छ । आर्थिक कारणले पनि धेरै नेपालीहरु घुम्न सकेका छैनन् । यसले गर्दा विदेशी पर्यटककै आधारमा नेपालको पर्यटन धानिएको छ । नेपालीहरु नै सेवासुविधालाई हेर्दै विदेश जाने गरेको पनि देखिन्छ । यही कारण नेपालले पर्यटन क्षेत्रबाट जति आम्दानी गर्न सक्थ्यो त्यति नगरेको देखिन्छ ।
भरतपुर आफैँमा पर्यटनको प्रशस्त आधार भएको क्षेत्र भएका कारण युवाहरुले पर्यटनका बहुआयाममा लगानी, सीप विकास र क्षमता विकास गरेको खण्डमा यो क्षेत्रका युवाहरुले यो प्रदेशको पर्यटनको व्यावसायिक नेतृत्व गर्ने सम्भावना प्रबल देखिन्छ । पर्यटनमा प्रतिफल ढिलो देखिने भएकोले युवाहरुलाई तत्काल आकर्षित गर्न कठिन हुन्छ । आर्थिक मन्दी र विश्वव्यापी समस्याले सबैभन्दा पहिले र लामो समयसम्म प्रभाव पार्ने भएकोले घाटा सहन कठिन हुन्छ । पर्यटनको क्षेत्रमा निरन्तर प्रतिस्पर्धा भइरहन्छ र पर्यटकले हरेकपटक नयाँ खोजिरहन्छन् । चाँडो पैसा कमाउने मानिसहरुको यो क्षेत्रमा प्रवेशको सम्भावना र उनीहरुको गलत कार्यले पर्यटन क्षेत्र नै बदनाम हुन सक्छ । विश्व ट्रेन्डलाई पछ्याउन र समयअनुरुप अपडेट हुन जरूरी छ ।
स्थानीय सरकारले पर्यटन चासोमा वृद्धि हुने कार्यक्रम आयोजना गरिरहने र पर्यटनसम्बद्ध कार्यहरु गरिरहने र युवालक्षित पर्यटन प्रशिक्षण र तालिम आयोजना गर्ने, टुरिजम आइकन के हो त्यसको छनोट गर्ने अर्थात् मुख्य प्रोडक्ट छनोट गर्ने, प्रोडक्टअनुसारको प्याकेजिङ, प्याकेजिङअनुसारको टार्गेट ग्रुप र टार्गेट ग्रुपअनुरुप मार्केटिङ गर्न जरूरी छ । हाल भएका पर्यटन व्यवसायीले सहरभित्रका पोइन्टहरु निर्धारण गर्ने र पोइन्टको प्याकेज बिक्री गर्ने, सबै होटलहरुले एकदिने र दुईदिने प्याकेज बनाउने, होटल व्यवसायी मिलेर यातायातमा ती पोइन्ट र गन्तव्य भ्रमण गराउने तथा भर्चुअल विज्ञापनमा ध्यान दिन जरूरी छ ।
मुख्य आकर्षण अथवा मेन प्रोडक्ट छनोट गर्ने, भरतपुरवरिपरि तथा छेउछाउका अन्य जिल्लाका गन्तव्यसँग समन्वय र साझेदारी गर्न सकिने, खोला तथा सिमसार क्षेत्र, नदीहरुको व्यवस्थापन गरेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने, साथै थारुहरु आतिथ्यतामा उत्कृष्ट हुने भएकाले उनीहरुमा आधारित थप होमस्टे सञ्चालन गर्न सकिन्छ । यहाँ विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदी राप्ती तथा नारायणीका साथै संसारका मानिसलाई अटाउन सक्ने हाम्रो सहिष्णुता छ । तर, त्यसको प्रयोगमा अझै पनि हामी चुकिरहेका छौँ ।
चार जना विदेशी घुमे भने त्यसलाई अदभुत सम्भावना बोकेको क्षेत्र मान्ने र हजारौँ आन्तरिक पर्यटकको गन्तव्यलाई हामीले परम्परागत शैलीको भ्रमण मान्ने कारण हामी आआफैँमा चुकिरहेका छौँ । पर्यटकको रोजाइअनुसारको यात्रा, उनीहरुकै चाहनाअनुसारको खाना, बस्न र उनीहरुकै चाहनाअनुसारको प्रकृतिको उपहार देखाउन सकियो भनेमात्रै हामी लक्ष्यमा पुग्ने छौँ । यी सबै विषयवस्तुमा राज्यको उपल्लो तहबाट भन्दा तल्लो तहबाट भैरहेका प्रयास र थालिएको पहल सकारात्मक पक्ष हो ।
विगतमा स्थानीय तहले पर्यटन विकासका नाममा मन्दिर निर्माण, जीर्णोद्धार तथा भ्यू–टावरमा प्राथमिकताका साथ लगानी गरे, तर त्यस्ता आयोजनाको पुँजी निर्माणको दर नगन्य रह्यो भने स्थानीय सरकारहरु यही कारणले आलोचित पनि बन्न पुगे । दिगो पर्यटन विकासको स्थानीयकरण भनेको विश्वव्यापी सन्दर्भमा तय भएका दिगो विकास लक्ष्यअन्तर्गत परिमाणात्मक लक्ष्य र सूचकहरुलाई स्थानीय स्रोत र साधनअनुसार उपयुक्त ढङ्गबाट परिमार्जन गर्ने हो । पर्यटन प्रवद्र्धनसम्बन्धी स्थानीय योजना बनाउँदा तिनीहरुको आन्तरिकीकरण तथा अन्तर्घुलन कायम गराई कार्यान्वयनमा ल्याउनुपर्छ । दिगो पर्यटन विकासको स्थानीयकरण, दिगो पर्यटन विकासको अवधारणा र कार्यान्वयनमा स्पष्टता तथा एकरुपता ल्याउन र दिगो पर्यटन विकासमा सरोकारवालाहरुको सहभागिता तथा योगदान सुनिश्चित गर्न जरूरी छ । प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र साहसिक पर्यटन तथा वल्र्ड टुरिजम यहाँको मुख्य गहना हो । यसलाई एकीकृत गरी अघि बढ्न आवश्यक छ ।
