राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्याउनुभएकाे योगदानको कदर गर्दै उहाँको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्याउन दिनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै आज बुधवार सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक टिकटमा टाँचा प्रदान गर्नुभयो ।
विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यअनुसार हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भइ परीक्षण र प्रकाशनको तयारीमा रहँदा रहँदै गएकाे भदौ २ गते स्वर्गारोहण भएको थियो । स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
नेपाली साहित्यको स्वच्छन्दतावादी भावधारा तथा परिष्कारवादी शैलीका काव्य, खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक, बालसाहित्य तथा अनुवादको उच्चस्तरीय एवम् बहुसङ्ख्यक अतुलनीय साहित्यिक कृतिको सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान गर्नुभएका घिमिरे राष्ट्रप्रमुखबाट २०६० साल असोज ८ गते राष्ट्रकविको उपाधिद्वारा सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले कवितामार्फत नेपाल र नेपालीले देखेका सपना पूरा गर्न सबै आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्नुभयो ।

