नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ ।
डल्फिन स्तनधारी जलचर जीव हो । नेपालको नारायणीलगायत विभिन्न नदीहरूमा डल्फिन फेला परे पनि यसको संरक्षणमा सरकारले खासै चासो देखाएको छैन ।
‘जलपक्षी गणना गर्दा धेरै वर्ष पहिला डल्फिन भेटिएको थियो । त्यसपछि अहिले पनि भेटियो’, जलपक्षी गणक डिबी चौधरीले भने, ‘यसपालि भेटेर फोटो खिच्न पनि साथीहरू सफल हुनुभयो ।’ चौधरीले पनि तीन वर्षअघि नारायणीमा डल्फिन देखिएको बताए ।
नारायणीमा केही वर्ष अगाडि दुई वटा डल्फिन भेटिएको रेकर्ड भए पनि त्यसको खोज तथा अनुसन्धान गर्ने काम भने नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘नारायणी नदीमा दुई वटा डल्फिन देखिएको भनिएको छ । दुई वटा छ भनेर रेकर्ड राखिएको छ, तर त्यसको रिसर्च चाहिँ भएको छैन’, उनले भने ।


