काठमाडौँ । राजनीतिक दलको कार्यक्रममा सहभागी हुने शिक्षक तथा कर्मचारीलाई काबाही सिफरिस भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीले राजनीतिक दलकोको कार्यक्रममा सहभागी हुने शिक्षकहरुलाई कारबाही गर्न स्थानीय तहलाई सिफारिस गरेको हो ।
शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन कुमार गौतम र आधारभूत विद्यालय लंगुरडाँडाका यतिराज तिमल्सिनालाई कावाही गर्न भन्दै दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गरिएको हो ।
पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागलाई बोधार्थ दिइएको छ । नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको समयमा राजनीतिक दलको कार्यक्रममा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई कारबाही सिफारिस गरिएको हो ।
उनीहरुको आचारण शिक्षा नियमावली २०५९ मा उल्लेखित व्यवस्था विपरित हुने भएकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न पत्रमा भनिएको छ ।
त्यस्तै शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले पनि जिल्लाका केही विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न दलहरुको कार्यक्रमा सहभागी भएको पाइएको भन्दै गहन निगरानी गर्न जिल्लाका १० ओटै स्थानीय तहलाई अनुरोध गरेको छ ।
प्रचलित शिक्षा ऐन नियमावली द्वारा निर्धारित शिक्षक आचरण, मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनहरु प्रतिकूल हुने गरी वा त्यसको बर्खिलाप गर्नेगरी कुनै शिक्षकहरुका गतिविधि पाइएमा कानून बमोजिम आवश्यक कारबाही गर्न भनिएको छ ।
स्रोत : सिधकुरा

