चितवनको भरतपुर महानगरपालिका -७ मा पर्यटक बोक्ने बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । बसको ठक्करबाट ज्यान गुमाउनेमा भरतपुर-७ का ८ वर्षिय मिलन भण्डारी रहेको प्रहरीले जनाएको छ ।
चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको कसरा टुर्स एण्ड ट्राभल्स प्रालिको बसले विकास चोक नजिकैको सडकपेटीमा आमा र बहिनीसँगै हिडेका बालकलाई ठक्कर दिएको हो ।
मामाघरमा बस्दै आएका बुबा विदेशबाट दसै मनाउन आउने खबर भएपछि उनीहरु नजिकैको पसलमा सामान किन्न गएका थिए । पसलबाट बाटो पार गर्ने क्रममा तीव्र गतीमा आएको बसले एक्कासि ठक्कर दिएको थियो ।मिलनको घर भने माडी हो । मामाघर नजिकै दुर्घटनामा परि उनले ज्यान गुमाएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घर नजिकै नातीको शव देखेपछि मामाघरको हजुरआमा सूर्यकुमारी लामिछाने बेहोस बनेकी थिइन् । बस र चालक प्रहरी नियन्त्रणमा छन् । साभार: बिप्लभ काफ्ले/नेपाल प्रेस

