पाकिस्तानमा निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको मृत्यु भएको छ । उद्धार अधिकारीहरूले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ ।
यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् । त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ । सो प्रान्तमा बितेको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन् ।
उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले आह्वान गरेको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ ।
पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् । यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा ७ सयभन्दा बढीको ज्यान गएको छ । यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ ।
Photo : USNews.com