पर्यटनमा मह¤वका साथ हेरिने प्राकृतिक, सांस्कृतिक र साहसिक आकर्षण भरतपुरमा पनि विद्यमान छन् । पर्यटनमा आवश्यक पर्ने मुख्य चार त¤व आकर्षण, सहज पहुँच, खाना, बास र अन्य सुविधाहरु । यी सबै चिजको व्यवस्था छ भरतपुरमा । भरतपुरको सुन्दरता नै यहाँको आकर्षण हो । यातायातको सुविधा सहज छ । खाना र बसाइका लागि यहाँ पर्याप्त होटल, रिसोर्ट, लज तथा गेष्ट हाउस तथा रेस्टुरेन्ट छन् । यसैगरी, ट्राभल तथा टिकट बुकिङ कम्पनी, प्याराग्लाइडिङ तथा साहसिक खेल कम्पनी, यातायात कम्पनी छन् । यसैगरी युवा पर्यटकको रोजाइमा पर्ने पब, बार, दोहोरी साँझहरु पनि यहाँ छन् । यहाँ विभिन्न सामुदायिक पार्कहरु पनि छन् । २९ वटा वडा रहेको भरतपुरमा ‘एक वार्ड, एक पार्क’को अवधारणा पनि अघि बढेको छ । यस क्रममा एक वडा एक उद्यान, एक वडा एक पोखरी यस महानगरपालिकाको सपना बनेको छ ।
दुई रातसम्म बिताउने पर्यटकका लागि प्रायः सुविधाहरु यहाँ विद्यमान छन् । अब यी पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक छ । जबसम्म भरतपुर आर्थिकरुपले सबल हुँदैन तबसम्म समृद्ध हुन सक्दैन । यदि हामीले भरतपुरको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने यी सबै चिजको एकीकृत प्याकेज बनाई प्रचार गर्नुपर्दछ । हाम्रा समस्याहरुमा पर्यटनमैत्री वातावरण नुहुनु, पर्यटन प्रोडक्ट तय गरिए पनि त्यसमा तथा पर्यटकीय गन्तव्यमा बसाइ लम्ब्याउन अन्य क्रियाकलापको कमी छ । ठूला लगानी भित्र्याउन नसक्नु र लगानीकर्तालाई सुरक्षाको अनुभूति नहुनु पनि प्रमुख समस्याको रुपमा छ ।
यस्तै, पर्यटकीयस्थलबाहेक अन्य पूर्वाधार नहुनु, टार्गेट ग्रुप छुट्याउन नसक्नु, गन्तव्यबीचमा अन्तरसम्बन्धको अभाव र पर्यटकीय पूर्वाधारमा लगानी हुन नसक्नु तथा आकर्षणहरुको वैभवतामा लगानी अभाव तथा गतिविधिको अभाव छ । त्यसरी नै समयानुसार डिजिटलाइजेसनमा आफूलाई डोर्याउन नसक्नु र गन्तव्यस्थलसम्म पहुँच मार्गमा उदासीनता तथा पर्यटन प्रोडक्ट दिगो नहुनु पनि समस्या हुन् । पर्यटन विस्तारका लागि रणनीतिक कार्यहरु तथा पर्यटकीय गुरूयोजना निर्माण तथा पर्यटन प्रोडक्ट पहिचान, प्याकेजिङ र टार्गेट ग्रुप पहिचान गरेर एकीकृत मार्केटिङको अवधारण अघि ल्याउन आवश्यक देखिन्छ ।
गन्तव्यबीच अन्तरसम्बन्धको पहल गर्दै मन्दिरहरुको कोष निर्माण गरी सामाजिकीकरण र भरतपुरलाई सौन्दर्यीकरण अभियानमा पर्यटनकर्मीलाई अन्तरसम्बन्धका लागि प्रेरित गर्दै रणनीतिक योजना निर्माणमा सर्वपक्षीय सहभागिता जरूरी छ । लगानीकर्तालाई आकर्षित गर्ने कार्ययोजना र कार्यविधि निर्माण, पब्लिक÷प्राइभेट पार्टनरसिपको सहजीकरणका लागि पोलिसी निर्माण, सन्ध्याकालीन बजार र गतिविधिको व्यवस्था, पर्यटकलाई सुरक्षाको अनुभूतिमा पहल र महिलालाई पर्यटन व्यावसायिक सहभागितामा सहजीकरण गर्न जरूरी छ ।
पर्यटनलक्षित योजना निर्माण गरेर विकास निर्माणका कार्य गर्दा पर्यटनको दृष्टिकोणबाट विशेष ध्यान दिने वेबसाइटमा पर्यटकलाई फोकस गर्दै डाइरेक्टरी निर्माण, पर्यटन बोर्डको सहकार्यमा अन्तराष्ट्रिय सहभागितासहितको पर्यटन मेलाका लागि वार्षिक बजेट विनियोजनमा जोड दिनुपर्छ । अबका दिनमा हामीले निकुञ्ज पर्यटनका साथै सिकार पर्यटन, चराचुरूङ्गी अवलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, जंगल सफारी, क्यानोइङ, हट एयर बालुनिङ, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ उपचार पर्यटन, सिटी टुर, योग र योगा, ध्यान, सामाजिक र सांस्कृतिक अध्ययनमा जोड दिनुपर्छ ।
>>gaireramsharan@gmail.com

